असारको महिना थियो, बादल आकाशसँग रिसाएझैँ कहिले निलो त कहिले कालो हुँदै आफ्नो रङ बद्लँदै थियो। छेउमा गएका एक झुन्ड गत रात बार्सा र रियल मेड्रिड बिच भएको खेलमा आफ्नो तर्क छाँट्दै थिए। कोही मेस्सीले पेनाल्टी मिस गरेकोमा रमाइरहेका सुनिन्थ्यो त कोही यति निराश थिए कि मानौँ मेस्सीको पेनाल्टीमा उसले १० वर्षको जेल सजाय भोग्ने निश्चित भइसकेको छ।
छेउमा रहेको अर्को झुन्ड आफ्नै तालमा कछुवा जसरी पाइला चलेको आवाज कानमा पसेको भान भइरहेको थियो। म भने आफ्ना खुट्टालाई बानेश्वर तिर गति दिइरहेको थिएँ।
म काठमाडौँ आएको त्यो दोस्रो सातो थियो। यसअघि साइँला बा बिरामी हुँदा बासँग काठमाडौँ आएको थिएँ। मलाई काठमाडौँ मेरो सपनाको सहर थियो। जहाँ म आफ्नो सरकारी जागिरे बन्ने सपनाको विसर्जन गर्न आएको थिएँ।
बाले एक हाते गाई बेचेर दिएको ३० हजार पैसा र दिमागमा शाखा अधिकृत बन्ने सपनासहित म मझेरी यातायातबाट झरेर पहिलो पाइला चाल्दा लागेको थियो यो सहर मेरै लागि बनेको हो। यहाँका हरेक भित्तामा लोक सेवा कक्षा भनी चम्किलो अक्षरको पोस्टर मेरो लागि छापिएको हो। पुस्तक पसलमा रहेको लोक सेवाको प्रत्येक पुस्तक मेरै लागि बिक्रीमा छन्। बानेश्वरको इन्स्टिच्युट मेरै आगमनको प्रतीक्षामा दैलो शृंगारेर बसेको छ। सारा काठमाडौँ बासी एउटै नाम सुन्न चाहन्छन्; दीक्षा शर्मा, शाखा अधिकृत।
आज चार वर्ष बितिसकेछ। देखेको सपना उहीँ छ तर अब सपनासँग केही पश्चात्ताप नि काँधमा बोकेको छु। इन्स्टिच्युट धाउने म कन्सल्टेन्सी नधाएकोमा पछुतो मान्छु। ऊबेला साथीभाइलाई 'विदेश पनि जाने हो नेपाली भएर! म त देश प्रेमी मान्छे, बौद्धिक मान्छे विदेश जाँदिनँ। नेपालमै केही गर्छु' भनेको नि झलझली सम्झिन्छु ।अहिले मिल्थ्यो भने विगतमा गई त्यो शब्द फिर्ता लिन्थेँ।
साथी भाइले मुखले भन्न नसके नि मनमा भन्दा हुन्- बल्ल खाइस्, मैले भनेकै हो नि विदेश जाऊँ भनेर।
ऊबेला अस्ट्रेलिया, अमेरिकाबाट राम्रा केटाहरूको कुरा आउँदा अधिकृत भएपछि मात्र बिहे गर्छु भन्दै धेरैको प्रस्ताव अस्वीकार गरियो। अहिले उमेर बढ्यो तर अधिकृत हुन सकिनँ। सँगैका साथीहरू कोही पिआर वालासँग विवाह गरेर गए, कोही आफै अस्ट्रेलिया गए ,कोही क्यानडा। अहिले उसको परिवार कार चढ्दा म अनामनगरमा संयुक्त यातायात चढ्छु। अनि मनमनै आफूलाई धिक्कार्छु।
घरको एक्ली र जेठी छोरी हुनुको जिम्मेवारी अनि जीवनमा केही गर्न नसक्नु बोझ काँधमा बोकेर अनामनगरको गल्ली हिँड्दा प्रत्येक पाइलाले मलाई गिज्याइरहेको झैँ लाग्छ। हिजो राती मात्र बाले फोन गर्दा 'यतै आइज छोरी, यतै केही गर्लिस्' भनेको सम्झिएँ। के गर्ने त आखिर? व्यापार गरौँ बैंकमा पैसा छैन। निजी क्षेत्रमा काम गरौँ ठाउँमा मान्छे छैन। कृषि गरौँ यति पढेर खेतमा काम गर्ने भन्ने आफन्तको शब्द। बिहे गरौँ जागिर नगरी बिहे नगर्ने अहङ्कार।
एक दिन अनामनगरमा मःम खाँदै गर्दा पसले दाइले प्रश्न गर्नुभयो- 'बहिनीलाई चार वर्षदेखि यही गल्लीमा झोला बोकेर हिँडेको मात्र देख्छु, कता काम गर्नु हुन्छ?'
मैले भनेँ, 'हैन, म पढ्दै छु।'
केही समयको वार्तालापपछि उताबाट जवाफ आयो, 'चार वर्षदेखि पढ्दा नि नाम निस्केन छ। अब बरु बिहे गरेर घरजम गर बहिनी।'
दाइको कुराले २/३ दिनसम्म मनमा बिझिरह्यो। आजभोलि यस्तै प्रश्नबाट आफूलाई सकेसम्म टाढा राख्न कोही चिनेको मान्छे भेटिहालेँ पनि मुख लुकाएर हिँड्छु। त्यो पसलमा नजाने कसम त त्यही दिन गरेको थिएँ।
अब त आमा बालाई सरकारी जागिर खाएर मात्र घर फर्कन्छु भन्दा नि केपी बाले नेपालले रेल चलाउने कुरा झैँ लाग्दो हो। त्यही पनि उहीँ पारामा आश्वासन दिन मैले छोडेको छैन; बा-आमालाई छिट्टै नयाँ घर बनाउने, सुखै सुखमा पाल्ने, माथिल्लो घरे काकासँग लिएको ऋण तिर्ने अनि फुपूले लगाएको वचनको जवाफ दिने।
कुनै समयमा प्रेममा रहेको भूपू प्रेमीले पनि सुब्बा बिहे गरेको खबर साथीले सुनाएपछि मन खिन्न पार्दै उसको प्रोफाइल खोलेर हेरेँ। निकै राम्रीसँग बिहे गरेछ। कुनै समय तिमीलाई छोडेर बाँच्न नसक्ने, छाडे तुरुन्तै मरिहाल्ने र अरू कोही केटी बिहे नगर्ने वचनलाई सम्झिएँ। जात नमिलेको र घरमा नभित्र्याउने भएपछि एक वर्षको प्रेम सम्बन्धलाई टुङ्ग्याएर गएको ६ महिनामै ऊ अधिकृत भयो। उसले आफ्नी सुब्बा श्रीमतीको लागि एउटै सहारा तिम्रै मायाको गानामा फोटो पोस्टाउँदा म भनेको उसको यादमा अर्जित सिंहको गाना सुन्दै बसिरहेको छु।
त्यो बेला खुब सिनेमा हेर्न रहर गर्ने म अहिले आफ्नै जिन्दगीले चलचित्र देखाइरहेको छ अनि कलकार बन्ने अवसर पनि दिइरहेको छ। भित्रबाट हारे पनि बाहिर संसार जितेझैँ हाँसेर हिँड्ने चरित्रको। मिल्थ्यो भने आफैलाई एउटा ओस्कर पुरस्कारले सम्मानित गर्ने थिएँ।
आजभोलि ऐना हेर्दा आफूलाई भन्ने गर्छु- केही छैन, जीवन हो। मेरो नि समय आउला। मेरो नि सपना सजिएला। मेरो घरको भित्ता पनि पक्की होलान्। मेरो आमाले मलाई पढाउन बेचेको तिलहरी फेरि लाउलिन् अनि बालाई नि किनिदिउँला नयाँ कमिज-सुरुवाल, त्यो पनि आफ्नो कमाइको। अनि आफन्तले मेरो बाको नाम लिँदै भन्लान्- 'छोरी पाएर सुख पायो।'