साम्बा देशलाई जिताउन गोल हान्छिन्!
तर, उनीहरू मेरै टाउकोलाई भकुन्ड्याएर
मस्तिष्कमा गोल हान्छन्!
म हर क्षण, हर बखत
आत्मघाती गोल हान्नेलाई छानिरहेछु।
मलाई नै हराउनेलाई मानिरहेछु!
म आफ्नै पराजयको उत्सव मनाइ रहेछु!
प्रत्येक समारोहमा
आत्मघाती विजयोल्लासमा
उसकै जयकार गाइरहेछु!
उसकै बाजा उसकै तालमा
बहुला जस्तै नाचिरहेछु!
सायद ,
दिमाग भुट्नु भनेको यही होला।
भुटिएको मकै रोपिन्न।
भुटेको मकै रोपे पनि घोगा लाग्न उम्रन्न।
यसबेला म भुटिएको मकै र
निचोरिएको एक लाँक्रा उखु मात्र हुँ!
सदियौंदेखि
जन्मजातका भकुन्डोको क्याप्टेनबाट
भकुन्ड्याइएँ!
दशकौं यता
आफैले छानेकाबाट भकुन्ड्याइँदै छु।
मैदान उहीँ
क्याप्टेन फेरिए, खेलाडी फेरिए!
तर अहँ, आत्मघाती गोलबाहेक मैले केही पाइनँ।
साम्बा जहिले पनि देशलाई जिताउन खेल्छिन्!
उनीहरू खोइ कसलाई जिताउन खेल्छन्?
खेल्न चैं उनीहरू खुब खेल्छन्।
आत्मघाती गोल हान्नलाई खेल्छन्।
म मस्तिष्कमै आत्मघाती गोल खाएको मान्छेl
म भुटिएको मकै र चुसिएको एक लाँक्रो उखु!
आफ्नै हारमा ताली पड्काइ रहेछु!
विवेकलाई बन्दकी राखेर
गुन्द्रुकको झोलसँग चेतना साटेर
आफ्नै स्वत्वको मलामी गइरहेछु।