अज्ञात लोकमा मेरो एउटा साथी छ, जो सदैव मसँगै हुन्छ।
सुख, दुःख, अभाव, रोग, प्रकोप, पीडा, आनन्द, शान्ति, अशान्ति जस्तो अवस्थामा भए पनि ऊ हरेक पल मसँगै हुन्छ।
मेरो साथ ऊ कहिल्यै छोड्दैन। यस्तो प्रिय साथीलाई मैले हिजोसम्म चिनेकै थिइनँ। भर्खर भर्खर परिचय हुँदा मैले उसलाई मूल्य दिन उपयुक्त ठानिनँ। भेट भयो कि ऊ मलाई अर्ती दिन थाल्थ्यो। अरूले दिएको अर्ती मलाई फिटिक्कै मन पर्दैन थियो।
मलाई सबै कुरा आउँछ जस्तो लाग्थ्यो अनि मलाई अरूको उपदेश स्वीकार्न मन पनि पर्दैन थियो। ऊ आफूलाई निकै जान्ने, बुझ्ने सम्झिन्थ्यो। मलाई उसको हस्तक्षेप सहज लाग्दैन थियो।
म भन्थेँ, ‘मलाई भौतिकतामा रमाउनु छ। मलाई सबैभन्दा उत्कृष्ट हुनुछ। आफै हारेर भए पनि मलाई संसार जित्नु छ। मलाई नम्बर एक हुनुछ।’
मैले यसो भनिरहँदा ऊ कानैमा आएर भन्थ्यो, ‘एनी! पहिले तँ आफूलाई जित, आफ्ना संवेगहरूलाई आफ्नो हिसाबले चलाउन सिक। तेरा संवेगहरू अनियन्त्रित नहून्। हरेक चुनौतीलाई शान्तिपूर्वक समाधान गर्ने कला सिक। तैँले आफूलाई जितिस् भने संसार त के, सारा ब्रह्माण्ड तेरो हातमा हुन्छ।’
उसका कुरा सुन्दा मलाई ऊदेखि झनक्क रिस उठ्थ्यो। सधैँ ऊ एउटै कुरा गर्थ्यो, ‘आन्तरिकताको यात्रा! आन्तरिकताको यात्रा!! भौतिकता र आन्तरिकताको सन्तुलित जीवन। योगको साधना, सन्तुष्टिको स्वाद, स्वाभिमानको पाठ, नैतिकताको अभ्यास, सद्भावनाको आरती, सहयोगको हात, शान्तिको अभ्यास। म बुझ्दिनँ उसका यी नचाहिने कुरा।
आजको युग प्रविधिको युग हो। आजको युग विज्ञानको युग हो। कसले देखेको छ आन्तरिक जगत्। भ्रम हो आन्तरिकता जे छ, यही जगतमा छ म उसलाई सम्झाउने असफल कोसिस गर्थेँ। ऊ पुनः त्यही कुरा दोहोर्याउँथ्यो।
म भन्थेँ, ‘आजको युग दौडको युग हो, जो कुद्न सक्छ, जो आफैलाई भुलेर अगाडि बढ्छ ऊ मात्र सफल हुन्छ। शान्ति त लाछीहरूको मागेर खाने भाँडो हो। सफलता, उन्नति र प्रगति नै शान्ति हो, आनन्द हो, शान्ति भन्ने विषय छुट्टै आउँदैन। तनाव नलिने त असफल मान्छे हो। जो जिम्मेवारीलाई काँधमा लिएर हिँड्छ चिन्ता, थकाइ, पीडा, अनिद्रा, उच्च रक्तचाप र तनाव त उसका गहना हुन्। जो बढी खट्छ, जो बढी मेहनत गर्छ ऊ आर्थिक रूपले समृद्ध हुन्छ। पैसाबिनाको सम्बन्ध अचेल खासै टिक्दैन। पैसा नै पावर हो। जोसँग ज्यादा पैसा हुन्छ, ऊ सफल हुन्छ। त्यसैले मेरो प्रिय साथी म तिमीले भनेको मान्दिनँ। मलाई त सगरमाथा चढ्नु छ, मेरो सफलताको। विश्व जित्न कुद्नु छ मैले अविश्रान्त। म मेरो प्रिय साथीको कुरालाई लत्याएर निरन्तर कुदिरहेँ।
म एक्लै एक्लै अतीतको संवादलाई स्मरण गर्न थालेकी छु। मेरो प्रिय साथीसँग वर्षौंदेखि यसरी नै वादविवाद गर्दै अगाडि बढेकी हुँ अनि प्राप्तिको अपूर्ण चाहनामा छिट्टै थाक्न थालेकी छु। भौतिक जगतमा अत्याधुनिक साधन र सुविधा मेरो वरिपरि हुँदा पनि मलाई तृप्ति मिल्दैन। कतै सन्तुष्टि छैन। भित्रभित्र म गल्दैछु। म खोक्रो हुँदैछु।
मैले प्राप्त गर्न नसकेको वस्तु आखिर के होला? यस्तो चिन्तन गर्दै विशाल पलङ्गमा पल्टिएकी छु। सिलिङ्गमा अद्भूत कला छ। ध्यानस्त पुरूषको मुहार देख्छु चित्रमा। बाघको छाला ओछ्याएको तपसीको मुहारमा अनन्त ऊर्जा छ। मलाई त्यो शान्त मुहारले आकर्षित गर्छ। निलो रङ पोतिएको सिलिङ्गमा मस्ताराम छन् तपसी म त्यहीँ हराउँछु। केहीबेर त शान्त हुन्छु तर पुनः मलाई छट्पटी हुन्छ। किन म खुसी छैन आखिर, मसँग के छैन ? पद, प्रतिष्ठा, मानसम्मान सम्पति टन्नै छ तर किन यो हृदय उदास छ? भौतिक रूपमा समृद्धशाली भएर पनि किन मेरो हृदय केही मागिरहन्छ ? किन म अधुरो,अपुरो छु। अब्बल भएर पनि किन पूर्ण हुन सकिनँ? म उत्कृष्ट भएर पनि किन उत्कृष्टमै बसिरहन सकिनँ। आखिर कस्तो सफलताको लागि म आजीवन दौडिएँ? किन उत्कृष्टता क्षणिक भयो? कस्तो सत्यको पछि हिँडेकी छु? आखिर मैले खोजेको सत्य के हो ? म के चाहन्छु मलाई नै थाहा छैन।
सीमाहीन सफलता र उत्कृष्टताको अर्थ खुट्याउन नसकेर म गल्छु, अनि अशान्त हुन्छु।
मेरो यो अवस्था देखेर मेरो आँखाबाट निद्रादेवी पनि रिसाएर बसाइँ सर्छिन्।
कैयौं रात म सुत्न सकेकी छैन। सुत्ने कोठाको नजिकै भएको ठूलो ऐनामा गएर म आफूलाई नियाल्छु। मैले मलाई चिन्न मुस्किल पर्छ। म देख्छु कुद्दाकुद्दै गल्दै गरेका मेरा बलिष्ट पिँडौला। पोटिला गालामा आउँदै गरेको चाउरीपन र कालो छाया। रिट्ठो जस्तो कालो कपालमा फैलिएको सेतो संसार। हड्डी छोडेर झोलिन लागेका पाखुरी। म विस्मित भएर टोलाउँछु।
मेरो प्रिय साथी पुनः म नजिकै आएर भन्छ, ‘मैले भनेको किन टेर्थिस् आन्तरिकता र भौतिकतालाई सन्तुलनमा राख्नु भनेको होइन? जीवनमा शान्ति भए सबै कुरा सम्भव छ। शान्त हृदय निर्माण गर्न परिश्रम गर्नुपर्छ। आइज हिँड् मैले तेरो साथ छोडेको छैन। तँलाई तेरो परिचय तैँसँग गराउँछु।’
मेरो प्रिय साथी मलाई आफैभित्रको यात्रा गराउँछ। म पुनः शङ्का गर्छु उसलाई। ऊ परम्परावादी छ, उसलाई के थाहा संसार कहाँ पुगिसक्यो। पृथ्वीभन्दा पनि परको सुनौलो संसार भेट्न आजको मानव दौडिएको छ। ऊ मानव हृदयभित्र बिराजमान शान्तिको पाठ रटाउन खोज्छ। हृदयको पुकार सुन्ने अभ्यास गर भन्छ। मलाई थाहा छ ऊ सदैव भलो चिताउँछ। ऊ मेरो वास्तविक सुख, शान्ति र आनन्दको कुरा गर्छ तर पनि मलाई पटक्कै मन पर्दैन उसका गन्थने कुरा। म त मनको वशमा छु।
मनले जे जे भन्छ त्यो सत्य ठान्छु। त्यसैले शरीर प्रौढ भए पनि म उड्न चाहन्छु। म अझ सफलताको शिखर चुम्न चाहन्छु। मलाई म हुनुको घमण्ड छ। मेरो बटारिएको मन पढेर पनि ऊ केही नभनी मेरो पछि लाग्छ। म हिँड्दा ऊ पनि सँगसँगै हिँड्छ। म बोल्दा, ऊ पनि बोल्छ, म बस्दा ऊ पनि थचक्क बस्छ तर म छक्क पर्छु, म निदाउँदा त ऊ जागा नै रहन्छ। ऊ मलाई सबैभन्दा बढी प्रेम गर्छ। सबैभन्दा बढी मेरो हेरचाह गर्छ, हो म उसको प्रेमले परिचित छु। हरेक दिशाबाट ऊ मलाई नियालिरहन्छ, मलाई म हुनुको बोध गराइरहन्छ। मभित्र ऊ आनन्दको वर्षात गराइरहन्छ। ऊ बिना म निष्प्राण हुन्छ। ऊ बिना म शिथिल हुन्छु। ऊ मेरो नसा नसामा दौडिन्छ।
मेरो मुटुको हरेक धड्कनमा धड्किन्छ। मेरो अङ्गअङ्गमा ऊ गतिशील छ। मलाई जीवित राखिरहन्छ। म उठ्दा ऊ दङ्ग पर्दै नजिकै आउँछ अनि म हाँस्छु ऊ पनि हाँस्छ। कहिले म रून्छु तर ऊ हाँस्छ। म रोएको उसलाई मनपर्दैन। त्यसैले ऊ मलाई बारम्बार हाँस्ने कला सिकाउँछ। प्रायः ऊ मलाई कथा सुनाउँछ। म निरास भएको बेला मलाई उत्साहले भरिएको कहानी सुनाउँछ। त्यस्तो कहानी जुन कहानी सुनेपछि मेरो जीवनप्रतिको धारणा बदलिन्छ। म रूँदा रूँदै हाँस्न थाल्छु। हाँस्दा हाँस्दै अशान्त भएको हृदय शान्त हुन्छ। मेरो तनाव थाहै नपाइ विलुप्त हुन्छ। मन, मस्तिष्क ऊर्जावान् हुन्छ। तर मेरो साथमा मेरो भलो चिताउने हितैषी हुँदाहुँदै पनि मेरो मन बरालिन्छ, भौँतारिन्छ र अशान्त बन्न पुग्छ।
ऊ मलाई सम्झाउँछ, ‘जीवन अमूल्य छ। जीवनका प्रत्येक पल बित्दैछ। हरेक सेकेण्डले सम्भावनाको सन्देश लिएर आएको हुन्छ। अनमोल छ तिम्रो समय। जाग, उठ समयलाई आदर गर। हृदयको आवाजलाई सुन्ने गर। तिमीलाई प्राप्त भएको समय पर्याप्त छ। तिमी आफूलाई शान्त राख्ने कोसिस गर। शान्तिमा नै सफलताको राज छ। जब हृदय शान्त हुन्छ, तब तिम्रो मन तिम्रो निर्देशनमा हिँड्न थाल्छ। आऊ हिँड् म तिमी भित्रै छु। आफूलाई नियाल म तिमी भित्रै तिमीलाई नौलो संसारको भ्रमण गराउँछु।
एक एक पललाई उत्साहमय बनाऊ। आन्तरिकताको मार्गमा खुसीको स्रोत छ। सन्तुष्टिले भरिएको समृद्धि छ। ऊ मलाई परको संसार देखाउँदैन ऊ मलाई स्वयंको यात्रा गर्न झकझक्याउँछ। विरोध होइन स्वीकार गर्न सिकाउँछ। सरल कुरालाई कठिन बनाएर बुझ्ने होइन, कठिन कुरालाई पनि सरल तरिकाले बुझ्न आग्रह गर्छ।
सरल मार्गमा कठिन भएर जड बन्दै बसेकी छु। त्यसैले मैले समातेको कठिनताको हाँगाले मलाई सरलताको मार्गमा जानै दिँदैन। कठोर भएर मैले समातेको हाँगो छुटाउन ऊ बारम्बार आउँछ। आफ्नै मनको युद्धभूमिमा म आन्दोलित हुन्छु, तर्क गर्छु अनि अशान्त हुन्छु ऊ लुसुक्क आएर मलाई स्वतन्त्रताको पाठ सिकाउँछ।
'वास्तविक स्वतन्त्रताको कठिनतालाई बलियोसँग समातेर सरलतालाई बेवास्ता गर्छौ, अनि तिमीलाई तनाव नभएर कसलाई हुन्छ त!' ऊ मलाई सिकाउँछ जीवन जिउने कला। ऊ मलाई पुर्याउँछ शान्तिको सागरमा। सन्तुलनको विज्ञानमा अभ्यस्त हुने दैनिकी।
ऊ भन्छ, ‘मनले तिमीलाई भ्रमित पार्छ। संसारले तिमीलाई नजिकैको स्वर्गबाट उडाएर पर लैजान्छ। हृदयको सुन्दर बोटबाट तछारेर निकै पर हुँत्याइदिन्छ। तिम्रो हृदयले खुसी होइन आनन्द चाहन्छ। मेरो साथी मलाई मन र ह्र्दयको अन्तर बारम्बार सम्झाउँछ। सन्तुष्टि हृदयको विषय हो, विश्वास हृदयको कुरा हो भन्छ।
मन शङ्काको मार्गमा दगुर्छ ऊ मलाई विश्वासी बन्न आग्रह गर्छ। संशयरहीत मार्गमा आनन्दले डोर्याउँछ। मेरो साथीको काम स्पष्टतातिर लिएर जानू हो। अन्धकारलाई नामेट पार्ने काम मात्र ऊ गर्दैन। मेरो साथीले मलाई अँध्यारोबाट उज्यालोतिर लैजान्छ। समस्या देखाउने मात्र होइन समस्या समाधान गरेर शान्तिको अनुभूत गराउँछ।
मैले प्राप्त भएको समयलाई सकारात्मक कार्यमा लगाउन अभिप्रेरित गर्छ। वादविवादबाट पर हटेर सद्भावको विज्ञानलाई अवलोकन गर्न सिकाउँछ। जीवन रूपी यात्राको शान्तमय बाटोमा पुर्याउँछ। परिवर्तन आवश्यक छ। परिवर्तन अवसर पनि हो, जीवनमा पनि धेरै उतारचढाव आउँछ। मेरो साथी मलाई अहिले प्राप्त भएको समयमा ध्यान लगाउन सिकाउँछ। आफ्नै अन्तर्यमा गुञ्जिएको अन्तरिक सङ्गीतलाई सुन्न अनुरोध गर्छ। जीवनको सुन्दर सङ्गीतलाई बुझेर सदैव प्रसन्न बस्न प्रेरित गर्छ।
परिस्थितिमा भन्दा मनस्थितिमा विश्वासिलो बन्न आग्रह गर्छ। जीवनको क्षणभङ्गुरतालाई बुझ्नुपर्ने कुरा गर्छ। आत्मविश्वास अटल राख्न अभिप्रेरित गर्छ। जतिसुकै तुफान आए पनि आन्तरिक रूपमा स्थिर बस्ने ज्ञान दिन्छ। मेरो साथी मलाई बारम्बार भन्छ, ‘जीवनको लयलाई जोगाएर राख्न सिक। जीवन जिउने कलामा पोख्त बन। जीवन उत्सव बन्छ।’
म मेरो साथीलाई बल्ल बुझ्न थालेकी छु।