सत्तरी नाघेका पिँढीमा लमतन्न परेका
मेरा बा अनि
देशको भविष्यको भयंकर चिन्ता देखाएर
जबरजस्ती सिंहदरबारतिर घिसारिरहेका
दुवै थरी बाहरूलाई
छातीमा हात राखेरै भन्ने हो भने
मेलो साह्रो छ अब
निकै गाह्रो छ अब!
घरका बाले पनि छोरा नातिलाई
घर जिम्मा लगाउन अनकनाइरहेछन्
उता देश हाँक्ने बाहरू पनि
हामीले छोडे त देश बरबादै हुन्छ नि
भन्नेमा छन्
अझै आलोपालो दुई चार वर्ष
सत्ता गन्नेमै छन्
ओहो कस्तो मोह हो यो
घर मालिक हुने मोह
देश मालिक हुने मोह
तर जसले जेसुकै भनोस्
पशुपतिनाथ सम्झेर भन्ने हो भने
मेलो साह्रो छ अब
बाहरूलाई
निकै गाह्रो छ अब!
छोरा नाति भन्छन्-
आराम गर अब पालो पुग्यो तिम्रो
बाहरू भन्छन्-
तिमी अझै आलो काँचो नै छौ
सडक, सदन र सञ्जालमा जुहारी जारी छ
कहिले छोरो त कहिले बा भारी छ
बाहरू बुझ पचाइरहेछन्
हुटिट्याउँको कथा बिर्सेर
आम जनता छोराहरूको पक्षमा
जुलुस बनेर कुर्लिन थाले
सडकमा ओर्लिन थाले
र पनि बाहरू दुई तिहाइ कल्पेर
ॐ फट स्वाहा भन्दै
मण्डप चरोले पुरिरहेछन्
सिंहदरबारमा मस्त घुरिरहेछन्
र पनि
मनकामना माई
मनमा सम्झेर भन्नै पर्छ
मेलो साह्रो छ अब
बाहरूलाई
निकै गाह्रो छ अब!
गाह्रो त छोराहरूलाई पनि छ
बाहरूको ठाउँमा पुगे पनि
पाइला पाइलामा चुकेका छन्
यिनी पनि
काम थोरै र धेरै झुकेका छन्
र पनि हुटहुटी छ तिनीहरूमा
सत्तारोहणको
देखिन्छ पारा
कतिलाई त्यस्तै बा बन्नु छ
विपक्षीको खोइरो खन्नु छ
कति इमानदार पनि छन्
मन मुटुमा देश बोकेर हिँडेका छन्
जे होस यो देशको बागडोर
सुम्पनुको विकल्प छैन अब
मेरो या तेरो नभनी
मनमा हरि सम्झेर भन्नै पर्छ
मेलो साह्रो छ अब
बाहरूलाई
निकै गाह्रो छ अब!