‘पख न, नआत्ती अथक मेहनत गरेकी छस् कसो सफल नभइएला र!’
लोक सेवा पढ्छु भनी भान्छा, बेडरुम, रेस्टरुम, स्टडी रुम सबै कीर्तिपुरमा अवस्थित घरको एउटा कोठालाई महल मान्दै बस्न थालेको पनि वर्षौँ भइसकेछ। मेरी आमा आज यही महल पस्नु भएको थियो, जहाँ उहाँकी छोरीका सपना लथालिङ्ग छरिएका थिए। किताबको सामुन्य बसेकी मलाई अङ्कमाल गर्दै आमा सुमसुम्याउन थाल्नुभयो।
बोली फुटेन। मेहनत पनि सक्दो गरेकै छु तर पनि सफल हुन नसकेको पिरले हो या वर्षौँपछि आमाको न्यानो अङ्गालो पाएर हो, म त छताछुल्लै आँखैबाट पोखिन पो पुगेछु।
‘अथक मेहनत गरेकी छस् कसो सफल नभइएला र! मेहनतको फल मिठो हुन्छ अनि धैर्यता सफलताको अर्को निशानी हो नि नानी,’ आमाले आश्वासन दिई नै रहिन्।
आमाको मुहारतिर पुलुक्कै फर्किएँ। मन्द हाँसोमा मक्ख थिइन्। अलिकति भए पनि थामिएँ म।
पिई पिई पि…..ई…पिई…।
एक्कासि मेरो कानमा हर्न बज्यो।
अहो! नौ बजिसकेछ।
नोकरीमा जाँदा घरबेटी दाइले जहिले हर्न बजाउँछन्। आज पनि बजाएछन् कानै खाने गरी।
‘धत्! कति सुतेकी दिपे तँ आज?’ आफैसँग मुरमुरिएँ।
हिजो बेलुकाकै दूध थियो, त्यही बसाएँ। चिया मसला र दूध धेरै अनि चिनी थोरै राखेँ। आमा आउनु भएको सपना पो रहेछ भन्ने भान पछि मात्रै भयो। २/३ दिन बिराएर मात्रै घरमा फोन गर्ने गरेकी थिएँ।
आज हिम्मत जुटाएर नै फोन लगाएँ।
‘हेल्लो आमा।’
‘हँ बा भन् के छ तेरो खबर?’
‘म ठिक छु। अनि हजुरहरूलाई कस्तो छ?’
‘सबैलाई आरामै छ नानी। अलि सन्चो मैलाई छैन बरु। हिजोदेखि यो पिँडुला दुखेर सहनै सकेकी छैन।’
‘ए, ए। सपना देख्या थिएँ। अस्पताल जानुहोला। औषधि समयमै लिनुहोला।’
‘हुन्छ नानी। अनि सुन्न तेरो अस्तिको नतिजा के भयो? भन्दा पनि भनिनस्।’
‘हेलो हेलो। आमा...। तपाईंको आवाज बुझिएको छैन राखेँ है। फोन काटिदिएँ।’
नाजवाफ म। के सुनाउनु दुर्गति!
‘यति पास गर्न सके त संसार नै जितेको महसुस गर्थेँ,’ आँखा सामुन्नेको किताबतिर घोरिँदै बोलेँ।
म सामाजिक संजालमा क्रियाशील नभएको धेरै नै भयो। समय मिलाएर कहिलेकाहीँ लेख लेख्ने गर्छु। हप्ता दिन अघि अनलाइनमा प्रकाशित गर्न एउटा लेख पठाएकी थिएँ। आजै छापिएछ। थुप्रै सेयर र लाइक कमेन्ट आइसकेछन्। कतिपयले त मलाई मेन्सन अनि ट्याग पनि गर्न भ्याइसकेछन्।
झल्याँस्स हुँदै फोन बन्द गरेँ। अहो! आधा घण्टा फोनमा हराएछु छ्या।
भित्ते घडीले ४ बज्न लागेको संकेत गर्दै थियो। फोनको घण्टी बज्यो। उठाएँ।
‘के छ राइटर ज्यु?’
राइटर ज्यु! म अकमकाएँ र बोलेँ, ‘ठिक छ।’
‘म तपाईंको शुभचिन्तक। तपाईं यसरी बुझ्नुस् म तपाईंको ठुलो पङ्खा हुँ। तपाईंसँग बसेर चिया मात्रै पिउन पाए स्वर्गै पुगिन्थ्यो कि! के छ तपाईंसँग समय?’
उनी चियाको लागि सोध्दै थिए।
‘चिया अनि तपाईंसँग?’
‘हजुर, डराउनु भएको जस्तो छ। म तिखो तर सिधा छु। त्यही तपाईंको कलम जस्तै ठ्याक्कै।’
पढ्न बसेकी म कलम साथमै थियो। पुलुक्क आफ्नो कलमतिर हेरेँ।
‘सोचेर भन्नुहोस् है पर्खाइमै हुनेछु। अहिलेलाई राखेँ। बाई, सि यू।’
मैले हवस् भन्न नपाउँदै फोन कटिसकेछ।
हैन कस्तो अनौठो मान्छे! आफै मकै पड्के झैँ भयो र आफै सेलाई गयो।
खासमा भन्दा चिया पिउन उनी बाहेक कसैसँग पनि बसेकी थिइनँ। लेखिकाको रूपमा चिनिएदेखि कफी/चियाको लागि थुप्रै प्रस्ताव नआएका पनि हैनन् तर म आफै सबै अस्वीकार गरिदिन्थेँ। कसैलाई सन्चो छैन, कसैलाई काममा छु, समय मिलाउन सकिँदैन त कसैलाई गाउँ आएकी छु फर्किएपछि भन्दै टार्दै आएकी थिएँ।
कुनै दिन प्राण बस्थ्यो चियामा भने हिजोआज एक किसिमको दूरी नै बनाइसकेकी थिएँ। बिछोडको तापको आयतन कति रहेछ भनेर म आफै पोलिएर सेलाएपछि बल्ल महसुस गरेकी हुँ। सायदै उसलाई आभास भएन कि!
२० नोभेम्बर, शुक्रवार।
करिब ५ मिनेटदेखि फोनमा रिङ बजिरहेको थियो। नम्बर हिजोकै अनजान थियो। दोधारिएको मनलाई सान्त्वना दिँदै रिसिभर दबाएँ।
‘फोन उठ्न पनि वर्षौँ लाग्यो त राइटर साहेब। के छ त प्रिय लेखकको खबर?’
प्रिय जोडेको देखेर असह्य भए पनि शान्त हुँदै बोलेँ- ‘ठिक छ।’
‘खै त २४ घण्टा कुर्दा पनि जवाफ नआएपछि फेरि फोन गर्ने जमर्को पो गरे त।’
‘जवाफ?’
‘ला बिर्सिनु भए जस्तो छ। हिजो कफी कहिले पिउने भनेको हैन त? अब भन्नुहोस्, कहिले?’
अस्वीकार स्वरूप बहाना बनाउन मनले मानेन।
‘ठिक छ म सोचेर भनौँला नि।’
‘हवस्। म प्रतीक्षामा हुनेछु।’
अँध्यारो कोठाभित्र बस्दै आएको पनि थुप्रै भइसकेको थियो। सबैको प्रपोजललाई लत्त्याउँदै आएकी मैले उसलाई हुन्छ को जनाउ घण्टी किन बजाए खै? वर्षौँदेखि छुट्टिएका प्रेम जोडीको पुनः मिलन भएको आभास हुन थाल्यो। मलाई अनवरत रूपमा वेद जीको यादले सताउन थाल्यो।
‘वेदप्रकाश उपाध्याय’ पूरा नाम भएता पनि म वेदजी नै भनेर बोलाउने गर्थेँ।
सामुन्यको फोनको लक खोलेँ। म्यासेज बक्समा गएँ।
‘भोलि बिहान ठिक ११ बजे। लभ क्याफे’ लेखेर पठाएँ।
मर्निङ अनलाइन क्लास सक्काएँ। आज धेरै दिनपछि मेरो मन पनि चङ्गा झैँ थियो। पुसको चिसोमै पनि स्नान लिएँ।
‘तिमी सजिएको खुब मन पर्छ मलाई, त्यसैले थोरै भए पनि मेकअपमा हिँड है दिपु’ भनिरहन्थे वेदले मलाई। ‘पिन्किश ह्वाइट’ उनको मन पर्ने रङकै कुर्था लगाए अनि थोरै मेकअप र कलेजी रङको लाली ओठमा थपेँ। म आज महिनौँपछि शृंगारिएँ। घडीले १०:३५ भएको संकेत गर्दै थियो।
ला ढिलो पो भइसकेछ। पठाओ बोलाएँ। २ मिनेटमै आइपुग्यो र म लागेँ क्याफेतिर।
२० मिनेटमै पुगेँ। ११ बजेको समय दिएकाले अझै ५ मिनेट बाँकी रह्यो। करिब अढाई वर्षपछि म यो क्याफेमा आएकी थिएँ। थाहा थिएन खै केले तानेर ल्यायो। कतै पुराना यादहरूले?
हैन, अहँ! म सम्झिन चाहन्नँ ती दिनहरू।
भित्रै पसेँ। सबैभन्दा अन्तिमको कुर्सी खाली थियो। म सरासर त्यही लागेँ। प्रेमिल थियो क्याफे। कोही चियामा झुमेका थिए। कोही आँखाको नशामा एक अर्काको हात समाउँदै झुमेका थिए त कोही पार्श्वको सुमधुर ध्वनिमा।
मेरो मन भने बेचैन नै थियो। कस्तो होला? को होला? नाम पनि सोधिनँ, के होला? के भनेर कसरी बोल्ने होला यस्तै यस्तै थुप्रै प्रश्नहरू बर्सिन थाले।
११:१५ भइसक्दा पनि न फोन आयो न त मान्छे नै। के ऊ नआउने नै होला? हैन आउँदैन थियो त किन कर गर्यो भेट्नलाई? ऊ पक्कै आउँछ।
दुइटा मट्का चिया मगाएँ। पुरानै स्वादमा पुराना याद समेट्दै चिया पिउन मन लाग्यो।
अक्सर पानी परेको बेला हामी यहाँ बसेर चिया पिउन खुब रुचाउँथ्यौँ। कहिले सबै साथी भएर ग्रुपमै आउँथ्यौँ त कहिले वेदजी अनि म मात्रै आउँथ्यौँ। क्या दिन थिए। सम्झिँदा पनि आनन्दित तुल्याउने।
‘म्याम केही अर्डर?’
मैले अहिलेलाई केही पर्दैन र चाहियो भने भन्छु भनेँ। धेरै बेर एक्लै बसेको देखेर फेरि सोध्न आइपुगेका थिए। अब त अति भयो पर्खाउनुको पनि सीमा हुन्छ नि भन्दै फोनको कलिङमा गएकी मात्रै के थिएँ मेरो आँखा सिधै इन्ट्रीरुम तिर ठोक्किन पुगेँ। त्यहाँ सेतो सर्ट र फिक्का कालो रङ्गको फर्मल पाइन्टमा कोही उभिएका थिए।
पछाडि नै फर्केका भए पनि चिनेकै महसुस भयो। पछाडिको सिटमै बसे पनि अगाडिको मान्छेबाट छेकिँदै मैले हेर्न भ्याएँ।
ठुलै हिमाल ममा खसेर भासिएको आभास हुन थाल्यो। मुटुको चाल बन्द भयो। आँखा झिमिक्क पनि नपारी एकतमासले हेरिरहन खोजेँ। ऊ सिधै मतिरै आउँदै थियो। म भने सालिक झैँ नहल्ली बसिरहेँ।
‘क्यान आई सिट हियर,’ उनी आइपुगे।
के भइरहेको छ? म मुर्छित भए झैँ थिएँ। कुनै जवाफ फर्काउनै सकिनँ।
‘हे यू’ भन्दै उसले मेरो काँध धपधपायो। करेन्ट लागेझैँ भएँ।
‘तिमी ठिक छौ दिपिका? बोल्दिनौ त!’
उही बोली, उही हाँसो, उस्तै पहिरनमा थियो ऊ। पहिले जुँगाको रेखी मात्रै बसेको थियो भने अहिले दारी-जुँगाले गाला पूरै छोपेका थिएँ। अरू सबै उही थियो। अहिले मेरा लागि केवल क्याफेमा भेटिएको एक अपरिचित थियो। जसलाई मैले वर्षौँ पहिले मोर्डन कलेजको गेटमा भेटेकी थिएँ।
‘तपाईं यहाँ कसरी वेदजी?’
वेदजी। हो, उनी त्यही वेदप्रकाश उपाध्याय थिए।
‘तिम्रा यादहरूले मलाई खुलेर जिउन कहाँ दिए र दिपिका। हेर न आज तिमीलाई पछ्याउँदै ल्याइपुर्याएँ।’
‘कसरी यस्तो हुन पुग्यो! हामी छुटिएदेखि म यो क्याफेमा पसेकी थिइनँ। फेरि आज वर्षौँपछि फर्किएँ र भेट पनि उसैसँग भयो जसलाई अब म कहिल्यै भेट्न चाहँदिनँ थिएँ। रहरले छुट्टिएको ऊ रहरले नै खोज्दै आएको देख्दा अनेकौँ प्रश्न आउन थाले।’
‘हो नि। अकस्मात् फेरि भेटियौँ है! मलाई केही प्रभाव नै नपरे जसरी कुरा सुरु गरेँ।’
‘अनि सुनाऊ तिमीलाई कस्तो छ? कता छौ?’
‘म त यतै छु। यो काठमाडौँले मलाई जान नै कता दिन्छ र!’ कुरै टुंगाइदिएँ।
आफ्नो विगत ३ वर्षदेखिको जिन्दगी उनले बेलिबिस्तार लगाउन थाले।
‘हेर न, मैले त सुर्खेतमै ब्याचलर इन इन्जिनियरिङ गर्न थालेँ। कहिले सकिएला लागिसक्यो। कलेज पढ्दाका सबै साथी छुट्टिएदेखि म त एक्लै पो भएँ। कति आनन्द थियो है जिन्दगी?’
गफिँदै गर्दा भन्ने है शब्द अझ पनि नछोडेको रहेछ। समय फेरियो तर उसको बचपना अझै फेरिएन।
म ज्ञानी श्रोता भई सबै सुनिरहेकी थिएँ। ‘तिमी पनि केही बोल न’ भन्दै जोड कस्न थाल्यो।
‘म यहीँ टियुमा बिबिएस गर्दै छु,’ लथालिङ्ग भएको जिन्दगी देखाउन मन लागेन।
‘ला कुरै कुरामा भुल्यौ त। भन कुन चिया पिउँछ्यौ तिमी?’
‘तपाईंले मलाई छोडेदेखि मैले पनि तपाईंसँग जोडिएका सबै छोडेँ, जस मध्येको एउटा चिया पनि हो’ भन्न त मन थियो नि तर भनिनँ।
‘ठिक छ। हजुरले मगाएको नै मलाई पनि मगाइदिनुस्।’
दुइटा मिठो मसालेदार मट्का चिया मगायो।
‘तिमी कसैको पर्खाइमा छ्यौ दिपिका?’ मैले बारम्बार घडी हेरेको देखेर ऊ बोल्यो।
‘हजुर, हैन नि।’हो भन्नै सकिनँ। तर खासमा भन्नुपर्दा मलाई क्याफेमा बोलाउने त्यो अपरिचित मान्छेको पर्खाइमा थिएँ। यत्रो समय बितिसक्दा पनि ऊ नआइपुग्दा रिससँगै अनौठो पनि लागिरहेको थियो।
‘लिनुस् ल तातो तातो मट्का चिया। पिउनुस् र गाढा बनाउनुस् माया,’ रिसेप्सनिस्ट बोले।
प्वाक्क हान्दिम् झैँ रिस उठ्यो। कहिलेकाहीँ कोही ठाउँ न बेठाउँमा बोल्छन् भन्थे हो रहेछ। सबै रिस यही रिसेप्सनिस्टमा पोखूँ कि लाग्यो।
‘अनि भन चियाको स्वाद कस्तो लायो?’
केही बोलिनँ।
‘हलो लेखिका ज्यु। ध्यान कता छ तपाईंको?’
पुलुक्क मुखमा हेरेँ। ऊ मन्द मुस्कानको साथमा बसिरहेको थियो।
‘लेखिका ज्यु? भनेपछि तपाईं…’
‘हो नि, मै हुँ। कतै मै हुँ भन्ने थाहा पाएपछि भेट्नलाई अस्वीकार गरिदिन्छौ कि भनेर मैले आफ्नो परिचय खुलाइनँ। अनि तिमीले पनि त सोध्ने चेष्टा गरिनौ क्यारे।’
‘मौका नै दिनुभएन,’ मैले भनिहालेँ।
‘हो है। मैले नै हतार गरेँ। तर जे होस् यसरी हामी पुनः भेटिन्छौँ भन्ने आस नै मारिसकेकी थिएँ।’
मलाई भेट्नकै लागि ऊ यति उत्साहित भएको देखेर अचम्मित हुँदै भनेँ- ‘अनि मलाई भेट्न किन खोज्नुभयो नि वेदजी?’
‘प्रश्न गर्ने तिम्रो बानी अझै गएन है दिपु? मेरी सबैभन्दा नजिककी साथी अस्मिता र तिमी त हौ नि। अस्मिता र आकाशको पनि अस्ति भर्खरै बिहे भयो। तिमी पनि आउँछ्यौ कि सोचेको आइनौ त!’
‘ए, ए। अँ, म अलि बिजी भएँ त्यसैले नि। अब तपाईंकोमा भने पक्का आउँछु। के छ त बिचार वेदजी।’
‘भोज खान रे? बेहुली नै तिमीलाई बनाउन मन छ। बरु के छ तिम्रो राय?’
‘म अहिल्यै तयार,’ जिस्किएरै भनिहालेपछि लाज लाग्यो र मुरमुरिएँ आफैसँग।
शान्त वातावरण भयो। सबैतिर मौनताले छोयो। छुट्टिएका प्रेमी नभई उही स्कुलदेखि कलेजसम्मका साथी भएका थियौँ। विगतका तितामिठा क्षणहरू जुन हामीले सँगै बिताएका थियौँ ती सबै पुनः स्मरण भई ताजै घन्किन थाले।
‘कलेज सकिएपछि त तिमीले पनि माया मार्यौ। अन्तिम दिन खबर पठाउँदा पनि भेट्न आइनौ। फोन नम्बर पनि फेरिछौ। तिमीलाई मेरो सम्झना आएन र दिपिका?,’ ऊ सम्बन्ध बारे बोलिरहेको थियो।
‘साथी सबै सँगै हुने भनेको त्यही १२ सम्म मात्रै त हो नि वेदजी। त्यसपछि त को कता को कता। सबै साथीहरू सम्पर्क विहीन भएझैँ हामी पनि भयौँ,’ मैले साधारण अर्थमै कुरा टुंग्याइदिएँ।
‘सबैको कुरै छैन नि दिपिका, यहाँ तिम्रो र मेरो कुरा छ। हाम्रो सम्बन्धको कुरा छ। हामी किन यसरी छुट्टियौँ? किन तिमी टाढियौ?’ ऊ डुब्दै गयो। जुन म चाहन्न थिएँ।
‘छोड्नुहोस् यो सबै वेदजी। विगत बितिगयो। अहिले हामी अपरिचित भई भेटिएका छौँ। बरु भन्नुहोस् तपाईंले मेरो सम्पर्क अहिले कसरी गर्नुभयो? मेरो नम्बर त कसैसँग थिएन।’
‘हो नि कम्ता गाह्रो भयो। तिम्रो लेख पढेदेखि हाम्रो विगत आँखा सामु झल्किन थाल्यो। तिमी सोसल साइटमा पनि नभेटिएपछि अस्मितालाई फोन गरेँ। उसको बिहेमा त पक्कै आउँछौ भनी बोलाउन लगाएँ तर म त्यहाँ पनि असक्षम भएँ। फलस्वरूप अथक प्रयासको असफलतापछि आज म आफै तिमीलाई नै भेट्न भनी काठमाडौँसम्म आइपुगेँ।’
‘ए भनेपछि अहिले तपाईं एक लेखिका भेट्न आउनु भएको हो?’
‘त्यस्तो त हैन। म तिमीसँग सम्पर्कमा आउन चाहन्थेँ। सम्पर्कमा ल्याउन सहयोग चाहिँ तिम्रो लेखाइले पक्कै गरेको हो। अस्मितासँग तिम्रो नम्बर कति मागेँ उसले छैन भन्दै टारी। अस्ति बिहेमा अस्मिताको फोनबाट आफैले लिएँ,’ उसले प्रस्ट कुरा गर्यो।
‘केही खावौँ?’ मलाई भोक लागिसकेको थियो। मेनु पल्टाउँदै म बोलेँ।
‘भाइ, एक पिज्जा (भेज), दुइटा ब्ल्याक टि अनि चिप्स ल। अरू तपाईंलाई केही वेदजी?’
‘भयो पुग्छ मलाई पनि।’
‘तपाईं र अस्मिताको त अफियर थिएन र?’
‘के भन्छ्यौ? ऊ मेरो मिल्ने साथी मात्रै थिई। मैले उसलाई हाम्रो सम्बन्धका बारेमा पनि खुलस्त पारेको थिएँ। ऊ त हाम्रो सम्बन्धमा मध्यस्थकर्ता झैँ थिई। तिमीले अन्तिम दिन भेट्न नचाहेको कुरा पनि मैले उसैबाट त थाह पाएँ।’
‘अनि भन्नुस् घर कहिले फर्किँदै हुनुहुन्छ त?’मैले कुरा मोडेँ।
‘म आजै फर्किँदै छु।’
‘ए हवस् निस्कौँ उसो भए।’
म उठेँ।
‘अब कहिले भेट्छौँ हामी?’ उनले मेरो हात समाउँदै सोधे।
‘अब भेटिनुको तात्पर्य के?’हात छुट्टाएँ र निस्किएँ।
हामी फेरि छुट्टियौँ। उनी विमानस्थलतिर लागे अनि म आफ्नै कोठातिर मोडिएँ।
उनी किन नजिकिन खोज्दै छन्? के साँच्चै उनी मलाई नै भेट्न भनी यहाँसम्म आइपुगे त?
रुम पुगेँ। उनले म्यासेज गरेका रहेछन्- ‘तिमी किन खुलिनौ? यो तीन वर्षमा तिमी बदलिएकी रहेछौ। म भने मेरै दिपु होली सोचेर आइपुगेँ। मैले तिमीलाई एक पल पनि बिर्सिन सकिनँ। तिमी खुसी रहनू। म गइसकेँ। बाई।’
कुनै प्रतिक्रिया दिइनँ। मोबाइल अफ गरेँ। पढ्न मन पनि लागेन। घरमा फोन गरेर सबै ठिकै रहेको खबर पाएपछि फोन राखेँ। जति नै मन डुलाउन खोजे पनि उनको यादले सताइरह्यो। आखिर अस्मितालाई सबै भनेका रहेछन् अनि उसले किन यस्तो गरेकी? के हामी छुट्टिनुमा दोषी अस्मिता थिई त?
हाम्रो वार्षिक परीक्षा सुरु हुनुभन्दा एक महिना अघिदेखि नै कलेजले बिदा दिने गर्थ्यो। बिदामा हामी अन्तिम पटक यहीँ (लभ) क्याफेमा भेटेका थियौँ। मलाई त्यो दिन छर्लङ्ग छ।
‘तँलाई थाह छ दिपिका, वेदले त मलाई प्रपोज गर्यो नि।’
‘के रे?’
‘हो नि। हेर त लभ लेटर पनि दिएको छ,’ उसले चिठी खोली र देखाई।
‘अनि म?’ अघि बोल्नै सकिनँ।
‘खै यार। मलाई पनि रिस उठ्यो उसको व्यवहार देखेर। यतै सरकारी जागिर खाने केटीसँग बिहे गर्नु पर्छ भन्छन् रे उसका घरका। अनि तँ फेरि विदेश भन्छेस् रे?’
‘अनि?’
‘अनि के हुनु नि। उसले तँबाट टाढिने कुरा गर्दै थियो। ’दिपिका विदेश जाने म नजाने, हाम्रो कुरै मिलेन अस्मिता भन्दै थियो। तिमीहरूको सम्बन्ध बारे चासो राख्दै अनि दिपिकाले त तिमीलाई माया गर्छे त भन्दा- माया गर्नेले त देखाउनु नि सरकारी जागिर खाएर भन्यो।
म छाँगाबाट खसेझैँ भएको थिएँ। आँखाभरि प्रेम छताछुल्ल भई पोखियो। ठिकै छ तिमीहरू खुसी छौ भने म टाढा गइदिन्छु भन्दै जुरुक्क उठेर म निस्किएँ।
उप्रान्त म र अस्मिता पनि कहिल्यै भेटेनौँ। न त मैले उनीहरूको सम्बन्ध बारे बुझ्ने नै कोसिस गरेँ। सबै तिरबाट वेद जीलाई ब्लक गरेँ। नम्बर फेर्नु पूर्व कहिले कसो अस्मितासँग कुरा हुन्थ्यो। वेद जीले भेट्न चाहेको कुरा भन्थी। तर मैले चाहिनँ।
परीक्षा सकियो। नम्बर बदलेँ र बदलेँ आफूलाई पनि। फेरि आज उनी किन आए? किन भलिएको घाउमा नुन चुक छर्दै छन्? यो कस्तो बिलखबन्द। कुरा कसको साँचो? अस्मिता या वेद जीको?
अनि फेरि प्रेम गर्थे भने किन अस्मिताले त अन्तै बिहे गर्थी? के हामी एक भएको ऊ हेर्न चाहन्थिन र? किन?
सायद ऊ वेद जीलाई एकोहोरो प्रेम त…?
कतै मैले कुरै नबुझी छुट्टिने निर्णय पो लिएँ कि?
फलामले फलामलाई काट्छ भन्थे हो रहेछ, मलाई पनि केही पगाल्यो वेद जीको प्रेमले। म्यासेन्जर खोलेँ। सर्च लिस्टमा गएर सर्च गरेँ, वेदप्रकाश उपाध्याय।
‘पुग्नुभयो?’ पठाइदिएँ।
तीन वर्षपछि मैले वेद जीलाई पहिलो पटक यसरी म्यासेज छोडेकी थिएँ र बसे म्यासेज ‘सीन’ हुने पर्खाइमा।
विगत तीन वर्षदेखिको सरकारी जागिरको गन्तव्य उनैको कारण सुरु भएको थियो। अब यो यात्रा यत्तिकै टुङ्गाउने छैन भन्ने अठोटका साथ फेरि किताब खोलेँ र लुटपुटिएँ नायब सुब्बा बन्ने दिनको पर्खाइमा।