म उमेरमा बच्चै थिएँ
बा बैँसका भए पनि
उमेरमा कच्चै थिए
म बोल्न नजान्दा आवाजमा
बोली भरिदिएका मेरा बा
म हिँड्न नजान्दा हात समाई
ताते ताते गरी हिँड्न सिकाएका मेरा बा
मेरो भोको पेट मेटाउन आफू भोकै
बस्न तयार हुने मेरा बा
असारे झरीमा आफू निथ्रुक्क भिजी
मलाई घुम ओढाउने मेरा बा
बचेराको चाराका लागि
वर्षौँ परदेशमा हड्डी खियाउने मेरा बा
मेरा सफलतामा सधैँ
अगाडि आई धाप मार्ने मेरा बा
मेरो पहिचान बनेका मेरा बा
अनि समयको चपेटामा परेका मेरा बा
कुनै समय बा भन्थे-
छोरीले धेरै पढ्नु हुन्न
अर्काको घर जाने जात
माइतीको थर राख्नु हुन्न
तर नियतमा खोट थिएन
समाजभन्दा बाहिर सोच्ने
आँट थिएन
परम्परा र चलन चल्ती अनुसरण गर्दा
अरू अन्यायमा परे कि भन्ने
आभाससम्म पनि थिएन
पुरातन सोचले गाँजिएको समाज
पितृ सत्ता हाबी परिवेश
छोरीलाई बस्तु सरह
मानेको समाज
अनि यही धारमा बगेका मेरा बा
बाको सोचमा परिवर्तन आउन
खोलामा समयको पानी
धेरै बगेको छ
जब समय बदलियो
बा बदलिए
म पनि बच्चाबाट बैँसकी भएँ
बाको उमेरले नेटो काट्यो
मेरो बैँसले ओरालो लाग्यो
म घर देशीबाट परदेशी भएँ
बा गाउँलेबाट सहरिया भए
समयले कोल्टे फेर्यो
सुन्दै छु आजकल
बा छोरी पढाऊ
अभियानका नेता भएका छन् रे
माइतीको थरमा छोरीको पनि
आधिकार हुनु पर्छ भन्दै हिँड्छन् रे।
बुहारीले जागिर गर्नुपर्छ
बाहिर निस्किए संसार
देखिन्छ भन्दै हिँड्छन् रे
चुलो चौको मात्रै हैन
छोरीको संसार भन्दै हिँड्छन् रे
प्रौढ शिक्षाको पहिलो बेन्चमा
आमा पनि देखिन्छिन् रे
छोरीका उपलब्धि सुन्ने बित्तिकै
सबैभन्दा पहिले तली बाको बज्छ रे
मुस्कुराउँदै स्याबास भन्छन् रे
बुहारीले छोरासँगै होस्टेमा हैँसे
गरेको देख्दा गर्वले छाती
ढुक्क फुल्छ भन्छन् रे
छोरी पनि छोरा सरह
हरेक काम गर्न सक्छन्
भन्दै हिँड्छन् रे
घरको जिम्मेवारी छोराछोरीको
काँधमा सुम्पी आमालाई
जाऊँ हिँड घुम्न भन्छन् रे
समय काल परिस्थितिअनुसार
आफूलाई परिवर्तन गर्न सक्ने
मेरा बा मलाई
असाध्यै प्यारा छन्।