प्लास्टिकदेखि मानिस डराए
डराउनु स्वाभाविक थियो
उनीहरू घिनाए
घिनाउनु स्वाभाविक थियो
उनीहरूले जोड जोडले प्लास्टिकको देह
खोजी खोजी जलाए
भेला पारी पारी जलाए
घर-घरबाट जलाए
अफिस-अफिसबाट जलाए
उद्योग-उद्योगबाट जलाए
कारखाना-कारखानाबाट जलाए
यसरी देह जलेर उडेको
प्लास्टिकको आत्मा
आकाशमा गई भड्कियो
तब हावामा मिसियो
बादलमा मिसियो
बर्सातमा मिसिए
नदीनाला र वन-जंगलमा मिसिए
त्यसपछि नै हो
मानिसहरू आज
गाँस-गाँसमा, सास-सासमा
उसको आत्मा तनतनी पिइरहेका छन्
उसको सद्गत नगरेकोले
आफ्नो फोक्सो र छालामा
उसलाई अमर तुल्याइरहेका छन्
विधि नपुर्याई पन्छ्याउन खोजेकोले
ऊबाट छुटकारा पाउनुको सट्टा
आफैभित्र समाहित गरिरहेछन्
अब के हुन्छ त?
के मानिसहरू पनि उसको आत्मा पिएर
स्वयम प्लास्टिक नै बन्दै जानेछन्?
एक-एक गरेर निष्प्राण!
एक-एक गरेर अचेत!