वर्षौँपछि आज
बल्ल आफ्नो गाउँ टेकेको छु
वर्षौँपछि फेरि
यी रूखहरूसँग भेटेको छु
धारा छेउको सुरिलो पात्ले
उसै गरी घाम-पानी सहेर उभिएकै छ
उसलाई सोध्ने मन छ-
बिजुलीको तार आफूछेउ भएर जाने भएपछि
आफ्ना हाँगाहरू छिमलिँदाको पीडा
भुलिसक्यौ कि नाइँ?
घर मुनिको बूढो गोगुन
उसै गरी तल्लो घरको धुरी छेकेर बाँचेकै छ
उसलाई सोध्ने मन छ-
तिम्रो चौथो हाँगाबाट चिप्लिएर
सानो हुँदा म लडेको याद छ कि नाइँ ?
मेरो देब्रे हात भाँचिएको थियो नि
सम्झना छ कि नाइँ?
हजुरबाले टिस्टा पारिबाट ल्याई रोप्नुभएको
चियाको झ्यामुलो एक बोट
जुठेल्नुनिर उसै गरी झाँगिएकै छ
उसलाई सोध्ने मन छ-
आजभोलि भाँडाकुटी खेल्न नानीहरू
तिम्रो छहारीमा उसै गरी आउँछन् कि नाइँ?
कुखुराहरू हाँगा हाँगामा चढेर
उसै गरी घाम ताप्छन् कि नाइँ?
देवीथानको भीरमा
पहिरो समात्छु भन्थ्यो
एक लक्का जवान उत्तिस
झुसिल्किराहरू पालेर आफूभरि
वृद्ध जिन्दगी बाँचिरहेकै छ उसै गरी
उसलाई सोध्ने मन छ-
समातेर नगएका पहिरोहरू
थामेर भीरसँगै पिरहरू
अब त थाक्यौ होला कि नाइँ?
साइँला बाले रोपिछाड्नु भएको
ढुङ्ग्रे बाँसको घना झ्याङ
बाटो आएपछि डोजरले उधिनेर
आधा बत्तिए नि आधा बाँचेकै छ
तिनलाई सोध्ने मन छ-
ताछिएर जाँदा त्यसरी आधा घारी
गाउँका दाजैहरूले आफ्ना प्रेमिकाका लागि
बाँस-बाँसमा लेखिछाडेका प्रेम सायरीहरू
जोड जोडले चिच्याए कि नाइँ?
ए रूखहरू हो आओ!
वर्षौँपछि जो म आएको छु
आज म तिमीहरूलाई
परदेशका पीडाका कथा सुनाउँछु
तिमीहरू पनि मलाई
बदलिँदो गाउँघरको व्यथा सुनाऊ
भौतिक विकासको नाममा भइरहेको
तिमीहरूको दुर्दशा सुनाऊ।