बिहानको झुल्कोले झ्यालको पर्दा छिचोल्दै प्रियाको अनुहारमा हल्का उज्यालो फाल्दै थियो। टेबुलमा छरिएका पत्रहरू र डायरीका पानाहरूले कोठाको एकान्त झल्काइरहेको थियो। सात वर्ष भइसकेको थियो, तर प्रियाको मन अझै पनि त्यो दिनमा रोकिएको थियो– त्यो दिन जब उनले कृष्णलाई अन्तिम पटक देखेकी थिइन्।
आज पनि हरेक बिहानझैँ उनी उठेर डायरी पल्टाउँदै थिइन्। डायरीका पानामा लेखिएका शब्दहरू उनलाई ती दिनहरूमा लग्थे, जसले उनको जीवनलाई पूरै बदलिएको थियो। उनका आँखा एउटा वाक्यमा रोकिए, ‘तिमीले सधैँभरि प्रतीक्षा गर्यौ र म सधैँभरि गइरहेँ। तर हाम्रो प्रेम कहिल्यै हराएन।’
यसरी सुरु हुन्छ यो प्रेम...
त्यो थियो सात वर्षअघि, एउटा ठन्डा शीतकालीन साँझ। त्यो गाउँको नाम थियो सिम्मिकोट। गाउँको मन्दिर अगाडिको चौतारामा प्रिया विलियम सेक्सपियरको नाटक रोमियो र जुलियट पढिरहेकी थिइन्। उनका आँखा किताबका पानामा भए पनि उनको कानले वरपरका आवाजहरू सुन्दै थिए। केही गुन्जिएझैँ आवाज सुनिँदै थियो।
‘के यो ठाउँ सधैँ यति शान्त हुन्छ?’ एउटा गहिरो आवाज आयो।
प्रिया चकित भइन्। उनी उठेर हेरिन्। गाउँ सुनसान, सुन्दर, शान्त थियो। त्यतिकैमा एक अपरिचित, शालीन तर रहस्यमयी व्यक्तित्व आँखा अगाडि देखिए।
‘कसले सोध्नुभएको हो? प्रिया अलमल पर्दै भनी।
‘म कृष्ण, म कानुनको विद्यार्थी साथै एक लेखक हुँ। सहरबाट यहाँ यस ठाउँको अवलोकन गर्न र यहाँका समस्याबारे रिपोर्ट तयार गर्नका लागि आएको।’
त्यसपछि उनीहरूको संवाद सुरु भयो। सुरुका केही शब्द सामान्य लागे पनि त्यो भेटले उनीहरूको जीवनको दिशा परिवर्तन गरिदियो। कृष्णको गहिरो सोच, मिठो बोली र प्रियाको सुमधुर आवाज, स्पष्ट बोली र सरलता दुवैलाई एक अर्कातिर आकर्षित गर्यो।
यसरी उनीहरूको सामीप्य अगाडि बढ्दै गयो। गाउँका उकालो, ओरालो बाटाहरूमा सँगै दिनभरि घुम्थे। यसरी उनीहरूको दूरी घट्दै जान्छ। उनीहरूले प्राकृतिक सौन्दर्यलाई महसुस गर्थे, किताबहरूबारे छलफल गर्थे र जीवनका गहिरा प्रश्नहरूको उत्तर खोज्थे।
उनीहरू भगवान् प्रतिको आस्थाका बारेमा छलफल गर्थे। अध्यात्मवाद र भौतिकवाद बारे खुब चर्चा गर्थे। उनीहरू दुवै पुस्तक पढ्न, प्राकृतिक सुन्दरतासँग रमाउन एकदम मन पराउँथे।
एक साँझ नदीको किनारमा बसेर कृष्णले भन्यो,’प्रिया, कहिल्यै लागेको छ केही मानिसहरूको जीवन केबल खोज्नमै बित्छ तर उनीहरूले आफ्नो उद्देश्य कहिल्यै भेट्दैनन्?’
प्रिया मुस्कुराइन् र भनिन्, ‘त्यसैले त जीवनलाई प्रेम गरिनुपर्छ। कारण भेट्न नसक्दा पनि जिन्दगीलाई माया गर्न सक्नुपर्दछ।’
‘उसो भए जीवन के हो प्रिया?’
‘सुन, जीवन अविरल यात्रा हो जसरी खोलाको पानी बगिरहन्छ, जसको कुनै गन्तव्य हुँदैन, त्यही हो जीवन,’ प्रियाको जवाफ।
कृष्णले प्रियाको आँखामा हेर्यो। त्यो क्षणमा उसले महसुस गर्यो कि प्रिया केबल एक मित्र मात्र थिइनन्, उनी उसको जीवनको प्रेरणा थिइन्।
रहस्यात्मक कुरा के छ भने यसमा कृष्ण कहिल्यै पूर्ण रूपमा खुलेर बोल्दैन थिए। उनी कहिलेकाहीँ हराउँथे, टाढा जान्थे र हप्तौँसम्म फर्किँदैन थिए।
एक दिन प्रियाले सोधिन्, ‘तिमी किन सधैँ टाढा जान खोज्छौ कृष्ण?’
‘मसँग समय थोरै छ प्रिया। म धेरै कुराहरू पूरा गर्न चाहन्छु।’
प्रिया अलमल्ल परिन्। उनले कृष्णलाई धेरै प्रश्न गरिनन् किनकि उनले सोचेकी थिइन्– जब समय आउँछ, कृष्णले सबै कुरा बताउने छन्।
एक साँझको कुरा हो, पानी परिरहेको थियो। आकाश गड्याङगुडुङ गुन्जिरहेको थियो। गाउँको उकालो बाटोमा कृष्ण र प्रिया सँगै हिँडिरहेका थिए। त्यो साँझ कृष्णले प्रियालाई प्रस्ताव गर्छन्- ’प्रिया, मसँग धेरै समय छैन। तर जति समय छ, त्यो तिमीसँग बिताउन चाहन्छु। के तिमी साथ दिन्छौ?’
प्रियाले भावुक हुँदै भनिन्, ‘कृष्ण म तिमीसँग छु। समयको गन्ती म गर्दिनँ। तिमीसँग बिताएका पलहरू नै मेरो जीवनका सबैभन्दा महत्त्वपूर्ण क्षण हुनेछन्।’
तर त्यो खुसी धेरै दिन टिक्न सकेन। केही हप्तापछि कृष्णले प्रियालाई भेट्न बोलाए।
‘तिमीलाई एउटा कुरा भन्नुपर्छ,’ कृष्णले भन्यो, ‘म यो दुनियाँमा धेरै समयका लागि छैन। म बिरामी छु। मलाई घाँटीको क्यान्सर भएको छ। मेरो जीवन लामो छैन।’
प्रियाको आँखा आँसुले भरिए।
‘तिमीले किन यसअघि बताएनौ?’ उनले सोधिन्।
‘म तिमीलाई चोट पुर्याउन चाहन्न थिएँ तर अब म जानुपर्छ। यो हाम्रो अन्तिम भेट हुनेछ।’
अन्तिम बिदाइ!
त्यो रात प्रियाले कृष्णलाई बिदाइ गरिन्। गाउँका साना गल्लीहरूले दुई प्रेमीलाई अलग गरिदियो। कृष्ण गइसकेपछि प्रिया आफ्नो झ्यालबाट निरन्तर आकाश हेर्दै बस्थिन्। उनले कृष्णको बाचा सम्झिइन्- ‘तिमी जहाँ भए पनि म सधैँ तिम्रो वरिपरि हुनेछु।’
त्यसपछिका दिन हुँदै वर्षौँ बिते, प्रिया एक्लै बसिन् तर उनले कृष्णलाई कहिल्यै बिर्सिन सकिनन्। उनले सधैँ कृष्णका पत्र र डायरीहरू पढ्थिन्।
एउटा पत्रमा कृष्णले लेखका थिए- ‘प्रिया, तिमी मेरो जीवनको अन्तिम किरण हौ। तिमीले दिएको प्रेमले मलाई माया गर्न सिकायो।’
जसरी समयले आफ्नो परिक्रमा गरिरहेको हुन्छ। प्रियाको उमेर पनि बढिरहेको थियो।
त्यो दिन आकाश धुम्म थियो। बादल लागेको थियो। प्रिया अब वृद्ध भइसकेकी थिइन्। उनले कृष्णको डायरीको अन्तिम पाना पढिन्- ‘म जहाँ भए पनि तिमीलाई हेर्नेछु र तिमीले मलाई सधैँ आफ्नो वरिपरि महसुस गर्नेछौ।’
प्रियाले एक गहिरो सास फेरिन्। उनको जीवनको अन्तिम क्षण भयो। आकाशमा टुटेको तारा देख्दै उनले मुस्कुराइन्- ‘कृष्ण, अब म तिमीलाई भेट्न आउँदै छु।’
त्यस रात, आकाशमा दुई ताराहरू झलमल गरिरहेका थिए। गाउँका मानिसहरू भन्थे- ‘त्यो कृष्ण र प्रिया हुन्। अब उनीहरू कहिल्यै छुट्टिने छैनन्।’