देशरुप उनका परिवारका तीन भाइमध्ये कान्छा थिए। तीन भाइ र तीन बहिनी गरी जम्मा छ जना सन्तान र बावु आमा गरी ८ जनाको परिवार थियो। परिवारमा सबैभन्दा कान्छा देशरुपका दुई दाजुहरूले पढाइ पूरा गरी सरकारी जागिर खाइसक्दा पनि देशरुपको जागिरको टुंगो थिएन।
राम्रो परिवार भएका कारण बिना जागिर अध्ययन गर्दै गरेको देशरुपको विवाह गर्नलाई कुनै समस्या परेन। विवाहपश्चात उनमा जिम्मेवारी थपियो तर जागिरको टुंगो भने थिएन। देशरुपकी श्रीमतीले त्यस अप्ठ्यारो परिस्थितिमा आफ्नो श्रीमानलाई सान्त्वना, हौसला र राम्रो साथ दिइन्, जसले गर्दा देशरुपलाई त्यो आर्थिक अभावको जीवन अवधिले त्यति ठूलो चोट दिएन।
विवाह गरेको दुई तीन वर्षमै देशरुपले निजामती सेवामा प्रवेश पाए। निजामती सेवामा प्रवेश पछाडि उनको सफलताका लागि उनले आफ्नो जीवनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन। जीवन अत्यन्त सहज रूपमा चल्न थाल्यो।
देशरुपका दुई दाजुहरूको परिवार भने त्यति सहज तरिकाले चलेको थिएन। उनका माइला दाजुले त आफूलाई यति अस्तव्यस्त बनाए कि पहिलो परिवार छँदाछँदै कान्छी श्रीमती लिएर पहिलो परिवारलाई चटक्कै छाडेर बेपत्ता बने।
उता जेठा दाजुको पनि परिवारको अवस्था त्यस्तै थियो। उनको पहिली श्रीमतीको मृत्यु पछाडि जीवन सहज बनेन। पहिलो श्रीमतीबाटका सन्तानहरू आ–आफ्नो हिसाबले आफ्नो जीवन बचाउन संघर्ष गरिरहे।
यता देशरुपको परिवार अब त्यो परिवारभरिकै आनन्द र व्यवस्थित परिवारको रूपमा रहेको थियो। देशरुपका बावु अलि चाडै नै स्वर्गबास भएपछि आमा भने देशरुप कान्छो छोरा बुहारीसँगै थिइन्। देशरुपका तीन छोरी र एकमात्र छोरा थिए। देशरुपका जेठा दाजु माइला र कान्छा भन्दा अलि भिन्नै टाढा बसेका थिए, त्यसैले उनको परिवारसँग माइला र कान्छाको परिवारको सम्पर्क पनि भएन। तर माइला दाजुले कान्छी श्रीमती लिएर बेपत्ता भएपछि दाजुको परिवारको रेखदेखको जिम्मेवारी समेत कान्छा देशरुपले नै लिएका थिए।
माइला दाजुको जेठो छोरो पढाइ लेखाइ र अन्य विषयमा पनि अब्बल थियो। त्यो समयमा उसलाई आर्थिक तथा सामाजिक सहयोगको निकै आवश्यकता पनि थियो। देशरुपले दाजुको छोराको लगनशीलता देखेर र दाजुले कान्छी श्रीमती लिएर बेपत्ता भएपछि त्यो परिवारको समेत सपना त्यही छोरो मात्र भएकाले पनि देशरुपले आफ्नै सन्तान जस्तैगरी दाजुको छोरालाई आर्थिक, सामाजिक सम्पूर्ण रूपमा सहयोग गरे।
आफूले सहयोग गरेको दाजुको छोराले उनले सहयोग गरेजस्तै प्रगति गर्दै गयो तर उनको आफ्नो एक मात्र छोरो भने पढाइमा त्यति राम्रो भएन। एक्लो छोरो बावुको सम्पत्ति पनि छँदैछ भन्ने भावना उसमा थियो या उसको क्षमता नै त्यत्ति थियो देशरुपले आफ्नो छोरा आफूले चाहेजस्तो बनाउन भने सकेनन्। खासगरी आफ्नो छोराको पढाइ राम्रो होस् अनि आफूजस्तै सरकारी सेवामा लागोस् भन्ने देशरुपको चाहना थियो त्यो पूरा हुन सकेन।
हरेकका आफ्ना क्षमता हुन्छन् र तिनलाई सहजै स्वीकार गर्नुपर्ने एक अविभावकको भूमिकालाई देशरुपले पूरै बेवास्ता गरिदिए।
आफूले कठिन परिस्थितिमा सरकारी जागिर खाएको र सरकारी जागिर बिना जीवन चल्न सक्दैन भन्ने ठूलो भ्रम उनले मनमा पालिराखे।
समय बित्दै गयो देशरुपले आफ्ना तीन छोरीहरूको पनि राम्रै गरी व्यवस्थित तरिकाले विवाह गरिदिए। यो सँगसँगै माइला दाजुकी जेठी छोरी र जेठो छोराको समेत विवाहमा समेत एक बावुकै रूपमा जिम्मेवारी बहन गरी विवाह गरिदिए। पछि आफ्नो एकमात्र छोराको समेत धुमधामले विवाह गरिदिएर उनले पारिवारिक सम्पूर्ण जिम्मेवारी असल अभिभावक भएर सम्पन्न गरे।
यता आफ्नो जागिरको जीवनकाल समेत उनी एक अव्वल कर्मचारी भएर विभिन्न राष्ट्रिय पुरस्कारहरू समेत पाएका थिए। यसरी परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीमा देशरूप कहीँ पनि चुकेनन् सफल बने, जिम्मेवार बने र सबैले उदाहरण दिन लायक व्यक्तित्वको रूपमा परिचित बने।
यहाँसम्म सबै सरल रूपमा, सहज रूपमा चलेको थियो तर जब देशरुपको जागिरे जीवन सकियो अनि उनी सेवा निवृत्त भए त्यसपछि सबैतिर छिन्नभिन्न बनेर उनले सम्हालेका दुई परिवारमा नै विचलन आयो परिवारका सदस्यहरू डगमगाउन थाले।
सायद देशरुपले जागिरे जीवनमा बटुलेका अनुभवबाट आफ्नो परिवामा त्यही किसिमको व्यावसायिक जीवन अंगालेर परिवारका साथमा बाँकी जीवन बिताउन चाहन्थे। तर उनको विचारको समर्थन मिलेन वा उनले त्यसको व्यवस्थापन गर्न सकेनन्। यस सिलसिलामा उनले परिवारमा व्यवस्थापन गर्नुको साटो एक्लो छोरा बुहारीलाई नाति नातिना सहित अलग्गै घरमा भिन्नै बस्न लगाए।
देशरुपले आफ्नो छोरालाई यस्तो अवस्थामा भिन्नै बनाइदिएका थिए कि उनको छोराको आय श्रोतको कुनै सम्भावना थिएन उनी बेरोजगार थिए। श्रीमती र दुई सन्तानको लागि आवश्यकता पूरा गर्न सक्ने हैसियत समेत छोरामा थिएन। यस्तो अवस्थामा भिन्नै गरिदिँदा छोराको मन नै मरेर आयो बुहारीको मन नभाँचिने कुरै भएन।
यति लामो समय अझ भन्दा विवाहको त्यो अप्ठ्यारो परिस्थितिमा समेत साथ दिएकी देशरुपकी श्रीमतीले समेत अब देशरुपलाई पहिलाको जस्तो व्यवहार नगरेको महसुस देशरुपले गर्न थाले। श्रीमतीको व्यवहार परिवर्तन भएको थियो वा उनको मनको बाघले मात्र खाएको हो त्यो कसैले बुझ्न सकेन।
सरकारी सेवापछिको निवृत्त जीवन देशरुपले जुनरूपले बाँच्न चाहेका थिए त्यहाँ कसको कहाँनेर समन्वय र साथ पुगेन वा बढेको छोरो र बुहारी अनि आफ्नी श्रीमतीको सल्लाहमा आफ्नो चाहनाको व्यवस्थापन गर्न सकेनन् अनि उनको सपना चकनाचुर भयो। छोरीहरूको विवाह भैसकेको अवस्था। भएका एउटा छोरा बुहारी र नातिनातिना पनि अलग्गै गराइसकेको अवस्थामा आफ्नी जीवन साथीबाट जुन साथको आशा गरेका थिएन देशरुपले त्यो पाउन नसकेको ठानेर उनी अब घर नै छाडेर विभिन्न आश्रमहरू धाउन थाले।
घरको व्यवस्थापनमा कुनै चासो दिएनन् र आफन्तहरूबाट पनि टाढिँदै गएपछि श्रीमतीको मनमा अर्कै चिसो पस्न थाल्यो। वर्षौंसम्म घरमा नआउने, छोराछोरी, नातागोता, आफन्त कसैको पनि सम्पर्कमा नआउने र श्रीमतीको समेत सम्पर्कमा नभएपछि श्रीमानले अर्की श्रीमती राखेर बसेको हुनसक्ने मनको बाघले श्रीमतीलाई पनि दिनदिनै पिरोल्यो।
यता देशरुपलाई मनको बाघले पहिल्यै खाइसकेको थियो। उनको जागिरे जीवनभर र आफ्ना छोराछोरीको विवाहदान सबै सकिएको अवस्थामा अब जिम्मेवारी सबै सकिएपछि आफ्नो आवश्यकता नभएकाले श्रीमतीको व्यवहार फेरिएको निष्कर्षमा उनी आफै पुगेका थिए।
यता माइला दाइको जेठो छोरालाई पढाइ, लेखाइदेखि विवाहसम्म जुन साथ र सहयोग देशरुपले गरे त्यसको फलस्वरुप उनले चाहेको सामान्य व्यवहार पनि त्यताबाट समेत पाउन सकेनन्। उसले विवाहपश्चात काकाले आफ्नो परिवारका लागि गरेको एउटा पिताको व्यवहारलाई समेत सामान्य रूपमा लियो आफ्नो सफलता आफ्नो बौद्धिक क्षमता हो भन्न थाल्यो र विस्तारै सम्पर्क हुनै छाड्यो।
यता देशरुपको छोराले केही समय आफ्नो अस्तव्यस्त समयमा बावुले आफूलाई भिन्दै गरी केही सहयोग नगरेका कारण आर्थिक रूपमा निकै दुःख व्यहोर्नु पर्यो। त्यसको केही समयपछि उसले पनि जागिर गर्न थाल्यो। अब छोराले आफ्नी श्रीमती, छोराछोरीसहित सबैलाई आफ्नो जागिर जता हुन्छ, उतै लिएर जान थाल्यो।
देशरुपलाई कुनै आश्रममा भेटेको समयमा उनको माइला दाइको कान्छो छोराले भनेको थियो, काका अबको उमेरमा तपाईं जहाँसुकै बस्नुस्, त्यसमा केही छैन तर छोरा र परिवारप्रति आफ्नो अन्तिम जिम्मेवारी पूरा नगरे तपाईं गलत बन्नुहुन्छ भनेर तर त्यस कुरालाई देशरुपले वास्तै गरेनन्। खासमा देशरुपमा आफूले जे गरेको छ त्यही सही भन्ने अलिकति अहंकार बढी देखिन्थ्यो।
उनले जीवनमा सबै जिम्मेवारी सहज रूपमा पूरा गरे अझ आफ्नो जिम्मेवारीमा नरहेको दाजुको परिवारलाई पनि निकै ठूलो हृदयका साथ सहयोग पनि गरे तर अन्तिममा उनी यति विछिप्त भए कि आफ्नो छोरा र श्रीमतीप्रति गर्नुपर्ने सामान्य जिम्मेवारीबाट समेत भागे।
उनले जे जस्तो भए पनि आफ्ना छोरा बुहारीलाई एउटा वंशको नाताले अधिकार हस्तान्तरण गर्नु पर्दथ्यो। श्रीमतीप्रति आफ्नो जिम्मेवारीका लागि उनी छोरा बुहारीसँग बस्ने वा आफ्नो साथमा जाने त्यसको निधो गर्नु पर्दथ्यो। त्यत्ति पनि नगर्नाले देशरुप आश्रममा गए पनि जहाँ गए पनि उनको मनमा समेत शान्ति मिलेन छट्पटाहट रहिरह्यो।
यता त्यही बावुको सन्तान र सन्तानप्रति बावुको जिम्मेवारी केही हदसम्म पूरा गरेका आफ्ना बावुलाई सामान्य व्यवहार समेत गर्न नचाहने देशरुपका छोराले बावु आश्रममा, आमा एक्लै घरमा भएर आफ्नो त्यस्तो राम्रो उदाहरणीय परिवार छिन्नभिन्न हुँदा पनि परिवारको व्यवस्थापनमा आफ्नो भूमिका खोज्न चाहेनन्। सायद उनलाई थाहा थियो कि देशरुपको जिद्दी स्वभावले उनको प्रयास व्यर्थ जान्थ्यो।
हिजो सम्पूर्ण जिम्मेवारी पूरा गर्नमा एक अब्बल नागरिक आज कसरी बिछिप्त बनेर हिँड्यो होला भन्ने पाटो त्यो परिवारलाई कुनै पत्तै भएन। चेलीले माइतीको परिवार एकजुट नहुँदाको पीडा भोगिरहे, श्रीमतीले श्रीमानले जीवनको उत्तरार्द्धमा एक्लो पारेको पीडा भोगिरहिन्, उता श्रीमानले आफ्नो जीवनको उत्तरार्द्धमा छोराछारी, बुहारी ज्वाईं सबैबाट एक्लिएको पीडा भोगिरहे। जागिरे जीवनअवधि भर सम्पूर्ण जिम्मेवारी र व्यवस्थापनमा अव्वल रहेका देशरुपले जागिरे जीवन पछाडिको आफ्नो जीवन सम्हालेर परिवारलाई एकै ठाउँमा राख्न सकेनन्।
मानिसको जीवनमा अनेकन उतारचढावहरू आउँछन्। जीवन आफैले चाहे र सोचेजस्तो सधैंभरि एकनास चल्न पनि सक्दैन। तर उतारचढाव बीचमा पनि जीवनलाई खुसी साथ अगाडि बढाउन सक्नु मानवको क्षमता हो र यसले मात्र मानिसको जीवनलाई सहज गन्तव्यमा पुर्याउन मद्दत गर्दछ।
परिवारमा सबैको आआफ्नो भूमिका हुन्छ, कर्तव्य हुन्छ। सबैले आफ्नो परिवारका लागि केही त्यागको भावना सहितको व्यवहार गरे मात्र परिवार एक हुन सक्छ त्यसमा पनि अभिभावकले आफ्ना कैयन् असन्तुष्टिहरूलाई परिवारको खुसीका लागि तिलान्जली दिएका छन् र दिनु पनि पर्दछ। तब मात्र परिवार एक बन्दछ।
घरको जिम्मेवार अभिभावक भएको नाताले देशरुपले यो छिन्नभिन्न भएको परिवारलाई मिलाउने प्रयास भएमा मात्र उनको पनि यो उत्तरार्द्धको जीवन एक पारिवारिक स्नेहसहित बित्नेछ अन्यथा उनी स्वयं पारिवारिक पीडामा पिरोलिनेछन् भने उनको सिंगो परिवारले समेत यसको हिस्सा भोग्नु नै पर्नेछ।
विछिप्त परिवारको भारी बोकेर निर्माण गरिएका आलिसान संरचना, इटा, ढुंगा बालुवाको थुप्रोले न त सामाजिक प्रतिष्ठा दिन्छ न त आत्मसन्तुष्टि र खुसी। पारिवारिक स्नेह बिनाका संरचनाहरूले फगत सिंगो समाज र आफैलाई अझै गिज्याइरहने छन्।