ब्याचलर सकेको तीन महिना बितिसक्यो। कतैतिर काम पाइने छाँटकाँट नदेखेपछि म लागेँ आफ्नो आमा र बाको घर, दोलखा। एक वर्ष अघिदेखि ‘कि लोक सेवा पढ्, कि विदेश जा’ भन्नुभएको थियो आमाले। मैले लोक सेवा पढ्ने अठोट लिएको थिएँ। तर मेरो मेहनत नपुगेर होला, कतै नाम निक्लिएन।
यदि मान्छेलाई जित्ने परीक्षा भएको भए उहिल्यै जितिसक्थेँ तर यो लोक सेवालाई जित्न अझै कति वर्ष लाग्ने हो, मलाई थाहा छैन। आमा र बाको उमेर झन्झन् बढ्दै छ, जति सक्दो चाडै मैले जागिर खानु थियो।
तीन महिना गाउँ जान्छु र यो पालि चाहिँ नेपाल राष्ट्र बैंकमा पक्का नाम निकाल्ने गरी पढ्छु भन्ने सोच आयो। त्यही दिन सबै सामान पोको पारेँ। पहिलाको जस्तो गाउँमा केही काम गर्नु पर्दैन, काम गर्न नसक्ने अहिले गाउँ फर्किन्छन्, काम गर्न सक्ने त विभिन्न देश-विदेश पुगिरहेका छन्।
अहिले सबैको गाउँमा त्यही बुढा बा र आमा त हुनुहुन्छ, सहरमा त्यही बुढा बा र आमाका छोराछोरी र विदेशमा बुढा बा र आमाका नाति नातिनीहरू। सँगै हुन्छौँ भन्ने आसले जन्माएका आफ्ना छोराछोरी टाढा छन्, कयौँ कोश पारि।
बिहानै कोटेश्वरमा पुगेर गाडी चढेँ। गाडी खाली नै थियो, झ्यालको सिटमा बसेँ। झन्डै ७ घण्टा लाग्थ्यो गाउँ पुग्न। त्यत्रो लामो समय बिताउन उपन्यास 'सेतो धर्ती' पनि हालेको थिएँ। सँगै सिटमा बसेको मान्छेले के पढ्दै हुनुहुन्छ भन्ने प्रश्नबाट बच्न किताबलाई पत्रिकाले बेरेको थिएँ।
बाहिर गाडी सँगसँगै कुदिरहेका थिए घरहरू, रुखहरू, मान्छेहरू। गाडीभित्र फत्तेमानको गीत ‘मर्न बरु गाह्रो हुन्न’ बजिरहेको थियो।
झन्डै एक घण्टापछि मैले उपन्यास झिकेँ। नयाँ किताब सररर अन्तिम पानासम्म पल्टाएँ। ओहो! पल्टाउँदा मात्रै पनि कति आनन्द आउने। पढ्दा मलाई एकदमै सुनसान ठाउँ चाहिन्छ तर आज बसमा बसेका मान्छेको गफ, हाँसो, गाडीबाट निक्लेको नमिठो गन्ध, छिनछिनमा खोलिने र बन्द हुने ढोकाको आवाजले पनि केही फरक परेन।
यदि अहिले मैले कलेजमा पढ्ने किताब पढेको भए, अलिकति पनि पढ्न सक्दिन थिएँ। अचम्म हुने है, मन परेपछि, इच्छा भएपछि कुनै चिजले नि फरक पार्दैन रहेछ न त सताउने रहेछ।
कति छिटो मुडे पनि आइसकेछ। मसँगै सिटमा बस्नु भएको आन्टीले सहचालकलाई मुडेसम्मको भाडा दिनुभयो। म खाना खान ओर्लिएँ। बिहान रोटी दूध खुवाएर आमाले पठाए पनि भोक लागिरहेको थियो।
खाना खाइसकेर के निस्केको थिएँ ‘रोस्ना’ भन्ने आवाज आयो। पछाडि फर्केर हेर्दा आफ्नो स्कुलमा पढाउने सर हुनुहुँदो रहेछ। लगभग ८ वर्षपछि भेटेको थिएँ सरलाई।
‘नमस्कार सर, हजुर कसरी यता?’
‘नमस्कार, के छ नानी हालखबर? म एक जना साथीको बिहेमा दोलखा आएको थिएँ। अनि तिमी यहाँ कसरी?’
म गाउँ आएको बताएँ।
‘अनि सर खै त हजुरको गाडी?’
सर चढ्नु भएको गाडी बिग्रेछ। चाडै नबने बिहे घर पुग्दा रात पर्ने भयो भनेर चिन्ता लिँदै हुनुहुन्थ्यो। मैले आफू चढेको गाडीमा जान सल्लाह दिएँ। गाडीमा सिट खाली छँदै थियो।
सरसँगै अघि ओर्लिएका सबै मान्छे गाडीमा चढे। सरलाई यतिका वर्षपछि भेट्न पाउँदा खुसी थिएँ, मनमा उपन्यास पढ्न पाइनँ भन्ने दुःख पनि थियो।
‘अनि रोस्ना अरू साथीहरूको खबर के छ? को-को कता पुगे?’
‘मलाई नि थाहा छैन सर को-को कता छन्, सबै जना छुटिहाले त्यति खेरै।’
‘अनि तिम्रो सुनाऊ के गर्दै छौ, के पढ्यौ, अहिले कतिमा पुग्यौ, कता बस्छौ, कुन कलेज पढ्दै छौ?’
मैले ब्याचलर सकेको र अब लोक सेवा पढेर सरकारी जागिरे बन्छु भनिदिएँ। ‘तर थाहा छैन इच्छा कहिले पूर्ण हुने हो!’
सर हाँस्नु भयो। ‘ठिकै छ त। मेहनत गर्ने, यदि भएन भने विदेश जाने एक जना राम्रो जीवन साथी खोजेर’ भन्नुभयो।
म हाँसे मजाले।
कोही साथी बनाएको छ कि छैन भनेर पनि सोध्नुभयो। यो प्रश्नले झसंग बनाइदियो। यदि बनाएकै भए नि सरलाई बनाएको छु भन्ने हिम्मत कमैको हुन्छ होला।
मैले छैन सर भनिदिएँ।
हामीले धेरै विषयमा कुरा गर्यौँ। सरले मेरो बारे सबै कुरा सोध्नु भयो; परिवार, पढाइ र भविष्यको। अब केही चिज बाँकी थिएन होला मेरो बारे सरलाई थाहा नभएको।
सरले आफ्नो फोन निकालेर आफ्नो परिवारको फोटो देखाउँदै भन्नुभयो, ‘हाम्रो परिवार यही हो। यो मेरो जेठो छोरो हेमराज अनि यो कान्छो अनहद। अहिले जेठो अस्ट्रेलियामा छ र अर्को यही ब्याचलर पढ्दै छ।’
फोटो नियालेर हेरेँ, म्यामलाई हेरेँ र साथमा हुनु भएको ठुलो दाइलाई नि हेरेँ। ठुलो दाइ त हजुर जस्तै हुनुहुँदो रहेछ नि सर भनिदिएँ।
सर हाँस्नुभयो।
झ्याल बाहिर ठुलो बाजा बजाउँदै बिहेको जन्ती जाँदै थियो।
‘सबैको बिहे हुँदै छ, तिम्रो घरमा केही कुरा गर्दैनन्? कसैले नसम्झे नि तिमी चाहिँ सम्झिनु नि है मलाई बिहेमा।’
मैले हाँस्दै भइहाल्छ नि सर भनेँ।
बिहे, यो शब्द कुन चाहिँ मान्छेको मुखबाट सुन्या छैन होला र मैले! हुँदा हुँदा घरकै साना २/३ क्लासमा पढ्नेले पनि ‘दिदी, बिहे नगर्ने तपाईं?’ भन्न थालिसके। छिमेकीहरूले नि अब त पढाइ पनि सक्यो, अब गरिदिँदा ठिक हुन्छ भन्न थाल्दै छन्। अरू को-को के-के भन्छन्, सुन्दा सुन्दै बन्द हुन थालिसके कान पनि।
मैले सरलाई ढाँटेँ, ‘कसैले भन्नु भएको छैन सर।’
‘गर्न त परिहाल्छ एक दिन न एक दिन, घरमा बस्न त दिँदैनन् तिमीलाई। राम्रो पाइहाले गर्दा राम्रै हो, नभए गर्न परेन। मेरो छोरो नि बा, राम्रो केटी पाए बिहे गर्छु बरु खोज्न थाल्नु बुहारी भन्न थालिसक्यो। ठुलो भएपछि झन् गाह्रो रोस्ना, अब त्यसले त नभेटाएको केटी म कहाँ खोज्न जाऊँ भन त। कि छोरालाई तिमीसँग भेटाइदिऊँ त?’
अघिसम्म रमाइलो मान्दै कुरा सुन्दै थिएँ, अब पिर परेर आयो। आफैलाई पढाउने शिक्षकले बिहेको प्रस्ताव राख्नुहुन्छ भन्ने मैले अलिकति पनि सोचेको थिइनँ।
‘ख्यालठट्टा गर्या होइन रोस्ना मैले। तिम्रा बा र आमासँग कुरा गर, सरले त यसो भन्दै हुनुन्थ्यो भनेर। यदि तिमीलाई मेरो छोरा मनपर्यो भने सँगै बिहे गर्नू अनि जानू दुवै जना अस्ट्रेलिया।
नेपालमा भविष्य कम नै छ। एकदमै गाह्रो छ, रोस्ना। सबैतिर आफ्नै मान्छे चाहिने, केही गर्न होस्, जागिर खान होस् धेरै गाह्रो छ। सोच बिचार गर तिमी पनि मैले के गर्दा ठिक होला, आफूलाई साथसाथै घरमा पनि कसरी सहज होला भन्ने।’
म केही बोल्न सकिनँ, हस् सर भनिदिएँ।
मैले कुरा मोडेँ, ‘अनि सर कति दिनको लागि आउनु भएको हो बिहेको लागि?’
‘एक हप्ता बस्छु, घुम्छु अनि जान्छु होला। आफ्नो एकदमै मिल्ने साथी नाइँ भन्न पनि सकिएन, फेरि गाउँको बिहे रमाइलो पनि हुने। सबै छोडेर आएँ म त।’
‘हो नि सर। यही भाग दौडमा आफूलाई बिर्सनु पनि त भएन।’
‘हो नि नानी। ल रोस्ना, यही ठेगाना दिए जस्तो लाग्थ्यो मलाई। म ओर्लिन्छु है त। मैले भनेको कुरा याद राख्नू है, तिम्रो भविष्य उज्ज्वल रहोस्, शुभकामना।’
सर गाडीबाट ओर्लिएर गएपछि मनमा अनेक कुरा आउन थाले। दिनहुँ मजस्तै कैयौँ जान्छन् विदेश। यो देखिरहँदा के नेपाल साँच्चिकै यसरी नै एक दिन रित्तिने त हैन भन्ने पिरले सतायो। के साँच्चिकै नेपालमा सरले भन्नु भएको जस्तै गाह्रो छ त?
के अब म पनि विदेश जानु र? तर कसरी जाऊँ! जसले आफ्नो सारा जीवन हाम्रो राम्रोको निम्ति खर्च गर्नुभयो, अब आमा-बालाई हाम्रो जरुरत परेको बेला मैले कसरी छोडेर जान सक्छु? सुखमा सबै साथ दिन्छन्, केही दुःख परिहाले को आउँछ साथ दिन?
यस्तै अनेक थरी कुरा चलिरह्यो मनमा, गाडीको हर्नले तर्सिएछु।
आमाले भन्नु भएको कुरा पनि याद आयो- ‘कलिनागथान मन्दिर याद गर्नु अनि त्यही ओर्लिनू है।’
मन्दिरको ढोकामा बोर्ड देखिहालेँ र म पनि गाडीबाट ओर्लिएँ।
बाको आमा त्यही मन्दिर निर मलाई कुरेर बस्नु भएको रहेछ। मुसुक्क हाँसेँ, आमाका चाउरी परेका अनुहार नि थोरै तन्किए। आमाको हातमा ढोगेँ र उहाँको पछि पछि उकालो लागेँ।
‘नातिनी के खाइस्? कतिको गाह्रो भयो गाडीमा? तेरो लागि भनेर तेरी ठुलीआमाले मही पारेकी छ।’
हजुरआमाको उत्तर दिँदै म बिस्तारै उकालो चढेँ। मनमा अघि सरले भन्नु भएको कुरा घुम्दै थियो।
अचानक म भुइँमा बेस्सरी लडेँ। एकछिनसम्म खुट्टा नै रनन गरिरह्यो। मसँगै पछारियो मेरो ब्याग र अझै अलिकति पर नमज्जाले पछारिएछ लोक सेवा लेखिएको किताब।
आमा आत्तिनु भयो, ‘नातिनी कसरी लड्न पुगिस्? घाउ त भएन हेर हेर्।’
लुगामा लागेको फोहोर टकटक्याउँदै, ‘यी यो ढुङ्गामा अल्झेछु केही भएको छैन आमा’ भन्दै हतार हतार उठेर भुइँमा छरिएका किताब ब्यागमा हालेँ।
त्यतिखेरै अर्को सोच आयो- अहिले म पछारिए जस्तै के अब अस्ट्रेलिया, अमेरिका र अरू विभिन्न देशहरूले पनि यसरी नै पछार्छ होला र लोक सेवालाई?’