उसको मेरो प्रत्यक्ष भेटपछि हामी एक अर्कासँग नजिक हुन पुग्यौँ। साथीबाट अगाडि बढेको हाम्रो सम्बन्ध साथी भन्दा भन्दै कति बेला माथि पुगेछौँ पत्तै पाइनँ। हामी दुइटै आ-आफ्नो काममा व्यस्त हुन्थ्यौँ तर पनि एक अर्कालाई समय दिइरहेका थियौँ।
मलाई थाहा छैन म उसको नजिक हुँदा उसलाई कस्तो महसुस हुन्थ्यो तर ऊ मेरो नजिक हुँदा मुटुको धड्कन बढेर आउँथ्यो। हुन त हामी दुईको जीवनमा योभन्दा अगाडि अरू नजोडिएको भने होइन। तर उसको लागि जे मेरो मनमा थियो, त्यो अरू कसैको लागि कहिल्यै भएन।
प्रेम अनि धोकादेखि धेरै डराउने म, यो पटक प्रेममा मज्जाले रमाइरहेकी थिएँ। कुनै दिन प्रेम केवल मेरो लागि समयको बरबादी थियो र समय छैन भन्दै मेरो विगतलाई टाढा गरेको थिएँ। तर यो पटक म साँच्चिकै प्रेममा परेछु। न कुनै बहाना न अरूको चाहना। र चाहना होस् पनि कसरी? उसले दिएको माया नै अनमोल थियो, ऊ मान्छे एउटा तर फरक फरक तरिकाले माया देखाउँथ्यो। ऊसँगको भेटपछि म आफूलाई पूर्ण भएको महसुस गर्थेँ।
उसलाई मेरो हाँसो खुब मन पर्थ्यो। भन्ने गर्थ्यो, ‘तिमी सधैँ यसरी नै हाँसिराख्नू ल?’
म उसको लागि मनमा पीडा नै भए पनि हाँसिदिन्थेँ। ऊ मेरो मुहारमा खुसी ल्याउन हद पार गर्थ्यो। उसलाई मेरो दुःख हेर्ने हिम्मत कहिले भएन।
जब जब मलाई विभिन्न समस्याहरू आउँथे, तब संसार भासिए जस्तै लाग्थ्यो। तर जब उसलाई आफ्नो अगाडि पाउँथेँ फेरि हिम्मत आउँथ्यो। उसको त्यो अंगालोमा मेरो पूरै समस्याको समाधान थियो। उसले मलाई अंगालोमा बाँध्ने बित्तिकै ममा सब बिर्सिएर अगाडि बढ्ने हिम्मत आउँथ्यो।
उसले मलाई दिएको जति समय मैले आफूले आफूलाई कहिले दिएको थिइनँ तर पनि लाग्थ्यो उसले मलाई अझै बढी समय दिएको भए? लाग्थ्यो, उसको अंगालोमा निदाउन पाएको भए? लाग्थ्यो, अँध्यारो अलि ढिला भइदिएको भए? केही समय अझै सँगै हुन्थ्यौँ जस्तो!
मैले उसलाई नबुझी उसको प्रेममा यसरी परेँ कि त्यहाँबाट आफूलाई निकाल्नै सकिनँ। हामी नजिक सम्बन्धमा बसेको महिनौँ भइसकेको थियो तर उसको लागि यो मनमा झन् माया बढ्दै थियो।
म भन्न सक्थेँ कि कोही मलाई माया गर्थ्यो त, मेरो परिवारपछि एउटा उही थियो जो मेरो खुसीमा खुसी हुन्थ्यो। मेरो आँखाको आँसु हेर्ने हिम्मत उसले कहिले गरेन। म भोकै बस्दा सबैभन्दा बढी चिन्ता हुन्थ्यो त मेरो आमापछि केवल उसलाई हुन्थ्यो। मैले ऊ एउटा मान्छेमा मेरो परिवारको अनेक रूप भेटेकी थिएँ। लाग्थ्यो, अब जिन्दगी भर कोही हुन्छ त केवल उही हुन्छ मेरो जीवनसाथी।
हाम्रो प्रेम सम्बन्ध यस्तो बलियो थियो कि महिनौँसम्म कहिल्यै झगडै हुन्थेन। म झगडा गर्न खोज्दा ऊ चुप बस्थ्यो। उसले मलाई फकाउन, खुसी बनाउन हद पार गर्थ्यो। उसलाई सताउन मलाई खुब मन पर्थ्यो। उसलाई बेलाबेला दुःख दिई नै रहन्थेँ तर उसले मेरो सबै हरकतहरू सहेर पनि आफ्नो मनमा ठाउँ दिएको थियो।
उसले म भित्रको मलाई चिनेको जस्तो गर्थ्यो। उसले मलाई नजिकबाट बुझेको जस्तो लाग्थ्यो। उसलाई मैले कहिले शब्दमा केही भनिनँ होला, ऊ मेरो आँखामा हेरेर सबै भाव पढ्न सक्थ्यो। ऊसँग दिनभरि घुमेर नि मन भरिएको हुन्थेन। फेरि हामी फेसबुकमा पनि ननिदाइन्जेल कुरा गर्थ्यौँ।
तर उसले मलाई बिहेको प्रस्ताव कहिले राखेको थिएन र मैले पनि। मैले मनभित्र नै उसको अनि मेरो बिहेको कल्पना गरिसकेको थिएँ; ऊ दुलाहा अनि म दुलही भएको।
म उसमा मेरो अधिकार जमाउन चाहन्थेँ। ढुक्कका साथ ऊ मेरो हो भनेर दुनियाँलाई बताउन चाहन्थेँ। उसले पनि सधैँ भन्ने गर्थ्यो- ममाथि तिम्रो अधिकार छ, गाली गर या पिट। तर उसले यो अधिकार भन्ने शब्द शब्दमा मात्र सीमित राखिदियो। न उसलाई मेरो हो भन्न सकेँ न त कुनै अधिकार नै पाउन सकेँ।
तर पनि हामी खुसी छौँ भनेर चित्त बुझाउँदै सम्बन्ध निभाउन थालेँ। मैले उसलाई दुनियाँको अगाडि ऊ मेरो मात्र हो भन्ने अधिकार नपाए पनि जब हामी दुई एक्लै हुन्थ्यौँ तब म केवल उसको अनि ऊ मात्र मेरो हुन्थ्यो।
बिस्तारै म उसको प्रेममा रहेको कुरा मेरो घर-परिवारसम्म पुग्यो र विभिन्न प्रश्नहरू आफ्नो आँखा अगाडि आइरहेका थिए।
हामी फरक समाज अनि फरक संस्कारमा हुर्केको मान्छे। मनमा कुविचार आउनु ठुलो कुरा थिएन। सजिलैसँग कहाँ अपनाउँछन् र मेरो घरकोले उसलाई अनि उसको घरकाले मलाई!
ऊ उमेरमा मभन्दा नौ/दश वर्षले जेठो होला। हाम्रो उमेर नमिल्नुले मलाई फरक परेको थिएन। विचार, स्वभाव,भाषा, जात, संस्कृति नमिल्नाले पनि मलाई केही फरक परेको थिएन। किनकि केवल ऊ मात्र अन्दाज लगाउन सक्थ्यो मैले गर्ने प्रेमको, मेरो ऊप्रतिको पागलपनको।
मैले जति नै प्रेम गरे पनि मान्छेहरूले केही कमीकमजोरी देखाउँछन् नै। त्यस्तै मैले प्रेम गरिरहेको मान्छे मभन्दा दसौँ वर्ष जेठो छ भनेको सुन्दा कुन चाहिँ आमाबुबा तथा दाइ-भाउजूले सिधै स्वीकार गर्लान् र? अझ हाम्रो समाजमा उमेरभन्दा पनि बढी महत्त्व राख्छ जातभातले। कुन चाहिँ समाजले सिधै स्वीकार गरेको छ र अन्तरजातीय प्रेम?
तर पनि म उसको लागि हरेकसँग लड्न तयार थिएँ। आफ्नै साथीभाइहरूले पनि मलाई उसको विभिन्न त्रुटि देखाउँदै उसका कमजोरी औँल्याउँथे। तर म सबैको अगाडि ऊ मेरो मात्र हो, जे जस्तो छ म उसको हो भन्नलाई कहिले पछि परिनँ।
मैले मेरा धेरैजसो पारिवारिक सदस्यहरूसँग उसको भेट गराइसकेको नै थिएँ। भेट नगराएकाहरूसँग नि आफ्नो सम्बन्धको बारे खुलेरै भन्ने गर्थेँ। तर उसले मसँग हरेक कुरा लुकाइरहन्थ्यो। ऊ मेरो अगाडि खुब माया देखाउँथ्यो तर जब घरमा हुन्थ्यो, एक चोटि पनि उसको फोन आउँथेन। कहिलेकाहीँ फोन गर्दा सानो बच्चाहरू हुँदा पनि फोन केही नभनी काटी दिन्थ्यो।
उसले आफ्नो परिवारको अगाडि मसँग बोल्न मन नपराउने हो या डराउने हो त्यो उसलाई थाहा होला तर मलाई भने मनमा हलचल भएर आउँथ्यो। मनमा विभिन्न शंकाहरू उब्जिएर आउँथे। मनमा विभिन्न कुराहरू खेल्ने गर्थे। मलाई कस्तो महसुस हुन्छ उसले मेरो फोनलाई केही नभनी काट्दा, उसले कहिले महसुस गरेन।
बिस्तारै बिस्तारै म भित्र भित्रै टुटिरहेको थिएँ। तर मलाई ऊसँग नहुँदा उसको बारे के कति सोच्छु, कुन कुराको डर लागिरहेको हुन्छ भनेर उसलाई भन्ने हिम्मत नै भएन।
जब उसलाई भेट्छु तब सबै कुरा सुनाउँछु लाग्थ्यो। एकान्तमा एक्लै-एक्लै ऊसँग आफ्ना मनका कुरा गरिरहन्थेँ तर जब भेट हुन्थ्यो, उसलाई ती शंका उब्जेका कुराहरू सुनाउन नपाउँदै उसले मलाई अंगालोमा लिन्थ्यो र मेरो हात आफ्नो छातीमा टाँस्थ्यो। म सबै कुरा बिर्सेर उसको बढिरहेको मुटुको धड्कनलाई मेरो लागि मात्र महसुस गर्थेँ। शंका आफै हटेर जान्थ्यो। म उसलाई यति हदसम्म माया गर्न सक्छु भनेर कहिले सोचिनँ।
चाडपर्वहरू नजिकिँदै थिए, उसको घरमा व्यस्तता तैपनि मलाई बेलाबेला सम्झिरहन्थ्यो। ऊसँग एक दिन राम्रोसँग कुरा नहुँदा महिनौँ कुरा भएन जस्तो लाग्थ्यो। उसको दिनमा एक चोटि पनि अनुहार देखिनँ भने दिन नै न्यास्रो लाग्थ्यो। यी आँखा अनि यो मन उसको प्रतीक्षामा हुन्थे।
सधैँ उसलाई शंकाको दृष्टिले हेर्ने मेरा साथीभाइहरू मलाई विभिन्न शंका मनमा उब्जाउँथे। तर त्यो दिन मैले आफ्नो शंका मनबाट हटाउन ऊसँग सानोतिनो झुट बोल्न सफल भएँ र उसले सजिलै विश्वास पनि गर्यो। उसले मलाई जस्तोसुकै परिस्थितिमा साथ दिएर अपनाउँछ कि मर्नलाई छोड्छ भनेको निर्णयले साँच्चिकै मलाई मर्न बाध्य पार्यो।
जब सुनेँ कि मसँग उसले भविष्य देखेको छैन तब छाँगाबाट खसे झैँ भएँ। उसले भन्दै थियो आफ्नो परिवारको इज्जत अनि आफ्नो भविष्य बिग्रिने कुरा।
मैले उसलाई केही भन्न सकिनँ, फोन काटिदिएँ। केही दिन आफूलाई बन्द कोठाभित्र थुनेर फेरि म त्यो अँध्यारोबाट बाहिर निस्किँदै गएँ।
मैले त्यो दिन महसुस गरेँ, मैले पो आमाबुबा भाइबहिनी बाहेक अरूलाई परिवार मान्दिनँ तर उसको त परिवार छ, इज्जत छ, समाजमा रहनु छ। उसले त आफन्त देखेको छ। तर एउटा म; परिवार, समाज, आफन्त जे भने नि आमा-बुबा, दाइ र बहिनी।
उसको दुनियाँ अनि मेरो दुनियाँ एकदम फरक। आमा-बुबा बाहेक नजिकबाट कसैलाई नदेखेको मैले कसरी जान्नु के कारण मान्छेले औँला उठाउँछन् भन्ने। सायद उसले देखेको समाज, उसले भोगेको अनुभव सायद मैले भोगिनँ होला र मलाई ऊ मेरो मात्र हो भन्न कुनै डर पनि थिएन। म केवल उसको भएर मात्र बाँच्न चाहन्थेँ जुन उसलाई राम्रोसँग थाहा छ।
उसको एउटा होइन हजारौँ गल्ती सानो हुन या ठुलो यही प्रेमको कारण माफ गरेकी थिएँ। यो पटक उसलाई माफी दिने मन त थिएन तर उसको ठाउँमा रहेर सोच्दा ऊ पनि सही थियो। तर उसले सायद जस्तोसुकै परिस्थितिमा पनि साथ दिन्छ भन्ने मेरो ऊप्रतिको झुट विश्वासले म फेरि एक चोटि मरिसकेको थिएँ।
यथार्थ थाहा पाएपछि फेरि मलाई फकाउन हर प्रयास गर्थ्यो ऊ तर मैले माफी दिन सकिनँ। तर जब ऊ फेरि मेरो नजिक आयो र बोल्न नपाई मलाई आफ्नो छातीमा टाँसेर मुटुको धड्कन महसुस गर्न लगायो तब फेरि एक चोटि मैले उसलाई सबै बिर्सेर माफ गरिदिएँ।
कुनै दिन उसले मलाई साँचो प्रेम गर्न सिकाएको थियो। उसले मलाई फेरि विश्वास गर्न सिकाएको थियो। आशा थियो ऊ सधैँ मेरै भएर आउँछ। चाहना थियो उसले बिहेको प्रस्ताव राखोस्! तर अजनबी बनेर आयो र प्रेम प्रस्ताव राखिदियो! मन जितेको छ यो प्रेमले, तर समयले सिन्दुर मागिरहेको छ।
आमाबुबासँग हुँदा उसलाई बिर्सेर आमाबुबाको खुसीअनुसार जे पनि गर्छु जस्तो लाग्थ्यो तर जुन दिन ऊसँग हुन्थेँ, त्यो दिन आमाबुबालाई त्याग्न परे नि पछि हट्दिनँ सोच्थेँ। त्यति बेला मैले महसुस गरेँ, ऊ अनि मेरो बाबुआमा यति फरक छ। बा आमासँग हुँदा मलाई उसको याद आउँदैन र ऊसँग हुँदा मलाई बा आमाको याद आउँदैन।
बस् यति जरुरी रहेछ, मलाई मेरो बाउआमा र उसको साथ। तुलना गर्न सक्दिनँ म, बाउआमा र उसको।
कुनै दिन उसको कारण मेरो मन दुख्दा म उसको अँगालोमा उसलाई गुमाउने डरले धरधरी रोएकी थिएँ। उसले भन्थ्यो- त्यति सस्तो नबनाऊ रोएर आँसुलाई। तर उसलाई के थाहा; आँसु सस्तो हैन नि, ऊप्रतिको मेरो प्रेम महँगो हो। नत्र जो पायो त्यहीको लागि बगाइदिने त्यति कमजोर पनि त थिइनँ म।
आमाबुबाको लागि नझरेको आँसु उसको लागि बारबार झरेको थियो तर उसले मेरो आँसुलाई मात्र होइन मेरो प्रेम, विश्वास अनि म आफैलाई मजाक बनाइदियो।
ऊ छन् त मेरो जीवनमा अझै निर्जीव वस्तु झैँ बसिरहेको छ। ऊ जान मान्दैन मेरो जिन्दगीदेखि। ऊ स्थिर छ मेरो मनमा। म उसलाई मात्र प्रेम गर्छु भन्ने भान छ उसको मनमा। म उसको लागि मर्न तयार छु भन्ने थाहा छ तर उसलाई आफ्नो मनमा के छ भन्ने अझै थाहा छैन।
जब उसलाई आफ्नो आँखा अगाडि देख्दा देख्दै प्रेम गरेँ, तब पनि उसको उमेरले मलाई फरक परेको थिएन। तर आज आएर मलाई फरक परिरहेको छ। उसको मेरो विचार मिल्दैन। उसले आफूलाई हरेक कुरामा परिपक्व ठान्छ अनि मेरो कुराको के महत्त्व!
ऊ सँगै हुँदा कोही ऊ दुई जनाको अगाडि पनि मेरो हात समाउन सक्दैन। तर एउटा केटी मान्छे जहिले पनि आफ्नो साथीबाट एउटै आशा राख्छ, उसले एकान्तमा हैन सबैको अगाडि आफ्नो हात समाएर ऊ मेरो मात्र हो भन्न सकोस्, सँगै हिँड्न सिकाओस्, बुबाले जस्तो रक्षा गर्न सकोस्। त्यस्तै मलाई भिडमा नि ऊ मेरो साथ छ जस्तो लागोस्। सायद हामी एउटै उमेरको भए यो समस्या पक्कै आउँथेन होला!
त्यसैले म अब यो सम्बन्धबाट बिदा लिन चाहन्छु। प्रिय मलाई गलत नसोच। प्रेम त फेरि होला नहोला तर मलाई हात समाएर दुनियाँको अघि ऊ मेरो मात्र हो भन्न हिचकिचाहट नमान्ने जीवनसाथी चाहिएको हो।
ऊ सधैँ भन्थ्यो- म त तिम्रो आफ्नो मान्छे। उसले सधैँ मलाई प्रेम गरिरहने छ, म उसको जीवनमा भए पनि नभए पनि। अब म उसलाई कसरी सम्झाऊँ कि, म उसको प्रेमिका मात्र भएर यो जीवन पार गर्न सक्दिनँ। एकातिर मङ्सिर महिना अनि विवाहको उमेर पुगेकी जवान छोरीको कन्यादान गरिदिने बाबाआमाको सपना! उहाँहरूको त्यो महत्त्वपूर्ण जिम्मेवारी अनि सपना, म कसैको प्रेमी मात्र भएर पनि त बरबाद गर्न सक्दिनँ।
मैले उसलाई गर्ने अथाह प्रेम मनबाट हटाउन पनि गाह्रो भइरहेको छ। सोच्छु, पहिलो सास आमाको अंगालोमा थियो, अन्तिम सास उसको अंगालोमा होस्। तर फेरि सोच्छु, के प्रेममा सिन्दुर जरुरी छ र?
सिन्दूरभन्दा पनि माथिको हुन्छन् कुनै सम्बन्धहरू। तर मलाई फेरि कृष्णको राधा अनि रुक्मिणी जस्तो बन्नु पनि त छैन। एउटातिर सिन्दुर अनि अर्कोतिर प्रेम, दुइटै चाहिएको छ। त्यो नि एउटै व्यक्तिको तर उसले मेरा मनका भाव बुझ्छ होला त?
कति भाग्यमानी हुँदा हुन् ती प्रेमिकाहरू जसले आफ्नो प्रेमीबाट उपहार स्वरूप सिन्दुर पाएका छन्!
हुन् त हामी दुइटैलाई बानी परिसक्यो, एक अर्कोलाई नभेटी, कुरा नगरी बस्न सक्ने। कुनै महिनाहरू थिए, हामी एक अर्काको अनुहार नहेरी बस्नै सक्दैन थियौँ। तर अझै पनि मलाई उसको बानी छुटेको छैन। म उसको बोली सुन्न तड्पिन्छु। उसको एक झलक पाउन दिनभरि इन्तजार गर्छु। तर जब अँध्यारो हुन्छ तब त्यो आस पनि उज्यालोसँगै हराएर जान्छ।
खुसी पनि लाग्यो, अचेल ऊ समयअनुसार चल्ने भएछ र मलाई दिन पाँच मिनट हुँदैन। कुनै बेला थियो उसले समय निकालेर पनि मलाई पूरा समय दिइरहन्थ्यो।
म भन्न सक्छु, प्रेममा मैले ज्यान त दिइनँ तर प्रेम गरेर बाँचिरहेकी छु पनि भन्न सक्दिनँ! उसलाई पहिला जस्तो प्रेम त गर्दिनँ तर घृणा गर्न पनि सकेकी छैन। उसलाई पहिले जस्तो याद त गर्दिनँ तर ऊसँग गुनासो धेरै छ। उसलाई माफ गरे जस्तो पक्कै गरेँ होला तर म उसलाई माफ गर्न कदापि सक्दिनँ। ऊ मेरो अन्तिम विश्वास अनि मेरो साँचो प्रेमको हत्यारा हो। उसले मेरो अगाडि हाँसी हाँसी मलाई लुट्यो भन्दा पनि फरक पर्दैन।
प्रिय पात्र ऊसँग गुनासो अझ पनि केही पोख्न सक्दिनँ। सायद ऊ अझै मेरो नजिक आयो भने म आफूलाई रोक्न सक्दिनँ। यो उसले भन्दा राम्ररी कसले बुझेको छ र? उसले मेरो यही कुराको फाइदा पटक पटक उठाएको छ भन्दा पनि फरक पर्दैन।
तर प्रिय पात्र अब तिमी मेरो नजिक नपर्नू!
भयो नगरौँ गालीगलौज एक अर्कालाई
तिमी स्विकारी देऊ कि तिमी गलत छौ यो पटक
र तिमी आफ्नो बाटो अनि मलाई आफ्नो बाटो लाग्न देऊ!
थाहा छ गाह्रो तिमी र म दुइटैलाई हुन्छ तर जिन्दगीभर जीवनलाई गाह्रो बनाउनुभन्दा आज नै सरल बनाइदिऊँ।
म यो सम्बन्धको सम्मान गर्दै तिमीबाट टाढा हुन चाहन्छु। मलाई बिदा देऊ प्रिय, म जिन्दगीलाई जटिल बनाउन सक्दिनँ। तिम्रो प्रेमिका बन्दा नपाएको खुसी सायद कसैले दिएको दुई चिम्टी सिन्दूरले दिन्छ कि?