खोज्दै छु म
हराएको आफू भित्रको मान्छेलाई
जीवनको गोरेटोमा
के गरूँ? कसो गरूँ? भनी
अल्झिएको आफू भित्रको मान्छेलाई
अनि अँध्यारो भविष्य देखेर
अलमलमा र रनभुल्लमा परेको आफू भित्रको मान्छेलाई।
खै कहाँ हरायो हरायो
ऊ आजभोलि मौन छ
निःशब्द छ
कतै पनि उसको नाम निशाना देखिँदैन
सधैँ हँसिलो अनुहार भएको मान्छे थियो ऊ
इमानदार थियो ऊ
खै! फेरि किन हो
एकाएक ऊ गुमनाम भयो
कता हरायो हरायो
मलाई केही समय अगाडि भन्दै थियो
मनको पीडाहरू सुनाउँदै थियो
यो स्वार्थी दुनियाँबाट आजित भइसकेँ साथी
म जसलाई मनदेखि चाहन्छु उनीहरूसँग झन् टाढिन्छु
मेरो नसिबमा यस्तै लेखिएको रहेछ
वास्तवमा यहाँ पैसामा आजभोलि
माया बिक्री हुँदो रहेछ।
त्यसैले त अब म आफ्नै बाटो लाग्छु साथी
गाउँमा मलाई कुर्दै बसेकी
मेरी बिरामी आमाको खातिर
केही गर्नु छ साथी
भन्दै मनको कुराहरू सुनाउँदै थियो।
अनि अचेल उसलाई
खोज्दै छु म
र सोच्दै छु म
कहाँ पुग्यो होला?
के गर्यो होला?
कस्तो साथीहरूको संगत गर्यो होला?
मनमा पिर पर्दा कसलाई
उसले सुनायो होला?
मनमा चोटपटक लाग्दा
त्यो मनको
घाउलाई सुमसुम्याएर एक्लै
कति विरहको आँसु झार्यो होला!
कति छटपटायो होला!
अझसम्म आफ्नो बिरामी आमाको खातिर
केही गर्न नसकेकोले
साँझ परेपछि सुत्ने बेलामा
कति आफ्नो आमालाई सम्झेर
सिरानीमा आँसु चुहायो होला!
जसलाई उसले मनदेखि चाहेको थियो
उसैबाट इन्कारको छुरा प्रहार हुँदा
उसको मनको पीडा सुनिदिने
कोही पनि नहुँदा
कति तड्पियो होला!
कति बेचैन भयो होला!
उसलाई नै सम्झेर
सुत्ने बेला सिरानीमा
कति आँसुको धारा बगायो होला!
तर मलाई नभनी
अचानक यसरी हरायो कि
अब ऊ कहिल्यै भेटिने छैन
म जब एक्लोपन महसुस गर्थेँ
तब सिर्फ उहीँसँग घण्टौँ बात मार्थेँ
उहीँ नै मेरो मनको कुरा
सुनिदिने र बुझिदिने एक मात्र प्रिय मान्छे थियो।
तर ऊ पनि
खोइ कता हरायो हरायो
मौन छ ऊ
गुमनाम छ ऊ
कतै देखा पर्दैन
खै! कता हरायो हरायो
बोलाउँदा पनि बोल्दैन
कसैले उसलाई भेट्नु भयो भने
बिन्ती, राम्रोसँग सम्झाइदिनु
दायाँ-बायाँ नलाग्नु भन्दिनू
कमलो हृदय छ उसको
उसलाई कसैले चोट नपुराइदिनू
र उसलाई घर फर्की जाऊ रे भन्दिनू।