म सहरको, ऊ गाउँको। उसको र मेरो परिचय क्याम्पसमा भयो। रमाइलोमै स्नातक तह सकियो। स्नातक तह सके पनि पढाइले गरिखान सिकाएन। काम गर्न खोज्दा जागिर पाइएन। लोक सेवा पढ्ने आँट आएन। भएँ बेरोजगार।
उमेरले बिस्तारै २५ पार गरेपछि घर परिवारले बिहेको कुरा निकाले। जागिर नखाएकोमा गुनासो गर्न थाले। छोरी मान्छेको विवाह समयमा नहुँदा आफन्तहरूले समेत कुरा काट्न थाले। विवाहको तीव्र दबाब आयो। विवाहको कचकच टार्न बोर्डिङ स्कुलमा जागिर खाएँ मैले।
आफ्नो मनको मान्छे पनि बेरोजगार थियो। बेरोजगारसँग विवाह कसरी गर्नु? त्यसमाथि गाउँको केटो। परिवारले मान्दै मानेनन्। मैले उसको बारेमा कुरा नगरेको होइन, परिवारले सुन्नै चाहेनन्।
अङ्ग्रेजीमा कमजोर थियो ऊ। युरोप, अमेरिका जाने आँट गरेन। म्यानपावर कम्पनीमार्फत मलेसिया गयो। आफ्नो राजालाई विदेश पठाउँदा मन कटक्क भयो। कुनै दिन विवाहका लागि परिवारलाई मनाउन सक्छु भन्ने विश्वास थियो मलाई। सुन्दर भविष्यको कल्पना गर्दै विदेश पठाएँ उसलाई।
विदेश गएपछि फोनमा भन्दा अनलाइनमा कुरा हुन्थ्यो ऊसँग। काम अप्ठ्यारो भएको गुनासो गर्थ्यो। काम गर्नु बाध्यता हो भन्थ्यो ऊ। विदेशबाट पैसा कमाएर फर्कने र विवाह गर्ने सहमति थियो। त्यसैको व्यग्र प्रतीक्षामा थिएँ म।
दुःख सुखका कुरा गर्थ्यौँ हामी। झन्डै वर्ष दिन बित्यो। केही पैसा बुबा-आमालाई पठायो रे उसले। केही पैसा मलाई पनि पठायो। बोर्डिङको तलबले पकेट खर्च पुग्थ्यो। उसले पठाएको पैसाले गहना जोडेँ। परिवारलाई आफ्नै तलबले किनेको भनेर ढाँटिदिएँ। हामीलाई भविष्यमा काम लाग्छ सोचेर सुन जोडेको थिएँ।
समय मिलाएर हरेक दिन कुराकानी हुन्थ्यो। काम सिक्दै गएको र सजिलो हुँदै गएको बताउँदै थियो ऊ। उसको खुसीमा म पनि खुसी भएँ।
एकाएक फोन आएन। फोन अफ भयो उसको। अनलाइनमा देखिएन। गायब भयो अनलाइनबाट पनि। कसलाई सोधी खोजी गर्नु? बेचैन भएँ म।
आत्तिएँ पनि म। के गरौँ र कसो गरौँ भयो। कुनै अत्तोपत्तो भएन। मलाई छोड्नको लागि तमाम नाटक गर्यो कि भनेर उसको बाबा-आमासँग सम्पर्क गरेँ। उसको गाउँ गएँ म। उनीहरूसँग पनि सम्पर्क रहेनछ। मजस्तै उसका बा-आमा पनि बेचैन रहेछन्। बा-आमाले झन् बढी चिन्ता गरे।
स्कुल पढाउने काममा फर्किनु मेरो बाध्यता थियो, फर्किएँ। तर काम गर्ने जाँगर थिएन। विवाहका लागि घरको दबाब थेगिनसक्नु थियो। दबाबका बिच दुई हिउँदहरू कटाएँ। प्रवेशलाई सम्झेर रोएँ।
‘मेरो राजा तिमी कहिले फर्कन्छौ? सकुशल त छौ तिमी? कहिलेसम्म कुरौँ प्रिय तिमीलाई?’ मनमा अनेक कुरा खेले। आफैले आफैलाई प्रश्न गरेँ तर उत्तर थिएन मसँग। मन सम्झाउन साह्रै गाह्रो भयो। बल्लतल्ल मन सम्हालेँ।
परिवारको सधैँको कचकच थेग्न सकिनँ। बा आमाले खोजेको केटासँग विवाह गरेँ। विवाह भए पनि प्रवेशको माया मनभरि थियो। उसलाई बिर्सनै सकिनँ। विवाहपश्चात् बोर्डिङको जागिर छोडेँ मैले। श्रीमानको एयरपोर्ट नजिक सिनामंगलमा होटेल तथा लज थियो। विदेश जाने र आउनेहरू खान बस्न आउँथे। श्रीमानलाई सघाउन कहिलेकाहीँ जान्थेँ। नगएको बेला घरधन्दामै दिन बित्थ्यो मेरो।
होटेलबाट विमानस्थल वरपरको दृश्य पूरै देखिन्थ्यो। विदेश जाने र आउनेको लर्को देखिन्थ्यो। फर्केकाहरू देख्दा ऊ पनि आयो कि भन्ने लाग्थ्यो! एक पटक उसलाई देख्न मन थियो मलाई। किनकि ऊ मेरो अतीत र भरोसा थियो।
दुई छोराछोरी भए मेरा। बिर्सन मन थिएन तर बाध्य भएँ प्रवेशलाई बिर्सन। छोराछोरी भइसकेपछि उसलाई सम्झनु पनि ठिक लागेन। मनलाई सम्झाएँ। बिस्तारै ऊ मबाट छायामा पर्यो। दैनिक आउने याद र झल्काहरू कम हुँदै गए।
लजमा बस्न आउने एउटा भाइलाई नाम दर्ता गर्दा खै किन हो सोध्न मन लागेछ। सोधेँ, ‘कुन देश गएर फर्किनु भयो?’
उसले उत्तर दियो मलेसिया।
‘त्यसो भए तपाईं प्रवेशलाई चिन्नु हुन्छ?’
उसले जवाफ दियो, ‘सँगै काम गरेको हो।’
‘अनि ऊ कहाँ छ त?’
‘उतै छ।’
‘नेपाल फर्किँदैन ऊ?’ सोधेँ मैले।
‘पैसा भए पो फर्कियोस्! काम गर्दैन। काम छैन आजभोलि उसको। साथीहरूको कोठामा शरणार्थी भई बस्छ र त्यतै खान्छ।’
‘मलेसियामा अवैध श्रमिक भएर बसेको छ ऊ। सरकारले भेट्यो भने पक्रिन्छ उसलाई। पैसा कमाउँदा र जागिर खाँदा एक चिनियाँ मूलकी मलेसियन केटीसँग लिभिङ टुगेदरमा बसेको थियो। अहिले उसले पनि छोडेपछि बेहाल छ उसको। फर्किन सक्छ/सक्दैन पनि थाहा छैन। रमझममा भुलेका ऊजस्ता धेरै केटाहरू छन् मलेसियामा। पैसा पनि कमाएनन्, जिन्दगी पनि बरबाद गरे धेरै केटाहरूले। प्रवेश पनि त्यसको एक प्रतिनिधि हो।’
उसले भन्दै गयो, मैले सुनेँ मात्र। ‘अ अ’ भनेर टाउको हल्लाएँ। थप सोध खोज गरिनँ। जरुरी ठानिनँ। खोजेको उत्तर पाएँ। मलाई पुगिगयो।
माया, प्रेम र श्रद्धा भरिएको ऊप्रतिको दृष्टिकोण एकाएक घृणामा बदलियो। जानी जानी मलाई धोका दिने उसलाई चिन्ने मौका पाएँ। त्यो बेइमानसँग बदला लिनु अब जरुरी ठानिनँ। सम्पर्क विहीन हुनुको कारण बल्ल बुझेँ मैले। जता केटी देख्यो त्यतै भुल्ने ऊ सम्झेर घृणा लाग्यो।
त्यस्ता धोकेबाजलाई झन्डै जीवनभर कुरेको! राम्रोसँग बुझ्न नसकेकोमा भने अहिले पनि पश्चात्ताप छ मलाई। बेकारमा उसलाई सम्झेर ३/४ वर्ष तनावमा बिताएँ। उसको प्रतीक्षा गर्नु ठुलो भूल रहेछ मेरो।