ऊ
देश बोकेर हिँडेको छ
हिमाल, पहाड अनि मधेस बोकेर हिँडेको छ।
कसले भन्छ बन्दैन देश
देश बनाउनकै निम्ति
ऊ
वर्षौँदेखि
डोकोभरि देश प्रेम
अनि
राष्ट्रिय भाषा भेस बोकेर हिँडेको छ।
आशाको त्यो लट्ठीको सहाराले
गाउँबेसी सहर गर्दै
उठाइरहेछन् भारीहरू मानिसका
दबाएर आफ्ना सारा आफैभित्र।
अनि
स्पर्श गर्दै यो माटो
लिइरहेछन् खबर यिनको
नजिकबाट।
आशाको दियो
जहाँ बल्न सुरु भएको थियो
नयाँ नेपालको नारासँगै
गाउँ-गाउँ अनि सहरहरूमा।
अब
छैन उज्यालो अनुहारहरूमा
बिजुली आए पनि घरघरमा।
मारेर आशा
बाँचिरहेछन् बेहोसीपनामा
समर्पण गरेर जीवन काललाई
मौन मनहरूको
मापन गर्न खोजिरहेछन् भरिया।
भरिया आखिर के खोजिरहेछ
यो माटोमा?
भारी भरिएर होला
आँखाहरू
भारी बिसाउने समय कुरिरहेछन्
वर्षौँ वर्षौँदेखि।
भारीसँगै
उसको
धैर्यता पनि भरिसक्यो
अब त पोखिन मात्र बाँकी छ।
नचलाऊ उसलाई
मौनता तोडी
ऊ
आगो बोल्न सक्छ
तिमीलाई पोल्न सक्छ
तिमी जल्न सक्छौ
तिमी ढल्न सक्छौ।