गहुँगोरो वर्णकी
तौल त्यस्तै पुग नपुग ५० केजी
उमेर २५ नाघेर २६ टेक्दै गरेकी
अन्दाजी ५ फिट ३ इन्च उचाइ भएकी
आँखामा लाखौँ सपनाहरू
मनमा अनगिन्ती चोट
दिमागमा एक पाथी भय लिएर
एक बाक्सासहित फरार भएकी छिन्
बाक्साको उपनाम ‘उनको रहरको बाक्सा’ रहेको छ
जसमा उनले विगतमा गर्न नपाएका
वर्तमानमा सम्भव नभएका
भविष्यमा पूरा गर्ने सम्झौता सहित
अनेकौँ रहरलाई ताला लगाएर राखिएको छ।
गत राति मात्र उनलाई किताबसँग कुरा गर्दै गरेको देखेको रे
आफ्नो असफलताको उपन्यास उनी किताबलाई सुनाउँदै थिइन् रे
घरी न घरी आफ्नो व्यथा आँखाबाट गुनगुनाउँदै थिइन् रे
उनलाई मन पर्दैन थियो रे शृङ्गार गर्न
उनलाई मन पर्दैन थियो उनको खोक्रो र झुटो तारिफ
उनी पुरानै वस्त्रमा नयाँ सोच राख्थिन् रे
उनी ऐनामा आफ्नो प्रतिबिम्बलाई
भन्थिन् रे-
थाक्न मनाही छ।
उनले प्रेम गरेको पुरुष
अहिले अरूको श्रीमान् हो रे
जसले उनलाई कहिले प्रेम गरेन
उनले प्रेम नगरी बस्नै नसक्ने पात्र हो रे
उसको पूरा हुने क्रममा
आफ्नो आधा पनि रहिन रे ऊ।
उनलाई भनिदिने कोही भएन
यादबाट वञ्चित कोही छैन यहाँ
निद्राले पनि सपना देख्दछ
उनलाई सम्झाइदिने कोही भएन
तिमी एक्लै छैनौ
पछाडि तिम्रो शत्रु छन्
अगाडि तिम्रा शुभचिन्तक।
उनलाई समुद्रको उचाइ नाप्नु थियो
सगरमाथाको गहिराइ नाप्नु थियो
तर उनले बुझिनन्
रित्तो हातले मात्र अनुमान लगाउन सकिन्छ
उचाइ नाप्न त उफ्रनु पर्छ
गहिराइ नाप्न त डुब्नु पर्छ।
उनलाई सुन्न मन थियो
शिरमाथि आकाश रहुन्जेल
तिमी लड्नू
हतार नगर
कुदेर बादल छुन छैन तिमीलाई
तिम्रा पाइला भुइँबाट भुइँमै जाने हुन्।
त्यसो त
ऊसँग मरुभूमिमा खाली खुट्टा हिँड्ने सामर्थ्य थियो
उनको पाउ दगुर्दै थिए भयको यात्रामा
रोकेर हेर्दा उनको पाउ गहिरो खाडलमा फसेछ
पाउ निकालेर कुद्दै गर्दा
अगाडि मृतसागर उसलाई पर्खिरहेको रहेछ।
उनलाई भेट्ने महानुभावले
नजिकैको खुशनगरमा सुरक्षित साथ बुझाइदिनू
सिकाइदिनू, प्रश्नबाट नभाग तिमी
एक दिन हरेक प्रश्नको जवाफ सफलता हुनेछ।