लामो संघर्षपछि उनी जापान जाने भइन्। उनको सफलतामा खुशी त थिएँ तर मन बेचैन थियो। उनीसँग छुट्टिएर बस्नुपर्दा।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीसँग बिदाइ भेट गर्दा आँखाबाट बलिन्द्रधारा आँशु खसेका थिए। कसिलो आलिंगनबाट छुटाएर उनीसँग बिदा भएँ। वरिपरि हेरेँ, विमानस्थलमा नभिजेका आँखाहरू देख्न मुस्किल भयो। मन भारी बनाएर त्यहाँबाट बाहिरिएँ।
भोलिपल्ट जापानको ओसाका भन्ने ठाउँमा पुगको जानकारी उनले मलाई मेसेन्जरबाट गराइन्। उनी सुरक्षितसाथ पुगेपछि म खुशी भएँ। अब जोडिने माध्यम नै त्यही एउटा म्यासेन्जर बनेको थियो।
उनी गएको करिब महिना दिन बित्यो । हाम्रो निरन्तर म्यासेन्जरमा कुरा हुन्थ्यो । कहिलेकाहीँ उनी एक्लो महसुस भएको सुनाउँथिन्। हजुर साथमा भएको भए कति खुशी हुन्थे होला भन्थिन्। कहिले आज यो नयाँ चिज खाएँको, यस्तो काम गरेको भन्थिन्। यस्तो ठाउँमा घुम्न गएको हजुर नहुँदा नरमाइलो लाग्यो भन्थिन्। मप्रतिको माया देखेर म खुशीले उड्थे तर उनलाई आफ्नो सामिप्यता दिन नपाउँदा दुखी पनि हुन्थेँ। कहिले काहीँ कुरा गर्दा गर्दै आखाँ रसाउँथे।
जापान जानुअघि उनले मलाई सुनाएका संघर्षका कथाहरू पनि सम्झिन्थेँ। जापानकै हुटहुटीले परिवारसँग टाढिएर उनी सहर आउनुपरेकोदेखि पढ्न थालेपछि ब्यहोरेको दुखसम्मका कथाहरु। भाषाको पढाइ गाह्रो हुँदा पटपकट छाडेर घर फर्किन्छु पनि भन्थिन्। मैले सम्झाइ बुझाइ गरेर संघर्षबाट नपन्छन भनेको थिए। मैलै सम्झाउँदा उनी खुशी हुन्थिन्।
उनी जापान जानुभन्दा अगाडि नै बिहे गर्ने अवस्था थिएन। जाने बेलामा उनले भिजिट भिसामा भए पनि आउनुपर्छ है भनेकी थिइन्। मलाई यो किनिदिन्छु त्यो किनिदिन्छु भन्थी। त्यस्तो कुराले म अमिलिन्थेँ। आफूलाई बिचराको पात्र भएको महशुस गर्थेँ। उनलाई पहिले आफ्नो भविष्य राम्रो बनाउन सुझाउँदै म यही जागिरमा ठीक छु भन्थेँ।
हुन त उनले जापानी भाषाको पढाइ सुरू गर्दा मलाई पनि संगै पढौं भनेकी थिइन्। मलाई यही देशमा केही गर्न सकिन्छ भन्ने थियो। बल्लबल्ल पाएको जागिरको माया पनि। बिस्तारै मलाई जापानीज भाषा पढौं भन्न छाडेकी थिइन्।
कार्यालयमा सहकर्मीहरूको व्यवहार देखेर भने आजित थिएँ म। नाम बिगारेर बोलाउने, मैले लगाएको कपडाबारे खिसिट्युरी गर्थे। म चुपचाप सहन्थेँ। उनी जापान गएपछि एक्लो महशुस गर्न थालेँ। इरिटेट हुन थाल्यो। कार्यलयमा त्यसरी खिसिट्युरी गर्नेहरूसँग पटकपटक झगडा पनि गरेँ।
साच्चै उनी सेटल भए पश्चात जानुपर्छ कि! भन्ने सोँच पनि कताकता आउन थालेका थिए।
मेसेन्जरमा कुराकानीको क्रममा एकदिन उनी आफैले मलाई भिजिट भिसामा भएपनि जापान आउन भनिन्।
'म एक्लै छु ,अब हजुरले प्रोसेस गरे हुन्छ,' उनले भनेकी थिइन्।
तर म पूर्ण रूपमा तयार भने थिइनँ। उनी गएकै ऋण तिरेर भ्याएकी थिइनन्। मेरो आफ्नो जागिरले पैसा जम्मा गर्न सम्भव थिएन। मैले उनलाई त्यही सुनाएर हतार नगर्न भनेँ। भिजिट भिसाका लागि पनि दुईतर्फी टिकट लिनुपर्नेदेखि बैंक ब्यालेन्सदेखिको झन्झट हुने सुनाएपछि उनले केही दिन त्यो विषयमा कुरा झिकिनन्।
तर तीन/चार दिनपछि फेरि उही कुरा निकाल्थिन्। म सम्झाउँथे फेरि उस्तै।
पटकपटक भनेपछि मलाई पनि उनको सामिप्य, नजिक हुँदा पलहरू यादले झकझकाउँथे। घुम्न भएपनि जानुपर्छ कि भन्ने लाग्न थाल्यो। आतेजाते टिकट खर्च त हो। खान, बस्न र घुमाउने उनी छँदै थिइन्। तर टिकटकै लागि पनि आफूसँग पुग्ने पैसा त थिएन। तर मिलाउन सक्छु भन्ने थियो। दोधार हुँदै जाने निर्णय गरेँ। तर उनलाई नभनी। अफिसमा १ महिनाको छुट्टी लिएँ। पुरानो कर्मचारी भएकाले सजिलै पाएँ पनि।
भिजिट भिसाका लागि दूतावासमा निवेदन दिएँ। केही दिनपछि दूतावासले बोलायो र किन जान लागेको, आफन्त छ कि छैन भनेस सोध्यो। नजिकको मान्छे भयो भने सजिलो हुने रहेछ। मैले मेरो साथी नरेशको नाम लिएको थिएँ। दूतावासले घुम्ने खर्च बैंक डिपोजिट खोज्यो। मेरो बैंकमा पुगनपुग १ लाख रूपैयाँ थियो। त्यतिले नहुने रहेछ।
खातामा कम्तिमा पनि १५ देखि २० लाख रूपैयाँ हुनुपर्ने रहेछ। अब फसाद पर्यो। कहाँबाट जुटाउनु त्यत्रो पैसा। तर डिपोजिटका लागि मात्रै भएकाले यसो साथीभाइ इष्टमित्रसँग प्रयन्त गर्न थालेँ। तर अधिकांशले छैन भनेर टारे। धेरै प्रयासपछि साइनोमा दाइ पर्ने सहयोग गर्न तयार हुनुभयो। पैसा जम्मा भएपछि दूतावास गएँ। फेरि यत्रो पैसा एकैपटक कहाँबाट ल्याएको भनेर प्रश्न गरे र त्यसदिन पनि भिसा एप्रुभ भएन।
केहि पैसा दाइकै खातामा राखिदिएँ र हप्ता दिन/हप्तादिनमा पठाउन भनेँ। दूतावासले मेरो काम र कार्यालयबाट स्यालरी सिट ल्याउन भनेका थिए। त्यसका लागि त समस्या भएन।
त्यसपछि जापानले २० दिनको भिसा दियो। अब त उनीसँग हात समातेर जापानका सडकपेटीमा हिँडेका सपना दिउँसै देख्न थालेँ। तर यति भइसक्दा पनि मैले उनलाई भनेको थिइनँ। सरप्राइज दिन्छु भनेर । जापानमै भएको नरेशलाई भने भनेको थिएँ।
भोलिपल्ट जापानको टिकट लिएँ। डेढ लाख लाग्दो रहेछ दुईतर्फी टिकटको मूल्य। दाइकै कोठामा बसेर हल्का रमाइलो पनि गरियो। फ्लाइट भोलिपल्टको थियो।
भोलिपल्ट बिहानै पशुपतिनाथको दर्शन गरेर उनको र मेरो छिटो मिलन गराईदिन आग्रह गरी मनै लड्डु चढाएर फर्किएँ। सबै तयारी सकेर दिउँसो ३ बजेतिर त्रिभुवन विमानस्थलतिर लागेँ।
फ्लाइट ९ बजेको थियो। पासपोर्ट टिकट देखाएँ र भित्र छिरेँ। रातको नौ बजे करिब तीनसय जना मानिस अटने थाई एयरको ठुलो जहाजमा बसेँ त्यहाँ रहेका अरू मानिसहरूको अनुहारमा खुशी देखिएको थिएन। मसँग एउटै लहरमा भएका पुरूष पनि मलिन अनुहार लगाएर बसेका थिए।
जहाज उड्यो। केही समयपछि जहाजमा मनले चाहेको खान पिउन मस्तसँग पाइँदो रहेछ। करिब पाँच घन्टाको यात्रापछि हामी थाइल्याण्डको बैंकक पुग्यौं। दुई घन्टा ट्रान्जिट रहेछ।
त्यसपछि करिब १० घन्टाको जहाजको यात्रापछि जापानको कान्छाई अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेँ । मायालुलाई सरप्राइज दिन भनेर म्यासेज पनि गरेको थिइँन। मनमनै सम्झे कति खुशी होलिन्, भेट्दा अँगालो हालेर रून्छिन् होलिन्। हात समाउँदै कहाँ कहाँ घुमाउने होलिन्।
करिब दुई घण्टाको चेकजाँचपश्चात बाहिर निस्किए बिसाल समुन्द्रको काखमा अवस्थित कान्छाई विमानस्थल देखेर चकित भएँ। बाहिर निस्कँदा नरेश मेरै प्रतिक्षामा बसेको रहेछ। खुशी लाग्यो। अंकमाल गर्यौं। आपसमा कुरा गरी भाइको कोठातर्फ लाग्यौं।
कोठामा नुहाई घुवाई गरे खाना खाएपछि मैले नरेशसँग आफू प्रेमिका भेट्न आएको सुनाएँ। उनी इमाफुकुमा बस्थिन्। संयोगले नरेश काम गर्ने पनि त्यतै रहेछ। नरेशको कोठामा आएपछि भने मैले उनलाई मेसेज गरेको थिएँ। तर उनले हेरेकी थिइनन्। काममा होलिन् भन्ने सोँचे। नरेशले पनि त्यही भन्यो।
भोलि इमाफुकूमै जाने र भिडिओ कल गर्ने योजना बनायौं।
भोलिपल्ट उठेर हेर्दा पनि उनको जवाफ आएको थिएन। न त मेसेज नै हेरेकी थिइन्। हामी इमाफुकु लाग्यौं। मेसेन्जरमा मात्रै कुराकानी हुने भएकाले मैले उनको मोबाइल नम्बर सोधेको थिइनँ। न उनले दिइन्। त्यसबारे हामीले कहिल्यै ख्याल पनि गरेनौं।
इमाफुकु जाँदै गर्दा मैले सयवटा मेसेज गरेँ हुँला तर उनले हेरिनन्। त्यहाँ पुगेर पनि पटकपटक मेसेज गरेँ। मेसेन्जरमा फोन गरेँ। केहीको पनि रेस्पोन्स भएन। दुई घन्टा बसेपछि लुत्रुक्क परेर फर्कियौं।
भाइले कहीँ कतै काममा गएर होला भन्यो तर मेरो मनमा चिसो पसिसकेको थियो। भोलि भेट्ने आशमा सुतियो। भोलिपल्टसम्म उनको मेसेज आएन। बरू नरेशको विदा रहेछ मलाई घुमाउन लग्यो। त्यहाँका विशाल समुद्र,केबलकारको बिछ्ट्टै मजा लिइयो, तर मनले चाहीँ पटक्कै खुशी थिएन। म्यासेन्जरमा निरन्तर कल र मेसेज गरिररेहको थिएँ।
बेला बेला नरेशले तपाई कस्तो मान्छे? एक पटक नम्बर त लिनुपर्छ नी भनेर थर्काउन छाडेको थिएन। मेरी प्रेमिकालाई पनि गाली गरिरहेको थियो। कस्ति रै छ यार, हुन्छ नि तरिका मान्छेलाई बोलाएर सम्पर्कमा नआउने! यस्तै यस्तै।
मलाई पनि झन ठूलो पीर परेको थियो । यति धेरै खर्च गरेर आइयो, जसलाई भेट्न आएको त्यो मान्छे नै गायभ भइदियो। अब के गर्ने भन्ने नै निर्णय गर्न सकिनँ।
हुन त कमजोरी मेरो पनि थियो। कमसे कम आउने बेलामा म आउँदै छु भनेर जानकारी गराएको भए हुन्थ्यो। म आएको थाहा पाउँदा पाउँदै त्यस्तो गरेको भए। तर आइसकेपछि भएपनि मेसेज त गरेको थिएँ नी। पछि त उनले फेसबुक डिएक्टिभेट नै गरिछन्। म झन् आँत्तिएँ। अब फेसबुक नै डिएक्टिभेट गरेपछि कसरी भेटिन्छ भन्दै नरेशले घुमाउन लग्यो।
उता खर्च,अझ भेटघाट नहुनु अझ नरेशले कोहीसँग भन्यो भने गाउँघरतिर बेइज्जत हुने चिन्ता पनि लाग्न थाल्यो। एक सातासम्म पनि उनी सम्पर्कमा नआएपछि मलाई पनि जापान खल्लो लाग्न थाल्यो।
दस दिनपछि फर्किने भएँ म। ती वाचाकसम सबै झुट रहेछन्। ती सारा झूठ र फिक्का मुस्कानको पर्दा मात्र रहेछ। सब धोका रहेछन्। मेरो त प्रेम नै थियो उसको रहेनछ। कान्छाइमा उनलाई बाइ भन्दाखेरिको त्रिभुवन विमानस्थल सम्झेँ। तर अनुभूति फरक थियो। त्यतिबेला उनलाई उडाउन आएको थिएँ। यसपालि छाड्न।