पहाडी भूमि, डाँडा र काँडा, उकाली ओराली
हुस्सुले ढाक्यो पर्वत पाखा भन्ज्याङ द्यौराली
रातो छ माटो, चिप्लो छ बाटो, ढुंग्याने जमिन
दाउरा-घाँस गोठालो जान भया छ कठिन 
कन्दरा कान्ला चट्टाने भूमि भिरालो भूगोल
छत्तीस वर्ण निवास गर्ने ठिहिलो खगोल 
धुपी र सल्ला, मुनाल डाँफे, लेकाली गहना
कुहिरे घुम्टो ओढेर हाँस्ने पहाडी चाहना 
सिमसिमे पानी सिरेटो चिसो गुराँसे बनमा 
मनमा पाप कपट हुन्न पहाडे जनमा 
जन्मेर हुर्केँ, खेलेरै बढेँ पहाडी भेकमा
दैनिकी मेरो चहार्ने बन्यो बेसी र लेकमा
स्वर्गझैँ राम्रो छ घर मेरो खरले छाएको
पहाडी मन नेपाली तन भाग्यले पाएको 
बलेँसी छेउ मकैको थाङ्ग्रो पिँढीमा भकारी
मझेरी छेवै गाईको गोठ नजिकै जौ बारी 
करेसा भरी कुखुरा चल्ला रमाई चरेका
बाख्राका पाठा आँगनै ढाकी उफ्रिँदै खेलेका
इस्कुस, फर्सी, लहरे सिमी, छानोमा घिरौँला
नेपाल आमा, मायाको ऋण कसरी तिरौँला? 
तोरीको तेल केशमा घसी थाक्रोले कोरेर
लेकमा नाच्छु बेसीमा हाँस्छु दिल नै खोलेर
फूल बुट्टे गुन्यू, ढाकाको चोली लाएर रिमिक्क 
सिम्रिके गाला, चन्चले आँखा, मुहारै चिटिक्क 
जरुवा पानी भरेर ल्याएँ कुवामा पुगेर 
दैनिकी बित्छ चरन खर्क भन्ज्याङ डुलेर 
कानमा ढुङ्री नाकमा मुग्री लगाई मस्केर 
बैँसले होला सपना देख्दा ब्युँझन्छु झस्केर 
सहर सामु दुखिलो हुन्छ गाउँले जीवन
दुःखकै बिच फैलिन्छ खुसी ढाकेर गगन
चौरीको मोही तनतनी पिई आँत भो रञ्जन 
मकैको ढिँडो, सिस्नुको साग पहाडी व्यञ्जन 
पिसानी गर्छन् घट्ट र जाँतो कराई घरर 
कुटानी गर्छन् ओखली र ढिकी लगाई जाँगर 
थिचियो पेचा निस्कियो तेल पेलिई कोलमा 
गौँथली उड्यो गाउँदै गीत पहाडी बोलमा 
उमाली दूध ठेकीमा भरी घुमाई मदानी
मथेर दही निकाली नौनी बेचेर आम्दानी 
छरेर तोरी बारी नै भरी भित्र्याएँ फसल 
पेलेर तेल बेचेर गर्छु आम्दानी असल 
डालो र थुन्से भकारी, छाप्री बाँसले बनेका 
कोदालो, कुटो मच्चाई बाले जौ बारी खनेका 
कठुवा, हर्पे, टोलङ, ठेकी बर्तन काठका
बासिन्दा यहाँ बहुल धर्मी विविध जातका 
गुन्द्रुक, चाम्रे खेताले खाजा पहाडी चलन 
च्याब्रुङ बज्यो नौमती घन्क्यो नाच न बालन 
उफ्रियो धामी बजाई ढ्याङ्रो देहाती विश्वास
बालेर टुकी, दियालो, पुल्ठो पाउँछौँ प्रकाश
अलैँची, चिया, नास्पाती, छुर्पी पहाडी कोसेली 
मुर्चुङ्गा बज्यो पहाड हाँस्यो उफान सुसेली।