आशा नेट्फ्लिक्समा सिनेमा खोज्दै थिई। खोला, माझी र माछाको सिनेमा कस्तो बनेको होला भन्ने सोच अचानक उसको मनमा उत्रियो। उसले त्यही विषयको सिनेमा सर्च गर्न थाली।
खोला, माझी र माछासँग सम्बन्धित सिनेमाका नामहरू स्क्रिनभरि हुरूरू देखिए। तीमध्ये एउटा भिन्न किसिमको सिनेमाको बाहिरी कभरमा गएर आशाका आँखा टक्क अडिए।
आशा स्तम्भित भई। हातको रिमोट हातमा टक्क अडियो। छक्क परेका आँखाले सिनेमाको नाम पढी, ‘आशाको खोङा’।
खोई किन हो यो नाम पढ्ने बित्तिकै उसको हृदय छचल्कियो। संवेदना मडारियो। उसको कानमा एक किसिमको आवाज गुञ्जियो, 'ओइ! आशा तँलाई त हाम्रो आमाले जन्माएको होइन नि! तँ त रामबहादुरको खोङामा परेकी थिइस् थाहा छ? कमला नदीले बगाउँदै बगाउँदै तँलाई ल्याएको थियो अनि तँ माछासँगै स्वाट्ट रामबहादुरको खोङाभित्र परेकी थिइस्। बिहानीपख रामबहादुर खोलामा माछा लिन जाँदा तँ पो खोङाभित्र रोइरहेकी थिइस् रे।'
आशा आफ्नै अतीतको पर्दामा सम्मोहित भई।
आफू सानो हुँदाको मधुरो बोली आशाले तत्काल सुनी, 'मारिदिउँला तिमारलाई! अर्कालाई जे पाए त्यही नबोल है। खोलाले मान्छेलाई बगाउँदा मान्छे मरिहाल्छन् नि! त्यो पनि सानो मान्छेलाई, झुटा कुरा गर्दा रहेछन्, मित्थ्या कुरा नगर है पाप लाग्ला। म मेरै आमाको छोरी हुँ।'
आशाले सुनी आफै तुफान भएर रूँदै दगुरेको आवाज।
पुनः आशाले अर्को सामूहिक आवाज सुनी, 'ला ला ला रे रामबहादुरको खोङा!' त्यो अट्टहास आशाको मनभित्रको कोठाभरि छरियो। आशाको आँखामा अतीत निकैबेर नाच्यो। अतीत ओर्लिएर जब उसको नजिक बस्यो। स्पन्दित भयो उसको सम्पूर्ण शरीर। रोमाञ्चित भयो उसको हृदय।
उसले सिनेमाको बाहिरी पोष्टर पुनः हेरी, जहाँ खोलामा खोङा बोकेको एउटा मान्छेको छेउमा सानी केटी पनि छे। खोलाको छेउमा सानो बस्ती छ। त्यो केटीले ब्वाइजकट केश काटेकी छ। त्यो केटीका आँखा चम्किला छन्। सानी केटीले स्मित हाँसो छर्दै ठूलो माछा बोकेर आशालाई नै हेरेको जस्तो लाग्छ। सानी केटी हुबहु आशा जस्तै देखिन्छे। आशाको सानोको अनुहार त्यो सानी केटीमा गएर टपक्क टाँसिएको छ। त्यो केटीलाई हेरेर आशाको उत्सुकता सगरमाथातिर उक्लियो। कौतुहल मडारियो। हृदय आनन्दित भयो। आफ्नै बाल्यकालको स्मरणमा उमङ्गित भएर हृदयभरि उत्साहको उर्लंदो बाढी सुसायो।
विलम्ब नगरी उसले सिनेमा सुरू गरी। संगीतको धूनसँगै सिनेमा आरम्भ भयो। आशा टिभी नजिकै गई। सुरूकै दृश्यमा सानी केटी टिर्लिङ्खुटी खेल्न थाली। टिभी स्थिर पारेर आशाले त्यो सानी केटीलाई निकैबेर नियाली। आशा छक्क परेर हेर्न थाली उसैको घर छेउको दुरूस्त डगर। बैजन्ती फूलको ठूलो लहरा प्रवेशद्वारमा लहलह झुलिरहेको छ। धुपीका दुई वटा मनमोहक बोट बहुत सुन्दर देखिएका छन्। परेवाको खोरमा रङ रङका परेवाहरू भित्र बाहिर गर्दैछन्। चराचुरूङ्गीको श्रुतिमधुर आवाजले त्यो ग्रामको वातावरण सङ्गीतमय भएको छ।
चारैतिरको वातावरण विमुग्धकारी छ। परेवाहरू माकुर माकुर गर्दै नाचिरहेको दृश्य उल्लासमय छ। खरले छाएका कुटीजस्ता घरहरू लहरै छन्। सेतो कमेरोले पोतेका घरमा रातो माटोको किनारा देख्दा हृदयमा हर्षोल्लास भरिएको छ। पर्दामा देखिन्छ, डगर नजिकैको ठूलो घुमाउने घरबाट सेतो सारी लगाएकी महिला फुत्त बाहिर निस्किन्छिन्। डगरतिर हेर्दै सानी केटीलाई बोलाउँछिन्, 'ए नानी ! आशा ! स्कुल जान अबेर भयो आइज खाना खान।'
आशा अब ठूली भइसकेकी छ। सिनेमा हेरिरहेकी ऊ छक्क पर्छे। उसलाई लाग्छ उसैकी आमाले बोलाउँदै हुनुहुन्छ। अनि आशा पर्दा बाहिरबाटै जबाफ दिन्छे, 'हजुर आमा म आएँ।'
बोलिसकेर ऊ आफै झल्याँस्स हुन्छे अनि पुलुक्क हेर्छे बैठक कोठामा। धन्न आज उसको घरमा कोही छैनन्। आफ्नो बेहोसी सम्झेर एक्लै लजाउँछे। मनमनै सम्झिन्छे यो उमेरमा पनि म कति मज्जाले सिनेमामा हराउन सकेकी छु। उमेरको पर्खाल नाघेर बच्चा भएकी छु। आज म फेरि मेरो प्यारो बाल्यकाल बाँच्दै छु, सिनेमाको माध्यमबाट। आशा दङ्ग पर्छे। अनि उसको ध्यान फेरि टिभीतिर फर्किन्छ।
डगरबाट असिनपसिन भएर त्यो सानी केटी आमालाई भन्छे, 'आज स्कुल बिदा छ आमा! स्कूल जानुपर्दैन। हुर्रे आज त माछा मार्न जाने हो।' आशा सोचमग्न हुन्छे, 'अहो! अभिनय गर्ने त्यो सानी केटी म नै हुँ। आशा पात्रको भूमिकामा मैले नै निभाउँदै छु। नभए मैले भोगेको मेरो बाल्यकाल सिनेमामा जस्ताको तस्तै कसरी आयो? कसले यो सिनेमा बनायो त? भूगोल हुबहु मेरै हो। सबै कुरा उही छन्। जीवन्त छन् सबै दृश्यहरू। काल्पनिकता कतै छैन। सिनेमामा देखिएको जम्मै गाउँठाउँ मेरै हो। घरहरू मेरै हुन्। गाउँ उस्तै छन्। म सानी छु। मेरा साथीहरू सबै उस्तै छन्। म मलाई नै हेर्दैछु पर्दाभित्र।
मेरो स्वरूप कति निर्दोष छ। कति मायालु देखिएकी छु। कति निश्छल छन् मेरा चिम्सा आँखा। म सात कक्षा हुँदाको दसैंमा किनेको मिडी नै लगाएकी छ त्यो सानी केटीले त्यो पनि मेरै हो। रातो, सेतो र नीलो रङका सानासाना फुलबुट्टे छोटो मिडी लगाएर म हिँडेको थिएँ यसरी नै। चिम्सा आँखामा अपार सन्तुष्टि छ। मेरो जस्तै छ सबै आनीबानी। सानोमा मेरा आँखा निकै चम्किला थिए। पातलो अग्लो ज्यान निकै फुर्तिलो र चलायमान थियो। मैले पनि त ब्वाइज–कट कपाल काटेकी थिएँ। सिनेमाकी चुलबुले केटीलाई हेरेर म मेरै अतीतको सुन्दर स्वर्गमा पुगेकी छु।
नहाँसी हिँड्नै नजान्ने, बोल्नै नजान्ने केटीसँग मेरो पुनः परिचय भएको छ। हुन त अचेल म कम बोल्ने भएकी छु। तर मलाई मेरो बोली मन पर्छ। मलाई म हाँसेको मन पर्छ। तर मलाई बोल्न प्रतिबन्ध लगाएको छ मेरै बैरी उमेरले। मलाई हाँस्न रोकेको छ बैगुनी समयले। सानी हुँदा म बिल्कुल वनकी चरी जस्ती थिएँ। निर्बन्ध थिए मेरा खुसी। स्वतन्त्र थिए सुख। निश्छल थियो हाँसो। चञ्चल थियो चाल। जतिखेर पनि मस्त, व्यस्त र प्रसन्न देखिन्थेँ। सबैले सानी हँसुली भन्थे। म त्यसै त्यसै उडेकी हुन्थेँ हरपल। चिन्ता केही थिएन। पीडासँग परिचय नै थिएन। अपमान के हो थाहै थिएन। असन्तोष के हो जानेकै थिइनँ। फूल जस्ती थिएँ।'
जीवनको उतरार्धमा अचानक आशालाई फेरि सानी आशा भएर बाँच्न मन लाग्यो। अनि ऊ टिभी नजिकै गई। ॐ को दीर्घ ध्वनि उच्चारण गरी। हेर्दाहेर्दै आफ्नो शरीर सानो भएको आभास गरी। लौन! आशा साँच्चै सानी भई। ऊ टिभीको मार्गबाट त्यो ग्राममा टुप्लुक्क पुगी। उही उमेरमा हराई र त्यो सानी पात्रमा समाहित भई।
ठूली आशाले सानी आशालाई भेटेर हर्षित भई। अहो! वास्तवमा आशा अहिले ४४ वर्षको उमेरमा छे। तर अहिले ऊ दश वर्षकी सानी केटी भएकी छ। सानी आशाले सिनेमाभित्रबाट देख्छे बैठक कोठामा आँखा बन्द गरेर बसेकी ४४ वर्षीया प्रौढ आशालाई। उमेरको छायाभन्दा अरू केही फरक छैन सानी आशा र प्रौढ आशामा। भित्र बाहिर आशा नै आशा छन्।
त्यही निमेष सिनेमा आरम्भ हुन्छ। कमला खोलाको सेरोफेरोमा छ बस्ती। चुरेको जङ्गल उसैगरी स्थिर छ। बस्तीबाटै देखिन्छ कमलाको बगर। अनन्त ढुङ्गाका रास छन् खोलामा। झ्याम्म परेको आँकको झ्याङ पनि देखिन्छ खोलाको बगरमा। गाउँबाटै देखिन्छ बालुवाको ढिस्को। हरियो घाँस यथेष्ट छ बगरमा। यत्रतत्र गाईगोरु चरिरहेका छन्। निकै राम्रो चरण क्षेत्र छ खोलाकै बगरमा। खोलाको छेउमा गैह्री खेत छ। गैह्री खेतमा घोङ्गी टिप्दैछन् साना नानीबाबुहरू।
खेत नजिकै छ खोलाको सानो भङ्गालो। राम बहादुरको नियमित खोङा थाप्ने ठाउँ यहीँ हो। यो वर्ष खोला गैह्री खेतपट्टि आएको छ। हेरक वर्ष खोलाले ठाउँ फेर्छ। ठूलो भङ्गालो बोकेर खोला कहिले पारि पुग्छ कहिले वारि आउँछ। वर्षौंदेखि खोलाको यही छ लीला। गैह्री खेतको नजिकै तारमा ढुङ्गा हालेर निर्माण गरिएको अग्लो बाँध छ। खोलाले खेत नबगाओस् भनेर जिल्लाबाट आएको अनुदानमा बनेको जाली बाँध लमतन्न छ माथिसम्म। बाँधको छेउमा पानी जमेर ठूलो हरियो दह बनेको छ। नाङ्गै भुतुङ्गै गाउँका भुराहरू दहमा पौडी खेल्दैछन्। भुराहरू कराउँछन्, 'ओइ कोची! पानी डुम खेलौं।'
सबै केटाकेटी पाखामा आउँछन्। सेतो ठूलो ढुङ्गा पानीको दहमा फुत्त फाल्छन्। सबै भुरा एक्कैचोटि पानीमा झ्वाम्म हामफाल्छन्। पानी छचल्किएर माथिसम्म आउँछ। आशा ताली पड्काउँछे।
त्यो समूहमा ऊ पनि सामेल छे। कोचीले आशालाई डुम बनाई। ऊ पानीमा डुबेकी छे। खोलामा पौडी खेलिसकेर भुराहरू घरतिर लाग्छन्। अर्को दिनको सूर्य उदाउँछ। सिनेमाको दृश्य परिवर्तन हुन्छ।
प्रचण्ड घाम लागेको छ। आकाश नीलो छ। सेता बादलहरू थुपुथुपु आकाशमा टाँसिएको जस्तो कलात्मक देखिएको छ। गैह्री खेतमा मकै हुर्केर दोस्रोपटक गोड्ने बेला भइसकेको छ। लहरै लागेर खेतालाहरू मकै गोड्दै छन्। पटुकामा लुकाएको काँचो आँप पनि टोक्दै छन् खेताल्नीहरू। सुन्तली कान्छी नुनखोर्सानी फुत्त झिक्छे। सबैले जिब्रो फड्कार्दे नुन खोर्सानीसँग आँप खान्छन्। आशाको मुख रसाउँछ। मकै गोड्दा गाउने त्यो मौलिक राम्दले गीत—सुमधुर सुनिएको छ। सबैका कोदाली एक्कैचोटि आकाशतिर फर्किन्छन् अनि एक्कैचोटि मकै गोड्न जमिनतिर ओर्लिन्छन्। हातमा काम मुखमा राम भएको छ राम्दली। सबै लय हालेर समस्वरमा गुन्जिएका छन्। बडो उल्लासमय छ वातावरण।
खाजाको डोको बोकेर आमा सँगसँगै आशा पनि बारीमा जाँदै छ। मोही र पानीको गाग्री बोकेर पिन्ची पछाडि पछाडि आएकी छ। पिन्ची आशाकी प्यारी साथी। चाम्रे, साँधेको गुन्द्रुक, कटहरको तरकारी, कोरेको मेवाको अचार तीलको छोप हालेर बनाएको अमिलोपिरो चट्ट मिलेको छ। डोकोमा ल्याएको खाजा सबैलाई भाग लगाएर आशाकी आमाले दिनुहुन्छ। सबै जना दङ्ग परेर गफिँदै छन्। काम गरेर थाकेका खेताला खाजा खान बारीको आलीमा टासाक्टुसुक्क विश्राम गरेको देखेर आशाको हृदय बढो हर्षित हुन्छ। चारैतिरको वातावरण हेर्दा बडो आनन्द आउँछ।
करुवाबाट साइँला दाइले किक्लिक किक्लिक गरेर पानी पिउँछन्। पिन्ची पुलुक्क हेर्छे साइँला दाइको घाँटी। चराको चुच्चो जस्तो तलमाथि हुन्छ रुद्रघण्टी। पिन्ची र आशाले आँखा सन्काउँछन्। उनीहरू दुवै जना खित्का छोडेर हाँस्छन्। साइँला दाइ आँखा तर्दै पिन्चीलाई आलीबाट खँगार्छन्। आशालाई आँखा मात्र तर्छन्। अरू केही भन्दैनन्। खेतालाहरूले खाजा खाएको देखेर आशालाई पनि जोडले भोक लाग्छ। ऊ आमालाई जिद्दी गर्छे, 'आमा हामी पनि यहीँ खाजा खाने। मलाई पनि माइली दिदीले खाएको जस्तै ढिँडे खोर्सानी दिनू ल। म पनि त्यसरी नै चबाउँछु।' सबै गलल्ल हाँस्छन्।
'उस् ! उस् ! उस् !! कान्छीले पनि खुर्सानी खाने। मोरिन्छ है भोलि बिहान .. ।' घरमै गएर खाजा खान कर गर्नुहुन्छ आमाले। तर आशा आलीमा बसेर खेतालाहरूसँगै खाजा खान मन गर्छे। ऊ आफ्नो जिद्दी छोड्दिन। अनि आमाले सबै थोक थालमा हालेर पिन्ची र आशालाई खाजा दिनुभयो। सबै जना आलीमा बसेर धमाधम खान थाले। खाजा खाएपछि आमा घर फर्किनु भयो। पिन्ची डोकामा जुठा भाँडा लिएर कुलातिर जान्छे।
आशा पनि दाँती लिएर खेतालाहरूसँगै मकै गोड्न थाल्छे। रने कान्छा उसलाई हकार्छन्, 'ए कान्छी जाऊ खुरुक्क घर। यो घाममा किन खेत खेत डुल्नु भनेको? भनेको मानिहाल मकैका पातले अहिले पाच्छिन्छन् पाँसुला र पाखुरा। ल त खुरुक्क जाऊ, भरे फेरि ज्वरो आउँछ। जाऊ भनेको टेर्ने होइन। मैले भनेको नमान त ! पख भोलि तिमीलाई दुवालीमा नलैजाने हो।'
आशा चिच्याउँछे, 'आहा ! भोलि दुवाली थुन्ने हो रने दाइ?' यति भनेर ऊ कसैलाई नटेरी आलीमा खेलिरहन्छे। सालको पातमा सुर्ती राखेर काइँली दिदी बिँडी बनाउँदै गरेकी छिन्। सलाई कसैसँग छैन। काइँली चिच्याउँछिन्, 'ए सञ्जे ! अगुल्टो ले ले। अलि झरिलो अगुल्टो ले है, मरेको अगुल्टो ल्याउलास्। चाँडो गर।' सञ्जे काइँली दिदीको छोरा, तिरिपाँटले दगुर्छ घरतिर। बिजुली गतिमा घर पुगेर झरिलो अगुल्टो लिएर फिलिली बारीमा टुप्लुक्क आउँछ। सबै जनाले बिँडी सल्काउँछन्।
सबै उन्मुक्त हाँसो छरेर हाँस्छन्। सबैजना पालै पालो बिँडी तान्न थाल्छन्। कति रमाइलो दुःख केही छैन जस्तो छ यी खेतालाहरूको जीवनमा। प्रौढ आशा बाल्यकालको जीवन्त सिनेमा हेरेर रमाएकी छे अहिले। सिनेमा हेर्दाहेर्दै उसलाई पानी तिर्खा लाग्छ। भान्सामा गएर एक बोतल पानी लिएर आउँछे अनि पुनः सिनेमाको पर्दामा ध्यान दिन थाल्छे। आशा आफ्नै धूनमा खेले पनि उसका कान खेतालाहरूको कुरातिरै हुन्छ।
पूर्वेली कान्छा निकै उत्साही भएर बोल्छन्, 'ए साइँला जेठान, तिमीसँग एउटा सल्लाह गर्नु छ। रनेसँग त सल्लाह गरिसकेँ। आज जम्मै कोलाको मकै गोडेर सक्नुपर्छ। मकै गोड्न थालेको पनि पन्ध्र दिन भयो। सिद्रा पनि सकियो। माछा पनि छैनन् अब। भोलिबाट रमाइलो गर्नुपर्छ है जेठान। ठूलो खोलाको पूर्वपट्टि माछा देखेको छु। भोलिबाट दुवाली थुन्नु पर्छ। दुई दिनमा सकिन्छ त्यो भङ्गालो काट्नु पर्यो पहिला। माछा पनि हुर्किएका छन् खोलामा। खोङामा पनि बाक्लै माछा पर्न थालेका छन्। एक छाक त जसरी पनि माछा परेकै छ। तर जेठी छोरी भेट्न जानु छ। यसो एक पेरुङ्गो माछा धुप्याएर कोसेली लैजान पाए हुन्थ्यो। अस्तिको पालि दुवालो छेक्दा उति साह्रो माछा परेनन् नि। धुप्याएर राखेको माछा उहिल्यै सक्किसक्यो। के छ विचार ?' सबैजना हो मा हो मिलाउँछन्।
क्रमश:
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)