वर्षालाई बिदाइ गर्दै
शरदलाई स्वागत गर्दै
उही र उस्तै मौसममा
आशीर्वाद पाउन
आत्मियता साँच्न
अनि
माया बाँड्न
तँ हरेक वर्ष
टुप्लुक्क आउँछस् र पो
हाम्रो भेट हुन्छ
हामीलाई यसरी
नियमित भेट गराउने
दसैँ तँलाई धेरै धन्यवाद!
ग्लोबलाइजेसनको
फराकिलो परिभाषा घोक्दै
संसारलाई सानो गाउँ मानेर
अनेक आकांक्षा
असीमित महत्त्वकांक्षा
र उम्दा सपनाहरूको चाङ बोकेर
सहर हुँदै सात समुद्र भासिएको
हामीलाई
हामी जन्मेको, हुर्केको, खेलेको
त्यो बार्दली सितका ती घर
जो आज
सित्तैमा बस्ने
मान्छे नपाएर
लेउ, झ्याउ र च्याउसँग
मितेरी गाँस्दै छन्
लह लह धान फल्ने त्यो गैरी खेत
जुन आज
आफ्नै मालिकहरूको
आयातीत
मसिना र बासमतीको
किनमेल हेर्दै
गन्धे झार, तिते पाती
र बनमारासँग
कुरूप भएर सजिएको छ
कम्तीमा ती कुरा थाँती राखेर
आँगन टेक्ने
मौका त जुराइस तैँले
तसर्थ
दसैँ तलाई धेरै धेरै धन्यवाद!
वर्तमानमा
संसार राज गरेका
गुच्चा, रेडी, कपर्दी
र लुकामारी खेल्ने
मेरा बाल सखीहरू
झुम्राको, मोजाको बल खेल्दा
ढुङ्गा माथि छाती बज्रिँदा
मायाले, स्नेहले उठाउने
ती सहयोगी पाका हातहरू
ती खोला, ती वनपाखा
र हरेक पाइलामा
अपनत्व महसुस हुने
त्यो आफ्नै माटो
सबै सबैको प्यार र
आशीर्वाद लिन
मौका जुराउने
केही दिनलाई नै सही
विगतका कटुता त्यागेर
आफ्ना आफन्तसँग
छर छिमेक
इस्टमित्र र मान्यजनसँग
आत्मियता र सौहार्दता
बाँड्ने मौका जुराउने
ए दसैँ
तँलाई फेरि पनि एक पटक
धेरै धेरै धन्यवाद!