साउनमासे झरी, त्यसमाथि आज शनिबार फुर्सदमा पसे हुन्थ्यो भान्छातिर पनि। त्यसैले बरण्डाको कुर्सीमा चियाको चुस्की लिँदै मोबाइल चलाउन थालेँ।
म प्राय: फेसबुक र टिकटक हेर्छु, इन्स्टाग्राममा त्यत्ति बानी परेको छैन र पनि विदेशमा रहेकी छोरीले चलाउने हुँदा उसैले खोलिदिएको इन्स्टामा बेलाबेलामा आँखा गइरहन्छ। आज पनि सरर इन्स्टा हेर्दै थिएँ, छोरीले स्टोरीमा राखेको फोटोमा गएर नजर टक्क अडियो।
हुन त मलाई छोरीको जुनसुकै फोटोहरू एकपल्ट हेरेर चित्त बुझ्दै बुझ्दैन म उसको एउटै फोटो र भिडिओ पनि कैयौपल्ट हेरिरहन्छु। तर छोरीको आजको फोटो केही विशेष र फरक रहेको मैले अनुभव गरेँ।
उक्त फोटोमा छोरी कुनै क्याफेमा कफी पिउँदै थिई र ऊसँग एक जना केटा देखिन्छन्। म हत्तनपत्त उक्त फोटोलाई बुढी औंलाले रोकेर निकैबेर हेरिरहन्छु। आजको उक्त फोटो मेरा लागि रमाइलो र केही फरक थियो।
टिलिक्क टल्किएको ठूलो निधार, हल्का दाह्री जुंगा, गहुँ गोरो वर्णको उक्त केटासँग खै किन पहिलो फोटोले नै मलाई फरक, अनौठो र रोमाञ्चित बनायो। छोरीको अनुहारमा पनि छुट्टै प्रकारको खुसी झल्किरहेको भान भयो। किनकिन मेरो मुटुको धड्कन बढेर आयो, मेरा हातका औंलाहरू नजानिँदा हिसाबले काँपिरहेका थिए।
मलाई के गरूँ, के गरूँ जस्तो भयो। मैले कहिले नजानेको, नदेखेको र नसुनेको मान्छे प्रतिको मेरो लोभलाग्दो र अनौठो हर्कत पक्कै पनि केही शुभ संकेत भएको महसुस गरेँ। तर एक्कासि के भयो मलाई? को थियो त्यो अन्जान मानिस? किन आफ्नो लाग्यो मलाई? मानौं उसलाई म वर्षौंदेखि देखिरहेकी छु, चिनिरहेकी छु। ऊ मेरो आफ्नै परिवारको सदस्य हो। ऊ छोरीको साथी मात्रै हो कि अझ त्यो भन्दा माथी! साँच्चै आजसम्म करियरमा फोकस रहेर दायाँबायाँ कतै केही नभएकी आत्मनिर्भर र आत्मविश्वासी मेरी छोरी पाउने मानिस पनि कम्ता भाग्यमानी हो त!
ओहो छोरीको बिहे त दिल खोलेरै गर्छु म त। साँच्चै बेहुली हुँदा मेरी छोरी कत्ति राम्री देखिएली, म मनमनै अनेक तर्कनामा डुब्न थालिसकेछुु। हैन मोबाइलमा एक्लै के हेरेर मस्किएको? म झसक्क भए र हत्तनपत्त मोबाइल लुकाएर केही पनि हैन भन्न नभ्याउँदै, हैन यी आइमाईहरूलाई चालीस कटेसी फेरि वैंश आउँछ भन्थे हो रछ श्रीमानज्यू बरबराउन थाल्नुभयो म भने भान्छा कोठातिर दौडिएँ।
अझै मनमा केके भैरहेको थियो। खाना पकाउन लागेको भान्छाका सरसामान दाल, मसला, तेल म बारबार खोजिरहन्थेँ। तरकारीमा सबै कुरा हालि कि हालिनँ म बेलाबेलामा झस्किरहन्थेँ।
मेरो भान्छा कोठा नै मलाई आज नौलो र अन्जान लागिरहेको थियो। छतबाट दर्किरहेको एकनासे पानीको आवाज पनि मलाई कुनै रमाइलो म्युजिकको धूनजस्तै प्रिय भयो। घरिघरि झ्यालबाट चिहाउँदै कुन्नि के पो हो निहालिरहेकी थिएँ। छिटो छिटो खाना पकाएँ। खै खाना पनि कस्तो भयो। अनौठो अनौठो तर केही रमाइलो महसुस भैरहेको थियो। मनमा एक किसिमको अन्जान व्यक्तिप्रतिको लगाव अनि कौतुहलताले गर्दा कत्तिखेर छोरीलाई फोन गरूँ झै लागिरहेको थियो। फोन गरिहाल्न पनि उताको यतिखेर मध्यरात थियो। मध्यरातमा फोन गरेर छोरीलाई के भन्नू!
यस्तै यस्तै बेचैनीमै दिन बित्न गाह्रो भैरहेको थियो। कत्तिखेर बेलुकीको ४ बज्ला र छोरीसँग कुरा गरूँझैं लाग्यो। आज खाना पनि के खाएँ, कति खाएँ थाहै भएन, दिनभरी भोक लागेजस्तो पनि महसुस भएन।
अनौठो अनौठो हर्कत मनमा आइरहेको थियो बीचबीचमा आफै देखेर आफै छक्क पर्दै थिएँ। हैन तँलाई के भइरहेको छ? म आफैलाई आफैसँग प्रश्न गर्दै सम्हालिने कोसिस गर्दै थिएँ। तर मन सम्हालिन र धैर्य गर्न मानिरहेको थिएन। एक दिन पनि मलाई एक हप्ताझैं भयो।
धैर्यताको सीमा यत्ति लामो भयो कि पौने ४ बजे नै छोरीलाई कल गरेँ। फूल घन्टी जाँदा पनि फोन उठेन। फेरि १० मिनेटपछि भिडिओ कल गरेँ। छोरी निन्द्रामा नै बोली-के भयो मम्मी, किन यत्ति बिहानै फोन गरेको?
म हतारमा धेरै कुरा सोध्न चाहन्थेँ तर के सोध्नेँ? ऊ क्या त छोरी .... म रोकिएँ।
'के मम्मी, के भनेको?'
'हैन छोरी त्यो के त्यो स्टोरीको फोटो...'
अब भने छोरी हाँसी र हल्का लजाएर भनी- ए मम्मी इन्स्टाको फोटो? ऊ मेरो साथी हो क्या...!
साथी?
म अझ अरू कुरा सुन्न हतारिएँ।
'अ..अ ऊ मेरो साथी हो मम्मी हामी धेरै अगाडिदेखिका साथी हौं।'
'तर छोरी तिम्रा साथीहरू त म धेरै चिन्छु त। उसको बारेमा त कहिले केही भनिनौ?,' म एकै सासमा बोलेँ।
ऊ फेरि उस्तै गरेर हाँसी, 'मम्मी उसलाई म पहिलैदेखि नै चिन्थेँ। उसले मलाई मन पराउने रहेछ तर मलाई थाहा थिएन। पछि उसले प्रपोज गर्यो, म पनि कता कता उसलाई मन पराउन थालिसकेको रहेछु हुन्न भन्नै सकिनँ सो....मैले केही गल्ती त गरिनँ? मलाई थाहा छ मम्मी मैले हजुरलाई एकपल्ट सोध्न पर्थ्यो तर माया यत्ति अन्धो हुँदो रहेछ मलाई दायाँबायाँ केही कुराको ध्यान नै गएन।'
सायद म यही कुरा सुन्न चाहिरहेकी थिएँ होला... लामो सास फेरेँ उसको बारेमा धेरै कुरा सोध्न मन त थियो तर छोरीलाई घुर्क्याउँदै भनेँ- 'अनि छोरी मेरो जीवनको हरेक कुरा सबैभन्दा पहिले हजुरलाई नै सेयर गर्छु भन्थेउ त? तर आज? जीवनको यत्ति ठूलो निर्णय गर्दा समेत....।'
म रोकिएँ। आँखाबाट बर्रर आँसु झरे। खै खुसीको थियो कि त्यो के थियो मलाई थाहा पत्तै भएन।
'सरी मम्मी मैले हजुरलाई भन्न खोजेको धेरै भैसकेको थियो तर मुखले भन्ने आँट नै आइरहेको थिएन,' ऊ रोक्किई।
म अलि सम्हालिँदै बोले, 'परिपक्व भएकी छौ, आत्मनिर्भर पनि छौ तिम्रो जीवनको निर्णय लिने अधिकार पनि तिमीलाई नै छ। आशा छ तिमीले गरेको निर्णय कहिल्यै गलत नहोस्' बोल्दाबोल्दै म रोकिएँ।
आखिर जवान उमेर पुगेकी छोरीले निर्धक्क साथ आफ्नो जीवन साथी रोज्न पाउने त्यो उसको अधिकार पनि थियो।
हामीलाई पनि एक परिपक्व केटोसित छोरीको बिहेवारी गरिदिन पाए ढुक्क हुने कुरामा सोचिरहेका थियौं। त्यसैले त उक्त फोटोको अन्जान मानिसलाई मेरो हृदयले हार्दिकताले स्वागत गर्यो।
म एकोहोरो के के कुरामा डुबेछु।
'हेल्लो मामु के भयो ? मलाई थाहा छ मेरो निर्णयमा हजुरको पूर्ण साथ रहन्छ' भनेर ऊ कापेको स्वरमा फेरि पनि उस्तै गरी बोली।
हुन त हामी आमा छोरी साथी साथी जस्तै छौं, हरेक कुरा सेयर गर्छौं तर छोरीकै अफयरको बारेमा निर्धक्क गफिन एकैचोटि न छोरी सकी, न म।
'ल ल छोरी ढोकाको वेल बज्यो कोही आए जस्तो छ फोन राखे है' भनेर फोन राखिदिएँ।
फोन राखिसकेपछि पनि त्यस अन्जान मानिसको तस्बिर मेरो आँखा वरिपरि नाचिरह्यो।
यसरी छोरीको ब्वाइफ्रेन्डको बारेमा छोरीसित म घन्टौं गफ गर्न थालेँ। तर बाबालाई यी सबै कुरा भन्ने कसरी, उहाँको प्रतिक्रिया कस्तो रहला, उहाँ अलि कडा स्वभावको भएर पनि हामी दुवै आमाछोरी डराएका थियौं।
तर हाम्रो कुराकानीबाट केही शंका गरेका हुन् कि भन्ने मलाई लागेको थियो। यदि केही गरी यसमा उहाँको पोजेटिभ रेस्पोन्स आएन भने भन्ने कुरामा हामीलाई एक किसिमको डर भने भइरहेको थियो। यस बीचमा विशालले पनि मलाई फोन गर्न थाल्यो जतिजति ऊसँग गफ गर्न थाले उत्तिउत्ति ऊप्रति म आकर्षित हुन थालेँ।
साँच्चै परिवार बाहेक पनि यत्ति धेरै मायाले कायल भएको थिएँ भने अहिले नै भएकी थिएँ। मलाई मेरो परिवार बाहेक कसैको यत्ति धेरै माया लाग्थ्यो भने त्यो ऊ नै थियो, उसलाई सम्झँदा समेत मात्र पनि मलाई एक किसिमको अनौठो खुसीले तरंगित बनाउँथ्यो। साँवाको भन्दा ब्याजको माया भनेको यही नै होला सायद।
जीवनमा सबैभन्दा मैले माया गर्ने मेरी प्यारी छोरीलाई माया गर्ने मान्छेलाई म कसरी पराया बनाउन सक्थेँ र!
म भगवानसँग पनि यी दुई जोडीको अनन्त सम्मको प्रेमको लागि सधैं प्रार्थना गर्न थालेँ।
केही समयको अन्तरालपछि छोरी नेपाल आउने भई र यसपालि एयरपोर्टमा छोरीसँगै विशेष मान्छेको पनि आगमन हुँदै थियो। यसैले पनि म दोब्बर उत्साहित थिएँ अनि नर्भस पनि।
निर्धारित समयमा नै छोरी हाँस्दै एयरपोर्टको गेटमा झुल्की म भने रातोपिरो भएर विशाललाई स्वागत गर्न हत्तारिएकी थिएँ।