झिसमिसे उज्यालोसँगै उठेर क्याम्पस जानुपर्ने बाध्यता। काठमाडौँको बाटो अनि लोकल बस। मङ्सिरको महिना लागेकाले दिनहुँ जाडो बढ्दै थियो। सिरिङ्ग आङ बोकेर क्याम्पस जान लागेको थिएँ।
क्याम्पस बागबजार, म बस्ने सानोठिमी। बस कुर्दै बसेको थिएँ। एउटा बस आयो। म त्यही गाडीमा उक्लिएँ। गाडीमा उभिनेसम्म ठाउँ थिएन। बिहानैको समय क्याम्पस, कलेज र अन्य इन्स्टिच्युट पढ्ने, भाषा पढ्ने विद्यार्थीहरूले खचाखच भरिएको थियो।
गाडीमा छिर्दा जाडोले चिसो भएको शरीर एकै चोटि न्यानो महसुस भयो। सहचालकले अलि मिलेर बस्न तथा पछाडि सर्न भनिरहेको थियो। पेप्सीकोलामा केही मान्छेहरू झरेपछि पछाडिको एउटा सिट खाली हुन पुग्यो।
उभिएर खुट्टा थाकेका र निदाएका थिए। हातले माथि डन्डी समातेको हुनाले चिसिएको थियो। म त्यो सिटमा बसिहालेँ। छेउको सिटमा अन्दाजी १९/२० वर्षकी युवती थिइन्। उसले चस्मा लगाएकी थिई भने कपाल काटेर गर्धन र घाटीसम्म मात्रै राखेकी थिई। मुलायम र आकर्षक उसको अनुहारमा स-साना पिम्पलहरू थिए। उसको हातमा आइफोन एघार र जीउमा गुलाबी रङको हुडी लगाएकी थिई।
केही बेर म एकोहोरो भएर हेरिरहेँ। घरीघरी बोल्ने आँट गरौँ गरौँ लागिरहेको थियो तर बोल्ने आँट भने गर्न सकिनँ। आफैले बोल्न सुरु गर्ने शब्दहरू उच्चारण गर्न मेरा ओठहरू अग्रसर भएनन्।
गाडी जडीबुटी चोकमा करिब पाँच मिनेट जाममा पर्यो। त्यो समयमा मैले उनलाई थाहा नहुने गरी छड्के आँखाले हेर्दै मुखाकृतिको पाठ पढ्न थालेँ। मनमनै पढिरहेँ। मनमा अनेक भावहरू जागेर आए। आहा! कति राम्री। भगवानले फुर्सद निकालेर, समय खर्चेर बनाएकी मान्छे! नाम चाहिँ के होला भनेर सोचेर टोलाइरहेको थिएँ।
म आफ्नै मनोलोकमा हराइरहेको थिएँ। त्यति बेला आवाज आयो- ‘ल तीनकुने झर्नेहरू हातमा भाडा लिएर अगाडि आउँदै गर्नुस्।’
म झसङ्ग भएँ। ए तीनकुने पो पुगिएछ! त्यसै बेला साइडबाट आवाज आयो- एक्सक्युज मि प्लिज!’
उनी भित्तातिरको सिटमा थिइन्। त्यसैले बाटो छोड्न अनुरोध गरिन्। म मौन भएर खुट्टा एकतिर सार्दै बाटो छोडिदिएँ। उनी तीनकुने झर्ने रहेछिन्। गाडी नयाँ बानेश्वरतिर गुड्न सुरु भयो।
म उनको मुखाकृति सम्झिँदै टोलाएछु। हत्तेरी! सिंहदरबार अगाडि झर्नुपर्ने मान्छे सिधै रत्नपार्क पो पुगेछु! अब क्याम्पस पुग्न उल्टै फिरेर आउनुपर्ने भयो।
मेरो मानसपटलमा उनको मुखाकृतिले एकै चोटि डेरा बनाएर बस्यो। कक्षामा सरले पढाउँदा टोलाइरहेँ। मेरा यी नयनहरूमा कैद भएको उनको मुखाकृतिलाई दोहोराइरहेँ। म सोही बाटो छुट्टी भएपछि घर आएँ।
भोलिपल्ट शनिबार, बिदाको दिन पनि उनकै तस्बिर सम्झिँदै बित्यो।
अर्को दिन आइतबार सोही प्रक्रिया दोहोरिन्छ। म क्याम्पस जानलाई बस कुरिरहेको थिएँ। बस आयो, म त्यसमा उक्लिएँ। बसमा उस्तै भिडभाड, बस्ने ठाउँ थिएन। म ढोकाकै महिला सिटमा अडेस लाएर उभिएको थिएँ। सह-चालकले अलि पछाडि सर्न र अर्कोपट्टि फर्केर उभिन भने। मैले सोहीअनुसार फर्किएँ।
फर्किने बित्तिकै फेरि उनलाई देखेँ। झुक्किएँ कि भनेर आँखा बन्द गरेँ र खोलेर हेरेँ। साँच्चिकै उनी सोही पोसाकमा पाँच नम्बर सिटमा बसिरहेकी थिइन्। उनको हातमा मोबाइल अनि ब्याग थियो। मैले माथिबाट नियालिरहेको थिएँ।
गाडी कोटेश्वर पुग्यो। उनको दायाँपट्टि कुनाको सिटमा बसेका एक जना अधबैँसे काका ओर्लिनु भयो। उनी उक्त सिटमा सरेपछि म उनले छोडेको सिटमा चुपचाप बसेँ। अलि अगाडि तीनकुने आयो, उनले फेरि एक्सक्युज मि प्लिज भन्दै बाटो छोड्न संकेत गरिन्। मैले बाटो छोडेँ अनि उनी झरिन्।
संयोग पनि कस्तो है, फेरि पनि म सोही गाडीमा परेछु! तेस्रो दिनसम्म एउटै गाडी र एउटै सिट पर्दा पनि उनलाई अचम्म महसुस भएको जस्तो देखिनँ। सायद उनले यो कुराको ख्याल नगरेकोले होला।
मैले दुई/तीन दिनसम्म एउटै गाडी एउटै सिटमा पर्दा कम्तीमा पनि ‘हामी त तीन दिनसम्म एउटै गाडी एउटै सिटमा परेछौँ, संयोग पनि कस्तो कस्तो है?’ भनेर भनेको भए हुने। तर त्यस्तो केही भनिनँ।
तेस्रो दिन पनि म अचम्म पर्दै उनलाई सम्झिँदै क्याम्पसतिर लागेँ। बेला बखत मेरो मस्तिष्कमा विभिन्न प्रश्नहरूले प्रशय पाउन थाले। यो एउटा संयोग मात्रै थियो र? कि भगवान्ले नै जुराएका हुन्? किन उनीसँग मात्रै नियमित म एउटै सिटमा परेँ? किन एउटै गाडीमा पर्छु भन्ने कुराहरूले मलाई सताइरह्यो।
कोठामा आउँदा साथीलाई मैले गाडीमा भेटेको केटी बारे बताएँ। साथै उसको वर्णन गरेँ। दोस्रो दिन पनि सोही कुरा दोहोरिएकाले अचम्म मान्दै उसलाई सुनाएँ।
साथीले भन्यो, ‘संयोग हुन्छ कहिलेकाहीँ। अनि हेरिस् मात्रै कि बोल्ने आँट पनि गरिस्?’
मैले ‘छैन यार बोलेको, मेरो ओठहरूले त्यस्तो आँट कहाँबाट गर्छन् र?’ भनेँ।
‘त्यसो भए किन सुनाउँदै छस् त बोल्न नसके बेकारमा?’ भनेर भन्यो।
तेस्रो दिन पनि सोही घटना दोहोरिएकाले मैले कोठामा आउँदा साथीलाई नसुनाई बस्न सकिनँ।
‘साँच्चिकै यो कस्तो संयोग हो! तीन-तीन दिनसम्म एउटै गाडी, एउटै सिटमा परेको केटीसँग नि बोल्न सक्दैनस्’ भनेर गलल हाँस्यो।
‘बेलैमा बोल्नु पर्छ है, के थाहा त्यो तेरै लागि भगवान्ले जुराइदिएको मान्छे पो हो कि! भगवान् रिसाउनु भयो भने तैँले यतिको केटी नभेट्लास्। बिचरी केटी के सोची होली है! तीन-तीन दिनसम्म नि बोल्न नसक्ने’ भनेर मलाई जिस्क्याइरह्यो।
सोझो र अनावश्यक वार्ता नगर्ने बानी पनि राम्रो होइन रहेछ भन्ने लाग्यो। अब पनि सोही घटना दोहोरियो भने त म अवश्य बोल्छु। बोल्ने मात्रे होइन, फेसबुक आइडी र फोन नम्बर समेत मागेर ल्याउँछु भनेर मनमनै सोचेर म सुतेँ।