देउरालीमा 'भोर' सुरु हुनु अगावै कुखुराका भालेहरू 'कुखुरी काँ' भन्दै बास्न सुरु गरिसकेका थिए।
जाडो याममा पनि देउरालीमा सुर्जे बिहानै झुल्किन्थे। आक्कलझुक्कल पूरै दिन हुस्सुले सुर्जेलाई 'ब्लक' गरिदिँदा देउरालीमा पनि अचाक्ली जाडो हुन्थ्यो। तथापि देउरालीमा जतिसुकै जाडो भए पनि मान्छेहरू अगेनोमा बसेर आगो ताप्थे। जोहो गरेको अन्न त्यही पकाउँथे।
देउरालीमा अहिले सबै चामलको भात खान सक्ने भएका छन्। तरकारीमा बारीमा फल्ने 'रामभेडा' होइन बजारमा किनेरै भए पनि 'टमाटर' मिसाउन सक्ने भएका छन्। तरकारीको राजा आलुलाई वर्ष दिन भरि संग्रह गर्ने क्षमता पनि देउरालीका मान्छेहरूसँग पहिले थिएन तर अहिले छ। एक वाक्यमा देउरालीको व्याख्या गर्नु पर्यो भने देउरालीका मान्छेहरू वा जनताहरू दुई छाक हातमुख जोड्न सक्ने भएका छन्।
भैँसीलाई कुँडो पकाउँदै थिएँ। जाडो यामको बिहानै पौने ६ मा मोबाइलको घण्टी बज्यो। मनमा लाग्यो नौबिसेमा आलु लाउनेहरूलाई केही खरखाँचो परेकोले फोन आयो। नम्बर 'अननोन' अर्थात् सेभ नगरेको थियो। फोनमा छोटो संवाद सकियो तर फोन राख्दा समेत ऊ को थिई जान्न वा चिन्न सकिनँ। तर उसले आफ्नो छोटो परिचय दिएकी थिई। आलिया नगरकोटी। नेपाली भाषी अमेरिकन। आलियाले मेरो थर ठेगाना र नाम भनेकी थिई तर फोन गर्नुको कारण खुलाएकी होइन।
आलियाले बोल्दा सन्चै 'होइसिन्छ' भनेर संवाद सुरु गरेकी थिई। म फोनमै लजाएको थिएँ। देउरालीमा जन्मे/हुर्केकाले राजसी भाषा बोल्दैन थिए। सहरियाहरू दरबारमा बसेको राजालाई हटाएकोमा बिछट्टै गर्व गर्थे तर आफै राजा भएको चाल पाउन्न थिए।
कुँडो भैँसीलाई दिइसक्दा लाग्यो- आलिया कुनै एनजिओ वाली हो वा रेडक्रस वाली हो।
देउरालीका जनताहरूले नौबिसेमा आलु रोपेर सके। आलुलाई बाँदरबाट जोगाउन गाह्रै पर्छ। सबै साङ्लामा कुकुर डोराएर खेत पुग्छन्। राति फर्कन्छन्। आलुमा डढुवा रोग लागेन भने दाम राम्रै कमाउँछन्। धेरै त मैले जस्तै भैँसी पाल्छन् र डेरीमा दूध बेच्छन्। खाडी देश जानेहरू ह्वात्तै बढेका छन्।
डिभी परेर अमेरिका पुग्नेहरू पनि देउरालीकै छन् तर छात्रवृत्ति पाएर अध्ययन गर्न जानेहरू हाम्रोमा छैनन्। देउरालीमा छैनन्। अभिभावकहरू आफ्ना छोराछोरीलाई पढाउन अझै खोज्दैनन्। स्कुलमा पढ्न जानेहरू पनि केवल स्कुल जान्छन्। फर्किन्छन्। कुनै 'तरक्की' गर्न सकेका छैनन्। यहाँका विद्यार्थीहरूलाई लोक सेवा र शिक्षक सेवामा जाँच दिने ल्याकत नै राख्दैनन्।
फेरि एक हप्तापछि आलियाले फोन गरी।
ऊ मसँग भेट्न चाहन्थी। उसलाई देउराली आउन सकस थियो भने मलाई काठमाडौँ पुग्न त्यति सजिलो थिएन।
आलिया अमेरिकाबाट बिदामा आएकी थिई। दोस्रो पटकको फोन वार्तालापमा पनि मलाई भेट्न खोज्नुको गुह्य कारण उसले बताइन। मैले पनि गफ तन्काइनँ। आलियालाई लामो समय अमेरिका बसेर आएका 'सिरी' दाइले नम्बर दिएका थिए कि भन्ने आशंका लागिरह्यो।
वास्तविक नाम श्रीकृष्ण भए पनि मायाले दाइलाई म सिरी दाइ भन्थे। दैनिक रूपमा समसामयिक समय र राजनीति बारे राष्ट्रिय पत्रिकामा पाठक मञ्चमा आफ्ना अब्बल विचार पोख्थे पोख्छन्। सिरी दाइसँगको प्रत्येक भेटमा दाइ मलाई 'नोबल' लेख्न विषय दिन्थे। म मुस्कानसहित बिदा माग्दा 'तिम्रो कलम तिखो छ भाइ' भनेर मलाई हौसला दिइरहन्थे।
आलियाभन्दा अगाडि पनि एक जना अमेरिकी अर्थशास्त्री डाक्टर वाल्टरलाई मैले गाउँघर घुमाएको थिएँ। अर्थशास्त्री वाल्टरले देउराली र सिम्पनीका मान्छेहरू धनी बन्न सबैभन्दा पहिले सबै केटाकेटीहरू स्कुल पढ्न जानुपर्ने निचोड निकालेर अमेरिका फर्किएका थिए।
डाक्टर वाल्टरले पैसा नभए पनि देउरालीका मान्छेहरू सम्भवतः संसारकै खुसी मान्छेहरू हुन सक्छन् पनि भनेका थिए। डाक्टर वाल्टर चिनाइदिने पनि सिरी दाइ नै थिए। तर सिरी दाइले आजका मितिसम्म ती अर्थशास्त्री मैले पठाएको भनेर भनेका छैनन्। सिरी दाइ छन् नै यस्तै।
आलियाले एकाबिहानै तेस्रो पटक फोन गर्दा म काठमाडौँमै थिएँ। तर ऊ देउराली जाने तयारीमा थिई। हामीले दरबारमार्गको मार्कोपोलो रेस्टुरेन्टमा खाना खाने तय गर्यौँ।
आलिया 'अम्रिकाने' भन्दा फरक थिइन पनि। हामी विदेशी गोराहरूलाई 'कुइरे' वा हाम्रा अतीतका पुर्खा 'फिरङ्गी' भन्थे। तर आलिया नेपाली भाषी वा नेपाली मूलकी भएरै पनि 'क्युट' अम्रिकाने जस्ती लाग्दथी। गुजमुजिएको घुम्री कपालले उसलाई थप सुहाएको थियो पनि। मैले मेरो परिचय दिने बित्तिकै उसले न्यानो अँगालो हाली। उसको ज्यानबाट पारिजात फूलको बास्ना रूपी 'पर्फ्युम'को सुगन्ध बगिरहेको थियो।
आलियाले छुट्ने बेला गह्रुङ्गो भारी बोकाइदिई; देउराली नजिकैको सिम्पानी गाउँ निरीक्षण गरेर त्यहाँको अभाव बारे सानो 'आर्टिकल' लेख्न अह्राई।
कुनै केटो मान्छेले त्यही काम अह्राउँथ्यो भने म 'नो' भनेर पक्का पन्छिन्थेँ तर म आलियाको सुन्दरतामा फसेँ। मैले आलियालाई अहिलेको सिम्पानी बस्तीको दुःख केलाउन तीन दशक अगाडिको इतिहास बुझ्नुपर्ने तर्क राखेँ। उसले मुन्टो हल्लाई। हामी कसिलो अँगालोमा पुनः बाँधिएर छुट्टियौँ।
सिम्पानी घर भए पनि 'काइँला मिजार'को अठार घण्टा बढी समय नौबिसे र देउरालीमा व्यतीत हुन्थ्यो। उनी हाम्रो हल चलाउँथे। असारमा रोपाई गर्दा होस् वा हिउँदमा बारी जोत्दा, काइँला मिजार मिठो भाकामा सबाई गाउँथे। जामुनाको रुखको फेदबाट हलो बनाउँथे। उनले सानो हलो बनाएर मलाई भन्थे- 'ठुला साना 'पिलिन' बनाउने देशमा जन्मिएको भए यो काइँलो मिजारले 'पिलिन' बनाउँथ्यो, बुझ्नु भो।’
काइँला मिजारका दुःखहरू सगरमाथाभन्दा अग्ला थिए। मिजारका वर्षै पिच्छेका सन्तानहरू मिजार्नी आमा 'भगवान्ले हात थापेका' भन्थिन्। दैनिक भोकमरीलाई मेटाउन काइँला मिजारले सकेनन्। वर्षाको भेलले घर बगाउन खोज्थ्यो भने पुस/माघको ठिहीले मिजारका साना छोराछोरीको इहलीला खोसिदिन खोज्थ्यो। उनी सिम्पानीमा अडिग बसिरहे। तराई बसाइ सरेर जान पनि उनलाई सजिलो थिएन। मिजार मिजार्नीसहित पन्ध्र जनाको डफ्फा कसरी व्यवस्थापन गर्न सक्नु?
काइँला मिजार भन्थे- 'बर्मा पुगे नि कर्म सँगै' भए'सी के लाग्छ?। उनी आफ्ना काकासँग बर्मा पनि पुगेका थिए। उमेर सानै थियो। चितवन पुग्ने नेपाली दाजुभाइको हुलमा मिसिए। विराटनगर आइपुग्दा तीन महिना बितिसकेको थियो। मिजारलाई आफ्नी आमाको मुख हेर्न हतार थियो। सिम्पानी नपुग्दै आमाको अशुभ समाचार सुने। बाउले सौतेनी आमा भित्र्याइसकेका थिए। सौतेनी आमाको टोकसो खप्न नसकेर आफ्ना पाँच भाइ र चार बहिनीहरू लिएर उनी छुट्टिए।
काइँला मिजारले गहभरि आँसु पारेर भन्थे- 'खै बर्मामा बसेको भए सुख हुन्थ्यो कि?'
उनले पढेका थिए भने उनमा इन्द्रबहादुर राई र लिलबहादुर क्षेत्रीको जस्तो साहित्यिक क्षमता भएको निकै पछि 'बसाइ' र 'जयमाया आफू मात्र लिखापानी आइपुगी' पढेपछि थाहा पाएँ।
काइँला मिजारले बर्मा, लिखापानी, लाहोर अनि टिस्टा, काँगडा, गढवालदेखि देहरादुनसम्मका कहानी हाम्रो घरमा भनिसकेका थिए।
मिजार्नीलाई थाहा नपाएको रोगले असमयमै लगेपछि मिजारका दुःखका पहाडहरू झनै थपिए।
समय फेरियो। मिजारका छोराहरू एक पेट टन्न पाइने आस बोकेर सहर छिरे। म पनि पढ्ने कामले काठमाडौँ पसेँ। दसैँ तिहारमा घर पुग्दा काइँला मिजार फुर्तीसाथ हलो खोप्दै हुन्थे। साह्रै फुर्सदमा मादल र मुरली बनाउँथे।
मिजारका छोराहरू अभावले घेरिएको घरमा आउन छोडिसकेका थिए। त्यसो त उमेरले झन्डै तीन बिस पुग्न लागेका मिजारले फेरि तरुनी मिजार्नी बिहे गरेपछि छोराछोरी पर पर भएका थिए।
मिजारले फेरि बिहे गरेछन् भन्ने प्रश्नमा अगाडि फुक्लिएका दाँतका गिजा देखाउँदै मिजारले भनेका थिए- 'ठुला साना साह्रै एक्लो भएपछि मिजार्नी ल्याएको हो, रहर थिएन। बाध्यता पर्यो।'
मिजारले हलो जोत्न सक्न छाडे। घरमै बसेर मादल र मुरली बनाउँथे।
नयाँ मिजार्नी भन्दै थिइन्- ‘मिजारले सालको पातमा बिँडी र घरमै रोपेको गाँजा साह्रै पिउँछन्।’
मिजारको पुरानै बानी थियो, बुढी र चोर औँलाले च्यापेर बिँडी तान्ने। यस पटक नयाँ मिजार्नीले छोरो पाएकी थिइन्। मैले मिजारलाई छोराछोरी पुगेका थिएनन् र भनेर प्रश्न गर्दा मिजार लजाए। नयाँ मिजार्नीले आफू बहिला भएर बस्न मन नभएपछि बुढो मिजारसँग सन्तानकै आसले पोइल आएको बताइन्।
मिजार बिते। टिबीको नियमित औषधिका गोली खाएनन्।
म पनि देउराली फर्किएँ।
मिजार्नीका दुःख हटेनन्। मिजार्नी अब नयाँ थिइनन्। मिजार बितिगए। सन्तान नहुँदा एउटा मात्रै दुःख थियो। अब मिजार्नीलाई हजार दुःखहरू थपिए। छोरो खुट्टा लागेपछि हिँडिगयो। सानी छोरीलाई मिजार्नीले स्कुल हालेकी थिइन्।
‘ठुला साना मेरी छोरीले धेरै पढेपछि मन्दिर र सबैका घरभित्र छिर्न पाउली?’ मिजार्नीको प्रश्नले म मौन बसिरहेँ।
मसँग व्यक्तिगत रूपमा त्यसको उत्तर भए पनि सामूहिक जिम्मा लिन सक्दैनथेँ।
मिजार्नी दुःख पोख्थिन्। म सुन्थेँ। मिजार्नीको छोरो गोरखपुर पुगेको र आमा र बहिनीलाई लिएर आउन मिजारका ज्वाइँ सम्मरे सिम्पानीमै आइपुगे।
‘मिजार्नीले के गरौँ ठुला साना?’ भन्दा मेरो गला अवरुद्ध भयो।
मिजार्नी धरधरी रोइन्।
खल्तीमा भएको पाँच हजार मिजार्नीको हातमा राखिदिएँ। मिजार्नी बिहानै हिँडिछिन्। मिजार्नी गोरखपुर रमाना भएको पनि दुई दशक नाघेछ।
एक अँधेरी साँझ एउटा वृद्ध मान्छे देउरालीबाट हाम्रो घर तर्फ आयो। तपाईंको नामको 'लिफाफा' भनेर दिएर गयो। त्यो उही सम्मरे अर्थात् मिजार्नीको ज्वाइँ थियो।
‘माई डियर ब्रदर, ठुला साना।‘ यसरी 'करसिभ लेटर' बाट सुरु गरी लेखिएको अंग्रेजी पत्रले भावुक बनायो। अन्त्यमा तपाई|की साइँली मिजार्नी भन्दै पत्र मिजार्नीकी छोरीले लेखेकी थिइन्।
करिब आज पनि यस्तै छ सिम्पानी। मैले आलियालाई ई-मेल गरिदिएँ।
देउरालीमा बल्ल भोर सुरु हुँदै थियो। आलियाले फोनबाटै अनुरोध होइन, आदेश दिई- ‘मिजार्नीको त्यो पत्रमा के लेखिएको थियो? तुरुन्तै ई-मेल गर्नुस् है।’
मलाई मुखैमा नो भन्ने जवाफ आइसकेको थियो। तर आलियालाई मैले कसरी नाइँ भन्न सक्नु?