अफिसको एउटै कोठामा उसको र मेरो कार्यकक्ष थियो। टेबुलहरू पनि आमनेसामने। नहेरूँ भन्दा पनि उसको अनुहार देखिने। आक्कल झुक्कल भित्र-बाहिर गर्दा उसको अनुहार नियाल्थेँ। मान्छे त नेपाली नै हो तर झट्ट हेर्दा ऊ अरबियन जस्ती देखिन्छे।
अफिसको ढोकैमा भेटिँदा म उसका आँखा नियाल्थेँ। अनगिन्ति अनुहारसँग यी आँखाहरू ठोक्किन्छन्, तर केही खास अनुहारका खास आँखाहरूले मलाई तुरून्तै कैद गर्छन्। यसरी मेरा आँखालाई कैदी बनाउने अत्यन्त सिमित आँखामध्ये ती आँखाहरू पनि थिए। एउटै अफिसमा काम गर्नु अघि हामी बीच सामान्य चिनाजानी थियो।
धेरै वर्ष अघि एउटा गोष्ठीमा हाम्रो भेट भएको थियो। म त्यो सामान्यलाई प्रगाढ बनाउने प्रयत्नमा थिइन। म सामान्यलाई सामान्य नै रहिरहोस भन्ने चाहन्थेँ। एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाई हल्का छोएझैँ भान हुन्थ्यो, जसले उसलाई छुँदै आएको होला भन्ने लागेको थियो मलाई पनि। उसका बोलीको मधुरता, उसका हाउभाउको शिष्टता---। ओहो! केही त छ उसमा। म अनुमानै गर्न सक्दिनथेँ उसका बारे। जहाँ त्यति चंचल हाउभाउ छ, त्यहाँ भारी गम्भिरता पनि छ किन? निर्दोष ती आँखाहरूमा बुझि नसकिने रहस्य भएझैँ किन? तर असहज थियो त्यसरी एकाएक कसैमाथि गहिरो चासो राख्नु।
कसो कसो एकदिन सम्मुख पर्यो र मैले राम्ररी नियालेँ ती चंचल अनि गम्भीर आँखाहरू। तत्क्षण मैले यो पनि भुलेछु कि हामी एक अर्कालाई त्यति धेरै चिन्दैनौं। मैले यो पनि बिर्सेछु कि कसैलाई एकोहोरो हेर्नु पनि लैङ्गिक हिंसा हो। म आफैलाई निकै अप्ठेरो र अचम्म लाग्यो र हठात् पछाडि फर्केर मेरा प्रिय आँखाहरूलाई भीडतर्फ कता हो कता हुत्याइदिएँ मैले। म पनि एक खालको हतप्रद भएँ र सम्हालिएँ।
मेरो मन र सोचाइँ एकातिर अनि व्यवहार र हेराइ अर्कोतिर छ भन्ने उसले अड्कल काटिहाली। निकैबेर पछि उसैले पछाडिबाट बोलाई। फर्केर हेरेँ तिनै प्यारा दुई आँखाहरू थिए। अलिक अत्तालिएर उसले भनी-‘डिस्टेन्स मेनटेन गर्न खोज्नु भएको हो? त्यसो भए ठीकै छ नी। कि अरूको डर मान्नु भएको हो?’
मैले हतारमै बनावटी कुरा गरेँ-‘होइन होइन। त्यस्तो केही होइन। मैले तपाईंलाई त्यसरी नियाल्न नहुने। अँ म विगतमा हराएछु त्यसैले।’
उसले मोबाइलमा सेट गरिराखेको नामतर्फ इंगित गर्दै भनी– ‘मैले फोन गर्दा अर्कै थर आयो होला तपाईंको मोबाइलमा।’
मैले भनें- ‘मैले तपाईंको नाम बिर्सिएछु।’
उसले भनि-‘नाम बिर्सिनु भएको होएन। मेरो थर परिवर्तन भएको हो।’
मैले भनें- ‘कुनै नवजवान ठिटोले नियालेजस्तो किन नियाल्छ यो मान्छेले जस्तो लाग्यो होला तपाईंलाई।’
उसले भनि-‘प्रत्येक केटा मान्छेले केटी मान्छेलाई त्यसरी नै नियाल्छ। मैले राम्ररी बुझेकि छु। त्यस्ता कुराले मलाई लज्जित बनाउँदैन।’
लेख्ने बानी भएकोले कहीँ कतै केही गतिलो विषय मिल्छ कि त्यो पनि केटीकै बारेमा एक यथार्थ भोगाई! मेरो स्वार्थ भनेपनि जे भनेपनि त्यति नै थियो उसको बारेको चासो।
उसले भनि-‘कहाँ हराउनु भयो? अर्कै दुनियाँमा पुग्नुभयो जस्तो छ।’
मैले भनें-‘मनको कुरा कसरी थाहा पाउनु भयो?’
उसले भनि- ‘पुरूषवादी सोँचका बारेमा पनि चाल पाउँछु मैले।’
मैले धेरै बोल्ने आँट गरिनँ।
भोलिपल्ट समयमै अफिस पुगेँ। अफिस भनेपनि प्रायः फिल्डमै कुद्नु पर्ने हो तर त्यस दिन कतै जाने कार्यक्रम थिएन। भर्खर अफिसले किनेको स्कुटरमा हुइकिएर उ पनि अफिस आइपुगि।
यसो नियालि र भनि-‘गुड मर्निंङ सर!’
मेरो पुरुषवादी सोँच हाबि भएछ। ‘गुड मर्निंङ सर!’ भनेको ठाउँमा अलि अर्कै सुनेछु। झट्ट यथार्थ धरातलमा फर्केछु। आफ्नै मनलाई एकपटक गाली गरेँ र जवाफ दिएँ-‘गुड मर्निंङ!’
धेरै दिन फिल्डतिर भएकोले अफिसमा काम थुप्रिएको थियो। काम गरेँ तर काममा लगन भएन। मेरो ध्यान भंग भयो। दिनभर डिस्टर्ब भएको महसुस भयो। मलाई अलिक एकान्त चाहिएको, जब अफिस समय गुज्रियो हत्तपत्त ब्यागमा डायरी, पेन र ल्यापटप राखेर बाहिर निस्किएँ।
उसले मलाई रोक्ने प्रयास गरी र भनी- ‘एकछिन पर्खनु है म पनि संगै निस्कन्छु।’
केटी प्रतिको आकर्षण त थियो नै, समयपनि कटाउनु थियो। मलाई अलिक अप्ठेरो महसुस भैरहेको थियो तापनि ‘हुन्छ नी’ भनेर पर्खिएँ।
आज ऊ अलि बढी नै नजिक हुन खोजेकि जस्तो लाग्दै थियो। सामान्य कुराकानी भयो। कुरो सामान्य थियो तापनि एकदिनको समिप्यताले पछि कस्तो असर पर्छ भन्ने उसले पनि बुझेकि थिई अनि मैले पनि बुझेको थिएँ। एकछिन फेरि नियालें उसका ती प्यारा आँखाहरू। असाध्यै निर्दोष, असाध्यै गम्भीर तर चंचल। शायद मैले जिन्दगीमा पहिलोपटक यस्ता आँखाहरू भेटेँ हुँला जो एकसाथ गम्भीर र चंचल छन्। मैले अनुमान लगाइसकेको छु कि ऊ जति साधारण देखिन्छे त्यति ऊ छैन। उसभित्र केही हुर्हुराउँदो मुस्लो, केही उकुसमुकुसका गुम्फनहरू, केही कहालीलाग्दा विगतहरू र केही उच्च आकांक्षाहरू जबरजस्ती दबाइएका अवश्य छन्। उसको उद्देश्य पनि जीवनका तिनै पत्र केही उधिन्ने, सुनाउने र मनको बोझ अलिक हलुको बनाउने बाहेक बढी थिएन होला। मेरो पनि उसको जीवनको कथा आफूले सुनिदिएर आफ्नो गतिलो कथा तयार पार्ने बाहेक बढी थिएन, तर मेरो पुरूषवादी सोँचले त्यतिमात्र ठानेन।
उसले म लेख्छु भन्ने कुरा कहाँबाट थाहा पाइछ कुन्नी भन्दै थिई- ‘तपाईंले दुई/तीनवटा किताब लेख्नु भएको छ रे। कहिले दिने मलाई पढ्न? महिलाहरू जो अझै दबिएका छन्, हेपिएका छन्, मसंग त्यस्ता थुप्रै घटनाहरू छन्, तिनीहरूको बारेमा लेख्नुहोला। मलाई पनि आफ्ना दुःख बाँड्न पाए हलुका महसुस हुन्छ।’
मैले भनें- ‘तपाईं एकदम चलाख हुनुहुन्छ। मलाई आफ्नो दुःख बिसाउने थलो बनाउँदै हुनुहुन्छ।’
उसले भनि- ‘तपाईंजस्तो सिरियस पनि हुनुहुँदैन है। जीवन त रमाइलोसँग बिताउनु पऱ्यो नी। जहिले पनि टेन्सन लिएर के गर्नु भनेको नी।’
यसरी धेरै दिन बिते। हामी नजिकियौं। पछि-पछि त मैले उसलाई अफिसमा देखिन भने नरमाइलो अनुभूति हुनथाल्यो। मेरो गम्भिरपन बढ्दै गएको थियो भने उसको चञ्चलपन पनि बढ्दै गएको थियो। ऊ तपाईबाट ‘हजुर’ मा बढुवा भएकी थिई भने म तपाईंबाट ‘तिमी’ मा झरेको थिएँ।
अहिले उसको जागिर सकियो र घर फर्किइ। तर पनि हामीबीच फोनमा लामो वार्तालाप हुन्छ। ऊ प्रति राखेको चासोले मलाई खुसी बनाउँछ। उसको अनुपस्थितिले दुःखी बनाउँछ। मेरो पुरूषवादी भावना उसले राम्ररी बुझेकि छे। त्यसैले सुरूका दिनहरूमा मलाई वशमा पार्न ऊ जति नजिकिएकि थिई अहिले त्यति छैन। फोनमा मलाई खुसी पार्न मात्र लोकाचार पार्छे उसले।
उसको बारेमा उपन्यास बनाउँछु भनेको त्यस कुरामा त ऊ सहमत भई तर कृपया कतैपनि त्यो पात्र म हुँ भनेर नखुलाउनुहोला भनेकि छे।
मैले पनि उसका जीवनका घटनाहरू लिपिबद्ध गर्न थालेको छु। उसको जीवनको गन्तव्य भेटाउन म कोलम्बस बन्ने प्रयत्न गर्दैछु, हठात् कतै अमेरिका पत्ता लागिहाल्छ कि भनेर। अफिसमा फूर्सद पायो कि उपन्यास लेख्ने बहानामा उसैको चिन्तन गर्न थालेको छु। उसको कहालिलाग्दो जीवन कथा रोमाञ्चक बनाउने धुनमा लाग्दा लाग्दै आखिरमा उसंग मेरो लभ पर्यो। तर त्यो लभ एकोहोरो छ मलाई थाहा छ तापनि लभ गर्न छोडेको छैन।