उमेर छँदै हजुरआमा बित्नु भएको हो रे। मलाई हजुरआमाको अनुहार नै याद छैन।
मैले जान्दा नै हजुरबुबा त ६० पुगिसक्नु भएको थियो होला जस्तो लाग्छ। तर मलाई सधैँ हजुरआमा र हजुरबा सँगै हिँडेको देख्न नपाएकोमा अहिले पनि निकै पछुतो लाग्छ।
मैले जान्दा हजुरबाको दैनिकी कुनै पीडामा परेको जस्तो लाग्थ्यो। उहाँ अक्सर हाँस्नु हुन्न थियो। कुनै कुरामा उहाँ हाँस्नु भयो भने त्यो दिन संसारै उज्यालो लाग्ने हामी सबैलाई। सधैँभरि मेरा हजुरबा यसै गरी हाँसिरहने हो भने मलाई यो संसार नै कति उज्यालो लाग्ने थियो होला भन्ने लाग्दथ्यो।
त्यति बेला त मेरी आमाले पनि 'उहाँलाई के खुसी लागेछ, आज त बुबा पनि मज्जाले हाँस्नु भयो नि?' भन्नुहुन्थ्यो। अनि आफ्नो शिर ढाकेको गाम्चाको फेर तानेर मुख छोप्दै उहाँका सुकिला र टम्म मिलेका दन्तपङ्ति देखाउनु हुन्थ्यो।
यस्तो उज्यालो वातावरणमा पिताजीको व्यवहार पनि उसै गरी रमाइलो हुन्थ्यो। उहाँ पनि 'बुबालाई यो कुरा भन्न खोजेको अस्ति नै थियो आज बल्ल सुनाउन पाएँ' भन्दै मुस्कुराइदिनु हुन्थ्यो।
सधैँ यस्तै सुन्दर परिवेशमा बढी माया पाइने। मलाई के चाहियो र? त्यति बेला हाम्रो सानो घर आँगनमा आकाशबाट स्वर्ग नै झरेर टुप्लुक्क बास बस्न आए जस्तो लाग्दथ्यो। त्यसपछि हामी खुसीले उफ्रिँदै 'हाई गुरुगुट्टु' खेल्न दौडिन्थ्यौँ।
मेरा हजुरबा सधैँ आफ्नो घरको रेखदेखमा तल्लीन हुनुहुन्थ्यो। उहाँले काममा सधैँ मरिहत्ते नै गरिरहनु हुन्थ्यो। बिस्कुन सुकाउँदा अलिकति तोरीका दाना पोखिए पनि उहाँका लागि ठुलो क्षति भएको लाग्दथ्यो। आँगनमा पोखिएका ती मसिना तोरीका दाना पनि औँलालाई पानीले भिजाएर टिप्दै बटुकोमा राख्ने गर्नुहुन्थ्यो। मलाई पनि 'आइज मसँगै लागेर टिप् नाति टिप्' भनेर त्यो अल्छी लाग्दो काममा अनायासै जोतिदिनु हुन्थ्यो।
भनेको नमानौँ भने उहाँ त मेरा बुबाका पनि बुबा। म निकै सानो हुँदादेखि नै उहाँको काँधमा धेरै पटक बुई चढेर गोठालो गएको छु। त्यही भएर पनि हुनसक्छ उहाँले भनेको बचन भुइँमा खस्न नपाउँदै म थपक्क मानिदिन्थेँ।
तर मनमा भने यी हजुरबाले सधैँ कति लोभ गर्नु भएको होला भन्ने लाग्थ्यो। अर्को मनले चाहिँ बुढा बाले एक्लै टिपे पनि त हुने नि भन्ने पनि सोच्थेँ। अनि एकछिन लटरपटर गर्दै काम सघाएर पछि चाहिँ 'म एकछिन पिसाब गरेर आउँछु है हजुरबा' भनेर त्यस्तो अल्छी लाग्दो काममा नफर्किने गरी बाहिरिन्थेँ।
केही समयपछि उहाँले मलाई भेट्ना साथ गाली गर्नुहुन्छ होला भनेर डर लाग्थ्यो। तर त्यति बेलासम्ममा त बिर्सिसक्नु भएको हुन्थ्यो। बरु मलाई 'ए नाति ल खा' भन्दै कमिजको गोजीमा राखेको सक्खरको सानो डल्लो हातमा राखिदिनु हुन्थ्यो। म खुसी हुँदै समाएर चाट्न थाल्थेँ। साँच्चै कति जाति हुनुहुन्थ्यो मेरो हजुरबा।
गाउँ समाजमा केही परे उहाँलाई खोजी खोजी सोध्न आउँथे मान्छेहरू। उहाँले जस्तो सुकै समस्या परेको भए पनि त्यसको आफ्नो बुताले भ्याएसम्म सहजै गाँठो फुकाइदिनु हुन्थ्यो। अनि उनीहरू खुसी हुँदै फर्किन्थे।
एक पटक पल्लाघरे काकाले छोरीलाई नमज्जाले हपारेको देख्नु भएछ। त्यसपछि उहाँलाई नजिकै बोलाएर भन्नु भयो, 'हेर बमजन, बालक छोरीलाई गाली नगर। आमा नभएको छोरी चित्त दुखाउँछे।’
ती काकाले पुलुक्क मेरा हजुरबातिर हेरे। अनि छोरीलाई त्यसरी दपेट्न छाडेर गुनासो पोखे, 'हेर्नु न बडा बा, घरमा भात पकाउनु है भनेर मेला गएर आएको। आफू भोकले हैरान छु। बाहिरतिर पो खेली बसिछ। आएर हेर्छु त भान्सा नै रित्तै। अनि अलिक मुरमुरिएको नि।'
त्यसपछि मेरा हजुरबाले उनलाई सम्झाउँदै भनेको कुरा मलाई अहिले पो झन् उपयोगी लाग्न थालेको छ।
'हेर भतिज, अहिले यिनको उमेर आमाको माया र संरक्षण दुवै पाउने हो। तिम्रो घर व्यवहार पनि उनकी आमाको हेरचाहमा सजिलै चल्न पाउनु पर्ने हो। तर बुहारीको अभावले तिमीहरू दुवैलाई कठिन भएको छ। अलिकति विचार गरेर सम्झाउँदै काम लगाऊ न। बिचरीले उमेर अनुसारको काम त गरिहाल्छिन् नि।'
त्यसपछि काकाले 'त्यो त हो नि बडा बा' भने अनि 'आऊ छोरी घर हिँड म चुलामा आगो बालेर भात बसाउँछु। तिमी तरकारी केलाउँदै गर है' भन्दै घरतिर लागे।
मलाई मेरा हजुरबाको अरूलाई सम्झाउने तरिका देखेर गज्जब लाग्थ्यो। साथीभाइ खेल्दा कसैले आफूमाथि थिचोमिचो गरेको जस्तो लागेमा 'पख न तिमीहरू, म हजुरबालाई भन्दिन्छु' भनेर औँलो ठड्याइदिन्थेँ। नभन्दै हजुरबाको नाम लिएपछि उनीहरूले 'ल ल आइज हामी मिलेर खेलौँ। हामी अब त्यसो गर्दैनौँ’ भन्थे। अनि हामी मिलेर सधैँ जस्तै कहिले हाई गुरुगुट्टु त कहिले भाँडाकुटी अनि कहिले चोर पुलिस त कहिले टोपी लुकाइ खेल्थ्यौँ।
मान्छेका सम्बन्धहरू पनि अनौठा हुने रहेछन्। 'कुरा मिलेसम्म हाई हाई नमिलेपछि सँगै हिँडेको बाटो नै अपवित्र जस्तो लाग्छ रे' भन्छन्। कहिलेकाहीँ भने घरका ठुला मान्छेका बिच हुने सामान्य मनमुटाबले पनि मलाई दुखी बनाउँथ्यो। त्यस्तो नमिठो समयको चाहिँ झन् बढी याद आउँछ क्यारे सधैँ।
मेरा हजुरबाको कुरा मेरा आमाबुबासँग भने कहिलेकाहीँ त्यति मिले जस्तो लाग्दैन थियो मलाई। उहाँहरू सधैँ अगाडि त उहाँलाई असाध्यै आदर गर्नुहुन्थ्यो। तर पछाडि चाहिँ कहिलेकाहीँ 'बुढा मान्छे यस्ता, बुढा मान्छे उस्ता' भन्दै गुनासो पनि गर्ने गर्नु हुन्थ्यो।
त्यति बेला हजुरबुबालाई मेरा बाबुआमाले गरेका सबै कुरा बताइदिन पाए हुने जस्तो लाग्थ्यो। फेरि अझ ठुलो झगडा नै हुन सक्ला कि भन्ने डरले त्यसै त्यसै म अतालिन्थेँ। तर पनि मेरा हजुरबुबाले यो सबै कुरा थाहा पाउनै पर्छ जस्तो लाग्थ्यो। थाहा पाए पो आफूलाई आफ्नो परिवारले कस्तो गर्दै छन् र के भन्दै छन् छन् भन्ने जानेर आफूलाई जोगाउन वा सुधार गर्न सजिलो हुने थियो भन्ने पनि लाग्थ्यो।
यससँगै म सोच्थेँ, 'म त मेरा बाबुआमाको आफ्नै सन्तान हो नि। तर हजुरबुवाको त नाति मात्र हुँ। मेरा लागि त हजुरबाभन्दा त आमाबुवा नै नजिक होइन र?'
लगत्तै मलाई अर्को प्रश्नले घेर्ने गर्थ्यो- अनि बुबा पनि त हजुरबा हजुरआमाको आफ्नै सन्तान हो नि। त्यसो भए उहाँहरू किन त्यसरी कुरा काट्ने गर्नु हुन्छ हँ? यसको जवाफ खोज्न मेरा बुबालाई सोध्नु पर्ने। उहाँको अघि म यस्ता कुरा गर्नै नसक्ने। त्यसैले त्यो सम्भव नै थिएन।
मेरी आमालाई एक पटक सोध्न खोजेको थिएँ। 'ठुला मान्छेका कुरामा धेरै सोधी खोजी गर्नु हुँदैन है। पछि आफैँ बुझिन्छ नि' भनेर कड्किँदै पन्छाइदिनु भएको थियो।
त्यसपछि म उहाँहरू बुढेसकालमा पुगेपछि मैले पनि यसै गर्न मिल्ने रहेछ क्यारे भनेर सोच्ने गर्थेँ। आफूलाई मन नपरे उहाँहरूले गरे जस्तै केही बोल्न वा खटनपटन गर्न मिल्ने रहेछ भन्ने लाग्थ्यो। उ बेला कुनै समयमा मलाई आफूखुसी गर्न नदिँदा वा गाली गर्दा पनि पछि मेरो पालो त आओस् न अनि मैले जानेको छु भन्ने लाग्थ्यो।
हजुरबा कहिलेकाहीँ एकान्तमा टोलाउनु हुन्थ्यो। टोलाउनु भएको समयमा कहिले उहाँको आँखामा आँसु झरे जस्तो लाग्थ्यो। कहिले चाहिँ सुँक्कसुँक्क गर्नु भएको जस्तो पनि देखिन्थ्यो।
पोहोरको दसैँमा टीका लगाउने दिन हामी सबै हर्षले अवाक् हुँदै टीका लगाउने प्रतीक्षा गरिरहेका थियौँ। हजुरबा बिहानै गोठमा पुगेर गाईलाई कुँडुलो हाल्दै गर्दा यसै गरी सुकसुकाउनु भएको थियो। त्यति बेला उहाँले गाईलाई ध्यान दिएर सुमसुम्याउनु भएको थियो। अन्त्यमा आफ्नो दौराको फेरले आँखा पुछ्नु भयो। कुदेर नजिकै पुग्न लागेको मलाई 'ए नाति यता आइज न। आँखामा कसिङ्गर परेछ हेरिदे' भनेर कुरा पन्छाउनु भयो।
यस्तो बेलामा प्राय: म उहाँको नजिकै जान्थेँ। उहाँका टिलपिल आँसुले भिजेका आँखाहरू हेरिरहन्थेँ। उहाँका ती आँखामा त्यो समयमा पहिले देखेका अनन्त कुराहरू चलचित्र झैँ अघि आउँथे होलान्। अनि त स्मरणको तरेलीमा झुन्डिन पुग्दा के के याद आउँथ्यो उहाँलाई?
म सोच्न पुग्छु, सायद हरेक वर्ष तीजमा अरू जस्तै रातो सारीमा सजिएर मेरी हजुरआमा नाचेको कल्पना गर्नु हुन्थ्यो होला हजुरबाले। मेरा आमाबुबा मात्र होइन, अरू जोडी सँगसँगै कुरा गर्दै हिँडेको देख्दा आफ्नो पनि जोडीको खोजी लाग्थ्यो होला उहाँलाई। हाट बजारभन्दा अझ मन्दिर र तीर्थ जाँदा देवताका साथमा म एकल भनेर प्रस्तुत हुन मन अमिलो हुँदो हो उहाँलाई।
यस्तै सोच्दै जाँदा म दसैँका दिन उहाँ किन यसरी भावुक हुनु भयो होला भनेर कल्पना गर्छु। हरेक साल दसैँमा यसै गरी पारिवारिक जमघटमा टीकाको साइत छोपिन्थ्यो होला। उहाँले आफ्नी पत्नीलाई 'सौभाग्यवती हुनू' भन्दै आफैँले दिएको आशीर्वाद लागेर सिउँदोमा सिन्दूर छँदै धर्ती छोड्नु भएको घटनाको याद आउँथ्यो होला। कहीँबाट घर आइपुग्दा तिर्खा लागेको समयमा 'ल न मलाई तिर्खा लाग्यो' भन्न नभ्याउँदै 'तिर्खाउनु भएको छ होला, ल पानी पिउनुहोस्' भन्दै अङ्खोरा भरिको पानी अगाडि राखिदिएको याद आउँदो होला।
मनमा उठेका अनेक तरङ्गहरू पोख्ने भरपर्दो र विश्वासिलो साथको अभाव जीवनमा धेरै खड्किएको होला। यस्तै यस्तै कुराले उहाँको मनमा हुँडुलो हुँदै अटेसमटेस भएर आँखाबाट निस्किएको थियो होला भन्ने लाग्छ अहिले।
सायद पीडा जति सबै निचोरिएर आँखाबाट पानी भएर निस्केपछि उहाँ मुसुक्क मुस्काउँदै मलाई कस्सिएर समात्नु हुन्थ्यो। अनि मेरो जिज्ञासु अनुहार हेर्दै भन्नु हुन्थ्यो, 'छोरा मान्छे आँटिलो हुनुपर्छ। सानातिना कुरामा चित्त दुखाएर मन अमिलो बनाउनु हुँदैन नाति।'
म केही बुझ्दिन थिएँ। तर म हजुरबाले अवश्य पनि सधैँ राम्रो कुरा मात्र गर्नुहुन्छ भन्ने कुरामा चाहिँ नै ढुक्क हुन्थेँ। उहाँले छोरा मान्छेले गर्ने व्यवहारका बारेमा महत्त्व दिएको र मलाई समातेर सम्झाउँदै कुरा गरेकोमा खुसी हुन्थेँ।
दसैँ वा कुनै भगवानका नाममा टीका लगाएर बहिनीलाई मात्र दक्षिणा दिने र हामी छोराहरू जतिलाई नदिने चलन थियो। यसले हामीमा बहिनीहरूप्रति एक किसिमको ईर्ष्या भाव पनि जागेको हुन्थ्यो होला। त्यसैले यति बेला छोरा मान्छेलाई कुराकानीको केन्द्रमा राखेर ढाडस दिएको पाउँदा खुसी लाग्नु स्वाभाविकै थियो हाम्रा लागि।
त्यसैले म कुरा बुझे वा नबुझे पनि सहजै 'हवस् हजुरबा' भनिदिन्थेँ। अहिले सोच्छु, उहाँले कति धेरै कुरा त्यसरी नै सजिलै पचाउनु हुने रहेछ। अनि कति गहकिला जीवनोपयोगी सिप सिकाउनु भएको रहेछ। सँगसँगै अनि अहिले मलाई किन आफूलाई मन नपर्ने सानो कुराले पनि नमज्जाले चिमोटी रहेको हो त भन्दै उहाँको काखमा बसेर प्रश्न गर्न मन लाग्छ।
एक दिन हामी नाति बाजेको काम भैँसीलाई नुहाइदिने थियो। झमझम पानी परिरहेको थियो। हामीले पानी खाने कुवाको पानी बगेर बनेको सानो पोखरीमा लैनो भैँसी आहाल खेल्न पसेको थियो। उसको ढाडसम्म पानीले डुबाउँदैन थियो। हामी पानी छ्यापेर भिजाइदिन्थ्यौँ। मैले त्यही बेला 'कर्कलाको पातमा पानी किन नअडिएको हजुरबा?' भन्दै उहाँलाई प्रश्न गरेँ।
उहाँले जीवन र जगतको क्षणिकता बारे कुरा गर्नु भयो। नश्वर शरीरको भर नहुने चर्चा गर्नु भयो। उहाँले उहाँका पनि हजुरबा पश्चिमबाट राम्रो उब्जनी हुने ठाउँको खोजी गर्दै पूर्वतिर सर्दै आएको कथा सुनाउनु भयो। पूर्व सर्दै आउँदा जङ्गलमा कालाज्वरले सताएको र आफ्ना पुर्खाको एक हाँगो अपुताली परेर सकिएको घटना बताउनु भयो।
भैँसीलाई पानीले भिजाउन मैले पाइतालाले पानी छिट्न छाडेर हजुरबाको नजिकै पुगेको थिएँ।
अर्को दिन कुरै कुरामा मैले 'अनि साँच्ची हाम्री हजुरआमा कस्ती हुनु हुन्थ्यो हजुरबा?' भनेर हजुरआमाको प्रसंग निकालेछु। त्यसपछि हजुरबा एकछिन चुप रहनु भयो। उहाँले लामो श्वास फेर्नु भयो। मलाई नियालेर हेर्नु भयो।
मैले पनि उहाँलाई जिज्ञासु नजरले उसै गरी हेरेँ। अरू समयमा पनि हामी नाति बाजेको आँखा चार हुने गरेकै हो। तर आजको हाम्रो हेराइ भने केही अनौठो लाग्यो। उहाँलाई सबै कुरा भनूँ कि नभनूँ लागेको हुन सक्छ।
यति बेलासम्ममा त पनि म पनि परिपक्व भइसके जस्तो लाग्थ्यो। तर पनि उहाँको नजरमा म फुच्चे नै थिएँ हुँला। त्यसैले सहजै भन्न मन गर्नु भएन कि? अथवा हजुरआमाको कुरा गर्न उहाँलाई मन लाग्दैन कि? अथवा यस्तै अरू नै केही।
मैले कर गरेपछि बल्ल भन्नुभयो, 'उनी धेरै असल थिइन्। घरको राम्रो हेरचाह गर्थिन्। त्यो समयमा घर बाहिर जाने कुरा हुन्न थियो। जागिर खाने कुरा त मैले नै गरिनँ। हामी छोरा मान्छेहरू देश परदेश पनि जान्थ्यौँ। घर राम्रोसँग चलाउने खुबी भए हुन्थ्यो। तिमीहरूकी हजुरआमाले परिवारलाई असाध्यै माया गर्थिन्। मलाई पनि सारै ख्याल गर्थिन।'
यति भन्दा मेरो मस्तिष्कमा एक जना उज्याली, मायालु र परिपक्व छोरी मान्छेको चित्र नाच्न थाल्छ। मेरी आमाले त बरु उहाँलाई मन नपरे मलाई र बुबालाई पनि कराउनु हुन्छ। उसो भए मेरी हजुरआमा को जस्ती हुनुहुन्थ्यो होला त भन्दै भगवतीका चित्रहरूसँग तुलना गर्न थालेँ। मैले चलचित्रका ठुला नायिकाका चित्रहरूमा खोजी गरेँ। मेरी हजुरआमा जस्तै आदर्श अनुहार हतपती कहाँ फेला पर्दो रहेछ र?
हजुरबाले थप्नु भयो 'हेर नाति, जोडी भनेको एकै रथका दुई पाङ्ग्रा' भनेर त्यसै भनेको होइन। एउटा पाङ्ग्रा नभए जसरी रथ चल्दैन हाम्रो जीवन पनि त्यस्तै हो। बाँच्नेलाई एक्लै दिन कटाउन ठुलो पीडा हुन्छ। अझ छोरा मान्छेलाई बढी कठिन हुने रहेछ बाबै।'
हजुरबाले आफ्नो एकल जीवन भोगेका र लुकेका अँध्यारा पाटाहरू यो मौकामा बल्ल मलाई सुनाउन पाउनु भएको जस्तो लाग्यो। उहाँका आँखामा बेला मौकामा छचल्किने आँसुको एउटा पक्ष बुझ्न यसले बाटो खोल्यो। मैले अरू यस्तै यस्तै परिवेशहरूको कल्पना गरेँ। आफ्नो रमाइलो जोडी जीवनको वर्तमान र हजुरबाले भोगेको लामो एकल जीवनका बिच तुलना गर्न थालेँ।
उहाँले 'ए नाति' भन्नु हुँदा पो झसङ्ग भएर उहाँलाई हेरेँ।
यति बेलासम्ममा हजुरबाका लागि हजुरआमाका नाममा मैले आँसु बगाइसकेको थिएँ।
कठै हाम्रा हजुरबा!