म जब १७ वर्षको थिएँ, जिन्दगी अत्यन्तै सरल र रंगिन थियो। सपनाहरू मात्र थिएन, म प्रत्येक क्षणलाई रमाइलो बनाउन हर सम्भव प्रयास गर्थेँ। जीवनको वास्तविकतालाई बुझ्ने जाँगर थिएन, केवल भविष्यका उज्याला सपना बोकेर अगाडि बढिरहेको थिएँ। गुरुहरूबाट प्राप्त प्रेरणाले जिन्दगी अझ सजिलो देखिन्थ्यो र साथीहरूसँग हाँस्न, रमाउन मन लाग्थ्यो। ती दिनहरूमा उमंग थियो, जोस थियो तर ती दिन लामो समयसम्म टिक्न सकेनन्। जीवन एक समान हुँदैन, समयको सापेक्षता कहिलेकाहीँ कठिन सत्यको रूपमा प्रकट हुन्छ।
जीवनका सरल दिनहरू बिस्तारै समाप्त भए। मैले कहिल्यै सोचेकै थिइनँ, जिन्दगी अचानक यसरी परिवर्तन हुन सक्छ। एक दिन जिन्दगीले मलाई सोचेभन्दा ठुलो मोड दियो। त्यो दिन मेरो हाँसोको अन्तिम दिन थियो। त्यो दिन केवल एउटा मोड मात्र थिएन, त्यो एउटा महत्त्वपूर्ण परिवर्तन थियो। त्यसपछि मैले जीवनका कठिनाइहरूको सामना गर्न थालेँ। मैले भोगेका संघर्षहरूले मेरो आत्मालाई एउटा गहिरो चोट दिए।
डिप्रेसन, असफलता र निराशाका पलहरूले मेरो जीवनमा स्थान ओगट्न थाले। मलाई जीवनको नयाँ यथार्थसँग जुध्न गाह्रो भयो। म त्यो ‘देव’ रहिनँ जो पहिला थिएँ। जीवनको रङ बिलाउन थाल्यो र म गहिरो पीडामा हराउन थालेँ। तर त्यो मोडले मलाई एउटा नयाँ व्यक्तित्व दिएर गयो। म अब पुरानो देब थिइनँ, म अब कल्प थिएँ— जसले जीवनलाई एक अर्कै दृष्टिकोणले हेर्न थालेको थियो।
जसरी म जवान हुँदै थिएँ, प्रेमले मेरो जीवनमा ठुलो स्थान ओगट्न थाल्यो। त्यो केवल एउटा भावना मात्र थिएन, यो मेरो अस्तित्वको अभिन्न अंश थियो। प्रेमले मेरो जिन्दगीमा आशा ल्यायो, जीवनको कठिनाइहरूको सामना गर्नको लागि एउटा कारण दियो। हामी सँगै भविष्यको सपना देख्थ्यौँ जहाँ एकअर्काको संसारमा रमाउने चाहना थियो। ती पलहरू सधैँ मिठा स्मृतिका रूपमा बाँकी रहने थिए।
तर एक दिन त्यो मिठास तितो भयो। बिछोडको तितो यथार्थले मलाई झस्कायो। त्यो व्यक्ति जसले मेरो जीवनलाई मिठास दिएको थियो, अचानक मबाट टाढा भयो। ‘तिमीले मलाई चाहिने भविष्य दिन सक्दैनौँ’ ती शब्दहरूले मेरो मनमा गहिरो चोट लाग्यो। ती शब्दहरूले मलाई बिस्तारै टुक्र्याउन थाल्यो। म केवल उभिइरहेँ, तर मेरो मन अगाडि बढ्न मानेन। मैले हाँसो मात्र गुमाइनँ, मेरो खुसी र आत्मसम्मान पनि बिस्तारै विलय हुँदै गयो।
बिछोडले एउटा घाउ दियो जसको उपचार मैले कहिल्यै पाइनँ। मैले प्रेम गुमाएँ र त्यससँगै मैले आफूलाई पनि गुमाएँ। म जीवनसँग हारेको महसुस गरिरहेँ तर साथमा अर्को ठुलो हानी थियो—मैले आफूलाई गुमाएँ। म भित्रभित्रै भत्किँदै थिएँ। कुनै एक सकारात्मक चिन्तनको किरणले मलाई बचायो। त्यो उज्यालो किरणले मलाई जिन्दगीमा फेरि फर्कने शक्ति दियो। मैले बिस्तारै जीवनलाई फेरि एउटा नयाँ सुरुआत दिन प्रयास गरेँ। जीवनको यात्रा अझै बाँकी थियो र म हारेको भए पनि बाँचेको थिएँ।
समयले कसैलाई पर्खिँदैन, न त कुनै घाउको उपचार आफैँ हुन्छ। म हरेक दिनको दौडमा सामेल भएँ। बिहान कलेज जान्थेँ, दिउँसो अफिस, साँझ कोचिङ सेन्टर अनि रातको समयमा राइड सेयरिङ एप चलाउँदै व्यस्त रहन थालेँ। बाहिरबाट हेर्दा म सफल देखिन्थेँ। मैले काम गरेको थिएँ र मेरो जीवन व्यवस्थित देखिन्थ्यो। तर भित्री मनमा मेरो संघर्षले मलाई थकाइरहेको थियो।
जीवनमा दौडिनु भनेको आत्म-प्रश्नहरूबाट भाग्नु हो, तर म केवल एउटा बाहिर आवरण लगाउँदै थिएँ। विद्यार्थीहरूको लागि म प्रेरक थिएँ तर मेरो आफ्नै भविष्यको दिशा धमिलो बन्दै थियो। म आफैँलाई व्यस्त राख्दै भित्रको पीडा बिर्सन प्रयास गर्थेँ। जीवनले मलाई हरेक मोडमा थप चुनौतीहरू दिँदै गयो। म बाहिर हाँस्न सक्थेँ तर भित्री हाँसो गुमिसकेको थियो।
जीवनको यथार्थ कठोर हुन्छ। सपना देख्न सरल हुन्छ तर तिनलाई पूरा गर्नको लागि संघर्ष गर्नुपर्ने कठोर वास्तविकता सबैलाई बुझ्न सजिलो हुँदैन। समयले मेरो ठुला सपना र सानालाई मिलाएर लड्ने बानी गरायो। साथीहरूले ‘ठुलो मान्छे’ बन्दै छस् भने पनि म भित्रभित्रै आफैँलाई गुमाउँदै थिएँ। मैले आफ्नो हाँसोलाई एउटा पुरानो सम्झना जस्तो बुझेँ। हाँसो अब मेरो जीवनमा एउटा दुर्लभ तत्त्वजस्तो हुन थाल्यो र म बिस्तारै आफूलाई अँध्यारोमा हराउन थालेँ।
त्यसपछि लेखनमा म शरण लिन पुगेँ। लेख, कविता, गीत र मुक्तकहरूमा मैले आफ्नो पीडा पोख्न थालेँ। लेखन मेरो लागि एउटा थेरापी थियो। शब्दहरूले मेरो भित्री पीडालाई अभिव्यक्त गर्न सघायो। तर लेख्दा पनि पुराना पीडाहरू अझ गहिरो महसुस हुन्थ्यो। लेखनले मन हल्का त बनायो तर हरेक शब्दले ती पुराना चोटलाई उजागर गरिदियो। मैले लेख्न थालेपछि मलाई थाहा भयो, जीवनका चोटहरूलाई उजागर गर्दा ती अझ बढी गहिरो महसुस गरिन्छन्।
अब म २१ वर्षको भएँ तर यो उमेरसम्म आइपुग्दा मैले जीवनका हरेक पीडा र संघर्षलाई नजिकबाट देखिसकेको छु। उमेरले मलाई जवान देखाए पनि मनले गहिरो चोट बोकेको छ। मैले प्रेम गुमाएँ, खुसी गुमाएँ, आत्मसम्मान गुमाएँ तर एउटा कुरा सिकेँ— संघर्षबाट भाग्न सकिँदैन। जीवनका हरेक चुनौतीसँग सामना गर्दै म अझै यहाँ उभिएको छु। हाँसो गुमेको भए पनि जीवनको यात्रा अझै बाँकी छ। मैले आफैँलाई व्यस्त राख्दै बाँच्न सिकेँ। यो चार वर्षको अन्तरालमा मैले धेरै अनुभवहरू संकलन गरेँ र अब ती अनुभवले मलाई एउटा फरक दृष्टिकोण दिन थालेका छन्।
यी २१ वर्षमा मैले धेरै कुरा गुमाएँ तर संघर्षका ती पलहरूले मलाई फरक मान्छे बनायो। अब म पुरानो देब छैन, म कल्प हुँ जसले जिन्दगीलाई वास्तविकता र संघर्षको रूपमा देख्छ। यस जीवनको यात्रामा म केवल हाँसो गुमाएर बाँचिरहेको छु तर हरेक दिनको दौडमा बाँच्ने आशा गर्दै अगाडि बढिरहेको छु।
जीवनमा हरेक मान्छेले कुनै न कुनै प्रकारको संघर्षको सामना गर्छ। हरेकको संघर्ष फरक हुन्छ तर सबैका लागि पीडा समान हुन्छ। हरेक दिनका स-साना कुराहरूले ठुलो प्रभाव पार्न सक्छन् र ती कुराहरूले जीवनलाई नै परिवर्तन गर्न सक्छन्। म पनि त्यस्तै संघर्षको भागीदार भएको मान्छे हुँ।
जीवनले मलाई धेरै कुरा सिकायो। म अब पुरानो सपना देख्ने मान्छे छैन। म अब वास्तविकताको कठोर पाठ सिक्न थालिसकेको छु। संघर्षबाट भाग्न सकिँदैन, केवल तिनीहरूलाई सामना गर्न सकिन्छ। समयले तिमीलाई दुख दिनेछ तर त्यही समयले तिमीलाई बलियो पनि बनाउने छ।
मेरो हाँसो गुमिसकेको छ तर जिन्दगीको हरेक क्षणलाई नयाँ आशासँग आत्मसात् गर्न थालेको छु। हाँसो गुम्न सक्छ तर जिन्दगीको अर्थ अझ गहिरो बन्न सक्छ। यो संघर्षको यात्रा हो जहाँ हरेक मोडमा नयाँ पाठहरू सिकिन्छन्। जीवनको यो पाठले मलाई हरेक दिन बाँच्नको लागि एउटा नयाँ शक्ति दिएको छ।
म अहिले सोच्छु, त्यो बेला मैले यदि त्यस्तो कदम चालेको भए सायद म मात्र होइन, मेरो परिवार पनि टुट्ने थियो। मैले प्रेम गुमाएपछि आफैँलाई टुट्न दिएको भए, म यी जीवनका महत्त्वपूर्ण पाठहरू सिक्नबाट पनि वञ्चित हुने थिए।
मैले पुनः उठ्ने हिम्मत राखेँ। अहिले जब म आफूलाई सोध्छु, ‘कस्तो सोच छ?’ यो जिन्दगीको यात्रा हो। यहाँ धेरैलाई लाग्छ- मैले हारेँ, मैले केही गर्न सक्दिनँ। तर वास्तवमा हिम्मत राखेर अघि बढ्नु पर्छ। ‘एक चोटि लडे, हजार चोटि उठ्ने हिम्मत राख्नु नै असल संघर्ष हो’ भन्ने सोचलाई म विश्वास गर्छु।
यो सोचले मलाई हरेक पटक उठ्न र जीवनको सामना गर्न प्रोत्साहित गर्यो। जिन्दगीमा चुनौतीहरू सधैँ रहनेछन्, तर हिम्मतले हामीलाई अघि बढ्न मद्दत गर्छ।