म नयाँ हुँ। सबैले मलाई नयाँ भन्छन्। मैले ब्राण्डिङ नै नयाँ गरेको छु। एक/दुई जना नयाँले मेयरसम्म पड्काएपछि नयाँ टिभी छोडेर राजनीतिमा होमिएको नयाँ नेता हुँ म। टिभीमा हुँदा पनि नयाँ-नयाँ गर्न मन पर्थ्यो मलाई। हुँदा-हुँदा नयाँ टिभी नै खोल्दिएको थिएँ। यतिसम्म नयाँ कि साझेदार नै नयाँ। लगानीको आइडिया नै नयाँ। टिभीबाटै नयाँ नेता जन्माउँछु भनेर समेत लागेँ। कसैले साथ नदिएपछि म आफै नयाँ बनेर नेता बनेँ।
मलाई नयाँ भन्ने शब्द निकै मन पर्ने। आफू ५० पार गरे पनि नयाँ नै हुँ जस्तो लाग्छ। त्यही भएर त पुराना पार्टीका पुराना मुखियाहरू नयाँ जस्तो लाग्छ मलाई।
जब संगत गरेँ, उनीहरू त मभन्दा पनि झन् नयाँ लाग्न थाल्यो। सोच नै नयाँ। आइडिया नै नयाँ। त्यही टिभीका मेरा पुराना साझेदार जस्तै। सिधै गृहको कुर्चीमा पुर्याइदिन्छु भनेपछि के चाहियो त्योभन्दा नयाँ?
अनि सम्झिएँ जनतालाई दिएको नारा। अनि फुराएँ आइडिया। किनभने आइडियाको त म मास्टर हुँ। के भन्दा नयाँ स्वाद आउँछ टिभी देखिकै जो अनुभव छ।
भित्रभित्रै पुराना मुखियाहरूसँग मित लगाइसकेको थिएँ। अनि सोचेँ, बाहिर के भन्दा नयाँ हुन्छ। अनि भनेँ, काम गर्न कुर्चीमा जानु परेन?
मेरो लागि त बानेश्वरको कुर्ची नै सोच्दै नसोचेको कुरा थियो नि। तर के गर्नु, सिंहदरबारको कुर्ची नै हात पर्यो।
पुराना मुखियाको नयाँ मितलाई पहिलो मायाको कोसेली स्वीकार त गर्नै पर्यो। आफैले नसोचेको कुर्चीमा जो विराजमान हुँदै थिएँ।
जनतालाई फेरि नयाँपन त दिइराख्नै पर्यो। जो मेरो टिभी देखिको बानी। भित्र-भित्र पो मित लगाएको त। बाहिर त नयाँ देखाउनै पर्यो। अनि भनिदिएँ, सरकार भित्रकै प्रतिपक्ष हुँ म।
आफै सरकार, आफ्नै प्रतिपक्ष आफू। भएन त नयाँ? मेरा जनताले फेरि पड्काए मेरा लागि बरर ताली। अनि सोचेँ, मेरो नयाँ जुक्ती फेरि अनुमोदित भयो।
पछि त आफ्नै नागरिकताले आफैलाई धोका दियो। त्यो बेला पनि मेरा जनता त मसँगै थिए नि। किनभने भित्र-भित्र मित लगाए पनि बाहिर नयाँ-नयाँ खुराक दिएकै थिएँ।
तर के गर्नु, उडायो सपना सबै हुरीले। स्वर्गको कुर्चीबाट सिधै नर्कतिर पुर्याए जस्तै भयो।
फेरि नयाँ नारा दिन हिँडेँ मैदानमा। बानेश्वरको कुर्चीमा विराजमान त भएँ तर सिंहदरबारको कुर्चीको जो लत थियो त्यसले बोलाई नै राख्यो।
बाहिर जनताको अगाडि नयाँ-नयाँ अनेकन् खुराक फाल्दै भित्र पुराना मुखिया मितज्यूसँग वार्तामा त थिएँ नै। केही समयको अन्तरालमा मेरो मितज्यूले मेरो इच्छा फेरि पूरा गरी बक्सियो। म धन्य भएँ।
अनि फेरि बाहिर नयाँ खुराक दिनै पर्यो। त्यही बेला मेरा टिभीका पुराना मितज्यूको काण्ड बजारमा आइराखेको थियो। म पनि जोडिँदै जोडिँदै थिएँ त्यही काण्डमा।
भनिदिएँ, मेरो पुराना मित्र, मेरो त्यो बेलाको नयाँ आइडियाका हितैषीलाई नेपाल बोलाएर सम्मान टक्राउँछु। फेरि पाएँ वाहवाही। बरर बज्यो ताली। फेरि मेरो नयाँ खुराक अनुमोदित भएको ठानेँ।
तर के गर्नु विपक्षीहरूले भित्री कुरा बुझेकै थिए। पुराना मितज्यूसँग नयाँ दोस्ती सबै छरपस्टै थियो। उनीहरू पनि मित लगाउन तयार नै थिए। के भयो के?
म त्यो बेला अलि अर्ध होस जस्तै थिएँ। एकातिर पुराना मुखियाहरूसँगको मितेरी बाहिर चुहिएला भन्ने डर। अर्को तिर टिभीका मितज्यूसँगै आफै चुहिन्छु भन्ने पीडा।
नभन्दै दुवै तिरबाट चुहाएरै छाडे। हुँदाखाँदाको गृहको कुर्चीबाट फ्याट्ट फाल्दिए। टिभीको मितज्यूसँग जोडेर पनि के-के गरे गरे। म त सोच्नै सकिराखेको छैन।
तर पनि फेरि बाहिर त दिनु नै पर्यो नयाँ खुराक। अनि यो बेला चाहिँ भनिदिएँ अलि दह्रै कुरा। किनभने अब त्यो कुर्चीमा छिट्टै पुग्छु जस्तो आफैलाई लागेको छैन। झ्याप झ्याप पुराना मुखियाहरूलाई जेल कोच्न खोजेको मलाई नै कोचिदिए।
खै यो कुरा कतिले पत्याए कतिले पत्याएनन् हिसाब गर्ने फुर्सद नै पाइनँ। अहिले पनि सोचिरहेको छु, अब बाहिर निस्किएपछि के नयाँ दिने होला?
म भित्रै भए पनि पुराना मितज्यूसँग वार्ता भने चलाएकै छु। किन यसरी रिसाइस्यो मितज्यू बुझ्न खोज्दै छु।
बाहिर प्रतिसोधको नारा घन्काउन लगाएर लुसुक्क मितज्यू निवासमा साथीहरू पठाएर अनुनय गर्न लगाएकै छु। जसको कारण कुर्चीबाट निकाले भनेर बाहिर झ्याली पिटेँ उनैलाई भित्रभित्रै फकाउन साथीहरूले भेट्ने बिन्ती चढाएका छन् रे। हेरौँ कति सफल हुन्छु।
फेरि फर्किएपछि पुराना मुखियासँगको नयाँ मितेरी थाहा नहुनेहरूलाई नयाँ गफ जो दिनु नै छ। त्यतिन्जेलसम्म नयाँ सोच्दै गर्छु है त।