बजारमा यत्रतत्र छरिएका छन्
कतै हिँडेका छन् त
कतै जबरजस्ती घिसारिएका छन्
कोही सुट बुटमा कसिएका छन्
कसैको खाली खुट्टा जमिनमा धसिएको छ
सधैँ सधैँ जस्तै आज पनि उनीहरू हतारमा छन्
युरोप अमेरिका असफल हुनेहरू
अलिकति नेपालमा छन्
बाँकी कोही दुबई अनि कोही कतारमा छन्
केही पाउन, केही जोड्न हतारिएका छन्
हेर! बजारभरि बाध्यताको रमिता छ
ऊ तिनै हुन्, हाँस्न बिर्सेका मान्छे!
समाज र पारिवारिक बोझले थिचिएको छ
यत्रतत्र भौँतारिएको छ
लालाबाला र आफ्नै हात मुख जोड्न पनि
उज्यालो भविष्य बनाउने अभिलाषामा
कोही जा अनि गिरको परिबन्धमा भासिएको छ
संसारका धेरै देश मानसपटलमा सजाएको छ
खुसी र हाँसो खोज्ने पसल चहार्दै
संसार डुलेको छ ऊ
एक चिम्टी हाँसोका लागि पलपल
लालाबाला, परिवार, समाज र देश भुलेको छ ऊ
धेरै डर बोकेर कसैको ‘आजभोलि के गर्दै हो त?’
भन्ने प्रश्नमा रातो पिरो भएर लजाएको छ ऊ
बाध्यताले एउटा खुट्टा ठुलो जहाजमा चढाएको छ
देश प्रेमको हुटहुटीले, यो माटोको मायाले
अर्को खुट्टा बोझ मानेर विमानस्थलमै थमाएको छ
लाखौँ युवाको प्रतिनिधित्व गर्ने
विक्षिप्त मन लिएर एक टक उभिएको
हो त्यही हो, हाँस्न बिर्सेको मान्छे!
जति हाँस्नु थियो ऊ बाल्यकालमै हाँस्यो
घट्यो... कलेज जीवनमा अलि थोरै हाँस्यो
जागिरको खोजीमा भौँतारिन थाल्यो
र बिस्तारै हाँस्न बिर्सियो
बैंकको डिपोजिट जस्तै हाँसो पनि
सकिँदै जान्छ भन्ने जानेको भए
सायद उसले अरू सञ्चित गर्दो हो हाँसो
पैसा सञ्चित गरे जस्तै
अरू धेरै बैंकहरूमा खाता खोल्दो हो
हाँसो डिपोजिट गर्ने भनेर
बुढेसकालको हिसाब गनेर
कस्तो हँसमुख, कस्तो ह्यान्डसम
कस्तो रसिलो, हँसिलो मान्छेबाट
आज उसको अर्को नामकरण भएको छ
नयाँ परिचय पाएको छ
ठुस्स परेको मान्छे, रिसाएको मान्छे
अनि अनुहार सधैँ
मकै पड्काउने हाँडी जस्तै
अँध्यारो बनाउने
फगत हाँस्न बिर्सेको मान्छे!