अक्षरले भरिएर सकिएका कापीका पाना देखाउँदै 
'कापी सकिएको छ बा, नयाँ कापी किन्न पैसा दिनुस् न' भन्दै पैसा माग्दा 
पसिनाका धारा पुछ्दै घरमा नुनको पोका सकिएको सम्झिँदै 
पुराना कापीका खातमा गएर 
केही पाना खाली भएका कापी झिक्दै 
'अहिले यसमा लेख्दै गर है, पर्सी किनिदिन्छु' भन्ने मेरा बा कन्जुस छन्।
साथीसँग 'म कतै घुम्न जाऊँ है' 
यति पैसा लाग्छ दिनुस् न भन्दै 
अनुमति सहित केही रकम माग्दा 
बैंकको ब्याज तिर्ने महिना सम्झिँदै गहभरि आँसु जम्मा गरेर 
'अहिले होइन पछि जाउली'
भनेर आश्वासनमा मलाई अडाउने मेरा बा कन्जुस छन्।
मलाइ मन पर्ने मिठाई खानलाई केही पैसा माग्दा 
भान्छा छिरेर पुरानो बट्टाबाट मकैको पिठो झिकेर 
त्यसमा थोरै चिनी मिसाएर पकाएको हलुवा दिँदै 
'यो खाऊ ल आज' भन्दै मन भुलाइदिने 
मेरा बा साँच्चै नै कति कन्जुस छन्।
नयाँ लुगा लगाउने रहर सुनाउँदा 
हल्का काँप्दै र फाटेको जुत्ता घिसार्दै 
मेरा कुरा नसुनेझैँ बारीको काममा अल्झेझैँ गर्न तम्सिने 
मेरा बा कति कन्जुस छन्।
सामान्य खोकी लागेका बेला औषधि ल्याइदिनुस् न भन्दा 
आमाको पाठेघरको समस्याको उपचार कसरी गर्ने भन्दै 
एक्लै बरबराएर बेसार र जिरा पानी पकाएर खोकी ठिक गराइदिने 
मेरा बा छ्या कति कन्जुस।
स्कुल जाँदा खुट्टा दुख्यो गाडीमा लगिदिनुस् न भन्दा 
प्वाल परेको गोजी छाम्दै दुई घण्टाको बाटो 
आफ्नै काँधमा बोकेर स्कुलमा पुर्याइदिने
मेरा बा अति नै कन्जुस छन्।
आज त मासु खानै पर्छ भन्दै म रुँदा 
झट्टै कोठाभित्र पसी मेरा इच्छा पूरा गर्न नसकेको कुरालाई स्विकार्दै 
टप्लक्क आँसु झारेर भोलिको छाक कसरी टारौँ भनी सम्झिने 
मेरा बा कस्तो कन्जुस।
हाम्रो घरमा पनि टेलिभिजन ल्याइदिनोस् न भन्दै 
मैले वाक्क लगाउँदा
हिजो भर्खर खै कुन्नि के निहुँमा बाझेको मेरा काकासँग 
आफै माफी माग्दै तिनको घरमा एकैछिन टिभी हेर्न दिन आग्रह गरिदिने 
मेरा बा कति कन्जुस छन्।
मेरा रहर पूरा गर्न शत्रुसँग माफी माग्न नहिचकिचाउने
मलाई सफा बनाउन फोहोरसँग खेल्न नघिनाउने 
मेरो पढाइ पूरा गराउन बैंकको ऋणसँग जुध्न नडराउने 
मलाई असल मान्छे बनाउन 
आफ्नो जिन्दगीलाई जोखिममा मोल्न पछि नहट्ने 
मेरा साथीका अघि मलाई इज्जतदार बनाउन 
दिनरात परिश्रमी र पौरख देखाउन नहडबडाउने 
मलाई सानै चोट लाग्दा पनि रातभरि ननिदाई 
मेरो निगरानी राख्ने 
मेरा बा ओहो कति कन्जुस छन्!