व्यंग्य
सुन्दै छु, फेरि पनि सरकार फेरिँदै छ रे!
हल्लाहरू हुन् — गाउँ, सहर, सडक, गल्ली, चोक, चौतारी, धारा, पँधेरा जतासुकै सुस्त सुस्त फैलिहाल्छन्। बतासले सुसाउँदै सुनाउँछ। पातहरूले सर्सराउँदै सुनाउँछन्। चराहरूले गीत गाउँदै सुनाउँछन्। खोलाहरूले कलकलाउँदै सुनाउँछन्। इन्द्रेणीहरूले रङ्गीन दर्पण देखाएर सुनाउँछन्। ताराहरू नाच्दै नाच्दै भुइँमा झरेरै सुनाउँछन्। हल्ला हो, जति बिर्को टम्म लगाएर थुन्न खोजे पनि फुत्किहाल्छ कता कताबाट।
यस्तै एउटा हल्ला फुत्किएको छ, फेरि पनि सरकार फेरिँदै छ रे।
न घाम, न पानी। न माटो, न मल। टुस्स टुसाउँछ, हलक्क हल्किन्छ हल्ला। हल्लामा धेरै रमाउँछ मानिस। हल्लाले सत्यलाई धीमा बनाइदिन्छ, शिथिल पारिदिन्छ। हल्ला चलुन्जेल सत्य मौन बसिरहन्छ। मानिस डराउने भनेकै सत्यसँग हो, त्यसैले ऊ हल्ला मन पराउँछ। हल्ला महाभारतको त्यो राजसभा हो, जहाँ सत्यको चीरहरण भैरहेको हुन्छ। हुरी चल्दा पिलपिल गर्दै दियो रोएको कसले सुन्छ?
मलाई हल्लाले एउटा हल्ला सुनायो— फेरि सरकार फेरिँदै छ रे ... !
कहिले सरकार ढल्छ, कहिले ढालिन्छ। कहिले सरकार गिर्छ, कहिले गिराइन्छ। कहिले सरकारको तख्ता पल्टिन्छ, कहिले पल्टाइन्छ। कहिले बहुमतले सरकार खुस्काउँछ, कहिले बहुमत आफै खुस्किन्छ। यस्तै हो, गणितका आधारभूत क्रियाहरूका बलमा उभिने सरकार — कहिले लड्छ, कहिले लडाइन्छ।
खबरकागतका अक्षरहरू चलमलाउन थालिसके। रेडियो र टेलिभिजनका समाचारहरूले हरफ फेर्न थालिसके। विज्ञहरूको विज्ञताले अड्कलबाजी गर्न थालिसक्यो — सरकार किन फेरिँदै छ? सफल भएर कि असफल भएर ? ईर्ष्याले कि आतुरीले ? रहरले कि चिन्ताले ? लोकमतले कि आफ्नै अभिमतले ? पश्चगमनले कि अग्रगमनले? आन्तरिक किचलो कि बाह्य हस्तक्षेपले ? सबैले हात्ती छाम्दै लख काट्न थालिसके।
हल्लाले मरूभूमिमा पानी उमार्छ।
अब के हुन्छ? पथबाट पाइला ‘डिरेल’ भैजाने हुन् कि ? सरकार फेरिँदैमा सप्तकका सात स्वर फेरिने त हैन। तै पनि, सबै जना खतरै खतरा देख्नेछन् अब। प्राप्ति, अप्राप्ति। लभ्य, अलभ्य। सबैतिर खतरा। आफ्नै हिँडाइ प्रतिगमनकारी भएर जीवनलाई अल्झाइदिने हो कि भन्ने खतरा। चोर औंला ठड्याएर खबरदारी गरिनेछन् — किमार्थ शिर उचाल्ने दुस्साहस नगर्नू। नत्र ... !
खै! यस्तै हुने त होला ? जतासुकै गाइँगुइँ हल्ला छ, फेरि पनि सरकार फेरिँदै छ रे।
सानो छँदा आकाश खस्न लागेको एउटा कथा पढेको थिएँ — लोककथा भन्ने हो कि दन्त्यकथा ? गाउँ सहर छोडेर भाग्ने कथा। अचेल जतासुकै कालो बादल मडारिएको भन्ने सुन्छु। के के जाति पो हो ? गुम्ने डर छ रे। ज्वालामुखी पड्केला, धर्ती नै पो फाट्लाजस्तो गर्छन्। ट्वाक्क कानमा त कसैले पारिदिएको होइन, केवल हल्लैहल्ला सुन्छु। लथालिङ्गका हल्ला सुन्छु, भताभुङ्गका हल्ला सुन्छु। अब जुर्मुराउने, पाइला टेक्ने, गोडा चाल्ने र अगाडि बढ्ने हल्ला सुन्छु। पत्याउनै पर्नेजस्ता हल्ला सुन्छु। नपत्याए पनि केही नबिग्रिने हल्ला सुन्छु।
औँसी र पूर्णेको के कुरा ? कृष्ण पक्ष वा शुक्ल पक्षको के कुरा ? बेला र साइतको के कुरा ? अचानक पोखरीको सतहमा मधुरा लहर उठेका छन्। पीपलका पात बिस्तारै हल्लिँदै छन्। झ्यालढोकाका कापहरूबाट भित्र खस्याक् खुसुक् गरेको सुनिँदै छ। जतासुकै कानेखुसी चल्दै छ — फेरि सरकार फेरिँदै छ रे ...!
बरु बतासको वेग छेकिएला, हल्लाको वेग छेकिन्न। विद्रोहको स्वर थुनिएला, हल्लाको स्वर थुनिन्न। जलेबीमा रस कसरी पस्यो, त्यो भन्न सकिएला। तर, हल्ला कसरी चुहियो, त्यो यकिन गर्न मुस्किल छ।
आफ्ना गोडा दोब्राएर अरूका गोडामा दगुर्छ हल्ला।
संसारमा मानव सिर्जित एकमात्र चिज, जो सर्वत्र व्याप्त छ भने त्यो हल्ला नै हो। यो चिरायु छ, युग युगान्तरसम्म बाँचिरहन्छ। हल्ला जहाँ जहाँ पुग्छ, त्यहाँ त्यहाँ सहस्र चल्ला बनाइहाल्छ। यसको वंश विस्तारवादी नीति पनि अति कुशल छ। वैज्ञानिकहरूले जान्दै जानेनन्। अन्तरीक्षमा जाँदा पहिलोचोटि हल्लालाई पठाउनु पर्ने, व्यर्थै लाइकालाई पठाए। अहिलेसम्म हल्लाको चन्द्रवर्षा भैसक्थ्यो पृथ्वीलोकमा ।
हल्ला चल्नलाई सल्लाह गर्नु पर्दैन, बैठक बस्नु पर्दैन, टिप्पणी उठाउनु पर्दैन, ‘प्रेस रिलिज’ गर्नु पर्दैन। हल्ला हो चलिहाल्छ।
अब फेरि अरू हल्ला चल्नेछन्। पारदर्शी हल्ला, अपारदर्शी हल्ला। रुचिका हल्ला, अरुचिका हल्ला। सम्मतिका हल्ला, विमतिका हल्ला। हुन्छ भन्नेका हल्ला, हुन्न भन्नेका हल्ला। परिजनका हल्ला, परजनका हल्ला। सुरका हल्ला, बेसुरका हल्ला। जयका हल्ला, पराजयका हल्ला। जिन्दावादका हल्ला, मुर्दावादका हल्ला। हल्लै हल्लाका हल्ला, सर्वत्र निरवताका हल्ला।
आफ्नै चाङले च्यापिएका फाइलहरू शक्तिवर्द्धक औषधी खाएझैं गरी, हनुमान चालीसा पढ्दै, पहरा फोरेर फुत्त बाहिर निस्किनेछन्। सरूवा चल्नेछ, बढुवा चल्नेछ। तोक र आदेशहरू चल्नेछन्। सदर र बदरका सिलसिलाहरू चल्नेछन्। चाँदीका द्वारबाट दर्शन, ढोग, दण्डवत् गरिने छन्। शक्तिपीठहरूमा घण्ट बज्नेछन्। धूप दीप नैवेद्यको पहिरो लाग्नेछ। नामसङ्कीर्तन चल्नेछ। सगुन र प्रसाद बाँडिनेछन्। बधाई लस्कर लागेर उभिने छ। अबिर र मालाको दोकान चल्नेछ। केही दिन पर्वमय हुनेछ वरिपरि।
सबैलाई लाग्छ अब फेरि पनि यस्तै त हुने होला?
मेलापातभरि चर्चा चल्यो — सरकार फेरिँदै छ रे !
एउटाले सोध्यो, ‘मलको भाउ घट्छ रे ?’
अर्कोले सोध्यो, ‘बैङ्कको ब्याज के हुन्छ रे?’
तेस्रोले सोध्यो, ‘अब सर्पले टोकेर मर्नु पर्दैन रे ?’
धानको समर्थन मूल्य बढ्छ रे? तरकारी कहाँ बेच्ने रे? जुम्लाको स्याउ युरोपको बजारमा पुग्छ रे? अब दूधको पैसा पाइन्छ रे? स्वास्थ्य चौकीमा डाक्टर आउने भए त? वृद्धभत्ता त काट्दैन नि ?
हल्लाले गाउँलाई पटक्कै छोएन।
पुराना जानेलाई पनि देशकै पीर, नयाँ आउनेलाई पनि देशकै पीर। पुरानालाई पनि जनताकै चासो, नयाँलाई पनि जनताकै चासो। पुरानालाई पनि जनताकै भरोसा, नयाँलाई पनि जनताकै भरोसा। तर, यी सबैथरि पीर, चासो र भरोसाको न साँध मिल्छ, न सिमाना। न टुप्पो मिल्छ, न फेद। धन्न देश पनि छ, जनता पनि छन् र त यिनका हल्ला सुनिदिने कानहरू छन्, पीर थापिदिने मनहरू छन्।
अब त देश बन्छ रे। खोइ कस्तो पो बन्छ रे। स्वीट्जरल्यान्डजस्तो। मैले स्वीट्जरल्यान्ड देखेको छैन। स्वर्गजस्तो। मैले स्वर्ग पनि देखेको छैन। अब त देश भव्य बन्छ रे। उसबेला पनि कागजभरि हल्ला गर्यौ। तिम्रा हल्ला न पढेर सकिन्थ्यो, न सुनेर सकिन्थ्यो। सपनाको चर्को ढ्वाङ् बजायौ। सपना आडिलो हुँदैन, छिनमै हजम भैहाल्छ।
सरकार त फेरिँदै पो छ रे ? अठे खला?
नातिको हात समाएर वृद्धभत्ता लिन गएझैं भोट हाल्न गएकी जुनु आमालाई के थाहा सरकार किन फेरिँदै छ? मकै पोल्दापोल्दै आगो निभाएर भोट खसाल्न दौडिएकी सुन्तली दिदीलाई के थाहा सरकार किन फेरिँदै छ? बारी जोत्दाजोत्दै गोरु फुकाएर भोट हाल्न हिँडेको चौधरी माइलोलाई के थाहा सरकार किन फेरिँदै छ ? पल्टनबाट छुट्टी मिलाएर चुनावको चाड मनाउन आएको लाहुरेलाई के थाहा सरकार किन फेरिँदै छ?
यो त अहम् महङ्खवको विषय हो, भित्री कुरा हो, राजनीति हो। सबै नीतिहरूमध्येको श्रेष्ठ नीति — राजनीति। सबैलाई सबैथोक कसरी थाहा हुन्छ?
हल्ला विज्ञापन एजेन्सीबिनाको विज्ञापन हो। आफै बन्छ, आफै चल्छ। अत्यन्त मीतव्ययी।
अलिकति सरकार फेरिने हल्ला के चल्छ, सूर्यले अयन फेरेझैं कति मान्छेलाई आफ्नो गति फेर्नुपर्ने हुन्छ। भागम्भाग, दौडादौड। नयाँ जुरेलीहरूको बथान देखिन्छ तब शिरमा फुर्का हल्लाउँदै। गाह्रो छ नि! सरकार फेरिँदा कतिको त गोलार्द्ध नै फेरिन्छ। लय फेरिन्छ, लवज फेरिन्छ। साइनो फेरिन्छ, गणितको क्रिया नै फेरिन्छ। घटाउ जोड हुन्छ, जोड घटाउ हुन्छ। बिचरा जनता !! दुईमा दुई जोडेर चार लेखिरहन्छ।
हल्ला एउटा रमणीय खेल हो। तासको बाजी मारेभन्दा पनि रमाइलो। हल्ला छिनभरको आनन्ददायक गफ हो, कानको मालिस। कुराहरूलाई किरिङमिरिङ परेका बुट्टा काटेर, फुर्काहरू झुन्ड्याइदिएर, पुतलीलाई झैं सिँगारपटार पारेर हल्ला गर्दा कम्ताको मजा पो हुन्छ र? हल्ला निष्पट्ट अँध्यारोमा एक्लो जुनकिरीको ज्योति हो। त्यसैको पछि लाग्नोस्, कहाँ पुगिने हो थाहा छैन।
न रङ छ, न आकार। न रूप छ, न प्रकार। यस्तो निर्गुण, निराकार हल्ला मुखदेखि मुखसम्म फैलिने एउटा सङ्क्रामक सन्देश हो, ‘सेकेन्ड ह्यान्ड’ समाचार, पूर्णतः बासी। वागद्वारबाट बागमती निस्केझैं, गौमुखीबाट झिम्रुक निस्केझैं, सैपालबाट सेती निस्केझैं, हल्ला कहाँबाट भुल्किन्छ, यसको मुहान कोही जान्दैन। हल्ला आफैसँग पूर्ण विश्वस्त हुँदैन। त्यसैले त सधैँ ‘रे’ मा गएर टुङ्गिन्छ। ‘रे’ मा ‘रे’ थपिएर ‘रे’ कै समुद्र बन्छ। तथापि हल्लाले नहल्लाउने हो भने पृथ्वी पनि जम्ने थियो।
फेरि सरकार फेरिन्छ रे ...! हल्ला लिएर खेतभरि सलह कीरा आए। खाडीबाट बाकसहरू आए। बैङ्कबाट लिलामीका पत्रहरू आए। बाआमाको औषधीको प्रेस्क्रिस्पसन आयो। स्कुलबाट फिको बिल आयो।
भूपि दाइ, तपाईं त जानुभयो। तपाईंका हल्लाहरू यतै सर्वत्र छोडिएका छन्। कुनै दिन सगरमाथाको सिरानमा मलेरिया फैलिन सक्छ। काठमाडौंका सडक गल्लीहरूमा यतिका पाइला छ्याप्छ्याप्ती देखिन सक्छन्। केचनाकलनमा हिमपहिरो जान सक्छ।
हल्लाका अधिपतिहरूलाई एउटा प्रश्न— यो हल्लाको रित्तो बादल कहिलेसम्म गर्जिन्छ? आफ्नै शरीरभित्र बसेर पनि यो मन किन शरणार्थीजस्तो छ? ज्यालादारीको यो जीवन कहिले दर्किन्छ?
अश्वत्थामा हत इति ! नरो वा कुंजरो वा !!
यस्तै हो भूपि दाइ, खासखुस खासखुस हल्ला सुन्दैछु — फेरि सरकार फेरिँदै पो छ रे ...!
इति!
(लेखक लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्।)