म मजदुर
परिश्रम बसाउने शरीर बोकेर
म लडी नै रहेछु
म हाड घोटी नै रहेछु
मलाई जिउन डर लागेन
तर
थाहा पाउँदा पाउँदै पनि
मृत्यु जीवनको एक्लो सत्य
मर्न मलाई डर नै लाग्छ
कतै अर्को जन्ममा पनि मजदुरै पो जन्मिन्छु भनेर
मलाई सरकार र ईश्वरसँग पनि
खासै लगाव छैन
ऊ एक्लै बस्ने महललाई
मैले इँटा जोडिदिएँ
मैले छानो तुर्दिएँ
मैले रङ रोगन गरिदिएँ
मैले संगमरमर बिछ्याइदिएँ
गएको चैते हुरीमा
उसको बगलकै
मेरो घरको छाना उडायो
त्यस रात मेरो ६ जनाको परिवार
चन्द्रमा ओढेर सुत्यो
न राज्यले दैलो उघार्यो
न देउताले।