जब मौरी भुनभुनाई रहने फर्सीका पहेँला फूलहरू ओइलाउँथे तब बिँडमा गोबर लगाएर पाकेका फर्सीहरू घरका धुरीमा लहरै राखिन्थे। ठिक त्यसै बेला खेतहरूमा गहुँका दानाहरू छर्किएर अधिकांशका बाहरू पुरानो मैलो झोला भिरी नयाँ मीठा सपना बुन्दै कुल्ली गर्न भनेर सोर (पिथौरागढ) तिर लाग्थे। बा कुल्ली गर्न हिँडेपछि किन हो किन गाउँ उदास लागेर आउँथ्यो। बा गएको पहिलो रात मन त्यसै त्यसै भारी भएर आउँथ्यो। मानौं मनभित्र एक क्विन्टलको बोरी उठाइराखेको छु।
दोस्रो दिन बिहानको खाना खाँदा बाको झल्को आउँथ्यो। भक्कानिएर रून मन लाग्थ्यो। बाको जिम्मेवारी र बाध्यता मैले बुझ्दैनथेँ सायद। त्यसैले होला प्रत्येक पल्ट बा जाँदा म आफ्नो अनुहार निन्याउरो बनाउँथेँ। आँखामा डमक्क आँसु भर्थें र कसैले थाहा नपाउने गरी घुटुक्क दुई घुट्की थुक निल्थेँ!
बा विदेशिएपछि बाजत्रै उमेरका मान्छेहरू अलधार, दमलेक, खाली गैरका कुना काप्चीतिर लुकेर कलब्रेक खेल्थे। यसरी कलब्रेक खेल्नेमा मलाई चारमा गणित पढाउने मासाब (सर) पनि हुन्थे। कहिलेकाहीँ हराएका बाख्रा खोज्दै मनभरि डर बोकेर हामी बच्चाहरू बत्तिएर तिनका नजिक पुग्थ्यौं। खेल खेल्न हातमा तास समातेका चार जनाका वरिपरि अन्य मानिसहरू झुम्मिरहेका हुन्थे। ‘डिष्टर्भ नगरौं न यार! खेल्यानलाई खेल्लु देऊ!’ वरपर झुम्मिरहेकामध्ये कसैले कराउँथे। त्यसपछि एकछिन सबै चुप। कम्मरमा हात लाएर टाढै एकछिन उभिरहँदा चाल, हुकुम, ओटीजस्ता शब्दहरू बोलेको सुन्थेँ। एकछिनपछि सायद जब केही हिसाब मिल्दैन्थ्यो सबै जना हिसाब गर्नेमाथि प्रश्न खडा गर्थे। हिसाब गर्ने मान्छे रिसाउँदै हामी बच्चाहरूतिर हेर्थ्यो र भन्थ्यो 'यी गेदानले हल्ला गरिबटे के गर्यो! के गर्यो? सब गेदा भाग याबुठे! ह्याट! ह्याट!! ह्याट!!! त्यसपछि हामी कुदेर अन्तैतिर लाग्थ्यौं।
***
बा विदेश गएपछि कुन्नी कहाँदेखि हो चिसो गाउँ पस्थ्यो। गाउँ मात्र होइन सिस्नुका झ्याङै झ्याङ उम्रने धट्टेगाढका प्रत्येक ढुङ्गाका काप कापमा पस्थ्यो। तुरूरू… तुरूरू… बगिरहने घट्टेगाढको पानीको बुइँ चढेर जमाडीगाढतिर झरिरहन्थ्यो। त्यसैले होला घरपारि रहेको बद्देभिटा डाँडो जाडो मानेर ठिङ्ग उभिएकोझैं लाग्थ्यो।
पारी बद्देभिटा डाँडाबाट आएको चिसो हावाले हाम्रा कान निमोठी घर माथिको डाँडातिर हुत्तिन्थ्यो त्यही बेला हामी केटाकेटीहरू गाई गोठमा हाल्न भनेर ‘पतेला’ सिमोट्न जान्थ्यौं। पतेला सिमोट्न कहिले घरमाथिको गलिनाथ मन्दिरमा जान्थ्यौं त कहिले घरतिरको सिम्बिसा। पतेला सिमोट्न आएका हामी अलि फराकिलो ठाउँतिर गएर जब टिपो खेल्न सुरू गर्थ्यौं घरबाट आमाहरूले बोलाएको सुनेर सर्याक… सर्याक… आवाज निकाल्दै हतार हतार हामी पतेला सिमोट्छौं र हत्तारिँदै घरतिर लाग्थ्यौं।
घरभित्र जाडो छल्ने लुगा प्रशस्त नभए पनि गोठमा रहेका गाई, भैंसी, बाख्राहरूको जाडो छल्न आमाले बेलुका मैले सिमोटेर ल्याएका पतेलाहरू गाईवस्तु सुतेको गोठभरि छर्नु हुन्थ्यो। बाहिर आएर घुपो, पराल, सुकेका केराका धापढाहरू काठमा बाँधेर गोठका ढोकामा ढपक्क लाउनु हुन्थ्यो। जतन गरी लाएको ढोकालाई भैंसीले उछिट्याई कहिले बाहिर फालेको हुन्थ्यो त कहिलेभित्र।
यसरी चिसो गाउँ पसेको बेला बेलुका खाना खाइसकेपछि गाउँका आमाहरू हाम्रो घरमा जम्मा भएर विभिन्न कथा कहानी सुनाउनु हुन्थ्यो। प्रायः डरलाग्दा कथा र कुरा गर्नुहुन्थ्यो। मरेका मान्छेहरूका बारेमा कुरा गर्नुहुन्थ्यो। यस्तो कुरा सुन्दा सुनिरहुँ जस्तो लागे पनि भित्रभित्रै डर लागेर आउँथ्यो। त्यसैले म विस्तारै सबै बसेको ठाउँको बीच बीचतिर सरिरहन्थेँ।
एक हिउँद भने चोरको नामै किटेर चोर्न आउँदै गरेको खबर गाउँभरि फैलियो। त्यसको नाम सुनेर सबै आमाहरू डराए। आमाहरू डराएको देखेर हामी केटाकेटीहरूको सातो गयो। आमाहरू ननिदाएरै राति कुरा गरी जागै बसिरहे। झन् हामी केटाकेटीहरू निदाउने त कुरै भएन। यस्तो अवस्था देखेर लाग्थ्यो प्रत्येक दिनपछि रातहरू किन आउँछन् होला?
त्यो हिउँद राति पिसाब लाग्ने डरले हामी सबैले बेलुका पानी पिउन छोड्यौं। जब मध्यराति हुन्थ्यो पानी नपिए पनि त्यसै त्यसै पिसाब लागेर आउँथ्यो। को जान सक्ने बाहिर! कसको हिम्मत बाहिर जाने! दुई हातले च्यापेरै रात कटाउँथे। कुनै राती बाहिर आँगनको डिलमा रहेको रिठाको रूखमा बसेर हुँचिल कराउँथ्यो। आमाहरूले गाउँमा कोही अब मर्छ भन्ने कुरा गर्नु हुन्थ्यो। नभन्दै बिहान उठेर जब पारी गाउँतिर हेर्थेँ रातो कपडामा बेरिएको लासको अघिअघि रहेको ‘बाट’ झुसिल कुराझैं पन्ज्युनयाँमा रहेको मसानघाट विस्तारै सर्दै जान्थ्यो। यही बेला मलाई बाको खुबै याद आउँथ्यो। लाग्थ्यो बा घर भएको भए यी सब डरहरू टाढा भाग्थे। चोर समेत घरमा आउन सक्दै सक्दैनथ्यो। त्यो हिउँदका प्राय: रातहरू मैले बा सम्झेर कटाएँ।
***
राती र मान्छे मरेको दिनको बिहान जस्तोसुकै डर भए पनि अन्य दिन भने बिहानै पारि डाँडाको सल्लाको रूखमा झुल्किएको घाम जब घरको धुरी टेक्न आइपुग्थ्यो आमाले गाई र भैंसीलाई बाहिर आँगनमा किलोमा बाँध्नु हुन्थ्यो। गोरु र बाख्राहरूलाई गोहारतिर धपाउनुहुन्थ्यो। म तिनको पछिपछि लाग्थे ‘गोठालो’ बनेर। यसरी गोहारमा अघि हिँड्दै गर्दा राम, बिरे, चनि, तुले, दुरा र बिसन भेटिन्थे। अलि पर नरकट्या पुगेपछि तेज र भीमका भेटिन्थे। यसरी अघि बढ्दै बढ्दै जब औलधार, खालीगैर पुग्थे अन्य गाउँहरूका गोठालाहरू पनि भेटिन्थे। जब सबै गाउँका गाईवस्तु जब एक ठाउँमा आइपुग्थे कसैको गोरु कसैका गाईका पछि लाग्थ्यो र अगाडिका दाँत देखाएर आकाशतिर मुख सुझ्याउँथ्यो। कसैका गोरु भने हुँक्का… हुँक्का…गर्दै बाटोका ढिस्का सिङले उधिन्थे। ठिक यही बेला हामी सबै टिपो खेल्न खाली गैह्र स्कुलको फिल्डतिर दौडिन्थ्यौं।
खाली गैर स्कुलमा त्यो बेला हामी केटाकेटी बाहेक अरू कोही हुँदैनथे। बिदाको दिन भएर होला हामीलाई गाली गर्ने गणेश र भानदेव सर पनि हुँदैनथे। हामीलाई टिपो खेल्न रोक्ने कोही हुँदैनथे। त्यसैले हामी टिपो खेल्ने निर्णय गर्थ्यौं। टिपो खेल्न चाहिने बल दिपकले लिएर आएको हुन्थ्यो।
दिपकले बनाएको बल धेरै राम्रो हुन्थ्यो। उसले जुराप (मोजा) को बल बनाएको हुन्थ्यो। एकदम साह्रो र गोलो। त्यसैले होला त्यो बलले एक ठाउँबाट अर्को ठाउँ पुग्न कुनै बेर लाउँदैनथ्यो। अरूले बनाएको बलहरू त पुट्का पाट्की आएका हुन्थे। कसैका तीनकुने हुन्थे त कसैका चारकुने। एकदम हलुङ्गा। एक ठाउँबाट अर्को ठाउँ फाल्दा बीचबाटै हावाले अन्तै पुर्याउने खालका। त्यसैले होला सबैले दिपकले बनाएको बल मन पराउँथे। कसै कसैले त स्कुल खुलेको दिन कापीका पेजमा पनि बल किन्थे। दिपकले बल बेचेरै कमाएका पेजहरू जोडेर कापी बनाएको हुन्थ्यो। जुन ऊ प्रत्येक दिन स्कुल लिएर आएको हुन्थ्यो। त्यसरी बनाएको कापी किनेको कापीजस्तो सपक्क मिलेको भने हुँदैनथ्यो।
दिपकको प्रगति देखेर मलाई पनि दिपकको जस्तै बल बनाउन मन नभएको कहाँ हो र! तर हाम्रो गाउँमा कसैले जुत्ता र मोजा लगाउथेन्न। मैले १० मा पढ्दा मोजा र जुत्ता लगाएको हुँ। गाउँमा अरूको हालत पनि मेरोजस्तै त हो नि!
तै पनि एक दिन दिपकको जस्तै बल बनाउने भनेर अर्को गाउँबाट फालेको मोजा खोजेर ल्याएँ। मोजाभित्र दिपकको जस्तै गरी कपडा र भुस भरेँ। बायाँ हातले मजबुतसित समातेको मोजालाई जब सिलाउने भनेर दाहिने हातमा रहेको सियोले जोरसित घोच्दै थिएँ सियो उछिट्टिएर बायाँ हातको बुढी औंलामा पूरै घोपियो। खुबै दुख्यो। धेरै दिन आमालाई त्यही घाउ देखाउँदै स्कुल गइन र त्यही दिनदेखि मैले दिपकको जस्तै राम्रो बल बनाउने सपना त्यागेँ।
***
दिपकले आफ्नो फाटेको पेन्टको गोजीबाट जब दाहिने हातमा बल निकाल्थ्यो हामी घँगारूको झिलमा लुकाएर राखेका बिस्कुटका पाताजत्रै गोला गोला दश-पन्ध्र वटा पातला ढुङ्गा निकाल्थ्यौं। ती ढुंगा हामीले अघिल्यै दिन मेहनत गरेर बनाएका हुन्थ्यौं। ती गोला ढुंगा बनाउँदा हामीले धेरै ठाउँ डुलेर संकलन गरेका हुन्थ्यौं। त्यसैले ती प्रत्येक ढुंगाहरूको सबैलाई उत्तिकै माया लागेर आउँथ्यो।
दिपकको हातको बल देखेर चनीले उध्रिएको बाहुला भएको दाहिने हातको चोर औंलाले यता र उति देखाउँदै हामी सबैलाई दुई टोलीमा विभाजन गर्थ्यो। यसरी टोली विभाजन गर्दा सबैले आ-आफ्नै मनपर्ने साथीलाई आफ्नो समूहमा परेको हेर्न चाहन्थे।
टोली विभाजन गरेपछि रामले आफ्नो नाकबाट बग्दै गरेको सिँगानलाई आफ्नो बाँया हातको नाडीमा पुछ्दै हतार हतारमा खेलका नियम भट्याउँथ्यो।
खेलको नियम अनुसार संकलन गरिएका गोलाकार ढुंगाका पाताहरू एक अर्कामाथि खपट्याइन्थे। त्यो काठमाडौंको धरहराजस्तै बन्थ्यो। हो त्यसैलाई भनिन्थ्यो ‘टिपो’।
वीरेले आफ्नो तल झर्दै गरेको पेन्टलाई जोडले माथि तान्दै टिपोको केही पर घाँगरुको लठ्ठीले भुइँमा रेखा कोर्थ्यो। त्यही रेखामा खुट्टाले छोएर टोलीमध्ये कसैले बलले टिपोमा हिर्काउनु पर्थ्यो। एक जनाले तीन बल हान्न पाउँथ्यो। कहिलेकाहीँ एक वा दुई बल मात्र हान्न पाउने नियम पनि बन्थ्यो। यो सबैको सल्लाह अनुसार हुन्थ्यो।
यसरी ताकेको बलले टिपोलाई जोरले हान्दा पनि बलले टिपोलाई छुँदैनथ्यो। बरू कहिलेकाहीँ हुत्तिएर हाम्रा अण्डकोषमा बजारिन आइपुग्थ्यो। यसरी बल अण्डकोषमा बजारिँदा हामी दुबै हातले आफ्ना अण्डकोष छोपेर भुइँतिर थचक्क बस्थ्यौं। केटीहरू छक्क परेर हेर्थे। एकछिन आँखा बन्द हुन्थे। दिउँसै अँध्यारो छाउँथ्यो। त्यसैले सबै जना जोगिएर खेल्थ्यौं।
बलले टिपोमा हान्ने प्रयास गर्दै गर्दा टिपो भूकम्पमा ढलेको धरहराझैं ढल्थ्यो। जसले ढलाएको हो उसैको टोलीले नयाँ बनेको धरहराजस्तै गरी उभ्याउनु पर्थ्यो। बनाउँदा गरेर यसरी बनाउन जाँदा विपक्षीले बलले हान्थे। बलले जिउमा छोयो भने त्यो मान्छे आउट हुन्थ्यो। जसलाई ‘कुहिने’ भनिन्थ्यो। कुहिएको मान्छे निन्याउरो अनुहार पार्दै माटोको ढिस्कोमा बसेर हेरिराख्थ्यो। जो मोटो, दगुर्न र छल्न सक्दैनथ्यो त्यही मान्छे पहिला कुहिन्थ्यो। यसैले हतार हतारमा टिपो अघिकोजस्तै बनाउन हामी सबैका हात हत्तारिएका हुन्थे। टिपो बनाउँदा बनाउँदै हतारिएका हातले थाहै नपाई टिपो ढली हाल्थ्यो।
बलबाट छलेर पहिलाजस्तै टिपो बनाउनु चुनौतीपूर्ण हुन्थ्यो। यही चुनौती देखेर हामी खेलको नियम चेन्ज गर्थ्यौं। अघि बल जिउमा जहाँ लागे पनि कुहिने (आउट हुने) नियमलाई संशोधन गर्थ्यौं। नयाँ बनेको नियम अनुसार कुहिना र घुँडाभन्दा माथि छाती र पिँठ्युतिर लागे भने मात्र कुहिने नियम बनाउँथ्यौं। यसरी बनाएको नियम अघिकोभन्दा केही सजिलो हुन्थ्यो। त्यसैले प्रायः हामी यही नियममा खेल खेल्थ्यौं।
खेल खेल्दा-खेल्दै कहिलेकाहीँ बल फिल्डभन्दा बाहिर पर्थ्यो। बाहिरपट्टि घाँगरुको रूखमा अड्किएको बल जब हातले झिक्न खोज्थ्यौं बल बिस्तारै ओरालोतिर घुर्किन्थे। जब छोप्न जान्थ्यौं उ ओह्रालोतिर दगुर्थ्यो। केही छिनपछि सबैभन्दा तलको देखिएको गह्राको छेउबाट जोरसिर उछिट्टिएर भिरमा अलप भैदिन्थ्यो।
यसै बेला पारी बद्देभिटामा रहेको सल्लाको छाया घट्टेगाढसम्म लामो भई झर्थ्यो। हामी केटाकेटीहरू त्यही छायालाई हेरेर घर जाने अड्कल काट्थे। त्यो बेला घडी हुँदैनथ्यो। त्यसैले हाम्रो गोठालो जीवनको घडीको काम प्रायः त्यही सल्लाको छायाले गर्थ्यो। त्यसैले होला बादल र पानी परेको दिन हामीलाई रात परेको थाहै हुँदैनथ्यो।
त्यसपछि स्कुल मुन्तिरको ‘अल्धार’ का खाल्टाखुल्टी भएको गोहारमा अगाडि गाईवस्तु लगाएर घरतिर लाग्थ्यौं। अप्ठ्यारोमा जतनका साथ हिँड्ने गाईवस्तु जब समतल ठाउँ पाउँथे कम्मरमा पुच्छर पुर्याएर घरतिर दौडिन्थे। यसरी गाईवस्तु दगुर्दा बाटोमा धुलो उठ्थ्यो। उडिरहेका घुलोका कणहरूले हावामा गाढा रातो रङको पारदर्शी पातलो पर्दा बनाएको हुन्थ्यो। त्यही पर्दाबाट छिरेका किरणहरू जब अल्धारमा रहेको सल्लाको टुप्पा चढ्दै माथि आकाशतिर हराउँथ्यो हामी टिपोको बल दोस्रो दिन अवश्य खोज्ने संकल्प गर्दै घरतिर दौडिन्थ्यौं।