थानकोट कटेपछि रात्रि बसले बत्ती निभाएको थियो। यात्रुहरू धमाधम सुत्न थाले। कसैले आफूले झोलामा ल्याएका सामग्री झिकेर चपाउन थाले।
बत्ती निभेपछि मेरो सिटको छेउमा बसेका भलाद्मीले झोलामा ‘बुक’ राखेर आइफोन निकाले। वाइफाईले काम नगरेपछि उनले ७० दशकका हिन्दी गाना लगाएर आइफोन पूर्ववत् पाइन्टको खल्तीमा घुसारे।
'तेरे बिना जिन्दगी से कोही' गाना बज्दा ती भलाद्मीको कानमा ठोसेका दुई वटा 'इयरफोन' मध्ये एउटा माग्न मन लागिरह्यो। तर भलाद्मीसँग माग्ने आँट नै पुगेन। हुन त भलाद्मी सारै पढन्ते मान्छे थिए। भवानी भिक्षुको 'आगत' मात्रै होइन, भलाद्मीसँग 'हरारी' को 'सेपियन्स' होइन, 'नेक्सस' थियो।
मलाई भवानी भिक्षुबारे जानकारी नभए पनि हरारी खतरनाक लोकप्रियवादी हुन् भन्ने सम्म थाहा थियो। आफूले 'एमबिबिएस' गर्दाका बुकका ठेली पढिसकेपछि साहित्यिक मन थाकेर त्यसै मुर्जाएको थियो।
भलाद्मी फर्मल सर्ट-पाइन्टमा मस्त खुलेका थिए। दारी र जुँगाको 'फ्रेन्च स्टाइल' वाला कटाइको ‘कम्बिनेसन’ पनि गज्जबकै सुहाएको थियो। बाक्लो कपालमा 'जेल' लगाएर जुल्फी फर्काएका थिए।
बसको 'ए' साइडको पाँच नम्बरको झ्यालपट्टिको सिट नयाँ बसपार्कमै साट्ने चाहना पनि मनभित्रै दबाएको थिएँ।
बस थानकोटको ओरालो झर्न थाल्यो। ७० दशकको हिन्दी गाना कानमा लगाएर भलाद्मीले दुवै आँखा चिम्लिए। मेरो बोल्ने चाहनामा पनि तुसारापात लाग्यो। अरू समयमा रात्रि बसमा भेटिएका 'तोर्पे' केटाहरूजस्ता भलाद्मी छँदै थिएनन्। उनलाई सँगैको सिटमा बसेकी पच्चीस वर्षे 'एमबिबिएस' तरुनी डा. सुहानाको कुनै चासो नै थिएन।
नबोल्दै भलाद्मी मन परिगए। तर मन तुरुन्तै हताश भयो। कुरिनटारको आसपास रात्रि बस खाना खुवाउन रोकियो। भलाद्मीले लगातार आकाशतिर चुरोट उडाए र चिया पिए। बसका सहयोगीले 'लौ हे सबै चढ्नुस्' भनेपछि भलाद्मीले पाँचौँ खिल्ली चुरोटको खिल्ली सक्काए र मुखमा 'हेप्पिडेन्ट' चुइगम हाले। उनको चुरोट पिउने 'चेन स्मोकर' वाला बानी फिटिक्कै मन परेन। चुरोट यसरी दनादन पिउनेले कति रक्सी पिउलान्, मन नमज्जैले डरायो।
तर भलाद्मी खुब मन परिसकेका थिए।
‘खाना खानु भएन त?’ भलाद्मीले कानमा इयरफोन घुसार्नु अगाडि प्रश्न सोझाएँ। भलाद्मीले फिस्स हाँसेर जवाफ टारिदिए। फेरि ठुलो 'भोल्युम'मा ७० दशकका हिन्दी गाना कानमा गुन्जाए।
बसले चितवन पार गर्यो।
मैले भलाद्मीको काँधमा टाउको अड्याएँ। भलाद्मी ब्युँझेर मलाई केही भन्लान् भन्ने आस पनि बाँकी रहेन। हुन सक्थ्यो, भलाद्मी पनि भुस्कुट निदाएका थिए।
सार्वजनिक शौचालय नभएको ठाउँमा बस रोकियो। मैले भलाद्मीलाई बोलाएँ। भलाद्मीले आँखा मिच्दै निकै पर पुगेर पिसाब फेरे। पुरानै पारामा चुरोट तानिरहे। फेरि हेप्पिडेन्ट चुइगम मुखमा हाले।
७० दशकको हिन्दी गाना 'तेरे बिना जिया जाए ना' उनको कानबाट बाहिर चुहिरहेको थियो। लोलाएका आँखाहरूले आइफोनमा मिलिक्क समय हेरे, बोटलको पानी पुरै घुट्क्याए। मैले उनको निमित्त भनेर समेत किनेको फ्यान्टाको बोटल पनि दिन सकिनँ। भलाद्मीको निदाएको अनुहार क्या सुन्दर थियो। मेरो मन उनको गालामा 'किस' गर्न आतुर थियो। फेरि उनकै काँधमा टाउको अड्याएँ र ज्यान पनि छोडिदिएँ।
बुटवल नपुग्दै बसका सहयोगीले बुटवल झर्नेहरू तयार रहन निर्देशन दिए।
मैले भलाद्मीलाई उठाएँ अनि आफ्नो मोबाइल हराएको बहानामा उनको आइफोनबाट आफ्नो टुच्च मोबाइलमा दुई रिङ घण्टी हानेँ। म मक्ख परेँ। कम्तीमा भलाद्मीको मोबाइल नम्बर लिन सकेँ।
उनी दाङ पुग्ने रहेछन्। बसबाट ओर्लिँदा भलाद्मीतिर हेरिरहेँ। भलाद्मीलाई बिदाइका हात हल्लाएँ। भलाद्मी अलमल्ल परे।
म एक हप्ता बसेर पाटन अस्पतालमा ड्युटी जोइन गरेँ। रात्रि बसमा फर्किँदा भलाद्मी के भेटिन्थे? सँगैको सिटमा एउटा अर्को तोर्पे थियो। मलाई भलाद्मीकै याद आइरह्यो। घरमा बिहेको प्रसङ्ग आउँदा समेत तिनै भलाद्मी सम्झिरहेँ। तर भलाद्मीलाई फोन गर्ने हिम्मत जुटाउन सकिरहेको थिइनँ। 'एसएमएस' गरूँ कि भन्ने लागिरह्यो तर सकिनँ। करिब महिना दिन बित्यो। म भलाद्मीकै पछि लागिरहेँ। एउटा त्यही चित्र मेरो मानसपटलमा घुमिरह्यो।
रातको दस बढी बजिसकेको थियो। भलाद्मीको आइफोनमा घण्टी बजाएँ। भलाद्मीले 'हेल्लो भन्नुस् को बोल्नु भएको?’ भने पनि मसँग कुनै जवाफ थिएन।
मैले को बोल्नु भएको भन्ने प्रश्नलाई बेवास्ता गर्दै अर्को प्रश्न गरेँ- 'सन्चै हुनुहुन्छ?' तर फोन कट्यो वा भलाद्मीले काटिदिए।
प्रेममा परेकाहरू पागल हुन्छन् भन्ने उपरि गाथा आफैले भोगेँ। भलाद्मीलाई 'एसएमएस'मा संक्षिप्त हाम्रो यात्राको कहानी र आफू प्रेममा परेको जानकारी समेत गराएँ। भलाद्मीले उल्टो निराशावादी जवाफ पठाए- 'म के गर्न सक्छु र?'
पाटन अस्पतालका बेडमा भर्ना भएका बिरामीहरू धमाधम डिस्चार्ज भए नि आफू भने भलाद्मीको प्रेममा क्रमशः पागल हुँदै गएँ। यहाँ उल्टो हुँदै थियो। केटी केटालाई फकाउँदै थिई। निरन्तरका 'एसएमएस'ले भलाद्मी एक पटक मसँग भेट्न राजी भए।
दाङको घोराहीमा सरकारी स्कुलको माध्यमिक तहमा सामाजिक शिक्षा पढाउने सरकारी शिक्षक थिए,अश्विनीकुमार सर। पहिलो भेटले हामी नजिकियौँ। अश्विनीकुमार सरको पनि फोन आउँथ्यो। यस पटक म अश्विनीकुमार सरलाई भेट्न दाङ पुगेँ। अश्विनी सरको अनुमति लिएर मैले घरमा विवाहको प्रस्ताव राखेँ।
म गलत रहेछु। मेरो प्रस्ताव बुबाले ठाडै अस्वीकार गर्दिनु भयो। आमा पनि असहमत हुनुभयो।
‘जाबो मास्टरलाई बिहे गर्न छोरीलाई डा. सुहाना बनाएको होइन।’
सबै कुरा अश्विनीकुमार सरलाई बताएँ। उनी मौन बसिरहे। मैले 'बोल्ड' निर्णय गरेँ।
अश्विनी सर र मैले कोटेश्वरको महादेवस्थानका महादेवलाई साक्षी राखेर ‘सिङ्गल लाइफ’ त्याग्यौँ।
अश्विनी सरलाई मुस्किलले चुरोटको लत छुटाउँदै छु। हिजोआज म त्यही भलाद्मीलाई आफैसँग पाउँछु। एक दिन बिदा हुँदा पनि हुत्तिएर दाङ नै पुग्छु। स्कुल समय सकेपछि उनी 'किताब' र 'लेखनी'मा व्यस्त हुन्छन्। कालो कफी अत्यधिक पिउँछन्। म नहुँदा चुरोट सल्काइहाल्छन्।
उनले मलाई भित्रैबाट मन पराएको आफ्नी आमालाई बताएछन्। म औधी खुसी भएको छु। म आश्विनीकुमार सरकी हुन पाएकोमा गौरवान्वित छु। अश्विनी सरसँग बहस गर्नकै निमित्त म पनि अत्यधिक साहित्य पढ्दै छु। अश्विनी सर हिजोआज बढी लेख्छन्।
उनीसँग दोहोरो संवाद हुन कठिन छ।
मलाई अनौठो लागिरहेको छ। मलाई आमा बन्ने इच्छा अश्विनीकुमार सरसँग राख्दा उनले भने- 'डा सुहाना, तिमी इच्छा पूरा गर्न सक्छौ।'
म आफू स्वतन्त्र भएर जिन्दगी बाँचिरहेको छु। अहिले पेटमा सानो अश्विनीकुमार बोकेर हिँडिरहेको छु। तर ठुलो अश्विनीकुमार पनि मलाई अबोध बालख जस्तै लागिरहन्छ।
सबैका पति अश्विनीकुमार जस्तै भए पो!