बा म तिम्रा लागि के लेखूँ
तिम्रो बयान गर्न
सीमित शब्दकोश प्रयोग गर्न
शोभा दिँदैन मलाई, त्यसैले त म भन्छु
बा मेरो पहिलो गन्तव्य हुन्।
बा घरको छाना हुन्
मेरो भोकको लागि रोटी हुन्
चोटको लागि मलम हुन्
घामको लागि शीतल छहारी हुन् र
मेरा बा बर्सातको लागि छाता हुन्।
एक आदर्श मार्गदर्शक हुन्
भरोसा राख्ने
एक मात्र विश्वासको पात्र हुन्
मनको दुःख सुख बिसाउने चौतारी हुन्
सन्तानको हरेक चिजको प्यास मेटाउने
पानीको एक मुहान हुन्।
सीमित स्रोतका बाबजुद
सन्तानका असीमित आवश्यकता पूरा गराउने भन्ने
सिद्धान्तका प्रतिपादक पनि हुन् मेरा बा।
सन्तानको लागि
आफ्ना कैयौँ सपना, रहरहरू
इच्छा चाहनाहरूलाई
सजिलै त्यागिदिने त्यागी हुन्
सन्तानको निम्ति ज्यान दिन तयार हुने
दानवीर कर्ण पनि हुन मेरा बा।
म कहिलेकाहीँ डराउँछु
बा’को त्यो आँट साहस देखेर
त्यो घरको बोझ बोकेको देखेर।
कहाँबाट आउँदो हो
त्यो तागत
जिम्मेवारीको भारीलाई उठाउने
जिम्मेवारीको भारले
च्यापिँदा पनि साथमा कोही नहुँदा
आफूलाई आफै सम्हाल्ने मेरा बालाई
आँट कहाँबाट आउँदो हो?
मलाई संसार देखाउन
आफू धुलो-माटोसँग लडिरह्यौ
सन्तानको जितको लागि
आफू सधैँ हारी रह्यौ
बा त्यसैले त तिमी साँच्चिकै महान् छौ।