जीतबहादुर र तोया देविका सपनाहरु थिए, तर ठूला थिएनन्। दुवैजना गाँउको एउटा विद्यालयमा शिक्षक थिए| जीतबहादुरको मावि र तोयादेवीको निमाविमा दरबन्दी थियो। विद्यालय पनि घरनजिकै भएकाले जागिरसँगै खेतिपाती पनि गर्थे। खेतबारी, राम्रो घर, यताउता जान एउटा मोटर साइकल।
परिवारमा ६० काटेका बा-आमा, सात बर्षको छोरो रोहन, र भाई नर बहादुर र बुहारी शारदा थिए। जागिरकै शिलशिलामा नर बहादुर र शारदा काठमाडौं बस्थे|
अमेरिकाका लागि डिभी खुलेको समयमा शारदाले नै सबैको डिभी भरिदिएकी रहिछन्। तोयालाई डिभी पर्यो।
डिभी परेपछि जितबहादुर र तोया के गर्ने भन्ने निर्णयमा पुग्न सकेनन् । यद्यपि लाखौं खर्चेर मानिसहरू हिँडेरै अमेरिका गएका घटनाहरू उनीहरूले नसुनेका भने होइनन्। तर गाउँमा पनि जीवन राम्रोसँग चलिरहेक थियो। शिक्षक हुँदा इज्जत थियो। अमेरिका गएर के गर्ने हो भन्ने चिन्ता पनि भयो।
जितबहादुरलाई गाउँ, माटो र विद्यालय छाडेर विदेशिन मन थिएन। विद्यार्थीहरूलाई देशका कर्णाधार भनिरहँदा उनीहरूकै अघिल्तिरबाट आफू चाहीँ देश छाडेर कसरी जानू!
पराई मुलुकमा भन्दा यही माटोमै केही गर्छु भन्ने सोचे। फेरि छोराको भविष्यबारे घोत्लिए। छोराकै लागि भएपनि जानुपर्छ भन्ने उनीहरूले निर्णय गरे।
भिसा अन्तर्वार्तापि दुवैले विद्यालयबाट राजीनामा दिए। थोरबहुत जम्मा भएको संचयकोषको पैसा झिके। बैंकको बचत निकाले। अमेरिका जाने भएपछि विद्यालयले उनीहरूलाई विदा गर्न समारोह नै राख्यो।
जितबहादुर र तोया दुवै विद्यार्थीका प्रिय शिक्षक थिए। उनीहरूको विदाइमा कसैले रूँदै कविता भने कसैले गीत गाए। विद्यार्थीहरूको प्रस्तुतीले तोयाले आशु रोक्न सकिनन्। दुलही अन्माएपछिको घरजस्तै बन्यो जीतबहादुर र तोयाले छाडे पछि त्यो दिन स्कुलको मैदान।
मार्चको पहिलो हप्ता, बिहानै काठमाडौंलाई हुस्सुले ढाकेको थियो। जीत बहादुरको परिवारले कतार एयरलाइन्सको जहाज चढेर नयाँ जीवनको यात्रा शुरु गर्यो। हाज कहिले बादलमा हराउँथ्यो, कहिले बादल माथि हुन्थ्यो, कहिले अक्कल झुक्कल तल शहर देखिने गरी उढ्थ्यो। जितबहादुरलाई जहाजको उडान आफ्नै जीवनको उडानजस्तै लाग्यो।
उनी नेपालमा टेकेको अन्तिम पाइलाबाट जति जति टाढा पुग्थे, मन त्यो पाइलासँग त्यति नजिक हुन्थ्यो। जहाज एकोहोरो अवाजमा उडिरहँदा अबको जीवन के होला भनेर कल्पनामै आँत्तिन्थे जितबहादुर। तोयादवीको अनुहारले पनि नमिठो मानिरहेको थियो। उनीहरू दुवै बिचमा बसेका छोरालाई हेर्थे र चित्त बुझाउँथे।
एउटा अर्थमा यो यात्रा रोहनको उज्ज्वल भविष्यका लागी गरेको सम्झौता थियो। आफ्नो इमान, खुशि, बिचार, सिद्दान्त सब त्यागेर, जीतबहादुरले सन्तानका लागि हारेर गरेको सम्झौता।
नेपाल छाडेको तीस घन्टामा जीतबहादुरको परिवार न्युयोर्क पुग्यो। ज्याक्सन् हाइटमा तोयाका माइती गाउँका एक जना दाजुकोमा गएर एक दुई दिन बसे। तिनै दाजुले नै तोयालाई थ्रेडिङ गर्ने ठाउँमा र जीतलाई एउटा सब वे मा जागीर मिलाइदिए। एउटा पुरानो बिल्डिङमा एक बेडरुम अपार्ट्मेन्ट् लिए, तर त्यो पनि सार्है महँगो। दुबैको कामको नजिक थियो, हिडेरै जान मिल्ने। उनीहरुको अपार्टमेन्ट् भन्दा तीन ब्लक परको स्कुलमा रोहनलाई भर्ना गरे।
प्रत्येक बिहान काममा जादा तोया रोहनलाई स्कुल पुर्याउँथिन् र जीतबहादुर कामबाट फर्कदा लिएर आउँथे।
घरमा बोलिने भाषा अंग्रेजी नभएका कारण विद्यालयल रोहनलाई छुट्टै कक्षाकोठामा राख्यो। विस्तारै ऊ पनि नेपालीभन्दा अंग्रेजी धेरै बोल्ने भयो। तीन चार वर्षमा त उसले नेपालि बुझ्ने मात्र तर बोल्न कत्ति पनि नसक्ने भयो। सुरू सुरूमा अंग्रेजी सिकोस् भनेर जीतबहादुर र तोयाले अंग्रेजी बोल्न छाडिदिए, तर अहिले उनीहरु नेपालीमा बोल्थे, रोहन अंग्रेजी जबाफ दिन्थ्यो, दुबैले कति बुझ्थे कति बुझ्दैनथे।
रोहन १२ बर्षको भए। एक दिन तोयाले स्कुल पुर्याउँदै गर्दा स्कुल भन्दा एक ब्लक अगाडि बिस्तारै हिड्यो र भन्यो "मम्! आई क्यान गो टु स्कुल फ्रम हिएर बाइ माइसेल्फ्, आई डन्ट् वान्ट् यु गो विथ् मि टु माई स्कुल एभ्री डे, आई एम नट् अ किड् एन्निमोर्" (ममी म यहाँबाट आफै स्कुल जान सक्छु, मलाई तपाईं प्रत्येक दिन मेरो स्कुल छाड्न आएको मनै पर्दैन, म अब सानो बच्चा हैन )
किन बाबु? तोयाले सोधिन|
'यु आर नट् एज् कुल एज माइ फ्रेन्ड्स् मम्' (तपाई मेरा साथिहरुको आमा जस्तो राम्री हुनुहुन्न) अलि अलि बुझिन् तोयाले, मन चसक्क भयो। तर केहि भनिनन्। स्कुलको गेटसम्म हिँडिन् तर रोहन भने तोया भन्दा अगाडि नै दौडिएर स्कुल छिरिसकेको थियो। तोयाले न त छोराले बुझ्ने भाषामा सम्झाउन सक्थिन न त छोराले तोयाले सम्झाएको भाषा नै बुझ्थ्यो। भाषा पनि अचम्मको हुने रहेछ, कहिलेकाहीँ अर्थ र सूचनामात्र बोक्ने तर भाव नबोक्ने।भावबिनाको शब्दको के नै शास हुन्छ र ! जब रोहनले नेपाली बोल्न छाड्यो, उसँगको प्रत्येक संवादमा न त समवेदना हुन्थ्यो, न त कुन भावना नै हुन्थ्यो, केबल अर्थ र सूचना मात्र हुन्थ्यो।
६ महिनासम्म तोयाले एक ब्लक सम्म मात्रै पुर्याउन पाउँथिन्, रोहन कुद्थ्यो, उसको मनमा कतै साथीहरुले आमालाई देख्छ कि भन्ने डर थियो। समय बित्दै गयो, जीतबहादुर अनि तोया र छोराबीच भाषा र व्यस्तताका कारण एकदम कम कुरा हुन्थ्यो।जीतबहादुर र तोयाले त्यो न्युयोर्कको त्यस्तो जाडोमा पनि कहिले जाडो भनेनन्, कहिले हिउँद भनेनन्, अनवरत काम गरिरहे| काम राम्रै चलिरहेको थियो, कमाई पनि सन्तोषजनक नै थियो। तर जति राम्रो काम कमाई भए पनि न्युयोर्कको महँगी, नेपालमा आफन्तको आश, अनि रोहनको चाहनालाई पूरा गर्दा एउटा दुइ बेडरुम अपार्ट्मेन्ट्मा सर्न सकेका थिएनन्।
रोहनले आफ्नो लागि छुट्टै कोठा माग्न थालिसकेको थियो। १४ वर्षको भएपछि एकदिन बाबुआमासँग झोक्कि - खुशी बनाउन सक्दैनौं भने किन जन्मायौं ?
जीत बहादुर केही बोल्न सकेनन्, सके पनि के नै भन्न सक्थे र ! उनीहरुले कहिल्यै रोहनलाई 'नाई' भनेनन्। जे भन्छ पूरा गरिदिए।
'अब यो बर्षको लिज सकिएपछि हामी अर्को अपार्ट्मेन्टमा सरौँला बाबु' नरम बोलिमा जीत बहादुरले आश्वासन दिए। 'आई डन्ट् बिलिभ् अन्टिल वी मुभ इन् (हामि नसरिन्जेल् म बिस्वास गर्दिन) रोहन झर्कियो र जुत्ता खुट्टामा छिराउन थाल्यो। हप्ताको आठ दस घन्टा काम थपेर भए पनि मार्चबाट २ बेड रुम अपार्ट्मेन्ट्मा सर्ने भए उनीहरू। रोहन अलि अलि खुसि भए जस्तो देखिए।
छोराको आफ्नै कोठा भए पछि जीतबहादुर र तोयाले छोरालाइ एकदम कम भेट्न र देख्ने पाउने भए। एक त कामको अवधि बढेको अर्कातिर छोरो प्राय घरमा बस्दा पनि ढोका लगाएरै बस्नाले बिस्तारै बिस्तारै, रोहन घरमा भन्दा साथीकोमा बढी बस्ने भयो, राति सुत्न आउँथ्यो शुरु शुरुमा। एक दिन ठूलो आँट गरेर जीतबहादुरले सम्झाए, आफ्नो सबै यात्रा सुनाए, गाउँदेखि त्यो दुइ बेडरुमसम्म को यात्रा सबै सुनाए। रोहनका लागि आफूले देखेका सपना सुनाए।
जबाफमा रोहनले एक वाक्यमा भने - 'इट् इज् माइ लाइफ्।
छोराको व्यवहारले थाकिसकेका थिए जीतबहादुर र तोया। अहिले सानो छ अल्लारे छ, ठूलो भएपछि बुझ्ला भनेर मन बुझाएका थिए।
१८ वर्ष पुगे रोहन। केही दिनमा उनको जन्मदिन थियो। छोराको जन्मदिन यसपालि राम्रैसँग मनाउने तयारी गरेका थिए जीतबहादुरले।
तर एकपटक छोरालाई पनि सोध्नुपर्ने सम्झिए। रोहनलाई सोधे- बाबु यसपालि तिमीलाई बर्थडे कसरी मनाउने मन छ?
रोहनले शान्त हुँदै जबाफ दिए- ह्वाट एबाउट नेक्स्ट् विकेन्ड? आई विल ह्याब अ सरप्राइज फर यु टु! (अर्को विकेण्ड मिल्छ? मसँग तपाईहरुका निम्ति पनि एउटा सर्प्राइज छ )
छोरामा आएका अचम्मको परिवर्तनले जीतबहादुर र तोया खुशी पनि भए। सरप्राइज भनेकाले हच्किए पनि।
रोहनको जन्मदिनको दिन थियो त्यो।
जितबहादुरले केक ल्याए । उपहारमा भर्खरै बजारमा आएको फोन ल्याए। उसकै नाउँमा बैंकमा पाँच हजार डलर पनि राख्दिने भए। र छोरालाई कुरेर बसे।
समय घर्कदै गयो तर रोहन आएन। एकछिनमा जीतबहादुरको फोनमा एउटा म्यासेजको नोटिफिकेसन् आयो, रोहनको रहेछ।
'जीत् एन्ड् तोया, आइ नो यु गाइज् आर् वोइटिङ् फर् मि, बट् आई वान्ट् टु टेल् यु द्याट आइ एम् नाउ एट्टिन् एन्ड् आइ एम् एन् एडल्ट्, फ्रम् टुडे, आई क्यान् मेक् माइ डिसिजन्। द फर्स्ट् डिसिजन् आइ एम गोइङ टु मेक इज् टु डिस्वोन्ड् यु एज् माइ प्यारेन्ट्स एन्ड् द सेकेन्ड् डिसिजन् इज् आइ विल् चेन्ज् माइ लास्ट् नेम।'
(जीत र तोया, मलाई थाहा छ, तपाईंहरु मलाई कुरेर बस्नुभएको, तर म एउटा कुरा भन्न चाहन्छु, आज बाट म अठार बर्षको भए, अब म कानुनी रुपले कुनै पनि निर्णय गर्न स्वतन्त्र छु, मेरो पहिलो निर्णय स्वरुप मैले तपाईंहरूलाई मेरो बा आमाको रुपमा त्यागे र मेरो दोस्रो निर्णय; मैले मेरो थर परिवर्तन गर्नेछु।
उभिएर टेक्स्ट् पढेका जीत बहादुर थचक्क बसे, तोयालाई गम्लङ अगालो हाल्दै रुन थाले ।
'बुढी यो परदेशमा माटो पनि आफ्नो भएन पाठो पनि आफ्नो भएन' हामिले हार्यौ, अब केहि बाँकी रहेन। यो पापी माटोमा म एक्छिन् बस्दिन।
कतार एयरलाएन्स्को प्लेन दोहाबाट उढ्यो, फेरि जीतबहादुर र तोयाको बाँकी रहेको जिन्दगि जस्तै। जीत बहादुरले आँखा चिम्लिए, लगभग एघार वर्ष अगाडि त्यहि एयरपोर्टबाट पश्चिम फर्किएको प्लेन चढेका थिए, आज पूर्व फर्किएको प्लेनमा छन्।
त्यो समयलाई एक-एक गरी सम्झिए। यो एघार वर्षमा पाएको र गुमाएको कुराको हिसाब गरे, कतै मेल खाएन। कति ले बिर्सिए होलान्, कति ले सम्झेर पनि बिर्सिने होलान्। आँखा अझै बन्द थिए, उनी सोच्दै थिए पक्कै पनि माटोले त आफ्नै ठान्छ होला।