जिन्दगीको अनिश्चित दौडमा
आन्ध्र, प्रशान्त महासागर छिचोल्दै
पृथ्वीको अर्को कुनामा
अज्ञात अपरिचित दुनियाँमा
अनायास मथिङ्गलमा हलचल आउँछ
बाको काँधमा टाउको अड्याएर
आमाको काखमा टाउको बिसाएर
मनको बह पोख्न पाए
बिरानो दुनियाँले सिकाएका
अपरिचित पराईहरूले बुझाएका
सुख दुःखका पोकाहरू
छरपस्ट निकालेर
यो मन,
भुवा जस्तै हलुङ्गो बनाउन मन लाग्छ।
जिन्दगीका अमूल्य क्षणहरू
अनुबन्धित छन् रहरहरू
सुखद भविष्यको लालसामा
आँसु पिएर प्यास मेटाउँदै
अवास्तविकताको विपरीत कित्तामा
कल्पनाको संसारभित्र
सुमसुम्याउँदै मयालु स्पर्शले
उनलाई आलिङ्गन गर्नुको मजा बेग्लै छ
गुलाबी गालामा खाल्डो पार्दै
पोखिने मुस्कानको अदा बेग्लै छ।
खै कहाँ छन् ती बालसखाहरू
जोक र चुट्किला सुनाउँदै
पेट मिचिमिची हाँस्न पाए
रोदी र जात्राहरूमा
ठुली, बाटुलीसँग
कुम जोडेर नाच्न पाए
सम्झिँदै बाँसुरीका धुनहरू
चरा झैँ उडेर फर्कौँ झैँ लाग्छ
ती पाखा र पखेरीमा
मेलापात र वन जङ्गलमा
एक दिन अवश्य फर्कन्छ परदेशी
कहाँ छुट्छ र साइनो अजम्बरी
झन्झन् हृदयमा गाढा बन्दै छ
पर्ख है पर्ख आउँदै छ परदेशी।