गाउँ एउटै थियो, थकाइ बिसाउने चौतारी एउटै थियो, प्यास मेट्ने ढुंगे धारा एउटै थियो। पानको पात बनाएर एकअर्काको नाम लेख्ने खोलाको किनार एउटै थियो। पौडी खेल्ने नदी एउटै थियो, सबैका आँखा छलेर भेट्ने भन्ज्याङ एउटै थियो। अक्षर चिन्न सिकेको स्कुल एउटै थियो। मन एउटै थियो। एक दर्जन एउटाका बीचमा दुई वटा कुरा मात्रै अलग दिए। तन र आँगन। यो पनि एउटै बनाउने सपना थियो, कसम थियो।
समय सुनामी बोकेर आयो, भाग्य पहिरो बनेर आयो। माया बोकेको मन वारपार भयो। कता उड्यो कता। कता बग्यो कता। आज सबै एउटै बनाउने हामीहरू सबै एउटैलाई अलग अलग पारेर देशै अलग पारेका छौं।
म बारबार भन्छु 'तिमी परदेशी भयौ, मन पनि परदेशी भयो।' ऊ सधैं भन्छे 'तिमी परदेशी भयौ। म त घर देशमै छु।'
परदेश र घरदेशको हाम्रो अलग अलग परिभाषाले हाम्रो सम्बन्धलाई पनि परदेश पुर्याएको छ।
आफू सात समुद्र पारि भए पनि उसले मलाई नै सधैं परदेशी भन्छे। उसको तर्क पनि छ। जो मलाई शतप्रतिशत कुतर्क लाग्छ। सुनौं है।
'जुन देशमा दु:ख गरेर पनि सुख भेट्न सकिँदैन। मनलाग्दो तरिकाले स्वतन्त्र अलि अलि स्वच्छन्द पनि भएर रमाउन सकिँदैन। एक बारको जुनी कसले के भन्ला भन्दै त्रासको सांग्लो बाँधेर जिउनुपर्दछ, त्यो कसरी घरदेश भयो? जन्मिएर मात्रै पनि कहीँ घरदेश हुन्छ? जीवन जीवन जसरी जहाँ बाँच्न सकिन्छ त्यो नै घरदेश हो। हेर यहाँ म कति रमाएको छु, यो नै मेरो घरदेश हो।'
'अरे यार जहाँ घाउ लाग्दा आधा दुखिदिने साथी छन्, आँसु आउँदा पुछिदिने आफन्त छन्। बैराग लाग्दा मनको धुन सुनिदिने मान्छे छन्। ज्युँदाका जन्ती अनि मर्दामा मलामी छन्। त्यो देश पो आफ्नो हो त। आफ्नो फोटो पनि सेल्फी खिच्नुपर्ने ठाउँ कहीँ घरदेश हुन्छ?'
'गतिलो काम गरेर के यहाँ सुखी हुन सकिन्छ।'
'हात भरी पैसा भएर के त्यहाँ खुसी हुन सकिन्छ। कम्तीमा सुखी नभए पनि हामी खुसी हुन जानेका छौं।'
पाँच वर्षको बीचमा कहिल्यै पनि मायामा कुरा भएनन्। जीवनका कुरा भएनन्। दुई प्रेमीका बीचमा हुने कसैलाई नसुनाउने खालका कुरा भएनन्। हुने वाला छोरा छोरीका कुरा भएनन्। हनिमुन स्पटका कुरा भएनन्। सधैं घरदेश र परदेशको अहम्का कुरा भए। एक अर्कालाई कसले हराउने भन्ने कुरा भए। धेरैपछि थाहा भयो, हामी त आफैलाई हराउने यात्रामा रहेछौं। थाहा पाएर पनि केही आदत हुन्छन्। जसलाई थाहा नपाएको जस्तो गर्न मन लाग्छ।
चुरोट खाने मान्छेलाई थाहा हुन्छ त्यसको असर। तर कसैले सक्दैन छाड्न। हामीले पनि छाडेनौं। हामी कुकुर थियौं अनि हाम्रो अहम् हड्डी थियो। छाड्नु पनि कसरी? कहिलेकाहीँ लाग्थ्यो हामी सासले कम र अहमले ज्यादा बाँचेका छौं।
पछिल्लो पटक च्याटमा उसले नेपाल सरकारले सार्वजनिक गरेको विदेश जानेहरूको तथ्यांकको लिंक पठाएकी थिई। अनि सँगै एक टुक्रो अहम् पनि थियो।
'घरदेश त सबै बस्ने जस्तो पो हुनुपर्ने अनि सबै बाहिर जान खोज्ने पनि घरदेश हुन्छ र?'
'भिडमा पनि एक्लो हुनु परदेश हो र एक्लोमा पनि भिडको महसुस गर्नु घरदेश हो' मैले पनि अहमको सानो टुक्रो फ्याँकेको थिएँ। उसलाई लागेन क्यार। बोल्न नै छाडिदिई। तर जोसँग बोल्दैन भनेर कसम खायो उसैसँग ज्यादा बोल्न मन लाग्छ नि है। तपाईंलाई पनि यस्तो हुन्छ? दुई दिनपछि उसले म्यासेन्जरमा एक दर्जन 'लभ रियाक्ट' पठाई। मैले आधा दर्जन पठाएँ।
'तिमी म जति प्रेम गर्दैनौ भन्ने थाहा थियो, लभ रियाक्ट पठाउन त लोभ गर्छाै'
'जोगाएर राख्नु परेन फेरि सकियो भने'
'ए मलाई थोरै पठाएर जोगाउनुपर्नेछ, कोहो त्यस्तो मान्छे'
'छन् तीन जना जति'
'फटाक से नाम भन जलन भएको छ'
'जलन भए दमकल पाइँदैन र तिम्रो सम्पन्न देशमा?'
'तिमी प्वाइन्टमा आऊ मलाई थाहा छ तिम्रो हर्कत, मुखै खोलेर यस्तो भन्न कसरी सक्यौ?'
'तिमी यता नआउने, म उता नजाने खोज्नु परेन त मन बहलाउन?'
मैले हानेको कटाक्ष उसले नलागे जस्तो गरी 'ए त्यसो भए खाली ठाउँ भर्नमा माहिर हो त, म पनि त्यसै गरूँ ?' उसले फेरि थपि 'यो विषयमा कुनै दिन झगडा गरौंला अहिलेलाई पहिलेकै विषय काफी छ, भन को हो त्यो जसलाई तिमी मेरो भागको अंश पास गरेर दिइरहेका छौं'
'लु लु सुन, पहिलो तिमी, दोस्रो तिम्री आमाकी जेठी छोरी अनि तेस्रो तिम्रो घरको जेठी छोरी'
'पागल, दबगं फिलिममा ह्याङ्ग अझै गएको छैन, ल म काममा गएँ' उसले चुम्बन रियाक्ट पठाएर साइन आउट भई। मैले लाइक मात्रै गरेँ।
पाँच वर्ष अगाडि क्यानबेरा पुगेकी हो ऊ। मलाई पनि अफर गरेकी थिई। म आफ्नै रङ्ग र ढङ्गको छु। उसको कुरा मानिनँ। जीवनमा आफ्नै स्वभावका कारण धेरैपटक दु:ख पाएको छु। तर पनि आफ्नो रङ्ग बदल्न मन लाग्दैन।
आमा भन्नुहुन्छ 'साह्रै ढिपी छ यो केटो, आफ्नै ढिपीले गर्दा कति कति दु:ख पाएको छ'।
साथी भन्छन्, 'पहाडै हलचल गर्ला यो मान्छे गर्दैन'
शिक्षक भन्थे 'नलेख भन्दा पनि आफूलाई लाग्यो भने गलतै कुरा पनि लेख्छ यो केटो'
उनले भन्छिन्, 'तिमीलाई मन पराउनुको कारण तिम्रो ढिपी नै हो, सानो सानो कुरामा पनि तिमीले केटाकेटी जस्तो ढिपी गरेको मलाई निक्कै मनपर्छ' उसको मनको प्रस्थान विन्दु नै उसका लागि आज घाँडो भएको छ।
म र अस्ट्रेलियामा उसले अस्ट्रेलिया नै रोजी तर मलाई पनि छाडिन। लाग्छ उतिबेलै छाडेको भए एकाध रात बैरागमा बित्थे होला। विस्तारै मन फुक्का त हुँदै जाने थियो। तर उता पुग्दा पनि छाडिन।
स्थानीय एक निजी विद्यालयमा पढाउँथेँ मैले। उसले त्यही विद्यालयको प्लस टुमा पढाउँथी। आफै कमाउँदै पढ्ने अलमलमा मेरो पढाइ अलमलिएको थियो। उसलाई त्यसो गर्नु परेन। फटाफट अंग्रेजीमा मास्टर्स गरी उसले। म सानो कक्षामा पढाउँथें। उसले माथिल्लो कक्षामा पढाउँदा कता कता मनभित्र ग्लानी हुन्थ्यो। सकभर भेट नभए हुन्थ्यो भन्ने लाग्थ्यो मनमा। तर मनमा जे नहोस् भन्ने सोच्यो त्यही कुरा नै धेरै हुँदोरहेछ। बाल्यकालको साथी पनि भएकाले होला। हामी तँ तँ भनेर बोल्थ्यौं। मलाई अलि संकोच लाग्थ्यो तर पनि “तँ”भन्दा माथि उठ्न सकिनँ।
मास्टर्स गर्नुको कुनै पनि अहम् थिएन उसँग। हिजो बालापनमा जुन खालको माया थियो त्यस्तै माया गर्थी मलाई। कहिलेकाहीँ उसको र मेरो करिअरको उचाइ मापन गर्दा मलाई आत्मग्लानी महसुस गर्थें।
'तिमी मभन्दा कैयौ उच्च स्थानमा छौ तर पनि किन मलाई माया गरिरहन्छौ?'
'यस्तो पढेको मान्छेले पनि किन नबुझेको होला मायाको उचाइका सामु अरू उचाइको कुनै पनि स्थान हुँदैन' यति भन्दै उसले एन्टोन चेखबको अवाउट लभ स्टोरी सुनाउँथी। एकअर्कालाई उच्च आदर गर्ने कतिपय कुरामा औपचारिक जस्तो थियो हाम्रो माया।
एकदिन अचानक म्यासेज आयो 'तिमी छिट्टै तल चोकको रेष्टुरेन्टमा आइहाल त' कुनै ठूलै संकट परे जसरी उसले हतार हतार भनी। म हतारिँदै पुगेँ। उसका केही साथीहरू पनि रहेछन्। कुनै उत्सव जिते जस्तो उसको अगाडि केक पनि थियो। जहाँ लेखिएको थियो 'congratulations on getting the Australian visa'। कस्तो गज्जब, लामो समयदेखिको सपना पूरा भएछ। विछोडका केही बाछिटाहरूले आँखा भिजाए पनि आफूले मन पराएको मान्छेको खुसीलाई प्राथमिकता दिएँ मैले। म धेरै रहर नपाल्ने मान्छे पनि थिएँ। रहर थोरै पाल्नु भनेको थोरै दुख्नु रहेछ। मलाई पनि आश्रित बनाएर लैजाने सबै साथीका सामुमा घोषणा गरी उसले। मैले खुसीको सभा नबिथोलियोस् भनेर घाँटी नेर आइसकेको जबाफ भित्रै पठाएँ।
उसले भिसा लागेसँगै कलेजमा अध्यापन गर्न छाडिदिई। केही तयारीका कारण मसँगको नियमित भेटघाट पनि बन्द गरी। बाहिर जतिसुकै आदर्श छाटे पनि भित्रभित्रै मेरो पनि मन दुखेकै थियो। उपचार गरिदिने मान्छे नै मन दुख्नुको कारण भएपछि कहाँ जानु? अन्ततः परिवारसँग विमानस्थलबाट बिदा भएर उसले नेपाल छाडी। सोचे 'ऊ कहाँ उड्न मन पराउने मान्छे, म सधैं गुड्ने मान्छे, आखिर एकदिन छुट्नु नै छ भनेर यही मौकामा छोडिहोला।'
मैले कसैसँग मन पोखिनँ। कसैसँग दु:ख साटिनँ। कसैसँग उसलाई धोकेबाज भनेर आनन्द लिइनँ। देश छाड्दा विमानस्थलमा परिवारसँग उसले खिचेको फोटो सामाजिक सञ्जालमा देखेर रातभर रूने बाहेक वियोगमा थप केही आँसुहरू पनि बगाइनँ। मेरो सोच्ने आफ्नै खालको पारा छ 'जीवनको पटकथामा एउटा मोडमा मात्रै संगत गर्नु भन्ने लेखेको रहेछ, नयाँ घुम्ती आएपछि सकियो त्यो मोड' यही पाराले मलाई जीवनमा धेरै कुरा गुमाउँदा पनि विन्दास बनाएको छ।
अस्ट्रेलिया पुगेको साता दिनपछि उसले उपस्थिति जनाई।
'के के काम पर्यो तिमीसँग लामो कुरा गर्नु थियो त्यही भएर यता आएर केही कुरा मिलाएर म्यासेज गरेको' म धेरै उत्साहित त भइनँ तर खुसी नरहन भने सकिनँ।
'तिमी पनि यतै आउने हो, मैले मिलाउँदै छु, हाम्रो बिहेको कागजात बनाउनुपर्छ' उसका कुरा मलाई खासै छुँदैनन् 'तिमी जुन टपिकमा कुरा गर्न भन्छौ म गर्न तयार छु तर यो विदेश जाने कुरा नगर मलाई, म कुनै हालतमा पनि देश छोडेर तिम्रा लागि विरानो देशमा जाँदिनँ, तिमीलाई आदर्श जस्तो लाग्छ भने यो मेरो जीवनको आदर्श नै हो।'
'महिनाको केही हजार जागिर बाहेक तिम्रो त्यहाँ के छ र?'
'मेरो यहाँ सबथोक छ बरु तिमी भन पैसाको मुठो बाहेक तिम्रो त्यहाँ के छ र?'
उसले परिस्थितिलाई सहज बनाउँदै भन्थी 'तिमी नै यहाँ नभएपछि जो भए पनि मेरो लागि के भयो र?'
हरेक दिन उपन्यास लेख्न मिल्ने गरी हाम्रा संवादहरू हुन्थे। तर ती सधैं निष्कर्षविहीन हुन्थे। मैले जाने नमान्ने, उनले बोलाउन नछाड्ने।
मलाई जीवनको मेलो सार्न परिवारबाट निकै करकाप थियो। मैले कहिल्यै मन गरिनँ। उसले पनि गरिनँ।
यो अन्तिम वाक्य हो भन्दै उसले अन्तिम पटक म्यासेज गरी 'तिम्रो हठले तिम्रो जिन्दगी बनोस्, अब मैले पनि नयाँ बाटो हिँड्नु पर्छ होला, तिमीले नेपालको अहिलेको परिस्थितिलाई हल्का रूपमा लिएका छौ, तर हेर मान्छे विदेश जाने कुरा मात्रै होइन एकदिन यो देशै विदेश जान्छ त्यो दिन तिमी के गर्छाै?'
मसँग पनि केही जबाफ थियो। तर मान्छेको मन दुखेको बेलामा थप नदुखाउनु भन्ने लाग्छ। मैले केही नलेखेपछि उसले बिहेको कार्ड पठाई।
'हरेक महिलाका लागि बिहेको दिन सबैभन्दा खुसीको हुन्छ मेरो लागि दु:खको दिन हुने भयो, साँच्चै माया गर्दा धेरै कुरा सोच्नुपर्दो रहेछ, तिम्रो जस्तो स्वभाव भएको मान्छे मेरा लागि योग्य नै रहेनछौ' उसले के के लेखी के के मैले पढ्दै गएँ। खासै कुनै कुराले छोएन, मेरो कानमा एउटै शब्द गुन्जिरहेको थियो 'एकदिन यो देशै विदेश भयो भने...'