म सोच्थेँ
पहिरो आओस् तर हाम्रो दुख बगाओस्
म सोच्थेँ
बाढी आओस् तर हाम्रो अभाव बगाओस्
देशको दुर्दशा बगाओस्
देशको बेथिति बगाओस्
देशको भ्रष्टाचार बगाओस्
तर होइन रहेछ
म नै गलत रहेछु
बगाउने त फेरि पनि त्यही मजदुरलाई रहेछ
उहीँ मजदुरको जहान केटाकेटीलाई रहेछ
उही मजदुरको केही संगालिएको खुसीलाई रहेछ
माथिबाट पहिरो आएर थिच्ने
सामान्य सपना देख्ने जनतालाई रहेछ
मर्ने कसैलाई रहर हुँदैन
मर्छु नै भनेर कोही उभिएको होइन
एकाएक नदीको भल पसेपछि
बाँच्ने रहरले छानोमा गएका थिए
ऊ छानोमा चिच्याइरहँदा
हाम्रो सरकार
खै कहाँ छलफलमा थियो
समृद्ध देश सुखी जनताको प्रतिवेदन लेखिरहेको थियो
विपत् व्यवस्थापन टोली
हेलिकप्टर
हाम्रो अर्को सपना भइदियो
हामीलाई पर्दा त काल समेत सजिलोसँग आउँदैन
सजिलै बचाउनलाई सरकार र हेलिकप्टर परको कुरा
मौसमविद्को केही दिनको चेतावनी
म बबुरोले बुझेन वा मेरो बाध्यताले
तर धेरै मत र माया पाएको सरकारले त बुझ्नु पर्ने होइन र?
उसले पनि बुझेन वा बुझ पचायो
सरकारका विभागहरू छन्
विज्ञहरू छन्
सम्भाव्य दुर्घटनाको क्षेत्रहरू पत्ता लगाउन सक्छ
सम्भाव्य क्षति रोकाउन सक्छ, कम गराउन सक्छ
तर सरकार
म बबुरो जत्ति पनि बुझ्दैन
सम्बन्धित निकायको चेतावनी सुन्दैन सरकार
समयमै घटनास्थल पुग्दैन
हजारौँ जनताले दुख पाइरहेको ठाउँमा
एउटा सरकारलाई पुग्नै हम्मे हम्मे हुन्छ
किनकि सरकार काण्डमा कसलाई फसाउने र
कसलाई बचाउने ध्याउन्नमा हुन्छ
केही जनता छन् शरणार्थी भएर बेचिन्छन्
केही जनता मरिमेटी जोगाएर बचत गर्छन् उनीबाटै ठगिन्छन्
केही जनता खाडीमा घोटिन्छन्
केही जनता देशमै लुटिन्छन्
देशमै च्यापिन्छन्
देशमा एउटा सरकार छ
सरकार घिसार्ने केही पार्टी छन्
जो पालैपालो
एकले अर्कोलाई लेखेटो जस्तो कुदे जस्तो गर्छन्
हामी बिचरा जनता कोही ताली पिट्छौँ
कोही दुखी हुन्छौँ
रुन्छौँ
कराउँछौँ
सुखको अनुभव सरकारले गर्छ
चिच्याउनु, मर्नु, रुनु, कराउनु हामीलाई पर्छ
केही जनता खाडीमा मर्छ
केही जनता पहिरो बाढीमा मर्छ
केही जनता सहकारीले मार्छ
केही भोकमरीले
नेता र सरकार पाल्ने त रेमिटेन्स छ
भ्रष्टाचार छ
वाइड बडी छ
शरणार्थी छ
सहकारी छ
कठै बरा! हामी जनता! हामी नेपाली!