जाँदै छु म
देशको झन्डा बोकेर जाँदै छु।
सकुशल फर्किएँ भने
बाबा आमालाई लागेको ऋण तिर्नेछु
मनमनै मन पराएकी कोही छ
त्यसैसँग बिहे गर्नेछु
छोराछोरी राम्रो स्कुलमा पढाउनेछु
केही पैसा बचाएर
सहरमा एउटा घर बनाउनेछु
कदाचित्
मरिहालेँ विदेशमै भने
त्यही झन्डाले दिनेछ मेरो परिचय
कफिन भित्र मेरो लासलाई
त्यही झन्डा ओढाएरै पठाउनेछन् मेरो देश
बाँचुन्जेल देशको न्यानो नपाए पनि
त्यही झन्डाले न्यानो पार्नेछ मेरो मृत शरीर!