कुनै जमाना थियो
घर अँध्यारो हुन्थ्यो तर मन उज्यालो
अहिले घर उज्यालो छ मन अँध्यारो
टुकीमा मट्टितेल हाल्नुपर्थ्यो
बेलुकाको अगुल्टो खरानीले छोपेर बिहान बाल्नु पर्थ्यो
तर देश सधैँ धपक्क बलिरहेको जस्तै लाग्थ्यो
अहिले देशको कुना कुनामा बिजुली बत्ती पुगेको छ
तर देश
मट्टितेल नपाएको टुकी जस्तै भएको छ
मान्छे आफ्नै देशमा
आफ्नै खेतबारीमा
पसिना बगाउनमा खुसी थिए
तर अहिले
अर्काको देशमा पसिना बेच्नमा खुसी छन्
कुनै जमाना थियो
छिमेकीको घरमा नुन सकिँदा पनि
आफ्नो घरको तरकारी बाँडिन्थ्यो
तर अहिले
छिमेकीको घरमा नुन बारिँदा समेत
अर्को छिमेकीले सहयोग बाँड्दैन
मेलापातमा अर्म पर्म चल्थ्यो
ज्याला चाहिँदैन थ्यो
तर अहिले पैसै दिएर खोज्दा पनि
खेताला पाइँदैन
तिनै खेत हुन जहाँ एकै वर्षमा
धान, गहुँ फल्थे
मकै, आलु फल्थे
जहाँ अहिले वर्षौँदेखि
बुकी, ऐँसेलु पाती फुलेको छ
बनमारा त झन् जथाभाबी फुलेको छ
गोबर पाइँदैन गाउँमा
युरिया डिएपी मल भित्रिन्छ
धान फल्दैन खेतमा
भारत र चीनको चामल भित्रिन्छ
कुनै जमाना थियो
मान्छेहरू देशको लागि मर्न तयार थिए
तर अहिले देशमा मर्न चाहँदैनन्
मेरो देशका युवाको भविष्य
विदेशले लेखेको छ
तिनैबाट भित्रिने रेमिटेन्स मात्रै
यो देशले देखेको छ
कुनै जमाना थियो
सगरमाथा जस्तै अग्लो सोच हुन्थ्यो
पृथ्वीनारायण शाह जस्तै जोस हुन्थ्यो
बुद्ध जस्तै शान्त स्वभाव हुन्थ्यो
निडर र साहसी गोर्खालीको प्रभाव हुन्थ्यो
स्वाभिमान, सम्मान, मानवता, बलिदान
नेपाली हुनुको पहिचान हुन्थ्यो
यो मेरो देश म यो देशको
भन्नुमा छुट्टै सान हुन्थ्यो
तर अहिले
नेपालीहरूको घर फेरिँदै छ
बिस्तारै पासपोर्टको कलर फेरिँदै छ
सगरमाथाको सोच समुद्रको गहिराइमा
हराए जस्तै लाग्छ
रामको जस्तो स्वभावमा रावणको गर्जन
आए जस्तै लाग्छ
खै किन
जोस, जाँगर र सान हराए जस्तै लाग्छ
कुनै जमाना जस्तै पहिचान हराए जस्तै लाग्छ
कुनै जमाना थियो
भोलिको पुस्ताले यही भन्न नपरोस् जस्तो लाग्छ
हाम्रो पहिचान जमानामा गन्न नपरोस् जस्तो लाग्छ
पहिचान बचाउने बनाउने काम हाम्रो
कुनै जमानालाई जोगाउने काम हाम्रो
नेता, सरकार र राजनीति एकातिर
जनताको अनुशासन मर्यादा र थिति एकातिर
म मेरो ठाउँबाट तिमी तिम्रो ठाउँबाट
आऊ न पहल गरौँ
नेपाली हुनुको सान जोगाउन
कुनै जमाना जस्तै पहिचान जोगाउन
निडर र साहसी स्वाभिमान जोगाउन
हाम्रा पुर्खाले दिएको बलिदान जोगाउन।