रुकुमतीलाई सबैले माया गरेर ‘रानी’ भन्थे। रानी सबैसँग मीठो बोल्थिन् र सबैकी प्रिय थिइन्। उनले कक्षा दस गाउँकै सरकारी विद्यालयबाट पूरा गरिन्। पढाइमा अब्बल भएकी रानीलाई शिक्षकहरूले पनि धेरै माया गर्थे। साथीहरूका लागि उनी उदाहरणीय थिइन्। उनी केवल सुन्दर मात्रै थिइनन्, दयालु र मिलनसार पनि थिइन्।
करिब पन्ध्र–सोह्र वर्षको उमेरसम्म आमाबुबा, दिदीबहिनी र दाजुभाइको मायालु काखमा हुर्केकी रानीले उच्च शिक्षाका लागि सहर गइन्। सहर पुगेर केही समय उनले आफ्नी फुपूको घरमा बास गरिन्। फुपू पनि उनलाई आफ्नै छोरीसरह माया गर्थिन्। तर समय बित्दै गएपछि रानीलाई आफ्नै ठाउँमा स्वतन्त्र भएर बस्न मन लाग्यो। उनले सहरमा एउटा कोठा भाडामा लिएर बस्न थालिन्।
गाउँमा ठुलो परिवार भएकोले आर्थिक अवस्था त्यति राम्रो थिएन। छोरीको पढाइको खर्च जुटाउन उनका बुबा विदेश लाग्नुभयो। आमाले आफ्ना आँखा रसाउँदै छोरीलाई सम्झाउनु भयो, ‘रानी, तिमी पढेर ठुलो मान्छे बन्नू। हाम्रो दुःख तिमीले मेट्ने छौ।’
उनको दाइले पनि बेलाबेला सहरमा आएर रानीलाई सम्झाउनु हुन्थ्यो। ‘राम्ररी पढ्नू, बजारतिर धेरै नडुल्नू, अपरिचित मान्छेसँग नहिँड्नू,’ उनलाई दाइले भन्नु हुन्थ्यो। रानीले पनि दाइको कुरा सहमति जनाउँदै मुन्टो हल्लाउँथिन्।
गाउँको पुरानो घर वर्षातको समयमा चुहिन्थ्यो। गोठमा पानी पसेर गाईबस्तुलाई बस्न गाह्रो हुन्थ्यो। केही समयपछि दाइले गाउँलेसँग ऋण लिएर नयाँ घर बनाए। दाइको पनि विवाह भयो। विवाहपछिको जीवनले उनलाई जिम्मेवारीपूर्ण बनायो। तर खर्च बढेपछि उनले पनि विदेश जाने योजना बनाए।
विदेश जान सजिलो थिएन। गाउँलेसँग ऋण माग्न आँट भएन किनभने पहिलेको ऋण नै तिर्न बाँकी थियो। अन्ततः आमाको गरगहना बेचेर विदेश जानुभयो।
दाइले बहिनीलाई माया गर्थे। बेलाबेला पैसा पठाउँदै भन्नुहुन्थ्यो, ‘राम्ररी पढ्नू, आफ्नो ख्याल राख्नू, गलत बाटोमा कहिल्यै नहिँड्नू।’
सहरमा रानीको भने एउटा केटासँग गाढा प्रेम बसेको थियो।
फुपूले उनीहरूलाई बजारतिर घुमिरहेको देख्नुभएको थियो। फुपूले सोध्दा रानीले टार्दै भनिन्, ‘त्यो त साथी मात्र हो।’ तर फुपूले केटासँगको सम्बन्धबारे गहिरो शंका गर्न थाल्नुभयो।
केही समयपछि रानीले बुबालाई कलेज जान आउन स्कुटर किनिदिन आग्रह गरिन्। बुबाले छोरीको माग स्विकार्नुभयो। ‘कान्छी छोरीले पढेर राम्रो गर्छे’ भनेर उहाँले सोच्नुभयो। स्कुटर पाएपछि रानीलाई प्रेमीसँग भेटघाट झन् सजिलो भयो।
फुपूलाई चिन्ता बढ्दै गयो। उनले विदेशमा रहेका दाइलाई सम्पूर्ण कुरा बताए। दाइले बहिनीलाई सम्झाउन धेरै प्रयास गरे। तर रानीले दाइलाई ‘फुपूले सबै कुरा झुटो भनिन्’ भनेर ढाँटिन्।
दाइले रिसमा पैसा पठाउन छोडे। रानीले झन् नपत्याउने गरी दाइलाई फेसबुकबाट ब्लक गरिन्। यसले दाइलाई उनी माथिको शंका झन् बढ्यो।
रानी पढाइसँगै जापानी भाषा सिक्दै थिइन्। स्टुडेन्ट भिसामा जापान जाने योजना बनाउँदै थिइन्। उनले बुबालाई पैसाको आवश्यक परेको बताइन्। बुबाले विदेशमा रहेका छोरासँग सल्लाह गर्नुभयो।
छोराले बुबालाई ‘पहिले बहिनीको बिहे गरिदिनु पर्छ अनि विदेश पठाउँला बहिनीलाई सल्लाह गर्नू’ भनेर भन्नुभयो। बुबाले रानीसँग विवाहको कुरा गर्दा रानीले आफ्नो प्रेमीले केही वर्षपछि मात्रै बिहे गर्ने कुरा बताइन्।
रानीको बुबाले भन्नुभयो, ‘त्यसो भए ठिकै छ, अलिअलि पैसा हामी दिन्छौँ, अलिअलि हुनेवाला ज्वाइँले गर्छन्। पहिले विदेश जाऊ, पढ र कमाउन थाल। पछि बिहे गरिदिन्छौँ।’
रानी राजी भइन्। केही समयपछि उनी जापान उडिन्।
जापानमा उनले पढाइसँगै काम गर्न थालिन्। बिस्तारै उनले परिवारलाई पैसा पठाउन थालिन्। बुबा एकातर्फ खुसी हुनुहुन्थ्यो, अर्कातर्फ छोरीको उमेर बढ्दै गएको चिन्ताले सताउन थाल्यो। तर बुबाले छोरीले ज्वाइँ खोजिसकेकी छ भनेर ढुक्क हुनुहुन्थ्यो।
जापान गएको तीन/चार वर्ष भइसकेको थियो। त्यस बिचमा रानीले आफ्नो हुनेवाला श्रीमानलाई प्रशस्त पैसा पठाइसकेकी थिइन्। तर एक दिन उनले त्यो केटाको फेसबुकमा अर्कै केटीसँग बिहे गरेको तस्बिर देखिन्। ‘मेरो जिन्दगी’ लेखिएको फोटोमा बेहुला बेहुली खुसीले मुस्काइरहेका थिए।
रानीको जीवनमा यो सबैभन्दा ठुलो धोका थियो। सहरमा हुँदा केटाले केवल स्वार्थपूर्तिका लागि उनीसँग माया गरेको नाटक गरेको रहेछ। उनले भविष्यका लागि कमाएको धन सम्पत्ति लुटिएको महसुस गरिन्।
अब उनीसँग न प्रेम थियो न धन सम्पत्ति। धोका पाएको भावनाले उनलाई गहिरो तनावमा पुर्यायो। अन्ततः रानीले मानसिक सन्तुलन गुमाइन्।