भैगो! मलाई ठुलो अफर नआओस्
पद पाएर नाक फुलाउनु छैन मलाई
दुई थरी तरकारीका परिकार देखाएर
गाली खाएर अघाउनु छैन मलाई
म सिकारु कवि हुनमै ठिक छु
जानी नजानी कविता कोर्नमै ठिक छु
दुःख सुखका कविता बुन्छु
बरु गरिबका अन्तर आत्मा सुन्छु
महोदय गहन मनन होस्
निगाहमा बक्सिस नजाओस्
मलाई ठुलो अफर नआओस्।
बदनाम हुन मलाई
राजनीतिको टिके पद चाहिएको छैन
ठुलै कर्मचारी भए नि
कठपुतली बनिँदो रहेछ
खासै इज्जत र सम्मान पाइएको छैन
म कथाकार हुनमै ठिक छु
खुसी भए हाँस्छु, चोट परे रुन्छु
दुखेका मन पढ्छु, सके तिनै मन छुन्छु
भैगो मलाई राजनीतिको भूत नचढोस्
भैगो मलाई मेरो क्षमताले नभ्याउने
ठुलो अफर नआओस्
महोदय मनासिब मनन होस्
वरिष्ठ हजुरको वचन खेर नजाओस्
मलाई आकर्षक अफर नआओस्।
व्यस्तताको नाममा
अस्तव्यस्त हुनु छैन मलाई
बिना कसुर शक्तिका पेलाईमा
पेलिएर जग हँसाएर
घ्वा-घ्वा रुनु छैन मलाई
छ-छ महिनामा सरुवाको चिठीले
हात धुनु छैन मलाई
शृङ्गारिक गजलकार हुनमै ठिक छु म
जनताको वाही-वाही नपाउने
मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपति
केही बन्नु छैन मलाई
महोदय! जनताको लागि बाँच्ने नभएसम्म
यावत पदहरूबाटै टाढै रहन सकूँ
मलाई बिलकुल दोधारमा नपारियोस्
लोभको भकारी नजागोस् मेरो
विशुद्ध साहित्यकार भएर
देशले शिर झुकाउने त्यो अवसर नगुमोस्
भैगो मलाई मेरो औकातले नभ्याउने
ठुलो अफर नआओस्।