गाउँको शान्त, सुन्दर र स्वच्छ वातावरणमा मेरो बाल्यकाल बित्यो। प्रकृतिको काखमा रमाउँदै, बाबुआमाको माया र साथीभाइको साथले जीवन सहज र आनन्ददायक थियो। तर जीवन यथास्थानमा स्थिर रहँदैन। समयसँगै लक्ष्य र सोचमा परिवर्तन आउँछ।
म र मेरो साथी रामलालको साझा सपना थियो— लोक सेवा पास गरेर स्थायी जागिर पाउने। यही लक्ष्यले हामीलाई काठमाडौँ जाने निर्णय गर्न प्रेरित गर्यो।
काठमाडौँ जाँदा मनमा उत्साह र कौतुहलता त थियो। तर गाउँको जीवनशैली छोडेर अनजान सहरतर्फ लाग्दा हृदयमा पीडा र भावुकता पनि कम थिएन। गाउँका गोरेटोहरू, आमाले बनाएको मिठो खाना र बाबाको आशीर्वाद सम्झिँदै हामीले यात्रा सुरु गर्यौँ।
साथी रामलालको सहयात्रा मेरो लागि ठुलो ढाडस थियो। उनले भनेका थिए, ‘सपना पूरा गर्न साहस चाहिन्छ। हामी सफल हुनेछौँ।’
हामीले आवश्यक सामानसहित काठमाडौँको यात्रा सुरु गर्यौँ। कीर्तिपुर पाँगामा पहिले नै बसोबास गर्दै आएका हाम्रा दाजुभाइहरूले कोठा र आवश्यक सामानको व्यवस्थापन गरिदिए। तर पहिलो पटक घर छोड्दा मन निकै भारी भयो। आमाले पकाएको खानाको याद, बाल्यकाल बिताएको आँगन र परिवारको माया– यी सबैले मनमा खालीपन ल्यायो।
सायद पहिलो पटक गाउँको वातावरण छोडेर नयाँ ठाउँमा आउँदा मनमा एक किसिमको असहजता थियो। आमा–बाबाको यादले मन भावुक बनायो। आँखाभरि आँसु पो भरिएछ। साथीले नदेख्ने गरी आँसु पुछेँ। आँसु झरेको साथीले देखिहाल्यो। मेरो मनोविज्ञान बुझ्दै मलाई हौसला दियो।
काठमाडौँमा हाम्रो पहिलो गन्तव्य बागबजार थियो। रामलालका काकाले हामीलाई तयारी कक्षामा भर्ना गरिदिए। कोठाको व्यवस्था पनि भयो। तर सहरको भिडभाड, कोलाहल र नयाँ वातावरणले पहिलो केही दिन असहज बनायो। तर,हाम्रो लक्ष्य स्पष्ट थियो। त्यसैले मन बुझाउँदै हामीले नयाँ जीवनको सुरुआत गर्यौँ।
काकाबाट प्रेरणादायी कुरा सुन्यौँ, ‘सपना देख्न छोड्नु हुँदैन, मेहनत गर्नुपर्छ।’ यही विचारले हाम्रो जीवनको गति दियो। नयाँ किताब किन्यौँ र पढाइ सुरु गर्यौँ। केही कुरा बुझ्थ्यौँ, केही बुझ्न समय लाग्थ्यो। तर हाम्रो प्रयास निरन्तर थियो। केही कुरा बुझ्यौँ, केही कुरा बुझ्न असहज भयो। तर हाम्रो हिम्मत कहिल्यै घटेन।
पढाइ सुरु भएपछि धेरै कठिनाइ आए। केही विषयहरू बुझ्न गाह्रो भयो, नयाँ पाठ्यक्रमले थकान थप्यो र कहिलेकाहीँ हिम्मत हराएजस्तो लाग्थ्यो। तर साथीको प्रोत्साहन र कक्षामा सिकेका प्रेरणादायी वाक्यहरूले हामीलाई निरन्तर अघि बढ्न सहयोग गर्यो। ‘सपना देख्न छोड्नु हुँदैन’ हाम्रो मार्गदर्शक वाक्य बन्यो।
बिहान चिया पसलमा पत्रिका पढ्ने, विज्ञापनहरूको जानकारी लिने र परीक्षा नजिकिँदै जाँदा अनवरत अभ्यासमा जुट्ने क्रम चलिरह्यो। बिहान पत्रपत्रिका पढ्न चिया पसलसम्म पुग्थ्यौँ। केही नयाँ लोक सेवा उपयोगी लाग्यो फोटो खिचिहाल्थेँ।
अब परीक्षाको विज्ञापन खुल्ने बेला भयो। दुवै जनाले फारम भर्यौँ र ज्यान दिएर पढ्न थाल्यौँ।
पहिलो परीक्षा सम्पन्न हुँदा हाम्रो मनमा उत्साह थियो। केही समयपछि नतिजा आयो। मेरो नाम उत्तीर्णको सूचीमा देख्दा खुसीको सीमा रहेन। तर अन्तर्वार्ताको तयारी गर्नुपर्ने भएकाले मैले यो सफलतालाई सानो सफलता मात्र मानेँ। अन्तर्वार्ताका लागि पशुपतिनाथ मन्दिरमा गएर भगवान्सँग प्रार्थना गरेँ। आफ्नो सम्पूर्ण आत्मबल र तयारीलाई प्रस्तुत गरेँ।
नतिजा आयो। मेरो नाम सफलहरूको सूचीमा थिएन। त्यो क्षणले मलाई भित्रैदेखि चोट पुर्यायो। तर साथीले मलाई सान्त्वना दिँदै भन्यो, ‘यो हार होइन, अर्को अवसरका लागि एउटा पाठ हो।’ उनीसँगै पुनः तयारीमा जुट्ने प्रण गरेँ।
गाउँ फर्केर केही समय बाबुआमासँग बिताएँ। उनीहरूको संघर्ष र मप्रतिको माया सम्झिँदा मेरो आत्मबल झन् बलियो बन्यो। हामीले दोस्रो पटक तयारी सुरु गर्यौँ। यो पटक प्रयास अझ गहिरो थियो। परीक्षा दिएपछि अन्ततः मेरो नाम पास सूचीमा आयो। खुसीको सीमा थिएन। तर यात्रा यहीँ समाप्त भएन। अर्को चरणमा पुगेपछि नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने भयो।
यस पटक पनि अन्तर्वार्तामा भाग लिन मनमा डर र उत्साह दुवै थियो। मैले आफ्नो सम्पूर्ण आत्मबल प्रस्तुत गरेँ। साथी रामलालको सहयोगले फेरि उठ्न प्रेरित गर्यो। उनले भने, ‘सपना सजिलै पूरा हुँदैन। संघर्ष गरिराख्नु नै सफलता हो।’
अन्तर्वार्ता लागि फेरि काठमाडौँ फर्किएँ। साथीहरूले बधाई दिँदै भने, ‘अब त निलो पाइन्ट र सेतो सर्ट लगाउने अफिसर बन्छौ।’ तर मलाई थाहा थियो, यो यात्राको अन्त्य थिएन।
जीवनको हरेक क्षण सङ्घर्षले भरिएको हुन्छ। अन्तर्वार्ताको दिन मनमा उत्सुकता र डरको मिश्रण थियो। आफ्नो सम्पूर्ण ऊर्जा र आत्मविश्वास लगाएर सहभागी भएँ। यो यात्राले मलाई सहनशील, धैर्यता र निरन्तर प्रयासको महत्त्व सिकायो। तर दुर्भाग्यवश फेरि मेरो नाम सिफारिस सूचीमा आएन।
यो असफलताले मलाई निराश बनायो। तर मैले हार मानिनँ। साथी रामलालले मलाई सधैँ प्रोत्साहित गरिरह्यो, ‘जीवनमा सफलता प्राप्त गर्न धैर्यता र निरन्तर प्रयास जरुरी छ।’ यही सोचले मलाई प्रेरित गरिरह्यो।
जब अन्तिम नतिजा आयो, साथी रामलालको नाम सिफारिसमा देखियो। त्यो क्षण मेरो लागि मिश्रित भावनाको समय थियो। म साथीको सफलतामा खुसी थिएँ तर आफ्नै असफलताले भित्रभित्रै दुखी पनि। गरिबीको कठोर वास्तविकताले मलाई फेरि गहिरो सोचमा पुर्यायो।
काठमाडौँमा स्थायी जागिर पाउने लक्ष्यले मलाई प्रेरित गरेको थियो। तर गरिबीले हामीलाई कतिपय कुरामा पछाडि पार्थ्यो। स्थायी जागिरको सपना बाँकी रह्यो। त्यसपछि मैले गाउँमा करार शिक्षकका रूपमा काम सुरु गरेँ। त्यहाँ पनि स्थायी र करार शिक्षक बिचको विभेदले मलाई झनै असहज बनायो। स्थायी शिक्षकहरूले पाउने सुविधा, सम्मान र अवसर करार शिक्षकलाई उपलब्ध थिएन। यद्यपि मैले आफ्नो कामप्रति इमानदारी देखाएँ।
‘काम सानो ठुलो हुँदैन, त्यसलाई इमानदारीपूर्वक गर्नु महत्त्वपूर्ण हो’ भन्ने सोचले मलाई अगाडि बढायो। करार शिक्षकहरू आफ्नो भविष्यप्रति अन्योलमा बाँचेका थिए। ‘मानिस काम गरेर बाँच्नुपर्छ, जागिरको स्थायित्वले मात्र जीवन स्थायी हुँदैन’ भन्ने विचारले मनलाई कहिलेकाहीँ राहत दिन्थ्यो। तर स्थायी जागिरको अभावले जीवनमा स्थायित्वको कमी महसुस भइरहन्थ्यो।
जागिर स्थायी भए पनि, अस्थायी भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु हो। जब हामी आफ्नो कर्तव्यप्रति सचेत र इमानदार हुन्छौँ, त्यसले व्यक्तिगत मात्र नभई देशको विकासमा पनि टेवा पुर्याउँछ।
समय बित्दै गयो। जीवनले मलाई धेरै पाठ सिकायो। संघर्ष, असफलता, र धैर्यका महत्त्वपूर्ण पाठहरूले मलाई परिपक्व बनायो। करार शिक्षकका रूपमा काम गर्दा धेरै विद्यार्थीहरूलाई लोक सेवाको तयारी गराएँ। उनीहरूको सफलता देख्दा मेरो असफलता पनि सार्थकजस्तो लाग्यो।
काम सानो वा ठुलो भन्ने सोचले कुनै अर्थ राख्दैन। हरेक कामले समाजमा महत्त्वपूर्ण भूमिका खेल्छ। एक किसानले अन्न उत्पादन गर्छ, एक शिक्षकले शिक्षाको ज्योति छर्छ र एक चिकित्सकले जीवन बचाउँछ। यी सबै काम बराबर महत्त्वपूर्ण छन्। यसर्थ, कामको आकार हेर्नेभन्दा पनि त्यसलाई कसरी इमानदारीपूर्वक गरिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।
आफ्नो कामलाई गर्वका साथ गर्नु र अरूको कामलाई सम्मान गर्नु सभ्य समाजको संकेत हो। जब हामी अरूलाई सम्मान दिन्छौँ, त्यसले हाम्रो आत्मसम्मान पनि बढाउँछ। ‘जसले अरूलाई इज्जत दिन जान्दैन, उसले आफैँलाई पनि इज्जत दिन सक्दैन’ भन्ने भनाइ हाम्रो व्यवहारमा लागु गर्न सकिन्छ। मनमा अनेकौँ कुरा बिचार आउन थाले। हैट! यस्तो सोच्नु हुन्न। पूरै दार्शनिकको सोच पो आएछ।
मेहनत गर्ने छोडिएन। जीवन एउटा संघर्षको यात्रा हो। हरेक असफलताले नयाँ अवसर ल्याउँछ। मैले बुझेँ, सफलता प्राप्त गर्न असफलता भोग्नै पर्छ किनकि असफलताले मात्र व्यक्तिलाई थप बलियो र परिपक्व बनाउँछ। सङ्घर्षले प्राप्त सफलता सधैँ अर्थपूर्ण हुन्छ। आफैँ कमाउँदै पढ्दै परीक्षा दिँदै ४ पटक अन्तर्वार्ता फेल भएको अनुभव त छ।
स्कुलको फोहोर राजनीतिले नि वाक्क दिक्क भइसकेको थिएँ। स्कुलमा राजनीति गर्नुहुन्न, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नुहुन्न भन्दै अभिभावक भेला पारेँ। त्यो स्कुलको गेटमा राजनीतिमुक्त क्षेत्र लेख्यौँ। स्थानीय अभिभावक विद्यार्थीको सहयोगमा एक राम्रो कामको थालनी भयो।
अनेक करण देखाउँदै मानसिक तनाव दिएर करार सेवाबाट निस्किनु पर्ने बाध्यता गराई म आफ्नो राजी खुसीमा छोड्दै छु भन्ने कागज गराउनु भयो। अन्तमा बिदाइ भएँ भनौँ कि बिदाइ गरियो! जे हुन्छ राम्रोकै लागि हुन्छ, जे भयो राम्रो नै भयो। शिक्षक बैठकमा यसै क्षेत्रमा आइएछ भने फेरि भेटौँला भन्दै जीवनमा लक्ष्य ठुलो राख्नुस्, प्रयास इमानदार बनाउनुहोस् र संघर्षलाई सकारात्मक रूपमा स्वीकार गर्नुस् भनिदिएँ।
जागिर नभए नि चार वर्षसम्म अध्ययन गराउँदा १२ पास गरेर बसेका भाइ बहिनीहरूलाई लोक सेवा सम्बन्धी पढाउन थालेँ। मेरो असफल जिन्दगीको कथाबाट सफलताको कहानी सिकेर जाऊ भन्थेँ।
अन्ततः साथी रामलालको हौसलाले फेरि एक पटक मेरो मनमा नयाँ ऊर्जा थपियो। उसले फोन गर्यो। ‘साथी मैले तिम्रो विद्यालय निरीक्षकमा फारम भरिदिएको छु। केही किताब पठाइदिएको छु। राम्रोसँग पढ यो चोटि १००% निस्किन्छ’ भन्दै हौसला दियो।
सङ्ख्या पनि राम्रै खुलेको रहेछ। अन्ततः दोस्रो प्रयासमा मेरो नाम पास सूचीमा पर्यो। खुसीको सीमा रहेन। तर यात्रा यहीँ समाप्त भएन। अर्को चरणमा पुगेपछि फेरि नयाँ चुनौतीको सामना गर्नुपर्यो। अन्तर्वार्ताको तयारी गर्दै गर्दा मनमा उत्सुकता र डरको मिश्रण थियो। यस पटक मेरो सम्पूर्ण आत्मबल र तयारीलाई प्रस्तुत गरेँ।
यस पटक भने जब अन्तिम नतिजा आयो, मेरो नाम सिफारिस सूचीको पहिलो स्थानमा देखियो। त्यो क्षण मेरो जीवनकै सबैभन्दा ठुलो क्षण बन्यो।
जीवनमा लक्ष्य हासिल गर्न संघर्ष, धैर्यता र निरन्तर प्रयास अनिवार्य रहेछन्। हरेक असफलताले नयाँ अवसर र पाठ दिन्छ। जागिरको स्थायित्वले मात्र जीवनको सार्थकता परिभाषित हुँदैन। बरु आफ्नो जिम्मेवारीप्रति इमानदार रहनु र सकारात्मक सोच राख्नु नै जीवनलाई सार्थक बनाउँछ।