पिछडिएको वर्ग भनेर समाजले अलग्याएको एक बस्तीमा
एक धनाढ्य कहलाइएको व्यक्तिको प्रवेश भयो
केही बेरमै एउटा भिड जम्मा गरेर उक्त धनाढ्य व्यक्तिले 
‘पैसा सबै थोक होइन’ भनेर भाषणका क्रममा यस्तै कुरा हाँक्दै थियो।
त्यही बस्तीमा म एक सानी फुच्ची केटी मिसिन आइपुगेँ
उनका भाषणका केही बात सुनेपछि 
यता यो सानो मस्तिष्कलाई खुलेर प्रतिवाद गर्न मन लाग्यो।  
यदि मलाई कसैले संसारमा सबैभन्दा ठुलो के? 
भनेर प्रश्न गर्यो भने  
गरिबीको मारमा हुर्केको 
यो मस्तिष्कले सकेको बल लगाएर भनिदिनेछ ‘पैसा’। 
कसैले यो सानो मस्तिष्कलाई ‘किन’ भनेर प्रतिप्रश्न तेर्सायो भने 
म आँट गरेर भनिदिनेछु  
‘मलाई ऊ आफै शक्तिशाली म नै हुँ भनेर प्रमाण दिएर गएको छ।’
प्रमाण के छ भनेर फेरि कसैले ठुलो स्वर गर्यो भने 
म चिच्याएर भन्दिनेछु 
‘त्यो त्यही पैसा हो जसले मेरो बृहत् सपनालाई किनेको छ  
मेरा साना-साना चाहनालाई महँगो बनाएको छ  
मेरा बुबाका धारिला बोलीलाई बजारमा नबिक्ने बनाएको छ  
त्यो पैसा त्यही हो जसले मेरो पढाइ अगाडि बढेको ईर्ष्याले होला  
विद्यालय प्रशासनलाई परीक्षाबाट मलाई रोकाउन बाध्य बनाएको छ  
मेरी आमा कहिँकतै बाहिर निस्कन लाग्दा 
उहीँ अलिकति चानचुन पैसा कैयौँ पल्ट गन्न बाध्य बनाएको छ।
त्यो त्यही पैसा हो 
जसले मेरा आफन्तलाई मसँग 
दुई वचन बोल्न मन नगर्ने बनाएको छ
त्यही पैसा जसले मेरो आफन्त भनिने व्यक्तिहरूलाई 
मेरो परिवारबाट अलग्याएको छ 
मिहिनेत गरेर कहिले नथाकेका मेरा बा-आमालाई पनि 
ऋणी बनाएर थाक्ने बनाएको छ 
मैले आफ्ना भनेर मनदेखि मानेका साथीभाइलाई एक नजर देख्दा 
बाटो फेर्ने बनाएको छ।
यति सबै बताइसक्दा पनि 
अझै पैसा सबै थोक होइन भन्नेमा नै अडान छ भने 
यी प्रतिवादहरू बिना अर्थका भए भनेर यो सानो मस्तिष्कले मान्नेछ 
तिम्रा लागि पैसा सबै थोक नहोला 
तर मेरा लागि पैसा सबै थोक नभए पनि 
धेरै थोक भने पक्कै हो।