भर्चुअल जमानामा परम्परागत प्रेम पत्रको कुरा युवा पुस्तालाई रुचिकर नहुन सक्छ। युवा पुस्तालाई प्रेम पत्र युग सम्झाउन खोजेको मात्र हो। जुन बेला सहज रूपमा फोन सुविधा थिएन। सामाजिक सञ्जाल कल्पना बाहिर थियो। त्यो हुलाक युग थियो जुन बेला चिठीको माध्यमबाट संचार गरिन्थ्यो। प्रेम पत्रको माध्यमबाट मायालुलाई मनका बहहरू पोखिन्थे। क्याम्पसमा प्रेम पत्र लेखन प्रतियोगिता हुन्थ्यो।
क्याम्पस पढ्दा शर्मिलासँग नजानिँदो माया गाँसियो। मैलेभन्दा शर्मिलाले मरिहत्ते गरी। म त्यसमा भुलिएँ। उसले लेखेका एक चाङ प्रेम पत्र सुरक्षित छन् घरमा।
शर्मिलाले हरेक हप्ता एउटा न एउटा पत्र लेख्थी। किताबका पानाभित्र घुसाइदिन्थी। जब उसको सम्झना आउँथ्यो किताबका पाना पल्टाउँथेँ म। किनकि उसले प्रेम पत्र त्यही किताबका पानामा घुसाउँथी। कहिलेकाहीँ त हप्तौँसम्म पत्र भेट्दैन थिएँ। उसले लेखेका कुरा बासी भइसक्थे।
ऊ मनका कुरा चिठीमा लेख्थी। म भने क्यान्टिनमा खाजा खाँदा सबै कुरा भन्थेँ। ऊ र ममा एउटा फरक थियो; ऊ लुकेर मनका कुरा लेख्थी र मलाई दिन्थी, म भने सिधै भन्थेँ। लेख्न अल्छी गर्थेँ। क्याम्पस बिदा हुँदा अलि बोरिङ हुन्थ्यो। क्याम्पस बिदा नहोस् जस्तो लाग्थ्यो। दुई वर्ष यसरी नै बितेछन्। शर्मिला बिनाको संसार अपुरो छ भनी सोच्थेँ म।
शर्मिलाले एक दिन ‘सप्ताह’ भएकोले गाउँ जाने कुरा गरी। बसपार्कमा बिदा गर्न गएँ म। ‘आफ्नो केयर गर्नू, हप्ता दिनपछि आउँछु’ भनेर बिदा भई। अहिले जस्तो फोन थिएन। सम्पर्क टुट्यो ऊसँग।
हप्ता दिन बित्यो। महिना दिन बित्यो। शर्मिलाको अत्तोपत्तो भएन। चिठी लेख्न मन लागेन। केही महिनापछि शर्मिलाको गाउँ गएँ।
गाउँ गएर बुझ्दा बिहे गरेर विदेश गएको बताए मान्छेहरूले। सप्ताहमा नै टिकोटालो भएको रे। अचम्मित भएँ। छाँगाबाट खसेँ। गाउँका मानिसले ‘को हो तपाईं?’ भनेर सोधेँ मलाई। क्याम्पसको साथी भनेर बताएँ। थप सोधखोज गर्न मन लागेन र गरिनँ।
सहर फर्किएँ। शर्मिलाले मलाई झुक्क्याई। के विवशता थियो उसको मैले बुझिनँ। अन्तमा हारेँ म।
बिस्तारै आफूलाई सम्हालेँ। पीडा र वेदना लुकाएँ। शर्मिलाले छल गर्नुको कारण अहिलेसम्म पाउन सकिनँ। अब त्यसको उत्तर उसले दिनुपर्छ भन्ने मेरो माग र चाहना छैन। दिनु पर्दैन। छापामार शैलीमा म एक्लिएँ।
आफ्नै मनसँग मनोवाद गरेँ- ‘तिमी बाहेक कसैलाई माया गरिनँ। तिम्रा प्रेम पत्र दराजभरि छन्। अझ भन्छौ भने प्रेम पत्र असरल्ल छन्। तिनको बेहाल छ। तिमीले लेखेका प्रेम पत्र तिमीलाई नै देखाउन मन छ एक पटक। हरेक बिदा र फुर्सदका दिनमा तिनलाई पढ्ने गर्छु। यो मेरो दिनचर्या हो। त्यो मेरो अतीत हो। अतीतलाई सजिलै बिर्सन सकिनँ मैले। त्यसैले त म एक्लै छु। अरू खोज्न सकिनँ। तिमी बाहेक अरू सोच्दै सोचिनँ।’
बुझ्दै र भोग्दै जाँदा नेपाली समाज फरक प्रकृतिको रहेछ। राज्य व्यवस्था कमजोर रहेछ। राज्यले बुढेसकालमा आफ्ना नागरिकलाई सहारा दिँदैन रहेछ। बुढेसकालको सहारा खोजीमा लागेँ म। सहाराको खोजी गर्दै जाँदा सांसारिक माया मोह र त्यो सञ्जालबाट बाहिर निस्कने विचार आयो मनमा। जीवनलाई त्यसैअनुसार ढाले। माया-मोहमा वैराग चल्यो। गीता, रामायण, वेद जस्ता धार्मिक पुस्तक पढ्न थालेँ। दिनचर्या नै फरक भयो मेरो।
बाबा-आमाको मृत्युपछि एक्लो भएँ म। भाइ-भतिजाहरू धनको पछाडि लाग्ने रहेछन्। बाबा-आमाले छोराको बिहे होस् भन्ने खुब चाहनु भयो। तर सक्नु भएन। एक्लो जीवन बिताउने दृढ निष्कर्षमा पुगेँ।
के मोड चल्यो! त्यस अगाडि नै ‘शमला’ उपन्यास लेखेको थिएँ मैले। जुन शर्मिलामा समर्पित थियो। उपन्यासमा सामाजिक कथावस्तु र अतीतको आफ्नै कहानी थियो। उपन्यासमा प्रेम पत्रका विषयवस्तु उनिएका थिए। उपन्यासले राम्रो बजार लियो। एक हिसाबले उपन्यास चर्चित भयो। लेखकको व्यापक चर्चा-परिचर्चा भयो सहरमा। दशौँ हजार प्रति बिक्यो पुस्तक। रोयल्टी नै लाखौँ आयो।
उपन्यासको चर्चा हुँदै गर्दा सांसारिक जीवनसँग झन् मोह भंग भयो मेरो। देवघाटमा गएर बसेँ। अरू धेरै ठाउँमा गएँ तर मन बसेन। सबैभन्दा शान्त र अलौकिक लाग्यो देवघाट मलाई।
शमला उपन्यास उसले विदेशमै पढिछे। उपन्यासको कथावस्तुले छोएछ रे उसलाई! लेखकलाई भेट्ने रुचि जाग्यो रे! खै किन हो? के भयो? श्रीमानसँग डिभोर्स भएछ उसको। पश्चिमा जगतमा डिभोर्सलाई अत्यन्त सामान्य मानिन्छ। झन् वैराग चलेछ शर्मिलालाई। शान्तिको खोजीमा रहिछ ऊ पनि। विदेश त्यागेर नेपाल आइछ। मन्दिर मन्दिर भौँतारिँदै देवघाट पुगिछ। भेटको सुरुमा आफ्ना कुरा बताई मलाई।
देवघाटमा टहलिँदै बसेको देखेको थिएँ मैले उसलाई धेरै पटक। उसको हाउभाउ देख्दा कुनै न कुनै पीडा छ भन्ने लागेको थियो। त्यस्ता मान्छे कति हुन्छन् हुन्छन्। कुनै वास्ता गरिनँ। म मेरै सुरमा भएँ। माया-मोह, प्रेम-घृणा सबैबाट मुक्ति चाहेको मान्छेले सोधिखोजी गर्ने कुरा पनि भएन। गरिनँ।
खै! किन हो, केही दिनपछि मसँग कुरा गर्न आई। पहेँला वस्त्र र फुलेका दारी जुँघामा थिएँ म। उसले लामै कुरा गरी। सुनेर बसेँ। कुरा फर्काइनँ। मेरा मतलबका विषय नै थिएनन् ती। कुरा गर्दै जाँदा उपन्यासको विषय पनि निकाली। लेखकले आफ्नो जीवनसँग हुबहु मेल खाने विषयवस्तु लेखेकोले खोज्दै आएको बताई।
लेखक बारे एउटा पत्रिकाले सनसनीपूर्ण खुलासा गरेछ र लेखेछ- ‘शमला उपन्यासका लेखक देवघाटमा!’ जुन उसले पढिछ। देवघाटमा भेट्न सकिने विश्वासका साथ आइछ ऊ।
‘तपाईंलाई थाहा छ त ऊ कहाँ छ? ऊ को हो?’
म झस्किएँ। कतै यसले मलाई त चिनिनँ? मैले भने उसलाई चिनेँ। ऊ त्यही शर्मिला रहिछे जो मलाई छापामार शैलीमा छोडेर हिँडेकी थिई। मैले उसलाई चिनाइनँ। चिनाउन जरुरी पनि ठानिनँ। पश्चात् गरोस् भन्ने मेरो चाहना थिएन।
सांसारिक माया मोहबाट बाहिर निस्केको मानिसलाई अरू कसैको माया-मोह, बदला वा अनुनय विनयले छोएन। म निश्चित देवघाटमा आफ्नै तालमा रमाएँ। मोक्ष प्राप्ति मेरो उद्देश्य हो। मोक्ष प्राप्ति हुन्छ/हुँदैन थाहा छैन तर म त्यसको खोजीमा छु।