फोनको घण्टी बज्यो, ‘हेलो, हजुर के गर्दै हो?’
फोनको घण्टी बज्ने बित्तिकै अखिलेश शौचालयमा पस्यो। उसकी श्रीमती उत्पत्तिका ओछ्यानमा अर्कापट्टि फर्की। उत्पत्तिकालाई ‘मल्टिपल माइलोमा’ भएको दुई वर्ष जति भयो। डाक्टरको सल्लाहमा उसको घरैमा उपचार भइरहेको छ। उसलाई खान, बस्न लगायतका हरेक काममा अखिलेशले नै सहयोग गर्छ।
उनीहरूकी एउटी छोरी छ। भर्खर दुई कक्षामा पढ्छे। फोन आएपछि प्रायः अखिलेश शौचालयमा जान्छ। त्यसैले उत्पत्तिका त्यति वास्ता गर्दिन। उसलाई कता-कता आफूले लोग्नेको चाहना पूरा गर्न नसक्दा लोग्नेले अरू कुनै महिलासँग सामीप्य जोडेको छ कि भन्ने शङ्का लाग्छ तर केही भन्दिन। आफूलाई यति धेरै सहयोग गरेको छ, लोग्नेसँग के झगडा गर्नु भन्ने सोच्छे।
उसको एक मनले त यति लामो जिन्दगी काट्न लोग्नेले अर्को बिहे गर्नुपर्छ भन्छ। आफू अशक्त हुँदा आफ्नै सौता बनेर कोही आउँछ र लोग्ने र आफूले जन्माएकी छोरीलाई माया गर्छ भने ऊ सहन तयार छ।
‘के गर्नु र! उनकै स्याहारसुसारमा छु। तिम्रो फोनले उनलाई पीडा होला। सँगै बसेर सबै कुरा भन्न पनि भएन,’ अखिलेशले सानो स्वरमा उत्तर दियो।
‘मैले कति चोटि भनिसकेँ, अर्को बिहे गर्नुहोस् भनेर। माइलोमा भएको मानिसको आयु धेरै हुँदैन। बिस्तारै उसलाई बिर्सेर आफ्नो जीवनको याद गर्नुपर्छ। तपाईँसँग सम्पत्ति जति पनि छ, जो पनि आउँछन्। म खोजिदिऊँ?’ फोनको आवाज थियो यो।
‘हैन के-के भन्न सकेको हो तिमीले?’ मैले उत्पत्तिकालाई बिहे गरेर ल्याएको हुँ। मन पराएर बिहे गरेको हुँ। अहिले बिरामी पर्दैमा मैले अर्को बिहे गरिहाल्नुपर्छ। म त तिम्रो कुरै बुझ्दिनँ।’
‘मैले त्यसो भन्न खोजेको होइन। मेरी बहिनी माइलोमाकै डाक्टर हो क्या। उसले हजुरकी श्रीमतीको रोगका बारेमा सबै कुरा भनेकी छ मलाई। मसँग त हजुरलेले बिहे गर्न सक्नुभएन। मान्नु पनि भएन। कति मन पराउँथेँ म। तपाईँले लत्त्याउनुभयो तर म त अझै उत्तिकै माया गर्छु। हजुरको जिन्दगी बिग्रेको म हेर्न सक्दिनँ क्या,’ उसले अखिलेशलाई सम्झाउने स्वरमा भनी।
‘मैले अहिले अरू केही सोचेको छैन। म उत्पत्तिकालाई जीवनको अन्त्यसम्म साथ दिन्छु। यसमा तिमी मलाई नभड्काऊ। म तिमीलाई पनि असल साथी नै ठान्छु। त्यस्तै भयो परिवार, संस्कारका कारण हाम्रो बिहे हुन सकेन। त्यसमा मेरो मात्र दोष छैन। अहिले मैले जसरी पनि उत्पत्तिकालाई सहयोग गर्नुपर्छ। बचाउनुपर्छ। मैले यति मात्र सोचेको छु,’ अखिलेशले फोनमा बिस्तारै कुरा गर्यो।
‘अहिले कस्तो छ त उनलाई?’ उसले उत्पत्तिकाका बारेमा बुझ्न चाही।
‘के हुनु र? शरीरमा जाँगर छैन। हड्डी पोल्छ भन्छिन्। डँडाल्नु, छाती, पुट्ठा सब पोल्छ रे। उठ्नै गाह्रो हुन्छ। म त यसो सघाउँछु। म नहुँदा त उनलाई कति गाह्रो हुन्छ। कहिलेकाहीँ दिसा लाग्दैन। खान पनि मन गर्दिनन्। खै के भएको हो! कति गाह्रो हुँदो हो उनलाई,’ यति भनेर उसले फोन राखिदियो।
‘उत्पत्तिका ओछ्यानमा पल्टिएकै थिई। अखिलेश छेउमा पुग्यो। निधारमा हात राख्यो। जरो आएजस्तो थियो। उसले सोध्यो, के खान्छ्यौ? कुरिलो छ। गोलभेँडा राखेर झोल बनाइदिऊँ?’
उसले कोल्टो फर्कँदै हुन्छ भनी।
अखिलेशले कुरिलाको झोल बनायो र लिएर गयो। उत्पत्तिकाले अखिलेशलाई देख्नासाथ ‘ए भाइ, कतिखेर आइपुगिस्?’ भनी र उठ्न खोजी।
माइलोमा भएका मानिसलाई कुनै-कुनै बेला भ्रम हुन्छ रे। उसलाई पनि भाइ आएको भ्रम भएछ।
अखिलेशले ‘हैन, म पो आएको त, भाइ खै कहाँ छन् र? यी यो झोल खाऊ’ भन्दै कपमा झोल दियो। ऊ करैले उठी र चम्चाले दुईचार सुरूप झोल खाई। अनुहार केही हँसिलो भयो।
‘कस्तो छ त अहिले तिमीलाई?’ अखिलेशले उत्पत्तिकाको हात समाउँदै भन्यो।
‘खै के भन्नु र? मैले गर्दा हजुरले काम गर्न पनि पाउनुभएन। खालि थकाइ लाग्छ। यी यहाँ हेर्नु न आज त खटिरा पो निस्किए त। वजन पनि घट्यो मेरो। कमजोर जस्तो महसुस भएको छ। तिर्खा चाहिँ कति लाग्छ लाग्छ। पिसाब रोकिएजस्तो हुन्छ कुनै कुनै बेला। खै मरिन्छ कि क्या हो सानीका बा! अनि कसको फोन आएको अघि? कसैलाई गाह्रो पर्यो कि क्या हो?’ उत्पत्तिकाले जान्न चाही।
‘हैन’ अखिलेश अलिक हच्कियो।
‘भन्नुहोस् न हजुर! मलाई थाहा छ, अब म धेरै बाँच्दिनँ। छोरी सानी छ। यसलाई हुर्काउनु छ। छोरी भने पनि, छोरो भने पनि यो हजुर र मेरो रगत हो। म मरेँ भने यसको बिजोग हुन्छ। त्यो सधैँ फोन गर्ने मान्छेले हजुरलाई मन पराएको हो? त्यसो हो भने हजुर त्योसँग बिहे गर्नुहोस्। म आशीर्वाद दिएर, छोरी जिम्मा लगाएर जान्छु। हजुरलाई पनि साथ हुन्छ। म त भार मात्र भएँ।’
ऊ भक्कानिएर रुन थाली। अखिलेशले केही नबोली आँसु पुछिदियो। धेरै बेर रोएपछि ऊ सम्हालिई।
अखिलेशले उत्पत्तिकाको शिर आफ्नो काखमा राख्यो र भन्न थाल्यो, ‘सानु! सुन, तिमीलाई चाहेर रोग लागेको होइन। रोग सबैलाई लाग्छ। तिमीलाई रोग लाग्दा मलाई पनि दुख्छ तर तिमी बिरामी हुँदैमा मैले अर्को बिहे गर्नुपर्छ र? त्यो केटी मेरो कलेज पढ्दा कि साथी हो। हामी साह्रै मिल्थ्यौँ। बिहे गर्ने कुरा पनि भएको थियो। हाम्रो जात र पारिवारिक कुरा नमिलेकाले घरकाले मानेनन्। हामी भाग्न सकेनौँ। अहिले उसको पनि बिहे भइसक्यो। हामी दुवैले बुझ्यौँ। ऊ मलाई अर्को बिहे गर् भन्छे। मलाई त्यो कुरा मन पर्दैन।’
‘अनि त्यति कुरामा शौचालयमा गएर फोन गर्नुपर्छ त हजुरले?’
‘हैन। मैले तिमीलाई हाम्रो यो कुरा कहिल्यै सुनाउन सकिनँ। उसले गरेका कुरा सुनेर यस अवस्थामा तिमीलाई पिर पर्छ भनेर मैले तिमीले नसुन्ने गरी बोल्न खोजेको मात्र हो। मलाई तिम्रो यति माया लाग्छ कि, म छोडेर कतै जान पनि सक्दिनँ। फेरि तिमीलाई छोडेर अर्को बिहे गर्ने कुरा त नसोच सानु। हाम्रो भागमा जे छ त्यही भोगौँला,’ यसो भन्दा ऊ पनि भक्कानियो।
उत्पत्तिकाका कोसबाट आँसु बगे। यही बेलामा फेरि फोन आयो।
अखिलेशले हेलो भन्नसाथ उताबाट आवाज आयो। आज ऊ फोन सुन्न शौचालय गएन। उसले फोनको आवाज उत्पत्तिकाले पनि सुन्न सक्ने बनायो।
ऊ भन्न थाली, ‘अहिले कस्तो छ त उनलाई? अब लुकेर फोन नगर्नुहोस् है, सबै कुरा उनलाई भनिदिनुहोस्, मैले हजुरसँग बिहे गर्न चाहेको होइन। मेरी बहिनीले भनेअनुसार त्यस्तो लक्षण देखिएपछि जीवन लामो हुँदैन। हजुरकी छोरीको हेरचाह गरेर बढाउन पढाउन बाँकी नै छ। यदि केही भइहाल्यो र बिहे गर्ने मन भयो भने मेरी बहिनी हजुरसँग बिहे गर्न तयार छ। मैले पनि आफूले माया गरेको मानिस आफूले नपाए पनि बहिनीले पाउँछे भनेर मात्र बिहे गर्नुहोस् भनेर जिस्काएकी नि! श्रीमतीलाई सबै कुरा भन्नुहोस् है। कहिलेकाहीँ त भन्ने समय पनि हुन्न नि!’
यो सुन्नासाथ उत्पत्तिकाले फोन खोसी र भन्न थाली, ‘दिदी, तपाईँले मेरो मन कसरी बुझ्नुभयो? मेरो मनको कुरा बोलिदिनु भयो तर मेरो श्रीमान् यो कुरा सुन्न मान्नुहुन्न। म त रहन्नँ दिदी, हाम्रो सन्तानलाई असल बनाएर हुर्काउनु छ। उसलाई आमा चाहिन्छ। हाँस्न र रुन आमा चाहिन्छ। तपाईँले जसरी पनि तपाईँकी बहिनीलाई मेरी बहिनी बनाएर भित्र्याइदिनुहोस् दिदी! हामी सबैको कल्याण हुन्छ।’
‘हस्। म प्रयास गर्छु,’ उसले यति भनेर फोन काटी।
उत्पत्तिका अखिलेशको काखमा पल्टेर घुँक्क घुँक्क गर्न थाली। अखिलेशले उसको निधारमा हात राखिरह्यो। एकै छिनमा उसको आवाज रोकियो र सदाका लागि आँसुको मुहान नै बन्द भयो।