(रूसी कवि अलेक्सान्द्र खेइफेचको 'मुझ्शिनी नि प्लाछुत' शीर्षकको कविताको जुगल भुर्तेलले गरेको भावानुवाद)
बुझ्यौ, लोग्नेमान्छे रूँदैनन्
कहाँ रून्छन् र लोग्नेमान्छे, रूँदैनन्
झ्याल बाहिर हेर्छन् एकटक
कतै शून्यमा टोलाउँछन्
नि:शब्द बोलाउँछन् कसैलाई
मौनता मै सायद सुनाउँछन्
तर लोग्नेमान्छे रूँदैनन्
अहँ, लोग्नेमान्छे रूँदैनन्
...
अँठ्याएर बेस्सरी मुठ्ठीमा
मुटुको वेदनालाई कैद गर्छन्
हेरिरहन्छन् हत्केलाका रेखाहरू
केही नभएको अभिनय गर्छन्
विचलित हुन्छन् भित्रभित्रै
तर देखिने गरी हुँदैनन्
अहँ, लोग्नेमान्छे रूँदैनन्।
...
झुकेको शिर बोकेर
अन्तरको ज्वालामुखी रोकेर
एक्लै लड्छन्, एक्लै टार्छन्
पैतालाले नापेर कोठालाई
ढोकादेखि झ्यालसम्म
झ्यालदेखि ढोकासम्म
पीडाको अदृष्य गोरेटो कोर्छन्
थाहै नपाई बर्बराउँछन्
आफैसित बात मार्छन्
तर पनि रूँदैनन्
अहँ, लोग्नेमान्छे रूँदैनन्।
...
सक्किन्छ तिनको पनि
सहनशक्ति,
सक्किन्छ तिनको पनि
सहनशक्ति,
तिनले पनि हार्छन्
तर न हार स्वीकार्छन्
न कसैलाई गुहार्छन्
'सब ठीक हुन्छ'
'ठीक हुन्छ सबै'
बस्, दोहोऱ्याएर यसैगरी
आफूलाई आश्वस्त पार्छन्
बुझ्यौ, लोग्नेमान्छे रूँदैनन्
कहाँ रून्छन् लोग्नेमान्छे, रूँदैनन्
…
रूझेका तिनका आँखालाई
अन्यथा न मान
त्यो कसिंगरले
वर्षाएको पानी हो
त्यसलाई आँसु नठान तिमी
त्यसलाई आँसु नठान...।