गन्तव्य यात्राका अनगिन्ती बाटाहरू
जीवनका अगणितीय हिसाबहरू
न आदि ज्ञान न अन्त्य बोध
नियतिको चक्रमा नतमस्तक ऊ
फगत, लम्किरहेछ चक्रव्यूहतर्फ।
जवानीको चढ्दो लालिमाले
चक्रव्यूहको जहरिलो प्रभाव पनि
निस्तेज पार्दो छ
वीरताको उन्मादमा
पराजयको स्वाद पनि बिर्सँदो छ।
इन्द्रियका घोडामा सवार ऊ
स्वाभिमानका रथीलाई पछार्दछ र
विजयको उन्माद भर्दछ, आफैँभित्र।
इन्द्रप्रस्थको मायामहल झैँ
जीवनका अनगिन्ती बाटाहरू
उसैको स्वागतमा आतुर छन्।
कतै फूल, कतै काँडा
कतै खाडल त कतै डाँडा
मानौँ
चरमोत्कर्षमा छन् लक्ष्यहरू।
वीरताको उद्घोष गर्ने साहस अनि
समर्थन गर्ने इन्द्रिय चालहरू
सँगै वशीभूत भएका छन्
जीवनका सवालहरू।
यात्राको मध्यान्तरमा खडा ऊ
रसिक कम पथिक ज्यादा भई
अनवरत लम्किरहेछ
चक्रव्यूहतर्फ।