धेरै दिनपछि आज ऐना अगाडि उभिने साहस जुटाएको छु 
'महिलाले सहनुपर्छ, नारीको कर्म यही हो' भनेको आवाज सुन्दै छु 
छेउको भित्ते पात्रो हेर्दा देखेँ, विवाह भएको तीन साल पुगेछ 
आमाबुवाले त्यो खैरो रङको घर अब तेरो घर, 
यो रातो रङ अबदेखि तेरो रङ भनेको दिन। 
याद छ मलाई त्यो कालो दिन,
जहिले मेरो निर्णय नसोधी मेरो लागि चुनिएको थियो मेरो भावी रङ
गरिबीले काम ठप्प भएर धान्न सक्दिनँ भनेर बुबाले पठाइदिएको दिन
धेरै समय लागेन, दाइजो नपाएको बहाना बनाएर सधैँ राति रक्सी खाई 
कहिले घाउ चोट नलागेको शरीरमा घाउ चोटबाहेक केही नदेखिने बनाइएको दिन
पहिलो चोटिको थप्पड हान्दा स्वाभाविक हो श्रीमान-श्रीमतीमा जस्तो लागेको थियो 
माफी माग्न भयो, मन पग्लियो तर त्यो सेता आँसुका धारा त्यहाँ नरोकिने रहेछ आमा। 
साहुले काममा दिएको तनाव भन्दै त्यो रिस ममाथि जाकिन थालिएको दिन
त्यो रातो रङ जसले मलाई ‘मौनता’ सिकायो र श्रीमानलाई पिट्ने अधिकार दिएको दिन
भो मलाई ‘रातो’ रङ लगाउनै मन लागेन, मनै मरेर आयो 
रातो रङ मेरो रङ रहेनछ आमा, मेरो रङ ‘निलो’ रहेछ। 
 
एक दिन
मेरो रङ भनेर रातो सिन्दूर लगाउन मात्र के खोजेको थिएँ 
दुख्यो पाखुराको नीलडाम अनि देखिन थाले निधार र हातका निला रङ 
रिसमा फुटाइएका सुन्तला रङका चुराहरू 
लुछिएका काला कपाल र चुँडिएका काला पोतेहरू।
 
एक वर्षपछि छोरी जन्मिई
छोरो पाउन सकिन अलच्छिनीले भन्दै अस्पतालमै पिट्नु भयो
घरको मामला भनेर कोही छुट्टाउन पनि आएनन् 
सबै जना सिर्फ टुलुटुलु हेरी मात्र रहे 
म पछिका चार भाइबहिनीलाई हिँड्न, जिउन सिकाउने म 
आज किन आफ्नो जिन्दगी आफ्नो मुट्ठीमा लिन सकिनँ? 
उठेका हात रोक्न सकिनँ? 
कोहीसँग नडराउने म, आखिर किन एउटा साधारण मानिससँग हारेँ? 
यो ‘रातो’ सौभाग्य दिएर मेरा सबै आत्मसम्मान खरानी बनाउने 
घरबाहिर किन एक कदम उठाउनै सकिनँ? 
घरबाहिर अनि देशबाहिर नारी सुरक्षित छैन भन्दछन् 
तर नारी त घरमै सुरक्षित छैनन्
घरबाहिर भागी कहाँ जाऊँ, समाजले दिने लाञ्छनाको डर छ 
समाज?
कुन समाज?
जुन समाजले मेरो वेदनाको पर्बाह नै गर्दैन 
त्यो समाजको किन पर्बाह गरिरहेको छु म? 
प्रहरीसमक्ष आफ्नो श्रीमान् ‘अपराधी’ हो भन्ने आँट सिन्दूरले दिएन 
छोरीको अनुहारले झन् दिँदै दिएन।
कुन्नि के कुरामा अस्तव्यस्त यो समाजको लागि 
मेरो कथाको आवाज एक छाया नै बनेर गयो 
शरीरका नीलडाम सायद ऐनामा देखिए 
तर मनका अनेक आला घाउ कहिल्यै देखिएनन्।
धेरै रङले मलाई अनजानमै समाइसकेछन्
एक दिन मेरो आवाजले न्याय पाए
पक्कै म इन्द्रेणी बन्ने छु 
नारीको जीवन पनि इन्द्रेणी बन्ने थियो।