आश्रममा बुझाइएको निकै दिन भइसकेको थियो। तर पनि महिलाको व्यवहारमा कुनै सुधार आएको थिएन। उनी जसलाई देखे पनि झम्टिन जान्थिन्। जे पायो त्यसैले झट्टी हान्थिन्। सुन्नै नसकिने गाली गर्थिन्। सम्हाल्न ज्यादै मुश्किल हुन्थ्यो। साँझ इन्जेक्सन लगाएर लठ्याउनु पर्थ्यो। उनको सानो छोरा पनि सँगै थियो। ऊ आफ्नै आमासँग आतंकित थियो। साँझ उनको नजिक जान्थ्यो। घचघच्याउँथ्यो। तर, अचेत उनी, हलचलै गर्थिनन्। ऊ असहायभावले वरिपरि हेर्थ्यो र टिठ लाग्ने गरी रून थाल्थ्यो। रूँदा रूँदै निदाउँथ्यो।
हुन त करूणाका लागि यस्ता केसहरू नौला होइनन्। तर, यसपटक भने उनी पनि निकै दुःखी भएकी छन्। न रगतको नाता, न कुनै साइनो सम्बन्ध! र पनि ती महिला र बालकको चिन्ताले सताउन थालेको छ। सोचाइहरू अक्सर उनीहरूकै वरिपरि घुम्छन्। मन भारी बनाउँछन्। उनी आफैलाई प्रश्न गर्छिन्, ‘एउटी जवान आमा र निर्दोष बालकको यस्तो दुर्दशा कसले गरायो? के कारणले यस्तो मानसिक आघात भयो? के यी जीवनहरू अब फेरि स्वाभाविक लयमा फर्किन सक्छन्?’ आफैसँग निरूत्तरित हुन्छिन्। बालक लाचार भावले उनलाई हेर्छ। दुखेको मनमा झन् चोट थपिदिन्छ।
इन्जेक्सनले काम गरून्जेल महिला बेहोसजस्तै हुन्छिन्। आधा रातदेखि घरै उचाल्ने गरी चिच्याउन थाल्छिन्। केही दिनदेखि करूणा राम्रोसँग निदाउन पनि सकेकी छैनन्। गरौं त, के गरौं? नगरौं, यो विजोग हेरेर कति दिन बसौं ? उनी किंकर्तव्यविमूढ छिन्। खिन्नता महसुस गरेकी छन्। यसैबीच एकदिन अचम्मै भयो! उनले महिलालाई शान्त मुद्रामा बसिरहेको देखिन। विश्वासै लागेन। नजिकै गएर हेरिन्। त्यो मौन, उदास र भावहीन काया देखेर नमिठो पीडा भयो। बालक भने आमालाई सारसउदी देखेर फुरूंग पर्यो। उत्साहित भएर अंगालो हाल्यो। अनुहार सुमसुम्यायो। तर पनि उनको माया पाएन। फेरि कारूणिक भावले रून थाल्यो। त्यसपछि भने महिलाका आँखा रसाउँदै गए। उनले छोरो काखमा राखिन् र करूणालाई सोधिन्- म कहाँ छु? कसरी यहाँ आइपुगेँ?
प्रश्न स्वाभाविक तर आश्चर्यजनक थियो। के कारणले महिलामा रातारात यत्रो परिवर्तन आयो? हिजोसम्मको उदण्डता आज कसरी शालिनतामा बदलियो? बुझिनसक्नु थियो। प्रश्नको जबाफ त दिनै पर्थ्यो। केहीबेरको दुविधापछि उनले सत्य कुरा बताइन्।
‘बहिनी! यो मानव सेवा आश्रम हो। तपाईंलाई प्रहरीले यहाँ बुझाइदिएका हुन्। उनीहरू भन्थे, आधा रातको समयमा थियो। तपाईं मसानघाटमा बसेर कराउँदै हुनुहुन्थ्यो र बच्चा पनि अत्तालिँदै रूँदै थियो!’
महिलाको अनुहारमा पीडामिश्रित आश्चर्यभाव देखियो। बसेको ठाउँबाट जुरूक्क उठिन्। झ्यालबाट बाहिरतिर हेर्न थालिन्। बाहिर शिशिर ऋतु पूर्ण उदासीमा थियो। नाङ्गा रूखहरू लस्करै उभिएका थिए। पातहरू झरेर भुइँमा खंग्रङ्ग सुकेका थिए। उनले एउटा सकसपूर्ण निःश्वास लिइन्। छोरोले दुबै हातले उनको कम्मर समात्यो। तर, उनले हेर्दै हेरिनन्। टाउको मात्र सुमसुम्याइन् र आफ्ना आँसु पुछ्न थालिन्। करूणाको मनमा पनि गाँठो पर्यो। उनले मायालु भावमा सम्झाउँदै भनिन्।
‘बहिनी! थाहा छैन तपाईंको मनमा कति गहिरा चोटहरू होलान्। तर हेर्नुस्, समयले हरेक घाउ निको पार्छ। आफ्नो पीडाहरू गुम्स्याएर नराख्नुस्, नदीलाई बग्न दिनु पर्छ, थुनेर राख्यो भने त्यसले विनाश गर्छ। यो नाबालक कसरी बाँच्ला भन्ने चिन्ता लाग्दैन तपाईंलाई?’
उनले करूणातर्फ दुःखद् नजरले हेरिन्। फेरि अनन्ततिरै दृष्टि फिजाइन्। कुराकानी अगाडि बढेन। बोझिलो मौनता फैलियो। करूणा चिया बनाउन गइन्। फर्किंदा झन् अचम्मित भइन्! त्यतिबेला बालक महिलाको काखमा थियो। उनी स्नेहपूर्वक बालकको निधार मुसार्दै थिइन्। त्यो आतंकित शिशुले धेरैपछि पाएको वात्सल्य देखेर भावुक भइन्। आँसु पुछ्दै महिलालाई चिया दिइन् र उनका बारेमा विस्तारै सोध्न थालिन्। सुरूमा उनी बोल्दै बोलिनन्। निकै सम्झाएपछि बताउँदै गइन्।
***
‘स्नातक पढ्दा पढ्दै प्रेम विवाह गर्यौं। म माया शाहबाट चौधरी भएँ। लाग्थो, जिन्दगीको ठूलो सपना पूरा भएको छ। सोच्दथेँ, यो संसारमा मभन्दा भाग्यमानी अरू को होला र? बिहान सँगै पढ्न जान्थ्यौं, दिउँसो ऊ भन्सार (अफिस) जान्थ्यो। म बाटो हेरेर बस्थेँ। साँझ असिम उत्साह लिएर आउँथ्यो। हरेक दिन उत्सवमय हुन्थ्यो। समयै सृष्टिको सुन्दर फूल जस्तो छोरा जन्मियो। सुखद् दाम्पत्य जीवन अझै स्वप्निल भयो। रहरहरू मज्जाले फुल्दै गए। सपनाहरू उसैगरी झुल्दै गए ....’
‘अनि ... के भयो त बहिनी?’
एक दिन अचानक ऊ घर आएन। फोन पनि लागेन। सोचेँ, साथीहरूसँग कतै भुल्यो होला। दोस्रो दिन पनि ऊ नफर्केपछि म निकै डराएँ। साथीभाइ, इष्टमित्रहरू सबैतिर सोध खोज गरेँ। उसको अफिस पुगेँ। सहरका कुना काप्चा चहारें। कतैबाट केही खबर पाउन सकिनँ। म बिना बाँच्नै सक्दिनँ भन्ने मान्छे यत्रो दिन कहाँ भुलेको होला? म र यो फूलको थुङ्गा जस्तो छोरा छोडेर कहाँ गएर रमाउन सकेको होला र? सोचेँ, कतै उसलाई ....... मनमा अनिष्ट तर्कनाहरू आउँदै गए। पल पल आत्तिँदै थालेँ। यसैबीच एक दिन प्रहरी घरैमा आयो। ऊ लागुऔषधसहित पक्राउ परेको जानकारी गरायो।
‘अनि ...?’
‘दिमाग शून्य भयो। छोरालाई पिठ्यूँमा बोकेँ। प्रहरीकै गाडीमा बसेर गएँ। मलाई छलेर कसरी ऊ यस्तो कुलतको जिन्दगी बाँचिरहेको होला र? भन्ने पनि लाग्यो। असीम पीडा लिएर थानामा पुगेँ। ऊ हिरासत कक्षमा थियो। उसको मुर्झाएको अनुहार देखेँ। मुटुमा सियोले घोचे जस्तो पीडा भयो। नजिकै गएँ। उसले नजर झुकायो। केही बोल्न खोज्दै थियो, प्रहरीहरूले उसलाई गाडीमा हाले। त्यसैदिन अदालतमा पेस गरे। अदालतबाट एक लाख रुपैयाँ धरौटी माग भयो। मसँग त्यत्रो पैसा थिएन। ऊ कारागार चलान भयो। म लाचार भएँ। आफैले चुमेका ती हातहरूलाई हत्कडीले बाँधेको हेरिरहें।
कारागारभित्र छिर्नुअघि उसले निस्सहाय भावले हेर्यो। मेरो उत्साह, मेरो खुसी र मेरो भरोसा - सबै कुरा उही त थियो। तर, आज उसकै त्यो चरम निरिहता हेर्न सकिनँ। पीडाले मर्माहत भएँ। के भनौं? के नभनौं? भरोसा दिलाऊँ कि गाली गरौं उसलाई? सोच्नै सकिनँ। विकेकशून्य भएँ! हत्कडी लगाएकै हातले आँसु पुछ्यो। हेर्न सकिनँ। फरक्क फर्किएँ। मुटु फुटेजस्तै पीडा भयो। तन मन सबै गले। अनुहारको पसिना पुछेँ। सरासर कोठामा आएँ। ओछ्यानमा ढलेँ। छोरो एकैछिनमा निदायो। म उठेर चार तला माथि छतमा गएँ।
बाहिर चकमन्न अँध्यारो थियो। आकाशमा फाट्टफुट ताराहरू थिए। मनमा कुराहरू खेल्दै गए। मैले आँखा चिम्लेर गाँसेको दाम्पत्य सम्बन्ध, आफैले कुल्चेर हिँडेका बाआमाका सपना, समृद्ध भविश्य पर्खिरहेको छोराको बालापन र हिरासतमा उदाङ्गिएको जीवन साथीको मुहार सम्झेँ। कतिखेर उल्लासित भएँ, कति खेर पछुताएँ, कति खेर आफै दुखेँ, कति खेर दुखाएँ, कति खेर मोहको बन्धनले लाचार भएँ। आफूले बाँचेको पूरै जिन्दगीको फेरो मारेँ। जीवनका यति धेरै आयाम, यति धेरै विरोधाभाष बीच, आफैले आफैलाई खोजेँ। फगत भूमिकाहरू मात्रै देखेँ। आफूलाई कतै पनि देखिनँ। र, यो भम्रपूर्ण जीवन घिसार्नुको अर्थ भेटिनँ। सबै कुरा बिर्सें। बलियोसँग रेलिङ समाएँ। त्यहिबेला छोरो ‘मामु ,मामु’ भन्दै आयो। झल्याँस्स भएँ। छोरो समातेर रोएँ। मर्न सकिनँ। बाँचें।’
‘त्यसपछि?’
‘आखिर दुःख पर्दा सम्झिने बाआमा नै रहेछन्। उनीहरूलाई सम्झेँ। सम्झिँदै गएँ, एकातिर बाआमाले देखाएको बाटो, अर्कोतिर म आफैले रोजेर हिँडेको बाटो। बाटाहरूकै अन्तरविरोधमा फसेँ। मानसिक अन्तरद्वन्द्वले निदाउन सकिनँ। बिहान आमालाई फोन गरेँ। बिहे पछिको पहिलो फोन थियो। मन त पक्कै दुखेको हुँदो हो। तर पनि, आमाले कुनै गुनासो गरिनन्। अर्कोदिन नै भेट्न आइन्। धैरै पछिको भेट थियो। हामी दुबै जना भावविह्वल भयौं। म विस्तारै सम्हालिए र आफ्ना दुःख पोखेँ। त्यसपछि आमाले व्यथित भएर भनिन्।
‘म त आमा हुँ! मेरो के कुरा भयो र? तर, तेरो बाउले सारै चित्त दुखाएका छन्। एउटै छोरी थिई, जात फालेर हिँडी भन्छन्- त्यही पीरले गल्दै गएका छन्!’
म स्तब्ध भएँ। श्वासै अड्किएजस्तो भयो। क्षितिजबाट घाम ओरालो लाग्दै थियो, आमाले पोल्टोबाट रूमालको पोको झिकिन् र मेरो हातमा हाल्दै भनिन्।
‘...ला नानी! यो पैसा राख्। तेरो बिहे गरौंला, एक जोर सुनको राम्रो झुम्का लगाइदिउँला भनेर सोचेकी थिएँ। भाग्यमा नलेखे कुरा पाइँदो रहेनछ! अब यसैले ज्वाइँलाई जेलबाट निकाल् .... म तेरो बाउलाई सम्झाउँछु। उनी माने भने छिट्टै भित्र्याउने कुरा मिलाउँछु...’
‘आमा फर्किइन्। आँसु पुछ्दै पुछ्दै गइन्। मैले ओसिला नजरले हेरिरहेँ, उनी एकैछिनमा ओझेल परिन्। मलाई फेरि एक्लोपनले थिच्यो। उही चोट बल्झियो। तर, गुनासो गर्ने ठाउँ पाइनँ। किनभने म जहाँ पुगेकी थिएँ, त्यो मैले नै रोजेको बाटो थियो। लामो सुस्केरा लिएँ। ओछ्यानमा पल्टिएँ। छोरो दुध तान्दा तान्दै निदायो। तर मैले त्यो रात पनि छटपटीमै कटाएँ।’
‘भन्दै जानुस् बहिनी ...’
‘भोलिपल्ट धरौटी बुझाएँ। ऊ जेलबाट छुट्यो। बाटोमा खासै कुराकानी भएन। घरमा पुगेपछि ऊ सुतिहाल्यो। म अलमल्ल परेँ। बाहिर छतमा गएँ। सम्झनाहरू अटेसमटेस भए। सम्झिँदै गएँ, पाँच वर्षअघि होस्टल बस्दै पढ्ने गरी घर छोड्दै थिएँ। आमाका आँखा बिहानैदेखि रसिला थिए। उनले साइतको टिको लगाइदिइन्। मैले झोला बोकेँ। बालाई हेरेँ। उनले सुटुक्क आँसु पुछे र पुरानै रवाफिलो शैलीमा भने-
‘नानी! तिमी बझाङ्गे राजा खानदानकी एक्ली छोरी हौ। राम्रोसँग पढ्नू, नपुग्दो केही छैन, दु:ख नगर्नू। बाटो नबिराउनू। तिमी हाम्रो एक मात्र सपना हौ भन्ने नबिर्सिनू।’
बाका ती गहन शब्दहरू सम्झिएँ। आङ्ग सिरिङ्ग भयो। कोठाभित्र गएँ। मदन निन्द्रामै थियो। उभिएर हेरेँ। दुब्लो अनुहार, आँखाका वरिपरि काला घेरा, गालाका तिखा हड्डी! केही दिनको जेल बसाइँमै ऊ खर्ल्याम खुर्लुम दुब्लाएछ। मन अमिलो भयो। सुस्तरी बोलाएँ। ऊ आँखा मिच्दै उठ्यो र , विनम्रताका साथ भन्यो।
‘मलाई आमाको त अनुहार पनि याद छैन तर .. आमा पनि तिमी जस्तै थिइन् होला। श्रीमतीले मात्रै भए शायद यो परिस्थितिमा यति माया कसले गर्थे र!’
उसले आत्मसमर्पण गर्यो। म नौनी जस्तै पग्लिएँ। तर, उसको कुलतले निमोठेका मेरा सपना, नाबालक छोरा भविष्यप्रतिको उदासिनता र मेरो आफ्नै अन्धविश्वास सम्झेर म पीडाले रन्थनिएकी थिएँ। तर, ती अनुभूतिहरू सबै मनमै दबाएँ। कुनै गुनासो गरिनँ। राम्रोसँग खाना खायौं। सुत्न गयौं। उसले कुनै कुरामा पनि अभिरूचि राखेन। सुतिहाल्यो। निदाउना साथै उसलाई ऐंठन हुन सुरू भयो। रातभरी पटक पटक दोहोरियो। अचम्ममा परेँ। मनको घाउ दुखेकै थियो, त्यसपछि झन् कोतरिए जस्तै भयो।
भोलि पल्ट बिहान ऊ बैठक कोठामा थियो। मैले चिया टेबलमा राखिदिएँ। उसले मोबाइल फोन अन गर्यो। चिया पिउँदा पिउँदै घण्टी बज्न थाल्यो। ‘लाष्टमा’ ऊ बाहिर निस्क्यो। कुरा गर्दै तल झ्रर्यो। म खिन्न भएँ। आफैलाई प्रश्न गरें, ‘अझै पनि के लुकाउन खोज्दैछ ऊ?’ अनुमान गर्न सकिनँ। बेचैन भएर पर्खिरहेँ। निकैबेर पछि ऊ त आयो तर उसको अनुहारमा शान्ति थिएन। आतंक र हतासपन थियो। मैले विस्मित भावले हेरिरहेँ, उसले सफाइमा भन्यो।
‘सेवाग्राहीहरूका सामान भन्सारमा अड्किएका रहेछन्, गुनासो गर्दै थिए!’
विश्वास त लागेको थिएन। तै पनि थप केरकार गरिनँ। त्यसपछिका दिनहरू झन् जटिल हुँदै गए। केही दिनसम्म त लाग्यो, ऊ जेलकै ‘ह्याङ्गओभर’मा छ। तर त्यो ‘ह्याङ्गओभर’ उत्रिँदै उत्रेन। ऊ सधैं निराश हुन्थ्यो। छटपटिन्थ्यो। म कारण सोध्थेँ, ऊ टार्दै जान्थ्यो। डिप्रेसन भयो कि जस्तो पनि लाग्थ्यो। उपचार गरौं भन्थें। तर ऊ कुरै सुन्न चाहँदैन्थ्यो। अन्त्यमा मैले आत्महत्या गर्छु भनेँ, त्यसपछि बल्ल उसले कुरा खोल्यो।
‘सपनाहरूले पनि बाँच्नै दिँदा रहेनछन् माया! आफ्नै केही आधारहीन सपना, कुलत र महत्त्वाकांक्षाले मलाई अपराधको यस्तो दुनियाँमा पुर्यायो, जहाँबाट मैले फर्किनै बाटै पाइनँ। जेलबाट छिट्टै छुटेँ। त्यही कारण अपराधीहरूले मलाई प्रहरीको सुराकी ठान्दा रहेछन्। धम्की पटक पटक आइरहेको छ। अब मलाई जुनसुकै बेला मार्छन् माया!’
म स्तब्ध भएँ। जिन्दगी सिसाजस्तै फुट्यो। ऊ चरम निराशा लिएर कोठातिर लाग्यो। म भावशून्य भएँ। हात खुट्टा गले। थचक्क बसेँ। ऊ आफै मारिने कुरा गर्दैथियो! कुनै श्रीमतीले आफ्नै लोग्ने मारिने कुरा कुन मुटुले सुन्न सक्थी! मेरो ओठतालु सुक्यो। ‘अब मलाई जुनसुकै बेला मार्छन् माया!’ भन्ने उसका शब्दहरू मुटुमा बिझ्दै गए। खलखल पसिना छुट्यो। अब म के गरौं? डाँको छोडेर रोऊँ कि गुहार लगाऊँ? कता लगेर उसलाई लुकाऊँ? औडाहा भयो! दौडिएर उसकै कोठामा गएँ। ऊ रक्सी पिउँदै रहेछ। पहिला पिउँदैनथ्यो। अचम्म लाग्यो! तर केही भनिनँ। हेरिरहेँ। ऊ आफैले असजिलो मान्दै भन्यो।
‘ननिदाएको धेरै भयो माया! आज अलिकति पिउँछु ल! नशामै भए पनि एकरात त मृत्युको त्रास मुक्त भएर निदाउन सक्छु कि!’
फेरि पनि नि:शब्द भएँ। त्यो रात ऊ मज्जाले निदायो। तर, मैले झिमिक्क नगरी बिताएँ। अर्को दिन बिहान ऊ बाहिर जाँदै थियो। रोक्ने प्रयास गरेँ। तर, उसले मान्दै मानेन। जिद्दी गरेर निस्क्यो। तर, निकैबेरसम्म पनि ऊ फर्केर आएन। म अनिष्ट कल्पनाले विचलित हुँदै गए। अचानक ढ्वाङ्ग , ढ्वाङ्ग, ढ्वाङ्ग ... आवाज आयो। मेरो नौनाडी गल्यो। खंग्रङ्ग भए। छतबाट हेरेँ। ऊ ढोकैअगडि ढलिसकेको रहेछ। हत्तपत्त तल झरेँ। टाउको उठाएर काखमा राखेँ। ऊ अन्तिम छटपटीमा थियो। गोलीले छेडेको छातीमा हात राख्दै उसले भन्यो-
‘के बाँच्न दिन्थे र माया? .... मारेरै छाडे!’
मेरै काखमा उसको प्राण गयो। म चेतनाशून्य भएँ। त्यसपछि मलाई कसले कता लाग्यो थाहै पाइनँ। धेरैपछि होस खुलेजस्तो भयो। वरिपरि हेरेँ। म मोहना नदीको किनारमा थिएँ। छोरो काखमा निदाएको थियो। मदनको चिता खरानी भइसकेको थियो। मानिसहरू चिताको खरानी पखाल्दै थिए। अब मेरो मदन यो संसारमै छैन भन्ने सम्झेँ। मुटु चिरिएजस्तो लाग्यो। उसका अन्तिम शब्दहरू फेरि सम्झेँ।
‘मारेरै छाडे माया!’
असैह्य पीडा भयो। बेस्सरी चिच्याएँ। त्यो रात छिमेकीहरूले सान्त्वना दिँदै बसे। भोलिपल्ट म एक्लै भएँ। एकान्तमा मदनकै झझल्को आयो। विस्तारै चेतना गुमाएँ। मदनले नै इशारा गरेको भ्रान्तिमा परेँ। अर्कै संसारमा पुगेँ। मदन अघिअघि लाग्यो। म छोरा बोकेर पछिपछि लागेँ। कहाँ पुगेँ? के के गरेँ ? केही सम्झना छैन! आज यो ठाउँमा निन्द्राबाट ब्युँझेपछि छ्याङ्ग भएँ। तर, मदनलाई जलाएर फर्के पछिको के के भएको थियो सम्झिन सकिनँ। जिन्दगीको एउटा पाटो हराए जस्तो लागेको थियो। तपाईंले नै मसानघाटदेखि यहाँसम्मको कुरा बताइ दिनुभयो। अब सम्झिन बाँकी केही रहेन।
आँसु पुछ्दै मायाले भन्दै गइन्-
‘मलाई पागल ठान्नुभएको थियो होला! तर होइन, सीमातीत पीडा हुँदा मलाई यस्तै हुन्छ! केही दिनमा आफै ठिक हुन्छ। तपाईं सोध्दै हुनुहुन्थ्यो। सुन्नु भयो त? मेरा व्यथाहरू! हेर्नुस् त, उसका सपना, कुलत र महत्वाकांक्षाले म कसरी बर्बाद भएँ! यो जुनीमा अब कहाँ पाउछु मैले उसलाई? कसरी भरिन्छ यो जीवनको रिक्तता? अब मेरो जाने बाटो कहाँ छ? बाँच्ने आधार के छ? के मेरो प्रेमको नियति आँसु मात्रै हो?
करूणा नि:शब्द भइन्। आँसु पुछिन्। असीम वेदनाले माया घोप्टो परिन्। समय अत्यन्त भारी भयो। केही प्रहरीहरू पनि आए। साथमा एउटी महिला पनि आइन्। तिनले भावविह्वल हुँदै भनिन्।
‘ माया! मेरो छोरी! ज्वाइँ बितेको कुरा रेडियोबाट सुनें। त्यसपछि तिमीलाई कहाँ कहाँ खोजिन नानु।’
माया जुरूक्क उठिन्। आमालाई अंगालो हालेर डाँको छोडिन्। बालक पनि कंकलाशब्दले रूँदै थियो। करूणाले उसलाई सकिनसकी बोकेकी थिइन्। आकाशमा काला बादलहरू मडारिँदै थिए। प्रकृतिको चेहरा निकै धुम्मिएको थियो। लाग्थ्यो, आज प्रकृति पनि मायाकै वेदनाले मर्माहत छिन्।